गायिका समीक्षा अधिकारीको करिअर ग्राफ निकै लोभलाग्दो छ। सुरिलो स्वरका कारण सानै उमेरमा उदाएकी समीक्षाले दर्जनौँ हिट गीत दिइसकेकी छन्। डेब्यु गीत ‘बालापनको उमेर’ व्यापक चलेपछि उनले कहिल्यै फर्केर हेर्नुपरेन।
उनले आधी कपाल, तिम्रै मायाले, पिपलु वर, नबोली नबोली, कुरा बुझ्न पर्छ, जाले रुमाल फाट्यो, सुर्ती माड्दै माड्दै, धनगढीको बसमा, पछ्यौरी लिइस्यो, बुझिनँ मैले, कन्या राशी, दुस्मन हेरेको हेर्यै लगायतका गीत हिट भएका छन्।
हुन त केही समय समीक्षाले जीवनकै तनावपूर्ण समय गुजारिन्। तर, बलियो आत्मविश्वासले उनी सांगीतिक यात्रामा निरन्तर सक्रिय छिन्। मिठो आवाजकी धनी समीक्षाको रेकर्डिङसहित मेला-महोत्सवमा निकै माग हुँदै आएको छ।
यतिखेर पनि समीक्षाको स्वर रहेको ‘शिरमा शिरबन्दी’ गीत निकै चर्चामा छ। टिकटकदेखि सामाजिक सञ्जालमा छाएको यस गीतले समीक्षाको व्यस्तता झनै बढाएको छ। तिनै चर्चित गायिका समीक्षासँग गरिएको स्टेजकेन्द्रित कुराकानी:
अहिले मेला/महोत्सवको सिजन, कार्यक्रममा पुग्न भ्याइनभ्याइ होला है?
मंसिर लागेपछि निरन्तर कार्यक्रममा व्यस्त छु। अहिले मेलामहोत्सवमा नेपालभरिकै कार्यक्रममा प्रस्तुति दिन गइरहेकी छु। विदेशमा भने नयाँ वर्षको अवसरमा कार्यक्रम तय भएको छ। रेकर्डिङमा पनि व्यस्त छु।
स्टेजमा चढ्दा सुरूमा कुन गीत गाउनुहुन्छ?
स्टेजमा गइसकेपछि कति घण्टा प्रस्तुति दिनुहुन्छ?
मैले प्रायजसो स्टेजमा प्रस्तुति दिने भनेको ४५ मिनेटदेखि एकघण्टासम्म हो। त्यो अवधिमा आफ्ना सातआठ गीतहरू गाउँछु।

नछुट्ने गीतहरु कुन-कुन हुन्?
प्रायजसो सबै गीतहरू गाइरहेकी हुन्छु। तैपनि बुझिनँ मैले लगायतका केही हिट गीतहरू भने छुट्दैनन्।
प्रस्तुति दिँदा दर्शकले वान्समोर भनेर धेरैपटक गीत गाउनुपरेको छ?
प्रायजसो हिट गीतमा दर्शकहरूले वान्समोर भन्नुहुन्छ। तर, दुश्मन हेरेको हेर्यै गीतमा प्रस्तुति दिँदा निकै वान्समोर आएको थियो। नेपालकै कार्यक्रममा जाँदा हो, यो गीत एउटै स्टेजमा तीन पटकसम्म गाएकी छु।
कार्यक्रमको लागि धेरै ठाउँ पुग्नुभएको छ। फ्यानसँगको केही यादगार पल छ?
फ्यानहरूले आ-आफ्नो तरिकाले माया व्यक्त गर्नुहुन्छ। कतिले त भेट्दा बिग फ्यान भन्दै अँगालो हाल्दै रुनुहुन्छ।
प्रस्तुति दिँदा पूर्व र पश्चिमका दर्शकहरूमा कस्तो फरक पाउनुभयो?
आफूले हिट गीत गाउँछु भन्ने मात्रै हुँदैन। पूर्वपश्चिमका दर्शकहरूको आ-आफ्नो स्वाद हुन्छ। जस्तै पूर्वका दर्शकहरू लोकपप/आधुनिक गीतहरू बढी सुन्नुहुन्छ। तर, पश्चिमतिर टिपिकल लोकदोहोरी धेरै मन पराउनुहुन्छ। दर्शकहरूको स्वादअनुसार नै मैले गाइरहेको हुन्छ।

नेपाल र विदेशमध्ये तपाईं कताको कार्यक्रममा बढी रमाइलो मान्नुहुन्छ?
स्वदेश, विदेश जता पनि मलाई प्रस्तुति दिँदा रमाइलो लाग्छ। उहाँहरूले कलाकार भनेपछि राम्रो प्रतिक्रिया दिनुहुन्छ। त्यस्तो फरक भन्ने त हुन्न। नेपालमा सम्मान नै गर्नुहुन्छ। त्यही हो विदेशमा चाहिँ अझ बढी सम्मान पाइन्छ। किनकि उहाँहरू टाढा भएर बढी आफ्नोपन महसुस गर्नुहुन्छ।
कलाकारहरूले स्टेज कार्यक्रममा जाँदा दु:ख पाएको खबरहरू आइरहेका हुन्छन्? तपाईंले आयोजकबाट नमिठो अनुभव भोग्नुपरेको छ?
हो नि! धेरैले कार्यक्रममा दु:ख पाएको कुराहरू आइरहेका हुन्छन्। तर, मैले अहिलेसम्म त्यस्तो दु:ख पाएको छैन।
आगागी कार्यक्रमका योजना केके छन्?
अंग्रेजी नयाँ वर्षको अवसरमा जापानमा कार्यक्रम तय भएको छ। त्यसअगाडि नेपालमै थुप्रै मेलामहोत्सवमा प्रस्तुति तय भइसकेका छन्।
Shares

प्रतिक्रिया