पूर्वाञ्चल विश्वविद्यालयले चौधौँ दीक्षान्त समारोहमा ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित गरेको छ।
मङ्गलवार विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा मोरङको गोठगाउँस्थित केन्द्रीय कार्यालयमा एक समारोहका बिच दीक्षित गरेको हो। विश्वविद्यालयका अनुसार, विभिन्न सङ्कायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरू दीक्षित भएका हुन्।
जसअनुसार स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तरबाट १ हजार ४ सय १३ तथा एमफिलबाट ५ जना विद्यार्थी दीक्षित भएका छन्।
सङ्कायगत रूपमा व्यवस्थापन सङ्कायबाट सबैभन्दा बढी २ हजार २ सय ६४ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।
इन्जिनियरिङ सङ्कायबाट १ हजार २ सय ६२, विज्ञान तथा प्रविधि सङ्कायबाट ७ सय ४७, कानुन सङ्कायबाट ६ सय २२ तथा चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानबाट ६ सय २४ जना विद्यार्थी दीक्षित भए।त्यस्तै, शिक्षा सङ्कायबाट ९ सय ९८ र मानविकी सङ्कायबाट १ सय ८४ जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा विभिन्न सङ्कायका उत्कृष्ट विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ।
शिक्षा मन्त्री पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्न सबैको सहयोग आवश्यक रहेको बताए। कार्यक्रमका प्रमुख अतिथि डा विवेकलालले नेपाली विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक शिक्षा प्रदान गर्दै आएकोमा विश्वविद्यालयको योगदान चर्चा गरेका थिए।
२०५२ सालमा स्थापना भएको विश्वविद्यालयमा हाल ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
Shares

प्रतिक्रिया