ad ad

जीवनशैली


बच्चा जन्माउञ्जेल महिलालाई प्राथमिकता, महिनावारी सुकेपछि किन बेवास्ता?

रजोनिवृत्तिबारे जानकारी नहुँदा कष्टकर जीवन बाँच्न बाध्य
बच्चा जन्माउञ्जेल महिलालाई प्राथमिकता, महिनावारी सुकेपछि किन बेवास्ता?

समृद्धा केसी
माघ १९, २०७९ बिहिबार १८:५७, काठमाडौँ

कुनै समय थियो, इन्द्रमाया बोलेर थाक्दिन थिइन्। निकै मिजासिली, सबैसँग सजिलै घुलमिल भइहाल्ने स्वभावकी थिइन्। तर अहिले उनलाई न त कसैसँग बोल्न मन लाग्छ, न अरुका कुरा नै सुन्न।

टोखाकी ४४ वर्षीया इन्द्रमायालाई कुनै समय निकै मन पर्ने कुराहरु अहिले मनै पर्न छोड्यो।

‘छोराछोरीले मम्मी भनेर दुईतीन पटक बोलाउँदा पनि झर्को लाग्छ,’ उनले भनिन्।

दुई वर्षजति भयो उनलाई छिनमै जाडो हुने, छिनमै गर्मी हुने, पसिना आउने, सानो–सानो कुरामा मन दुख्ने, झनक्क रिस उठ्ने, बेस्सरी मुटु धड्किने, जोर्नी दुख्ने, थकाइ लाग्ने र कमजोरी महसुस हुन थालेको। 

त्यति मात्रै होइन, अहिले महिनावारी समयमा नहुने, भए पनि धेरै रगत बग्ने, बेस्सरी पेट दुख्ने र घरीघरी घरपरिवार छोडेर टाढा जान पाए जस्तोे पनि हुन्छ। श्रीमानसँग पनि नजिकिन नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको उनले सुनाइन्। 

‘कतिबेला के हुन्छ, कति बेला के हुन्छ,’ उनी भन्छिन्, ‘एउटा रोग भए पो अस्पताल गएर देखाउने, दसथरी रोगले च्याप्या छ। खै के–के जाँच गराउने हो!’ 

सानोसानो कुरामा पनि रिस उठ्ने भएपछि इन्द्रमायाको घरमा छोराछोरी, श्रीमान् सबैसँग झगडा परिहने गर्छ।

उसो त इन्द्रमायालाई पनि आफूमा आएको परिवर्तनले परिवारमा कलह ल्याएको महसुस नभएको होइन। तर जति गर्दा पनि स्वभावमा आएको परिवर्तन बदल्न नसकेको उनी बताउँछिन्। 

०००

चाबहिलकी ४९ वर्षीया जानुका महर्जन पनि तीन वर्षदेखि शरीरमा आइरहेका विभिन्न समस्याहरुका कारण कष्टकर जीवन बिताइरहेकी छन्। उपचारका लागि विभिन्न अस्पताल धाउँदा पनि रोग नै पत्ता लागिरहेको थिएन।

‘सुरुमा त श्रीमान् र छोरीले पनि के भयो भन्दै अस्पताल लगेर सबै जाँच गराए तर  केही रोग नै देखिएन,’ उनले भनिन्।

महिनैपिच्छे शरीरमा आउने फरक–फरक समस्याले मानसिक तनाव नै दिएको उनी बताउँछिन्। 

शारीरिक समस्या एकातिर छँदै थियो अर्कोतिर उनलाई मानसिक समस्या पनि देखिन थाल्यो। जानुका भन्छिन्, ‘अस्पताल गयो, कुनै रोग नै देखिँदैन थियो तर आफूलाई महिनैपिच्छे फरक–फरक समस्या देखिन थालेपछि अब यस्तै हो, मरिन्छ होला भन्ने सोच मात्रै आउँथ्यो।’

जानुकाले छोरीलाई सबै समस्या सुनाइन्। छोरीले उनलाई मानसिक अस्पताल लगिन् र त्यहाँका डाक्टरले केही परार्मश दिए र स्त्रीरोग डाक्टरलाई देखाउन अह्राए।

प्रसूति अस्पताल गएर सबै समस्या डाक्टरलाई सुनाएपछि मात्र समस्या पत्ता लाग्यो– महिनावारी सुक्ने बेलामा यस्ता समस्या देखिने रहेछ। जसलाई रजोनिवृत्ति (मेनोपोज) भनिने रहेछ।

महिनावारी सुक्नु अघिबाट उनलाई त्यस्तो समस्या देखिएको र अझै पनि ती समस्याहरु रहेकाले थप उपचारका लागि हर्मोन रोग विशेषज्ञकहाँ पठाएको उनले सुनाइन्।

जानुकाको महिनावारी सुकेको सातआठ महिना भइसकेको छ। तर, रजोनिवृत्तिका बेला देखिने यस्ता समस्याबारे आम महिलाहरुलाई जानकारी नभएको चिकित्सकहरुको भनाइ छ।

के हो रजोनिवृत्ति?
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार इन्द्रमाया र जानुका जस्तै ४४÷४५ वर्षमाथिका प्रायः महिलाहरुमालाई रजोनिवृत्तिको समस्याले निकै दुःख दिन्छ। 

‘उमेर बढ्दै जाँदा एस्ट्रोजेन हर्मोनको कमी हुन्छ। जसले गर्दा डिम्ब बन्न बिस्तारै छोड्छ र महिनावारी हुँदा धेरै रगत बग्ने, पसिना धेरै आउने, छिनमै गर्मी र छिनमै जाडो हुने, मुटु जोरजोरले धड्किने, धेरै रिसाउने, शरीर पोल्ने जस्ता समस्या देखिन्छन्, जसलाई रजोनिवृत्ति भनिन्छ,’ उनी भन्छन्।

रजोनिवृत्तिका अन्य लक्षणहरुमा यौनांग बढी पोल्ने र सुक्खा हुँदै जान्छ। जसले गर्दा यौन सम्बन्धमा पनि समस्या ल्याउने उनले बताए। केही महिलामा उच्च रक्तचाप र सुगरजस्ता रोगहरु पनि देखिन्छन्।

रजोनिवृत्ति कुनै रोग होइन यो ४४ देखि ५५ वर्षसम्मका महिलाहरुमा देखिने आम समस्या हो। तर यसले धेरैको दैनिकी नै कष्टकर बनाइरहेको उनी बताउँछन्।

‘महिनावारी अब सुक्छ होला भनेर धेरै महिला जानकार भए पनि त्यसले निम्त्याउने समस्याबारे निकै कम जानकार छन्,’ उनी भन्छन्।

समस्या सबै महिलालाई देखिए पनि कसैलाई कम देखिन्छ भने कसैलाई बढी सताउने गरेको उनी बताउँछन्। 

महिलाले आफूमा देखिने समस्या खुलेर नभन्ने, भित्रभित्रै कुण्ठित गरेर राख्दा मानसिक स्वास्थ्य पनि बिग्रने गरेको उनले जानकारी दिए। शरीर पोल्ने, रिसाउने, भीडमा जान डराउने जस्ता समस्या देखिने भएकाले कतिपय महिलाहरु घरबाहिर निस्कनै डराउने गरेको समेत उनले बताए।

के यसको उपचार छ? 
रजोनिवृत्ति प्राकृतिक कुरा भएकाले यसको खास उपचार नभएता पनि धेरै गाह्रो भएका महिलालाई हर्मोन विशेषज्ञलाई देखाएर औषधि लिन सकिने उनको भनाइ छ। रजोनिवृत्तिमा विशेषगरी खानापिनमा ध्यान दिने र परामर्श लियो भने पनि समस्या केही हदसम्म कम हुने उनले जानकारी दिए। 

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले सुरुवाती अवस्थादेखि नै खानपिनमा विशेष ध्यान दिने, योगासन र व्यायाम गर्ने, पत्रु खाना नखाने जस्ता कुरामा ध्यान दिनु पर्नेमा जोड दिइन्।

महिला नै छैनन् जानकार 
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक रजोनिवृत्तिसम्बन्धी समस्या लिएर ६÷७ जना महिला आउने गर्छन्। तीमध्ये एक÷दुई जना मात्र यस विषयमा जानकार हुन्छन्।

नेपाली समाज अझै पनि मर्यादित महिनावारीको विषयमा खुलिसकेको छैन। रजोनिवृत्ति के हो र यो समयमा समस्या किन देखिन्छ भनेर सयमध्ये एक÷दुई जनालाई मात्र थाहा भएको मर्यादित महिनावारी अभियानकर्ता लक्ष्मी न्यौपानेले जानकारी दिइन्।

‘मलाई पनि केही समयदेखि रजोनिवृत्तिको समस्या देखिरहेको छ। महिनावारी समयमा भएको छैन, तल्लो पेट धेरै दुख्ने, टाउको दुख्ने, रिस उठ्ने र मरौँमरौँजस्ता सोचहरु आइरहेको छ। मैले र परिवारले यस विषयमा बुझेकाले अस्पताल गएर केही औषधि पनि खाएँ,’ उनले भनिन्।

महिनावारीको विषयमा धेरै छलफल भए पनि महिनावारी सुक्ने बेलामा देखिने समस्याहरुका विषयमा खासै छलफल नभएको जनस्वास्थ्यविद् अरुणा उप्रेतीले बताइन्। औसतमा नेपाली महिलाको ४५ देखि ५० वर्षको बीचमा महिनावारी बन्द हुने भए पनि आजसम्म यस विषयमा कुनै सरकारी पक्षबाट सचेतनामूलक कार्यक्रम नभएको उनी बताउँछिन्। 

महिनावारी सुक्ने बेलामा आफूले कुनै समस्या भोग्नु नपरे पनि हर्मोन गडबडी हुने भएकाले कसैलाई निकै समस्या देखिने गरेको उनले बताइन्।

हालै परराष्ट्रमन्त्री नियुक्त भएकी डा. विमला राई पौडेलले महिनावारीका अनुभूति समेटिएको पुस्तक ‘ती चार दिन’ मा आफूलाई पनि रजोनिवृत्तिका बेला राति पसिना धेरै आउने, रिस उठ्ने, झन्झट लाग्ने, एक्लै बस्न मन लाग्ने, श्रीमानसँग बस्न पनि मन नलाग्ने, निराशाजस्तो अनुभव भएको उल्लेख गरेकी छन्।

काममा धेरै व्यस्त रहेकाले त्यस्ता समस्या देखिएको ख्यालै नगरी दुईतीन महिनासम्म महिनावारी नभएपछि डक्टरलाई जाँच गराउँदा मात्र रजोनिवृत्तिबाट आफू गुज्रिरहेको थाहा भएको उनको भनाइ छ।

पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले सो पुस्तकमा आफ्नी आमाको अनुभव यसरी साटेकी छन् : ‘महिनावारी चक्रमा मेनोपज अर्थात् महिनावारी सुक्नु पनि महत्वपूर्ण चक्र हो। यसबारे बहस भएको पाइँदैन। महिनावारी सुक्ने अवस्थाका समस्याबारे चर्चा भएकै छैन। मेरो ममी अहिले मेनोपजको समस्याबाट गुज्रिरहनुभएको छ। उहाँलाई हरेक पन्ध्र दिनमा महिनावारी हुन्छ। डाक्टरलाई देखायौँ। तर उहाँको मुड बेलाबेला परिवर्तन भइरहेको हुन्छ। पसिना आइरहेको हुन्छ। हामीले मेनोपोजबारे बुझेकाले उहाँका समस्या बुझ्न सक्दछौँ, सहयोग गर्न सक्दछौँ।’ 

सोही पुस्तकमा नेतृ महालक्ष्मी (डिना) उपाध्याय लेख्छिन् : ‘मलाई मेनोपजको अवस्थामा रगत बढी बग्यो। त्यतिबेला मलाई अति नै तनाव हुने, झर्को लाग्ने, रिस उठ्ने गथ्र्यो। पन्ध्रपन्ध्र दिनमा रगत बग्थ्यो। एकडेढ वर्ष म यस्ता समस्याबाट गुज्रिएँ। महिनावारी सुक्ने अवस्थाबारे कुनै कुरा भएको थाहा छैन। उनीहरू विभिन्न समस्याबाट गुज्रिरहेका छन्। स्वास्थ्यक्षेत्रका संस्थाहरूले यसमा काम गर्नुपर्ने हो तर गरेका छैनन्। मेनोपज आम महिलामा हुने नियमित प्रक्रिया हो। यसर्थ यतिबेलाको समय पार गर्न, समस्या सामना गर्न र सहनशक्ति बढाउन परामर्श महत्वपूर्ण छ।’ 

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी अगाडि लेख्छिन्, ‘महिनावारी सुरु भएजस्तै सुक्ने अवस्था पनि महिलाहरूको लागि जटिल हो। यतिबेला हर्मोनको परिवर्तनले महिलामा धेरै प्रकारका शारीरिक समस्या देखा पर्छन्। यसबारे पनि छलफल हुनुपर्छ भन्ने लाग्छ। यसले गर्दा डिभोर्स बढेका छन्। शिक्षित महिलामध्ये पनि थोरैलाई यसबारे जानकारी छ। ५७ प्रतिशत सामान्य साक्षर महिलालाई यसबारे थाहा नै छैन। महिलाबीचमै यसबारे कुरा हुँदैन। म यत्रो भएँ, महिनावारी सुक्ने अवस्थाबारे बहस भएको सुनेकी छैन।’ 

परिवार र राज्यको भूमिका 
रजोनिवृत्तिको समयमा अनावश्यक व्यवहार परिर्वतन भइरहने भएकाले त्यसलाई परिवारले बोझका रुपमा नलिई सामान्य व्यवहार गर्नुपर्ने मर्यादित महिनावारी अभियन्ता न्यौपानेले सुझाव दिइन्। समस्या बढ्दै गए डाक्टरकहाँ जाँच गर्न लैजानुपर्ने उनको भनाइ छ।

मुख्य गरेर महिनावारी जस्तो विषयमा सचेत हुनु पर्ने परिवारका सबैको दायित्व हो। रजोनिवृत्तिमा त अझ बढी समस्या आउने भएकाले महिलालाई बुझ्न र साथ दिनका लागि परिवारको ठूलो भूमिका रहन्छ। 

‘महिनावारी सुक्ने अवस्थामा पुगेका महिलाका छोराछोरी बुझ्ने उमेरमा पुगिसकेका हुन्छन्। उनीहरुले त्यो समयमा झर्को नमानेर विशेष ख्याल राख्नु पर्छ,’ उनले भनिन्।

रजोनिवृत्ति सुरु भएको दुईचार महिना निकै गाह्रो हुने भएकाले उनीहरु निकै पीडाबाट गुज्रिने मानसिक रोग विशेष डा. वासुदेव कार्कीले बताए। 

‘सही उपचार नपाउँदा उनीहरुमा मानसिक समस्या बढ्दै जान्छ,’ उनले भने, ‘केहीले त आत्महत्या गर्न सक्ने सम्भावना पनि रहन्छ।’

राज्यले पनि महिलालाई प्रजनन् उमेरसम्म मात्र बढी प्राथमिकता दिएको र महिनावारी सुकेर बच्चा जन्माउन छाडेपछि उनीहरुलाई कम चासो दिने गरेको उनको भनाइ छ।

‘मर्यादित महिनावारी होस् वा रजोनिवृत्तिको विषय होस्, यसमा परिवारको भूमिका निकै हुने गर्छ,’ उनले भने, ‘तर मेनोपजले ल्याउने समस्याको विषयमा परिवार नै जानकार नभइसकेकाले सुरुमा राज्यले यसबारे चेतना दिनुपर्छ।’

रजोनिवृत्तिले मानसिक समस्या निम्त्याउने भए पनि निकै कम मात्र अस्पताल आउने गरेको डा. कार्की बताउँछन्। 

डा. कार्कीका अनुसार धेरै ठाउँमा उपचार गर्दागर्दै समस्याको समाधान नभएपछि एक पटक मानसिक डाक्टरलाई पनि देखाउँ भनेर आउने गर्छन्।

उनी भन्छन्, ‘मेनोपजलाई महिनावारीको एउटा चरण पार गर्दाको अवस्थाको रुपमा लिन सकिन्छ। यो अवस्थामा एकपछि अर्को गर्दै विभिन्न खाले समस्या देखिने भएकाले धेरै चिन्ता लाग्न सक्छ। जसले गर्दा मानसिक समस्या पनि देखिने भएकाले यसलाई मानसिक स्वास्थ्यको पक्षबाट पनि हेर्नु पर्छ।’

४५ वर्ष कटेका हरेकले महिनावारी सुक्नेक्रममा आउन सक्ने समस्याका विषयमा पूर्वजानकारी लिन धेरै आवश्यक देखिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .