कोशी


चुनाव जितेर नफर्केको आरोपमा शेखरको जवाफः कांग्रेस कार्यकर्ता सबै शेखर कोइराला

चुनाव जितेर नफर्केको आरोपमा शेखरको जवाफः कांग्रेस कार्यकर्ता सबै शेखर कोइराला

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १६:६, विराटनगर

निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त समय नदिएको भन्दै स्थानीय स्तरमा असन्तुष्टिका बिचमा नेपाली कांग्रेसका नेता शेखर कोइराला अहिले आफ्ना कार्यकर्तासम्म पुग्दै छन्।

शुक्रबार उनी विराटनगर महानगरपालिका वडा नम्बर ६ को पार्टीको वडा समितिको छलफलमा थिए। निर्वाचित भएपछि क्षेत्रमा नगएको विषयहरू कार्यकर्ताबाट नै उठेपछि उनले कार्यकर्ताहरूलाई ‘तपाईँहरू नै शेखर कोइराला हो’ भन्दै सम्झाएका थिए। 

कोइरालाले भावनात्मक प्रष्टीकरण दिँदै कार्यकर्ताहरूलाई नै  त्यसमा लाग्न आग्रह गरे। कोइरालाले आफू भौतिक रूपमा उपस्थित नभए पनि हरेक कार्यकर्ताको रूपमा आफू सधैँ त्यहीँ रहेको सन्देश दिन खोजेका हुन्।

पछिल्लो समय स्थानीय स्तरमा ‘शेखर कोइराला खै आएको?’ भन्ने प्रश्न उठ्ने गरेको स्वीकार्दै उनले कार्यकर्तालाई नै आफ्नो प्रतिविम्बका रूपमा प्रस्तुत गरे। उनले यहाँ उपस्थित हरेक साथीहरूमा आफूले शेखर कोइराला नै देखिरहेको बताउँदै कार्यकर्ताहरू आफैँ शेखर कोइराला बनेर टोल र घर–घर पुगेको खण्डमा मात्र अन्य पार्टीहरूले कांग्रेसको वास्तविक शक्ति बुझ्ने उल्लेख गरे। 

विराटनगर वडा नं. ६ पिछडिएको अवस्था र विकासको ढिलाइप्रति टिप्पणी गर्दै डा. कोइरालाले अबको विकासका लागि वडादेखि संघसम्मै नेपाली कांग्रेसको नेतृत्व अनिवार्य रहेको दाबी गरे।

नहर पारिको क्षेत्र अझै पनि गाउँ जस्तै रहेको र धेरैको घर अगाडि पिच पुग्न बाँकी रहेको स्वीकार्दै उनले आगामी पाँच वर्ष कांग्रेसले सरकार चलाउने अवसर पाएमा मात्रै पूर्ण विकास सम्भव हुने जिकिर गरे।

विराटनगरको मुटु मानिने यस वडाका मतदाता सधैँ लोकतन्त्रको पक्षमा अडिग रहेको समेत बताए।

२०७९ सालमा मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गरेर कोइराला निर्वाचित भएका थिए। 

विराटनगरसँग जोडिएको क्षेत्रमा समेत नगएको भन्दै उनको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad