माओवादी सशस्त्र विद्रोहपछि भएको संविधान सभा निर्वाचनबाट निम्न वर्ग र विपन्न समुदायका व्यक्ति संसद्मा पुगेका थिए भने जेनजी विद्रोहपछि भएको निर्वाचनबाट धनाढ्य र नवधनाढ्य प्रतिनिधि सभामा आएका छन्।
चुनावको दुई सातापछि चैत ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको अभिमुखीकरणमा सहभागी हुन धेरै जसो नवनिर्वाचित सांसद आफ्नै मोटरमा ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटल पुगे। कतिपय सांसदले चढेको मोटरको ढोका पनि अर्कैले खोलिदिएका भिडिओका ‘क्लिप’ सामाजिक सञ्जालमा भाइरल भए। उनीहरूले चढेका गाडी, महंगा पहिरन र बोलीचाली चर्चाका विषय बने।
ठ्याक्कै १८ वर्षअघि पनि जनप्रतिनिधिले चढेका गाडी, पहिरन र उनीहरूको बोलीचाली चर्चाको विषय बनेको थियो। २०६४ सालको चुनावपछि कतिपय संविधान सभा सदस्यहरू सफा ट्याम्पो चढेरै नयाँ बानेश्वरस्थित संविधान सभामा पुग्ने गरेका थिए। कपितय चप्पलै लगाएर संविधान सभाको बैठकमा सहभागी भएका थिए। त्यतिवेला ‘संसदीय मर्यादा’सँग जोडेर आलोचना गर्दै ‘मैलाधैला’ सांसदको संज्ञा दिइएको थियो।
दश वर्षे माओवादी सशस्त्र विद्रोहपछि पहिलो संविधान सभामा पुगेका जस्ता ‘मैलाधैला’ जनप्रतिनिधि जेनजी विद्रोहपछि आएको यस पटकको प्रतिनिधि सभामा देखिने छैनन्। उनीहरू गाउँ-शहरमै छुटेका छन्। बरु प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपाली कांग्रेसको सन्दर्भमा भनेजस्तो ‘सुकिलामुकिला’ जनप्रतिनिधि संसद्मा देखिनेछन्।
२०३३ सालमा निर्वासनबाट नेपाल फर्केपछिका दिनमा नजिकका कार्यकर्तासँग कुराकानीका क्रममा बीपीले ‘पार्टी सुकिलामुकिलाहरूको कब्जामा जाने’ चिन्ता जनाउने गरेका थिए। त्यतिवेलाको सन्दर्भमा बीपीले भनेको ‘सुकिलामुकिला’ आशय थियो, संघर्ष गरेर आएका आम कार्यकर्ताभन्दा पनि आर्थिक रुपमा सम्पन्न व्यक्ति।
यतिवेला भने कांग्रेसमा मात्रै होइन, संसद्मा पनि आर्थिक रुपमा सम्पन्न जनप्रतिनिधिकै बाहुल्य देखिएको छ। देशका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएर आएका प्रतिनिधि सभाका सदस्यमध्ये आधाभन्दा बढी धनाढ्य र नवधनाढ्य छन्। निम्न मध्यम वर्गबाट न्यून जनप्रतिनिधि मात्रै संसद्मा पुगेका छन् भने निम्न वर्ग र विपन्नको त प्रत्यक्षतर्फ प्रतिनिधित्व पनि हुन सकेन।
कसरी गर्ने सांसदको वर्गीकरण
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण गत चैत २९ मा सार्वजनिक भएको छ। मन्त्रिपरिषद्का सदस्यको चल तथा अचल सम्पत्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। विशेष गरी प्रधानमन्त्री र मन्त्रीहरूसँग भएको सुन, चाँदी र शेयर कारोबारलाई पक्ष र विपक्षमा बहस चलिरहेको छ। जेनजी आन्दोलनबाट आएका नयाँ अनुहारको सम्पत्ति आम नागरिकको अपेक्षा विपरीत धेरै देखिएको छ।
त्यस्तै, प्रतिनिधि सभामा निर्वाचित भएको ६० दिनभित्र सांसदले पनि संघीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। संसद् सचिवालयमा बुझाएको सम्पत्ति विवरणका आधारमा नवनिर्वाचत सांसदको आर्थिक अवस्था यकीन गर्न सकिन्छ। तर, संसद् सचिवालयले सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्दैन।
त्यसैले नवनिर्वाचित सांसदको आर्थिक अवस्थाबारे चर्चा गर्नुअघि सामाजिक-आर्थिक वर्गीकरण हेरौँ। दुई विषयमा आधारित भएर वर्गीकरण गरिन्छ, आम्दानी र उपभोग खर्च। त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागले आम्दानीका आधारमा नेपाली समाजको वर्गीय विभाजन गरेको छ। विभागले तीन वर्षअघि गरेको अध्ययनमा मासिक १५ हजारभन्दा कम आम्दानी भएका नेपालीलाई जोखिमपूर्ण अर्थात विपन्नमा राखेको छ। जुन २१.७ प्रतिशत छन्।
अध्ययन प्रतिवेदनमा मासिक ४० हजारसम्म कमाइ हुनेलाई निम्न, ४० देखि ७५ हजारसम्म मध्यम, ७५ हजारदेखि दुई लाखसम्म उच्च मध्यम र दुई लाखभन्दा बढी कमाइ गर्नेलाई उच्च वर्गमा राखिएको छ। निम्न वर्गका २८.२ प्रतिशत, मध्यम वर्गका ३५.४ प्रतिशत, उच्च मध्यम वर्गका १३.२ प्रतिशत र उच्च वर्गका १.६ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ।
त्यस्तै, आयका आधारमा विश्व बैंकले पनि नेपाललाई निम्न मध्यम आय भएको मुलुकको श्रेणीमा राखेको छ।
अर्को सरकारी निकाय राष्ट्रिय तथ्यांक कार्यालयले दुई वर्षअघि गरेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) ले वार्षिक उपभोग खर्चका आधारमा वर्गीकरण गरेको छ। साधारण तवरले जीवनयापन गर्न एक जनालाई वर्षमा कम्तिमा ७२ हजार ९०८ रुपैयाँ खर्च लाग्ने सर्वेक्षणले देखाएको छ। अझ टुक्र्याउँदा महिनामा ६ हजार ७६ रुपैयाँ अर्थात दैनिक दुई सय रुपैयाँ चाहिन्छ। यो दैनिक खान, लाउन, बस्न, अत्यावश्यक बस्तु उपभोग गर्न लाग्ने न्यूनतम खर्च हो।
यति पनि खर्च गर्न नसक्ने अवस्थामा रहेका नागरिकलाई जीवनस्तर सर्वेक्षणले गरीबमा राखेको छ। यो संख्या देशभर २०.२७ प्रतिशत छ। अर्थात सय जना नेपालीमा २० जनाले दैनिक दुई सय रुपैयाँ बराबरको पनि अत्यावश्यक बस्तु उपभोग गर्न सक्दैनन्।
यसरी उपभोग खर्चका आधारमा सबैभन्दा गरीबदेखि सबैभन्दा धनीसम्मलाई पाँच वटा भागमा विभाजन गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका सामाजिक तथ्यांक महाशाखा निर्देशक मनोहर घिमिरे बताउँछन्। जीवनस्तर सर्वेक्षणमा पाँच भागलाई पञ्चमक नाम छ। ‘पहिलो पञ्चमकमा सबैभन्दा गरीबलाई र पाँचौँ पञ्चमकमा सबैभन्दा धनीलाई राखिएको छ,’ निर्देशक घिमिरे भन्छन्।
यी पाँच पञ्चमकलाई सजिलो भाषामा निम्न वर्ग (गरिब र विपन्न), निम्न मध्यम वर्ग, मध्यम वर्ग, उच्च मध्यम वर्ग र उच्च वर्गमा भन्न सकिन्छ। पाँचै वर्गको वार्षिक औषत उपभोग खर्च पनि निकालिएको छ। पहिलो पञ्चमक अर्थात निम्न वर्गले वर्षभरि जीवनयापनका लागि ५७ हजार ८५५ रुपैयाँसम्म खर्च गर्ने गरेको जीवनस्तर सर्वेक्षणमा उल्लेख छ।
त्यस्तै, निम्न मध्यम वर्गको वार्षिक उपभोग खर्च ५७ हजार ८५५ देखि ८५ हजार ७५२ रुपैयाँसम्म छ भने मध्यम वर्गको उपभोग खर्च ८५ हजार ७५२ रुपैयाँदेखि एक लाख ११ हजार ५२५ रुपैयाँसम्म छ। त्यसपछि उच्च मध्यम वर्गको उपभोग खर्च एक लाख ११ हजार ५२५ देखि एक लाख ४५ हजार ६३३ रुपैयाँसम्म रहेको छ। उच्च वर्षको उपभोग खर्च ओषतमा एक लाख ४५ हजार ६३३ रुपैयाँदेखि दुई लाख ५४ हजार ८०६ रुपैयाँसम्म छ।
जीवनस्तरण सर्वेक्षणले गरेको वार्षिक उपभोग खर्चका आधारमा नेपाली समाजको वर्गीकरणअनुसार नै प्रतिनिधि सभाका सदस्यलाई पनि निम्न, निम्न मध्यम, मध्यम, उच्च मध्यम र उच्च गरी पाँच वर्गमा राख्न सकिन्छ अर्थात विपन्नदेखि धनाढ्यसम्म।
यो वर्गीकरणका लागि सांसदहरूको लवाई, खवाई, जीवनशैली र पारिवारिक पृष्ठभूमि हेरिएको छ। त्यससँगै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगमा बुझाएको व्यक्तिगत विवरण, उनीहरू संलग्न रहेका व्यापार, व्यवसाय, संघसंस्था र कम्पनी, उनीहरूको आर्थिक अवस्था झल्किने गरी सञ्चारमाध्यममा आएका जानकारीलाई पनि केलाएर मोटामोटी वर्गीय विभाजन गरिएको हो।

यसरी सांसदको सामाजिक-आर्थिक हैसियत अध्ययन र विश्लेषण गर्दा प्रत्यक्षतर्फ निर्वाचित १६५ सांसदमध्ये २४ जना अर्थात १४.५५ प्रतिशत उच्च वर्गका छन् भने उच्च मध्यम वर्गका ७२ जना अर्थात ४३.६४ प्रतिशत छन्। दुवै वर्गका गरी प्रतिनिधि सभामा आधाभन्दा बढी धनाढ्य र नवधनाढ्या आएका छन्।
त्यस्तै, प्रतिनिधि सभामा मध्यम वर्गबाट आएका ५९ जना अर्थात ३५.७५ प्रतिशत सांसद छन्। निम्म मध्यम वर्गबाट १० जना अर्थात ६.०६ प्रतिशत सांसद मात्रै आएका छन्। निम्न वर्ग अर्थात गरिब र विपन्न परिवारका भने एक जना पनि प्रत्यक्षतबाट संसद्मा आएका छैनन्।
जबकि, नेपालमा निम्न वर्ग अर्थात गरिब र विपन्न २०.२७ प्रतिशत छन्। त्यस्तै, जीवनस्तर सर्वेक्षणले निम्न मध्यम वर्गमा १९.९८, मध्यम वर्गमा २०.०२, उच्च मध्यम वर्गमा १९.९८ र उच्च वर्गमा १९.९८ प्रतिशत नेपाली रहेको उल्लेख गरेको छ।
पूर्वबाट मध्यम वर्ग
पूर्वी नेपालबाट प्रतिनिधि सभामा निर्वाचित भएका ५० प्रतिशत सांसद मध्यम वर्गका छन्। कोसी प्रदेशका २८ क्षेत्रमध्ये १४ क्षेत्रबाट मध्यम वर्गका सांसद निर्वाचित भएर आएका हुन्।
त्यस्तै, कोसीबाट एक जना मात्रै उच्च वर्गका सांसद आएका भने उच्च मध्यम वर्गका १० सांसद निर्वाचित भएका छन्। निम्न मध्यम वर्गबाट तीन सांसद आएका छन्। कोसीले निम्म वर्गका कसैलाई पनि संसद्मा पठाएन।
दलगत हिसाबले हेर्दा रास्वपाबाट निर्वाचित भएका १७ जनामध्ये १० जना मध्यम वर्गका छन्। त्यस्तै, चार जना उच्च मध्यम वर्गका र दुई जना निम्न मध्यम वर्गका छन्। एक जना उच्च वर्गका सांसद छन्।
नेपाली कांग्रेसबाट निर्वाचित भएका चारमध्ये दुई उच्च मध्यम वर्ग र दुई मध्यम वर्गका छन्। नेकपा (एमाले)बाट निर्वाचित भएका चारै जना उच्च मध्यम वर्गका छन्। कांग्रेस र एमालेबाट पनि कोसीका निम्न मध्यम र निम्न वर्गका कोही पनि संसद्मा पुगेका छैनन्।
नयाँ दल श्रम संस्कृति पार्टीले जितेका तीनमध्ये दुई मध्यम वर्ग र एक निम्न मध्यम वर्गका सांसद छन्।
उच्च वर्ग: बालेन्द्र शाह (झापा-५)
उच्च मध्यम वर्ग: क्षितिज थेबे (ताप्लेजुङ), नरेन्द्र केरुङ (पाँचथर), निश्कल राई (इलाम-१), सुहाङ नेम्वाङ (इलाम-२), अर्जुन कार्की (संखुवासभा), राजेन्द्र राई (धनकुटा), यज्ञमणि न्यौपाने (मोरङ-१), रुबिना आचार्य (मोरङ-६), विश्वराज पोखरेल (ओखलढुंगा) र पारशमणि गेलाल (उदयपुर-१)
मध्यम वर्ग: निशा डाँगी (झापा-१), इन्दिरा राना मगर (झापा-२), प्रकाश पाठक (झापा-३), शम्भुप्रसाद ढकाल (झापा-४), सन्तोष सुब्बा (तेह्रथुम), ध्रुवराज राई (भोजपुर), कृष्ण कार्की (मोरङ-२), गणेश कार्की (मोरङ-३), आशा झा (मोरङ-५), हर्कराज राई (सुनसरी-१), लालविक्रम थापा (सुनसरी-२), दिपक साह (सुनसरी-४), प्रकाश कार्की (सोलुखुम्बु) र सूर्यबहादुर तामाङ (उदयपुुर-२)
निम्न मध्यम वर्ग: सन्तोष राजवंशी (मोरङ-४), अशोक चौधरी (सुनसरी-३) र आरेन राई (खोटाङ)
मधेसका गरिब जनताका धनी प्रतिनिधि
नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) अनुसार, मधेस प्रदेशमा २२.५३ प्रतिशत नागरिक गरीबीको रेखामुनी छन्। उनीहरूलाई वर्षभरी खानलाउन पुग्दैन। अझ देशभर रहेका गरीबमध्ये एक चौथाई अर्थात २५.०८ प्रतिशत मधेसमै छन्। तर, प्रतिनिधि सभामा मधेसबाट आधाभन्दा बढी धनी चुनिएर आएका छन्।
मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये १७ बाट उच्च मध्यम वर्गका सांसद प्रतिनिधि सभामा आएका छन्। त्यस्तै, दुई सांसद उच्च वर्गका र नौ सांसद मध्यम वर्गका छन्। निम्न मध्यम वर्गका चार सांसद मात्रै आएका छन् भने निम्म वर्गबाट मधेसले कसैलाई पनि संसद्मा पठाएन।
दलगत हिसाबले हेर्दा रास्वपाले जितेका ३० मध्ये १५ सांसद उच्च मध्यम वर्गका छन्। मधेसबाट आएका उच्च वर्गका दुवै सांसद रास्वपाकै हुन्। मध्यम वर्गबाट आएका रास्वपाका नौ सांसद छन् भने निम्न मध्यम वर्गबाट आएका चार सांसद छन्।
मधेसमा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई सिट जितेको छ। दुवै दलका सांसद उच्च मध्यम वर्गका छन्।
उच्च वर्ग: नितिमा भण्डारी (सर्लाही-१), अमरेशकुमार सिंह (सर्लाही-४)
उच्च मध्यम वर्ग: रामजी यादव (सप्तरी-२), अमरकान्त चौधरी (सप्तरी-३), सिताराम साह (सप्तरी-४), बब्लु गुप्ता (सिराहा-१), सम्भुकुमार यादव (सिराहा-३), तपेश्वर यादव (सिराहा-४), मातृका यादव (धनुषा-१), मनिष झा (धनुषा-३), राजकिशोर महतो (धनुषा-४), दिपक साह (महोत्तरी-२), उज्ज्वल झा (महोत्तरी-३), गौरीकुमारी यादव (महोत्तरी-४), नरेन्द्र साह कलवार (सर्लाही-३), फिर्दोस खान (रौतहट-२), अरविन्द साह (बारा-३), रहवीर अन्सारी (बारा-४) र बुद्धि पन्त (पर्सा-१)
मध्यम वर्ग: शिवशंकर यादव (सिराहा-२), रामविनोद यादव (धनुषा-२), प्रमोद महतो (महोत्तरी-१), रविन महतो (सर्लाही-२), गणेश पौडेल (रौतहट-४), गणेश धिमाल (बारा-१), चन्दन सिंह (बारा-२), रमाकान्त चौरसिया (पर्सा-३) र टेकबहादुर शाक्य (पर्सा-४)
निम्न मध्यम वर्ग: पुष्पा चौधरी (सप्तरी-१), राजेश चौधरी (रौतहट-१), रविन्द्र पटेल (रौतहट-३) र सुशिल कानू (पर्सा-२)
बागमतीमा धनीकै बाहुल्य
संघीय राजधानीसहित बागमती प्रदेशबाट निर्वाचित सांसदमा आधाभन्दा बढी धनी नै छन्। बागमतीका ३३ निर्वाचन क्षेत्रमध्ये धनाढ्य र नवधनाढ्य गरी १७ जना संसद्मा पुगेका छन्।
यो प्रदेशबाट उच्च वर्गका दुई र उच्च मध्यम वर्गका १५ जना निर्वाचित भएका छन्। त्यस्तै, मध्यम वर्गका १५ सांसद छन् भने निम्न मध्यम वर्गका एक जना मात्रै संसद्मा आएका छन्। बागमतीले निम्न वर्गका उम्मेदवारलाई निर्वाचित गरेन। जबकि, बागमतीमा निम्न वर्ग १२.५९ प्रतिशत छन्।
दलगत हेर्दा रास्वपाले जितेका ३१ क्षेत्रमध्ये उच्च वर्गका एक, उच्च मध्यम वर्गका १५, मध्यम वर्गका १४ र निम्न मध्यम वर्गका एक जना सांसद छन्। कांग्रेसबाट निर्वाचित एक जना उच्च वर्गका र नेकपाबाट निर्वाचित एक जना उच्च मध्यम वर्गका छन्।
उच्च वर्ग: कृष्ण बुढाथोकी (रामेछाप) र मोहन आचार्य (रसुवा)
उच्च मध्यम वर्ग: जगदीश खरेल (दोलखा), आशिष गजुरेल (सिन्धुली-२), बोधनारायण श्रेष्ठ (धादिड-२), विक्रम तिमिल्सिना (नुवाकोट-१), पुकार बम (काठमाडौँ-४), सस्मित पोखरेल (काठमाडौँ-५), शिशिर खनाल (काठमाडौँ-६), डोलप्रसाद अर्याल (काठमाडौँ-९), प्रदीप विष्ट (काठमाडौँ-१०), जगदीश खरेल (ललितपुर-२), तोषिमा कार्की (ललितपुर-३), भरत पराजुली (सिन्धुपाल्चोक-१), रवि लामिछाने (चितवन-२) र सोविता गौतम (चितवन-३)
मध्यम वर्ग: धनेन्द्र कार्की (सिन्धुली-१), आषिका तामाङ (धादिङ-१), अच्युतप्रसाद लामिछाने (नुवाकोट-२), रञ्जु दर्शना (काठमाडौँ-१), सुनिल केसी (काठमाडौँ-२), राजुनाथ पाण्डे (काठमाडौँ-३), गणेश पराजुली (काठमाडौँ-७), विराजभक्त श्रेष्ठ (काठमाडौँ-८), रुकेश रञ्जित (भक्तपुर-१), राजिव खत्री (भक्तपुर-२), बुद्धिरत्न महर्जन (ललितपुर-१), युवराज दुलाल (सिन्धुपाल्चोक-२), प्रकाश गौतम (मकवानपुर-१), प्रशान्त उप्रेती (मकवानपुर-२) र हरि ढकाल (चितवन-१)
निम्न मध्यम वर्ग: बदनकुमार भण्डारी (काभ्रेपलाञ्चोक-२)
गण्डकीबाट धनाढ्य धेरै
देशका अन्य प्रदेशका तुलनामा सम्पन्न प्रदेश गण्डकीले प्रतिनिधि सभामा पनि धनाढ्य प्रतिनिधि नै धेरै पठाएको छ। गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी सात जना उच्च वर्गका सांसद छन्।
त्यस्तै, नवधनाढ्य अर्थात उच्च मध्यम वर्गका पनि पाँच सांसद निर्वाचित भएका छन्। मध्यम वर्गका ६ जना सांसद छन्। गण्डकीले निम्न मध्यम र निम्न वर्गका उम्मेदवारलाई संसद्मा पठाएको छैन।
दलीय आधारमा गण्डकीबाट आएका सात जना धनाढ्यमा पाँच जना रास्वपाकै छन्। त्यस्तै, रास्वपाका चार जना उच्च मध्यम वर्गका र ६ जना मध्यम वर्गका छन्।
कांग्रेसबाट जितेका दुवै जना उच्च वर्गका छन्। प्रतिनिधि सभामा निर्वाचित भएका एक जना स्वतन्त्र उम्मेदवार उच्च मध्यम वर्गका छन्।
उच्च वर्ग: टेकबहादुर गुरुङ (मनाङ), विना गुरुङ (कास्की-३), स्वर्णिम वाग्ले (तनहुँ-१), श्रीराम न्यौपाने (तनहुँ-२), धनन्जय रेग्मी (स्याङ्जा-१), योगेश गौचन थकाली (मुस्ताङ) र सुशिल खड्का (बागलुङ-१)
उच्च मध्यम वर्ग: सुदन गुरुङ (गोरखा-१), धर्मराज जोशी (लमजुङ), राजन गौतम (नवलपरासी पश्चिम-१), महावीर पुन (म्याग्दी) र सोम शर्मा (बागलुङ-२)
मध्यम वर्ग: कविन्द्र बुर्लाकोटी (गोरखा-२), खडकराज पौडेल (कास्की-१), उत्तमप्रसाद पौडेल (कास्की-२), मनिष खनाल (नवलपरासी पश्चिम-२) र सागर भुषाल (पर्वत)

लुम्बिनीमा नवधनाढ्यको बाहुल्य
झण्डै एक चौथाई गरीब र विपन्न रहेको लुम्बिनी प्रदेशबाट आधाभन्दा बढी नवधनाढ्य संसद्मा पुगेका छन्। लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रबाट उच्च मध्यम वर्गका सांसद निर्वाचित भएका छन्।
त्यस्तै, उच्च वर्गका सात जना सांसद बनेका छन्। मध्यम वर्गका चार र निम्न मध्यम वर्गका एक जना मात्रै संसद्मा पुगेका छन्। निम्न वर्ग अर्थात गरीब र विपन्न वर्गबाट कोही पनि आउन सकेनन्। जबकि, लुम्बिनीमा २४.३५ प्रतिशत गरीब र विपन्न छन्।
दलगत हिसाब गर्दा रास्वपाका २१ मध्ये तीन सांसद उच्च वर्गका छन्। त्यस्तै, उच्च मध्यम वर्गका १४, मध्यम वर्गका तीन र निम्न मध्यम वर्गका एक सांसद छन्।
कांग्रेसबाट निर्वाचित भएका दुईमध्ये एक उच्च वर्गका र एक मध्यम वर्गका सांसद छन्। एमालेबाट निर्वाचित एक सांसद उच्च वर्गका छन् भने नेकपाबाट निर्वाचित दुई सांसदमा एक उच्च वर्गका र एक उच्च मध्यम वर्गका छन्।
उच्च वर्ग: लेखजंग थापा (रुपन्देही-३), कनहैया बनिया (रुपन्देही-४), अभिषेक प्रताप शाह (कपिलवस्तु-५), पुष्पकमल दाहाल ‘प्रचण्ड’ (रुकुम पूर्व), सुशान्त वैदिक (प्युठान) र मोहम्मद इश्तियाक राई (बाँके-२)
उच्च मध्यम वर्ग: सागर ढकाल (गुल्मी-१), गोविन्द पन्थी (गुल्मी-२), माधव थापा (पाल्पा-२), हरि भुसाल (अर्घाखाँची), वर्षमान पुन (रोल्पा), सुनिल लम्साल (रुपन्देही-१), तौफिक अहमद खान (रुपन्देही-५), मोहनलाल आचार्य (कपिलवस्तु-१), विक्रम थापा (कपिलवस्तु-२), देवराज पाठक (दाङ-१), विपिन आचार्य (दाङ-२), सुरेश चौधरी (बाँके-१), ठाकुरसिंह थारू (बर्दिया-१), विक्रम खनाल (नवलपरासी पश्चिम-१) र नरेन्द्रकुमार गुप्ता (नवलपरासी पश्चिम-२)
मध्यम वर्ग: सन्दीप राना (पाल्पा-१), सुलभ खरेल (रुपन्देही-२), कमल सुवेदी (दाङ-३) र श्रीधर पोखरेल (बर्दिया-२)
निम्न मध्यम वर्ग: खगेन्द्र सुनार (बाँके-३)
दुर्गम क्षेत्रबाट सम्पन्न सांसद
देशका अन्य प्रदेशको तुलनामा कर्णाली दुर्गम मात्रै छैन, कर्णालीबासी गरीबी पनि छन्। नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) अनुसार, कर्णाली प्रदेशका २६.१६ प्रतिशत नागरिक गरीबीको रेखामूनि छन् अर्थात दैनिक दुई छाक खान मुस्किल हुन्छ। तर, कर्णाली प्रदेशले धनी जनप्रतिनिधि पाएको छ।
कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढी क्षेत्रबाट धनाढ्य र नवधनाढ्य जितेर आएका छन्। उच्च वर्गका दुई, उच्च मध्यम वर्गका पाँच र मध्यम वर्गका पाँच सांसद छन्। निम्न मध्यम र निम्न वर्गका उम्मेदवारलाई कर्णालीले संसद्मा पठाएन।
दलगत हिसाबले हेर्दा रास्वपाबाट निर्वाचित कर्णालीका एक मात्रै सांसद पनि उच्च मध्यम वर्गका छन्। कांग्रेसबाट निर्वाचित पाँचमध्ये दुई उच्च वर्ग, एक उच्च मध्यम वर्ग र दुई मध्यम वर्गका छन्। एमालेबाट आएका एक सांसद उच्च मध्यम वर्गका छन्।
यसैगरी, नेकपाबाट आएका चारमध्ये दुई उच्च मध्यम वर्ग र दुई मध्यम वर्गका छन्। राप्रपाबाट आएका एक सांसद उच्च मध्यम वर्गका छन्।
उच्च वर्ग: बासना थापा (दैलेख-१) र विष्णुबहादुर खड्का (सुर्खेत-१)
उच्च मध्यम वर्ग: रमेश मल्ल (सल्यान), धनबहादुर बुढा (डोल्पा), खड्क शाही (मुगु), ज्ञानबहादुर शाही (जुम्ला) र लक्ष्मीप्रसाद पोखरेल (दैलेख-२)
मध्यम वर्ग: महेन्द्रबहादुर शाही (कालिकोट), जयपति रोकाया (हुम्ला), खडकबहादुर बुढा (जाजरकोट), रमेश सापकोटा (सुर्खेत-२) र गोपाल शर्मा (रुकुम पश्चिम)
गरीब प्रदेशका धनाढ्य प्रतिनिधि
देशका सातै प्रदेशमध्ये सबैभन्दा बढी गरीबी सुदूरपश्चिम प्रदेशमा छ। नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) अनुसार, ३४.१६ प्रतिशत सुदूरपश्चिमेली गरीब छन् अर्थात सय जना सुदूरपश्चिमेलीमध्ये ३४ जनालाई दैनिक दुई छाक खान पनि कठिन छ। तर, यही प्रदेशबाट आधाभन्दा बढी धनी प्रतिनिधि आएका छन्।
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रमध्ये उच्च वर्गका तीन र उच्च मध्यम वर्गका ६ सांसद निर्वाचित भएका छन्। त्यस्तै, मध्यम वर्गका ६ र निम्न मध्यम वर्गका एक सांसद मात्रै छन्। एक तिहाई गरिब र विपन्न रहेको प्रदेशबाट एक जना पनि निम्न वर्गको आएन।
दलगत हिसाबले हेर्दा रास्वपाले जितेका १० मध्ये दुई उच्च वर्गका, चार उच्च मध्यम वर्गका, तीन मध्यम वर्गका र एक निम्न मध्यम वर्गका सांसद छन्। यस्तै, कांग्रेसले जितेका तीनमध्ये एक-एक जना उच्च, उच्च मध्यम र मध्यम वर्गका सांसद छन्। एमालेका तीनमध्ये एक उच्च मध्यम वर्गका र दुई मध्यम वर्गका छन्।
उच्च वर्ग: भरतबहादुर खड्का (डोटी), आनन्दबहादुर चन्द (कैलाली-५) र हरिमोहन भण्डारी (बैतडी)
उच्च मध्यम वर्ग: भरतकुमार स्वाँर (अछाम-१), कोमल ज्ञवाली (कैलाली-१), खेमराज कोइराला (कैलाली-४), गणेशसिंह ठगुन्ना (दार्चुला), ताराप्रसाद जोशी (डडेल्धुरा) र दिपक बोहरा (कञ्चनपुर-२)
मध्यम वर्ग: जनकराज गिरी (बाजुरा), यज्ञबहादुर बोगटी (अछाम-२), ऐनबहादुर महर (बझाङ), जनकसिंह धामी (कञ्चनपुर-१) र ज्ञानेन्द्र महता (कञ्चनपुर-३)
निम्न मध्यम वर्ग: केपी खनाल (कैलाली-२)
समानुपातिकमा पनि धनीलाई नै मौका
प्रत्यक्षतर्फ टिकट वितरण गर्दा प्रायः राजनीतिक दलको नेतृत्वले भन्ने गरेको छ, ‘जित्ने उम्मेदवारलाई टिकट दिएका छौँ।’ अझ चुनावी खर्च धान्न सक्ने व्यक्ति प्रत्यक्षतर्फ चुनाव लड्न राजनीतिक नेतृत्वको रोजाइमा पर्ने गरेका छन्।
जेनजी विद्रोहपछि भने प्रत्यक्षतर्फ मात्रै होइन, समानुपातिकतर्फ पनि राजनीतिक दलले धनीलाई नै रोजेका छन्। समानुपातिकका ११० सिटमध्ये ४९ जना धनाढ्य र नवधनाढ्य सांसद बनेका छन्। जसमध्ये १६ जना अर्थात १४.५४ प्रतिशत सांसद उच्च वर्गबाट आएका छन्। त्यस्तै, ३३ जना अर्थात ३० प्रतिशत सांसद उच्च मध्यम वर्गका छन्।
समानुपातिकबाट संसद्मा पुग्ने ३८ जना अर्थात ३४.५४ प्रतिशत मध्यम वर्गका छन्। निम्म मध्यम वर्गका १७ जना अर्थात १५.४५ प्रतिशत मात्रै सांसद बनेका छन्। अझ निम्न वर्गबाट त ६ जना अर्थात ५.४५ प्रतिशत मात्रै समानुपातिक प्रणालीबाट संसद्मा आएका छन्। जबकि, समानुपातिक प्रणाली निम्न वर्ग र निम्न मध्यम वर्गलाई नै संसद्मा सहभागी गराउन अपनाइएको हो।
दलगत हिसाबले हेर्दा सबैभन्दा ठूलो दल रास्वपाले पनि धनीलाई नै प्राथमिकतामा राखेको देखिन्छ। रास्वपाका ५७ समानुपातिक सांसदमध्ये धनाढ्य र नवधनाढ्य २२ जना छन्। जसमध्ये उच्च वर्गका नौ र उच्च मध्यम वर्गका १३ जना सांसद छन्।
यस्तै, समानुपातिकबाट आएका रास्वपाका २२ सांसद मध्यम वर्गका छन्। निम्न मध्यम वर्गका ११ जनालाई मात्रै रास्वपाले सांसद बनाएको छ। अझ निम्न वर्गका त ५७ मध्ये दुई जना मात्रै छन्।
कांग्रेसमा पनि धनीकै दबदबा देखिन्छ। कांग्रेसका २० समानुपातिक सांसदमध्ये ११ जना धनी छन्। जसमध्ये दुई जना उच्च वर्गका र नौ जना उच्च मध्यम वर्गका छन्। मध्य वर्गका सात जनालाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। निम्न मध्यम र निम्न वर्गका त कांग्रेसले एक-एक जनालाई मात्रै समानुपातिकमा चुनेको छ।

एमालेका समानुपातिक सांसदमा मध्यम वर्ग हाबी छ। एमालेले १६ सांसदमध्ये आठ जना मध्यम वर्गबाट ल्याएको छ। उच्च वर्गका दुई र उच्च मध्यम वर्गका चार सांसद छन्। निम्न मध्यम वर्गबाट दुई जनालाई सांसद बनाएको एमालेले निम्न वर्गबाट भने कसैलाई ल्याएको छैन।
नेकपाले भने समानुपातिकमा गरिबलाई प्राथमिकता दिएको छ। नेकपाका नौ समानुपातिक सांसदमा उच्च वर्गको एक जना पनि छैन।
उच्च मध्यम वर्गका चार जनालाई छानेको नेकपाले मध्यम वर्गबाट एक जनालाई सांसद बनाएको छ। यस्तै, निम्न मध्यम वर्गबाट तीन जना र निम्न वर्गबाट एक जनालाई समानुपातिकबाट संसद्मा ल्याएको छ।
अन्य दलको तुलनामा श्रम संस्कृति पार्टीले निम्न वर्गलाई प्राथमिकता दिएको देखिन्छ। श्रम संस्कृतिका चार समानुपातिक सांसदमा दुई जना निम्न वर्गका छन्। उच्च वर्ग र उच्च मध्यम वर्गबाट एक-एक जनालाई सांसद बनाएको छ।
राप्रपाले धनीलाई नै प्राथमिकता दिएको देखिन्छ। समानुपातिकका चार सांसदमा चारै जना धनी आएका छन्। राप्रपाले उच्च र उच्च मध्यम वर्गका दुई-दुई सांसद बनाएको छ। मध्यम, निम्न मध्यम र निम्म वर्ग राप्रपाको रोजाइमा परेन।
समानुपातिक सांसद: को कुन वर्ग
उच्च वर्ग: सुम्निमा उदास (ललितपुर), अनुष्का श्रेष्ठ (काठमाडौं), ओजस्वी शेरचन (काठमाडौं), लीमा अधिकारी आचार्य (काठमाडौं), विधुषी राणा (काठमाडौं), समीक्षा बास्कोटा (काठमाडौं), मन्जु भुषाल (रुपन्देही), शोभा खनाल (नुवाकोट), पुनमकुमारी अग्रवाल (रुपन्देही), अर्जुननरसिंह केसी (नुवाकोट), चन्द्रमोहन यादव (धनुषा), रामबहादुर थापा ‘बादल’ (चितवन), पुष्पराज कँडेल (धादिङ), पूर्णप्रसाद लिम्बू (सुनसरी), सरस्वती तामाङ (धादिङ) र खुश्बु ओली (काठमाडौं)
उच्च मध्यम वर्ग: राम लामा (काभ्रेपलाल्चोक), मिङ्मा ग्याबु शेर्पा (संखुवासभा), सिर्जना श्रेष्ठ (काठमाडौं), कुसुम महर्जन (भक्तपुर), सुजाता तामाङ (संखुवासभा), कृपा महर्जन (काठमाडौं), प्रतिभा रावल (कञ्चनपुर), अमृता विक (रुपन्देही), सुरेन्द्र चौधरी (दाङ), निशा मेहता (सुनसरी), ललिता कुमारी (सिरहा), अंकिता ठाकुर (सप्तरी), कामिनी कुमारी (महोत्तरी), भीष्मराज आङदेम्बे (पाँचथर), गंगालक्ष्मी अवाल (भक्तपुर), रेनुका काउचा (बागलुङ), कालिबहादुर सहकारी (कालिकोट), रिना उप्रेती (सोलुखुम्बु), प्रमिला गच्छदार (मोरङ), निनू कर्ण (महोत्तरी), रेखा यादव (महोत्तरी), शाहजन खातुन (रौतहट), भूमिका लिम्बू सुब्बा (पाँचथर), पद्मा अर्याल (स्याङ्जा), रिंगला यादव (नवलपरासी), शाजिदा खातुन सिद्दिकी (दाङ), बलावती शर्मा (बागलुङ), प्रमेश हमाल (ललितपुर), परशुराम तामाङ (काठमाडौं), जोगकुमार बरबरिया यादव (धनुषा),अम्विका संग्रौला (सुनसरी), भरत गिरी (महोत्तरी) र ताहिर अलि भाट (रुपन्देही)
मध्यम वर्ग: खुश्बु सरकार श्रेष्ठ (काठमाडौं), वासुमाया तामाङ (काठमाडौं), रजनी श्रेष्ठ (मोरङ), भूमिका श्रेष्ठ (काठमाडौं), प्रमिला कुलुजू (भक्तपुर), एलिजा गुरुङ (गोरखा), रमेश प्रसाईं (ताप्लेजुङ), टीका संग्रौला (अछाम), क्रान्तिशिखा धिताल (दाङ), आकृति अवस्थी (डडेल्धुरा), सृष्टि भट्टराई (सुनसरी), प्रभा कार्की (ललितपुर), ज्ञानु पौडेल (रुपन्देही), प्रभा ढकाल (चितवन), प्रकाशचन्द्र परियार (सुनसरी), रिमा विश्वकर्मा (काठमाडौं), तारा विश्वकर्मा (ललितपुर), करिष्मा चौधरी (कैलाली), पुरुषोत्तम यादव (सिरहा), खगेन्द्र कर्ण (सप्तरी), सरिता महतो (मोरङ), गजल शामिम मिक्रानी (रौतहट), मदनकृष्ण श्रेष्ठ (भक्तपुर), गीता सेन्दाङ (ताप्लेजुङ), गीता गुरुङ (सोलुखुम्बु), सुशिला ढकाल आचार्य (झापा), रुक्मिणी कोइराला (मोरङ), सीता थपलिया (धादिङ), पवित्रा विक (मकवानपुर), कुलभक्त शाक्य (काठमाडौं), टुक्राभन्द्र हमाल (लमजुङ), गुरुप्रसाद बराल (मोरङ), कृपाराम राना (कञ्चनपुर), विष्णुमाया विक (तेह्रथुम), निता घतानी (झापा), यशोदा कुमारी (धनुषा), चन्द्रेश्वर मण्डल (सिरहा) र गणेश विश्वकर्मा (कैलाली)
निम्न मध्यम वर्ग: रचना खतिवडा खत्री (काभ्रेपलाञ्चोक), श्रद्धा कुँवर क्षेत्री (रुपन्देही), सीता वादी (सुर्खेत), रत्नाकुमारी क्षेत्री (अछाम), सुष्मा स्वर्णकार (बाँके), खिमा विक (दाङ), प्रेमलाल चौधरी (मोरङ), गीता चौधरी (कञ्चनपुर), सुनिता चौधरी (पर्सा), समिना मिया (चितवन), अफ्साना बनू (काठमाडौं), मनमाया विक (झापा), गंगादेवी श्रेष्ठ (धादिङ), यशुदा बराल (कालिकोट), प्रेमबहादुर वयक (कैलाली), भीमकुमारी बुढा मगर (दाङ) र निराशा चौधरी (कञ्चनपुर)
निम्न वर्ग: गंगा छन्त्याल (बागलुङ), स्मृति सेन्चुरी (दोलखा), हरिनादेवी कामी (डडेल्धुरा), पार्वती विक (जाजरकोट), राधिका रम्तेल (सुर्खेत) र रुबीकुमारी ठाकुर (धनुषा)
कुन दलमा कसको बाहुल्य
नारा र भाषणमा गरिब, विपन्न, सीमान्तकृत तथा अल्पसंख्यकको पक्षमा बोले पनि राजनीतिक दलका सांसद हेर्दा भने फरक तस्वीर देखिन्छ। सबैभन्दा ठूलो दल रास्वपामा नवधनाढ्यकै बाहुल्य छ। रास्वपाका प्रत्यक्ष र समानुपातिक गरी १८२ मध्ये सबैभन्दा बढी उच्च मध्यम वर्गका ७० जना अर्थात ३८.८४ प्रतिशत सांसद छन्।
त्यसपछि मध्यम वर्गका ६७ अर्थात ३६.८१ प्रतिशत सांसद छन्। उच्च वर्गका २३ जना अर्थात १२.६३ प्रतिशत र निम्त मध्यम वर्गका २० जना अर्थात १०.९८ प्रतिशत सांसद छन्। निम्म वर्गका सांसद भने दुई जना अर्थात १.०९ प्रतिशत मात्रै छन्।

दोस्रो दल कांग्रेसमा पनि उच्च मध्यम वर्गकै बाहुल्य छ। कांग्रेसका ३८ सांसदमा १४ जना अर्थात ३६.८४ प्रतिशत उच्च मध्यम वर्गका छन्। त्यसपछि मध्यम वर्गका १३ जना अर्थात ३४.२१ प्रतिशत छन्। कांग्रेसमा उच्च वर्गका नौ अर्थात २३.६८ प्रतिशत सांसद छन्। निम्न मध्यम र निम्न वर्गका एक-एक जना अर्थात २.६३ प्रतिशतले मात्रै छन्।
एमालेमा उच्च मध्यम र मध्यम वर्गका सांसद हाराहारीमा छन्। एमालेका २५ सांसदमध्ये उच्च मध्यम र मध्यम वर्गका समान दश-दश जना अर्थात ४० प्रतिशतले छन्। उच्च वर्गका तीन जना अर्थात १२ प्रतिशत र निम्न मध्यम वर्गका दुई अर्थात ८ प्रतिशत सांसद छन्। एमालेमा निम्न वर्गका सांसद छैनन्।
नेकपामा पनि नवधनाढ्य नै हाबी छन्। नेकपाका १७ सांसदमध्ये नौ जना अर्थात ५२.९४ प्रतिशत उच्च मध्यम वर्गका छन्। त्यसपछि मध्यम र निम्न मध्यम वर्गका समाचा तीन-तीन जना अर्थात १७.६४ प्रतिशतले छन्। उच्च र निम्न वर्गका एक-एक जना अर्थात ५.८८ प्रतिशतले छन्।
संसद्मा प्रतिनिधित्व गर्ने अन्य दुई दल श्रम संस्कृति र राप्रपामा दोहोरो अंकभन्दा कमै सांसद छन्। तैपनि, श्रम संस्कृतिमा उच्च र निम्न वर्गका सांसद बराबरी छन्। सात सांसदमध्ये उच्च र निम्न वर्गका दुई-दुई अर्थात २८.५७ प्रतिशतले छन्। त्यस्तै, उच्च मध्यम, मध्यम र निम्न मध्यम वर्गका एक-एक अर्थात १४.२८ प्रतिशतले छन्।
राप्रपामा भने उच्च र उच्च मध्यम वर्गका मात्रै सांसद छन्। राप्रपाका पाँच सांसदमध्ये उच्च मध्यम वर्गका तीन अर्थात ६० प्रतिशत र उच्च वर्गका दुई अर्थात ४० प्रतिशत सांसद छन्।
Shares

प्रतिक्रिया