कोसी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि सबै निर्वाचन क्षेत्रहरूमा कार्यालय स्थापनाको काम भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार आज बिहानै सबै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भइसकेका छन्।
मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएका छन्। सबै निर्वाचन अधिकृतहरू सम्बन्धित कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन्।
निर्वाचन आयोगले तोकेका स्थानहरूमा कार्यालय स्थापना गरी चुनावी प्रक्रियालाई तीव्रता दिइएको हो।
जसअनुसार मोरङ जिल्लाका निर्वाचन अधिकृतका कार्यालय क्षेत्र नम्बर १को उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २को रतुवामाई नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ३को बेलबारी नगरपालिकाको वडा नम्बर ३ को कार्यालयमा स्थापना भएको छ।
त्यस्तै क्षेत्र नम्बर ४को पोखरियास्थित बाल उद्यान (विराटनगर–१), क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को जिल्ला समन्वय समितिको कार्यालय, विराटनगरमा स्थापना गरिएको छ। क्षेत्र नम्बर ६ मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहनेछ।
कार्यालयको स्थापना सँगै अब निर्वाचन आयोगले गर्ने सबै निर्वाचन सम्बन्धी कामहरू निर्वाचन अधिकृतको कार्यालय मार्फत सञ्चालन गरिने निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार आगामी ६ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। कोसी प्रदेशमा ३५ लाख ७४ हजार ३१० जना मतदाता रहेका छन् ।
Shares

प्रतिक्रिया