ad ad

जीवनशैली


बढ्दै छ मस्तिष्काघातको जोखिम, कसरी जोगिने?

समयमै अस्पताल पुगे गर्नु पर्दैन ठूलो शल्यक्रिया
बढ्दै छ मस्तिष्काघातको जोखिम, कसरी जोगिने?

फाइल तस्बिर


समृद्धा केसी
फागुन १६, २०७९ मंगलबार १२:३४, काठमाडौँ

ललितपुरका राकेश माली (नाम परिवर्तन) अन्य दिनजस्तै हतारहतार खाना खाएर ग्वार्कोस्थित कपडा पसल खोल्न लाग्छन्। 

४५ वर्षीय माली १० बजे पसल पुगिसकेका हुन्छन्। एक दिनअघिबाटै उनलाई सन्चो नभएको जस्तो भइरहेको थियो। परिवारले आराम गर्न भने पनि उनी पसल गएका थिए। 

पसलमा बसिरहेका उनलाई एक्कासि शरीरको देब्रेभाग नचलेको जस्तो महसुस भयो।  बसिरहँदा त्यस्तो समस्या भएको हो कि भनेर उनी बाटोमा निस्केर हिँडे। तर निको हुनुको साटो त्यो भाग झमझम गर्न थाल्यो।

पसलमा एक्लै भएकाले उनी अत्तालिँदै घरमा फोन गर्छन्। तर उनी पहिले जसरी बोल्नै सक्दैनन्। उनको बोली नै लरबरिन्छ। 

पसल बन्द गर्न लगाएर उनी ट्याक्सी चढेर घर पुग्छन्। कमजोरीका कारण समस्या देखिएको ठानेर आराम गर्छन्। 

तर सात घण्टा बितिसक्दा पनि निको हुनुको साटो उनीलाई अझ बढी समस्या देखिँदै जान्छ। बोली नबुझिने र बिस्तारै मुख पनि बाङ्गो हुँदै जाँदा उनी आत्तिन्छन्।

राकेशको त्यस्तो अवस्था देखर परिवारले उनलाई ग्वार्कोस्थित बीएन्डबी अस्पताल लैजान्छ।

अस्पताल ल्याउँदासम्म अर्धचेत अवस्थामा पुगेका राकेशको सबै जाँच हुन्छ। उनलाई मस्तिष्काघात भएको भन्दै डाक्टर उपचारमा लाग्छन्।

राकेशको ब्रेनमा रगतको थेग्लो नै जमिसकेको उनको उपचार गरेका स्नायु तथा न्युरो सर्जन डा. शिखर श्रेष्ठले बताए। 

उनी भन्छन्, ‘उहाँ अस्पताल आउँदा अर्धचेत अवस्थामा पुगिसक्नु भएको थियो। दाहिनेपट्टि मस्तिष्काघात भएकाले देब्रेतिरको शरीर प्यारालासिसस भइसकेको जस्तो थियो। सात–आठ घण्टामै बिरामीलाई अस्पताल ल्याएका कारण बचाउन सकियो।’

सामान्य शल्यक्रियाद्वारा राकेशको ब्रेनमा जमेको रगतको थेग्लो निकालेपछि चार-पाँच दिनमै उनी ठिक भएको डा. श्रेष्ठले बताए। 

‘समयमै अस्पताल आएका कारण उहाँलाई प्यारालाइसिस हुनबाट पनि जोगाउन सकियो,’ उनले भने। 

छैन प्राथमिकतामा मस्तिष्काघात 
वीर अस्पतालमा राकेशजस्तै मस्तिष्काघात भएर दैनिक १३–१४ जना बिरामी आउने  गरेको अस्पतालका न्युरोलोजी विभाग प्रमुख तथा न्युरोलोजिस्ट डा. सुनिल कोइरालाले जानकारी दिए। 

नेपालमा वार्षिक कति जनामा मस्तिष्काघात हुन्छ भनेर यकिन तथ्याङ्क नभए पनि वीर अस्पतालमा मात्रै एक वर्षमा दुई सयभन्दा बढी बिरामी भर्ना हुने गरको उनी बताउँछन्। 

मस्तिष्काघात भएका ५० प्रतिशत बिरामी उपचारको दायरामा अझै पनि नआएको उनले जानकारी दिए।

‘अहिले मुटुमा अट्याक आउँछ भनेर धेरैलाई थाहा छ। तर दिमागमा पनि अट्याक हुने कुरा निकै कमलाई मात्रै थाहा छ,’ उनले भने, ‘अझै पनि मस्तिष्काघात प्रथामिकतामा पर्न सकेको छैन।’

रोगबारे चेतना कम भएकाले नेपालमा अपाङ्ग हुने प्रमुख कारण मस्तिष्काघात बढिरहेको उनी बताउँछन्। 

पहिले मस्तिष्काघात ५० वर्ष उमेर पुगेकालाई मात्र हुन्छ भनिन्थ्यो भने अहिले युवा अवस्थामै यो रोग देखिइरहेको उनले बताए। 

‘केही वर्षयता मस्तिष्काघातले विकरालरुप लिँदै गइरहेको छ। पहिले बुढापाकालाई मात्र यो रोग देखिन्थ्यो तर अहिले अस्पतालमा ३०/३५ वर्षकै युवा मस्तिष्काघात भएर आइरहेका छन्,’ उनले भने। 

युवा अवस्थामै मस्तिष्काघात हुनुको प्रमुख कारण धुमपान, मद्यपान र विलासी जीवनशैली बढिरहकोले उनीहरुमा यो रोग धेरै देखिरहेको उनको आकलन छ। 

डा. श्रेष्ठ

के हो मस्तिष्काघात?
मस्तिष्काघातलाई पक्षघात, ब्रेनअट्याक वा स्ट्रोक पनि भनिने न्युरो सर्जन डा. श्रेष्ठले जानकारी दिए। दिमागमा रक्त सञ्चारको कमीले गर्दा केही भाग ओइलाएर आउने संकेतलाई मस्तिष्काघात मानिने उनी बताउँछन्। 

मस्तिष्काघात दुई प्रकारको हुन्छ। एउटा रक्तसञ्चार बन्द भएर रगत जम्ने र अर्को अर्को दिमागमा रगतको वृद्धिले गर्दा हुन्छ। सबैभन्दा बढी रगत जमेर मस्तिष्काघात  हुने उनले जानकारी दिए।

उनी भन्छन्, ‘आमरुपमा दिमागको नसा क्रस भएर दिमागको दाहिने भागले शरीरको देब्रे र दिमागको देब्रे भागले शरीरको दाहिने भागलाई कन्ट्रोल गरिहेको हुन्छ। दाहिने भागमा मस्तिष्काघात भयो भने शरीरको देब्रेतिर कमजोरी देखिन्छ।’

साधारणतया कुनै पनि व्यक्तिलाई मस्तिष्काघात भए शरीर नियन्त्रण बाहिर जाने, शरीरको एक भाग नचल्ने (प्यारालाइसिस), मुख बाङ्गो हुने, आँखाको ज्योति गुम्ने, रिंगटा लाग्ने, बोली लरबरिनेजस्ता लक्षणहरु देखिने उनले बताए। 

यस्ता लक्षण देखिएपछि जतिसक्दो चाँडो अस्पताल लग्न सक्यो उति नै बिरामीको ज्यानसँगै अपाङ्ग हुनबाट बचाउन सकिने उनको भनाइ छ।

उनी भन्छन्, ‘मस्तिष्काघात भएर दिमागमा रक्तसञ्चार कम भइसकेपछि प्रत्येक मिनेट २० लाखजति दिमागका कोषिकाहरु मर्छन्। र, हाम्रो दिमागको हरेक कोषिकाले शरीर संचालनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ।’ 

‘दिमाग मानव शरीरका लागि कम्प्युटरको सीपीयू भन्या जस्तै हो,’ उनी भन्छन्, ‘हाम्रो शरीर चल्नका लागि दिमागको निकै ठूलो भूमिका हुने गर्छ, त्यसकारण मस्तिष्कमा कुनै पनि समस्या देखिनासाथ अस्पताल गइहाल्नु पर्छ।’

कसलाई बढी जोखिम?
मुख्य गरेर मस्तिष्काघात हुने भनेको रक्त सञ्चारको कमी भएर हो। जुन व्यक्तिलाई उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र मोटोपनाको समस्या छ, त्यस्ता व्यक्तिहरु उच्च जोखिममा रहेको डा. श्रेष्ठले बताए। 

त्यस्तै जाँडरक्सी, धुमपान र बाहिरको खाने कुरा बढी खानेहरु पनि उच्च जोखिममा हुन्छन्। 

‘टाउको निकै संवेदनशील अंग हो,’ उनी भन्छन्, ‘ठूलो दुर्घटना होस् वा सानो, टाउकोमा चोट लाग्दा पनि मस्तिष्काघात हुने सम्भावना रहन्छ।’

यसबाट बच्नका लागि रक्तचाप, मधुमेह र तौल नियन्त्रणमा राख्नु पर्छ। खास गरेर जीवनशैली व्यवस्थित बनाउनु पर्ने कुरामा उनले जोड दिए। 

बद्लिएको जीवनशैलीका कारण मस्तिष्काघात हुनेको संख्या बढिरहेको छ। अहिले सबै काम टेबलमै बसेर हुने भएकाले पनि शरीरिक क्रियाकलाप कम हुँदा पनि यो रोग बढिरहेको डा. कोइरालाले बताए।

त्यस्तै तनाव र विकारयुक्त खानपानका कारण पनि युवा उमेरमै मस्तिष्काघात हुने गर्छ। 

डा. सुनिल कोइराला

उपचार 
मस्तिष्काघात भएका बिरामीलाई समयमै अस्पताल लैजान सक्यो भने पूर्णरुपमा  निको पार्न सकिने डा. कोइरालाले बताए। 

अस्पतालको इमर्जेन्सीमा ल्याउँदा बिरामीलाई प्यारालाइसिस भएको छ भने पनि उपचारपछि सम्पूर्ण निको भएका धेरै केसहरु रहेको उनले जानकारी दिए।

डा. श्रेष्ठ भन्छन्, ‘मस्तिष्काघात भएको तीनदेखि चार घण्टामा बिरामीलाई अस्पताल ल्याउन सकियो भने प्यारालासिस हुनबाट पनि बचाउन सकिन्छ र खर्च पनि निकै कम हुन्छ। त्यसैले हामीले मस्तिष्काघातमा ‘टाइम इज ब्रेन’ भन्छौँ।’

त्यस्तै दिमागको कुन भागमा असर परेको छ भन्ने कुराले पनि बिरामी कति जोखिममा छ भनेर थाहा हुने उनले बताए। 

मस्तिष्काघात भएको २४ घण्टाभित्रमा अस्पताल ल्याइएको बिरामीको पनि अहिले ठूलो शल्यक्रियाबिनै एउटा सानो तारको माध्यमबाट जमेको रगत निकाल्न सकिने उनले जानकारी दिए।

‘मस्तिष्काघात भएर समयमै अस्पताल आउने बिरामीको संख्या कम छ। कतिपयलाई लक्षणको पहिचान नहुँदा र कतिलाई उपचार कहाँ हुन्छ भन्ने भुलभुलैयाका कारण अस्पताल ढिलो पुग्छन्,’ उनले भने। 

मस्तिष्काघातका लागि सरकारले बेलाबेलामा चेतनामूलक सन्देशहरु पनि दिइरहेकै हुन्छ। 

‘व्यक्ति आफू पनि सचेत हुनु पर्छ’ उनले भने, ‘मस्तिष्काघात भएका कतिपय बिरामीहरु समयमै अस्पताल पुगेर पनि उपचार खर्च जुटाउन नसक्दा पूर्ण उपचार नलिएर फर्किन बाध्य हुन्छन्। यस्तोमा सरकारले केही खर्च बेहोरिदिँदा निकै सहायता हुन्थ्यो।’

मृत्यु हुने तेस्रो कारण बन्दै मस्तिष्काघात
विश्व स्वस्थ्य संगठनको तथ्याङ्कअनुसार  विश्वभर हरेक वर्ष एक करोड ५० लाख भन्दा बढी मानिसहरूमा मस्तिष्कघात हुन्छ। तीमध्ये ५० लाखले ज्यान गुमाउँछन् भने ५० लाख बिरामी अपाङ्ग हुन्छन्। 

बाँकी रहेका ५० लाखमध्ये १५ लाखले समयमै उपचार गरेर पहिलेकै दैनिकीमा फर्कन्छन्। र, ३५ लाख सामान्य अपाङ्गता भएर बाँच्छन्।

लगभग २५ प्रतिशत मस्तिष्काघातका बिरामी ४० वर्ष उमेर समूहका छन्। 

विश्वव्यापी रुपमा हेर्दा केही वर्ष पहिला मृत्यु हुने छैटौँ स्थानमा पर्ने मस्तिष्कघात अहिले तेस्रो स्थानमा रहेको न्युरो सर्जन डा. श्रेष्ठले बताए।

उनका अनुसार चार जनामध्ये एक जनाालाई मस्तिष्कघात हुन्छ। अहिले यो धेरैमा देखिने रोग बनिसकेको छ।  

समयमै उपचार गरे बिरामी निको हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म हुने उनी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .