ad ad

जीवनशैली


दिउँसो सुत्नुका पाँच फाइदा, पाँच बेफाइदा

दिउँसो सुत्नुका पाँच फाइदा, पाँच बेफाइदा

नेपालखबर
फागुन २०, २०७९ शनिबार ९:४३, काठमाडौँ

सामान्यत: मानिस रातको समयमा सुत्ने गर्छ। आधुनिक समाजमा परिकल्पना गरिएको ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टाको आरामको दैनिकी हो। यसमा आरामभित्र निद्रा पनि पर्दछ। र, त्यो निद्राका लागि सामान्यत: अनुत्पादक ठानिएको समयलाई उपयुक्त मानिने गरिन्छ।

यस हिसाबले दिउँसो सुत्नुलाई अल्छे वा कामचोर ठानिनु अस्वाभाविक होइन। सतही रुपमा हेर्दा दिउँसो सुत्नु अनुत्पादक कुरा पनि हो।

तर सबै कुरा हामीले सोचेको वा ठानेको मात्रै सत्य नहुन पनि सक्छ। यसअनुसार, विज्ञानको आँखाले हेर्दा दिउँसो सुत्नु पनि फाइदाजनक नै हुँदो रहेछ!

छोटो समयको लागि दिउँसो सुत्ने कामलाई नेपालीमा झकाउनु तथा अङ्ग्रेजीमा न्याप भनिन्छ। यसका फाइदाहरु निम्नानुसार हुन्छ:

सतर्कता बढाउँछ : दिउँसो केही समय झकाउनुले हाम्रो शरीरको आलस्य र थकानलाई हटाइदिन्छ। फलत: कामप्रतिको हाम्रो सतर्कता र स्फूर्ति बढाइदिन्छ। यो त्यसबेला झनै बढी उपयोगी हुने गर्छ, जब शरीरले अत्यधिक थकान वा आलस्य महसुस गरिरहेको हुन्छ।

मुडमा सुधार आउँछ : दिउँसो झकाउने बानीले हाम्रो मुड सुधार गर्न, तनाव कम गर्न र आफू चैतन्य एवं खुसी रहेको अनुभूत गर्न मद्दत गर्न सक्छ।

स्मृतिमा सुधार आउँछ : दिउँसो निदाउने–झकाउने गर्यो भने त्यसले हाम्रो स्मृतिमा सुधार ल्याउँछ र कामप्रतिको एकाग्रता बढाइदिन्छ। आफूले गरिरहेका कामसम्बन्धी प्रक्रियाहरुबारे सोचिबस्नु नपर्ने–फटाफट काम गर्न सक्ने अवस्था बढाइदिन्छ। त्यसले जम्मामा मानिसको उत्पादनशीलतालाई नै पनि बढाइदिन्छ।

अनिद्राको भावलाई कम गरिदिन्छ : विविध कारणले कतिपय मानिसहरुलाई राति सुतेर पनि निद्रा नपुगेको अनुभूति हुने गर्छ। त्यसले उसको दैनिक काममा पनि असर परिरहेको हुन सक्छ। यो अवस्थामा दिउँसो झकाउने–सुत्ने बानीले मानिसमा रहेको त्यो अनिद्राको अनुभूति पनि हटेर जान्छ।

मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ: दिउँसो अल्प समयका लागि सुत्ने–झकाउने कुराले मानिसको मुटुको स्वास्थ्यमा सुधार आउने तथा हृदयघातको जोखिमलाई पनि कम गरिदिने गर्छ।

दिउँसो झकाउनु वा अल्प समयका लागि सुत्नु फाइदाजनक छ तर कति समय सुत्ने वा झकाउने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने गर्छ। यो कुरा व्यक्तिको सुताइका तरिका तथा तत्सम्बन्धी आनीबानीमा पनि निर्भर गर्दछ।

त्यसो त दिउँसोको अल्पसुताइ वा झकाइका केही प्रतिकूल असरहरु पनि देखिन सक्छ।  ती निम्नानुसार छन्–

रातको निद्रामा गडबडी:  दिउँसोको अल्पसुताइ वा झकाइ तथा रात्रिकालीन सुताइको समयमा धेरै अन्तर भएन भने राति सुत्ने समयमा गडबडी हुन सक्छ। नजिक सुत्दा रातको निद्रामा बाधा पुग्न सक्छ र रातमा निदाउन गाह्रो हुन सक्छ।

निदाउन नसक्नु: दिउँसो धेरै बेरसम्म सुत्दा वा झकाउँदा तथा त्यो काम खासगरी मध्यान्नपछिको समयमा गर्दा राति सुत्ने समयमा निदाउन नसक्ने समस्या देखापर्न सक्छ। त्यसले हल्काखालको मतिभ्रमको अवस्था पनि पैदा गरिदिन सक्छ।

उत्पादनशीलता घटाइदिन सक्छ: कामको चटारो परेको बेलामा दिउँसोको अल्पसुताइ वा झकाउने बानीले उत्पादनशीलतामा केही असर गर्न सक्छ।

सामाजिक कलंक:  कुनै कुनै समाजिक संस्कारमा दिउँसो सुत्नुलाई राम्रो नमानिन पनि सक्छ। त्यसलाई अल्छीपना वा अनुशासनको कमीको रुपमा पनि लिने हुन सक्छ।

उठ्न कठिनाइ : केही व्यक्तिहरूका लागि, खासगरी विशेष गरी निद्रा विकारहरू भएकाहरूलाई दिउँसोको सुताइ वा झकाइबाट ब्युँझन गाह्रो पर्न पनि सक्छ। उनीहरुलाई जबरजस्ती उठाइँदा उल्टो बेफाइदा पनि गर्न सक्छ।

यी सम्भावित कमजोरीहरूलाई विचार गर्दा दिउँसोको अल्पसुताइ वा झकाइ लिने कि नलिने भन्ने कुरा व्यक्तिको आनीबानी, समय, अवधि र उसले काम गर्ने वातावरणमा पनि निर्भर गर्ने गर्छ।

कतिपय देशहरुमा चाहिँ कामको चटारोबीच ब्रेक लिएर दिउँसो अल्पसमय समय सुत्ने वा झकाउने कुरा संस्कारकै रुपमा विकास भएको हुन्छ। विशेष गरी भूमध्यसागर र ल्याटिन अमेरिकी देशहरुमा यो अभ्यासको संस्कृति पाइन्छ जसलाई सिएस्टा भनिन्छ। यो सामान्यतया २ देखि ४ बजेको समयावधिबीच लिने गरिन्छ।

सिएस्टाको उद्देश्य भनेको व्यक्तिहरूलाई दिनको समयमा आराम गर्न र शरीरलाई 'रिचार्ज' गर्न अनुमति दिनु हो, जसले उनीहरुको घटेको उर्जा र सतर्कतालाई पुनस्थापित गरिदिन्छ। सिएस्टाका फाइदाहरूमा सुधारिएको सतर्कता, सुधारिएको मुड, तनाव कम गर्ने, स्मरणशक्तिमा सुधार र निद्राको कमी हटाइदिने मुख्य रुपमा पर्छ। यसले हृदय रोगको जोखिम कम गर्न र हृदय स्वास्थ्य सुधार गर्न पनि मद्दत गर्न सक्छ।

तर आधुनिक जीवनको माग र पहिलेजस्तो खुला र बाहिरी वातावरणमा काम गर्नु नपर्ने अवस्थाले सिएस्टा परम्परामा कमी आउन थालेको छ। कोठाभित्रको वातानुकूलित वातावरणमा काम गर्न पाइने स्थितिमा केही रोजगारदाताहरूले सिएस्टालाई आलस्य वा अनुशासनको कमीको संकेतको रूपमा हेर्न सक्छन्, र कामको बेलामा निदाउन–झकाउन निरुत्साहित वा निषेध गर्न सक्छन्।

सिएस्टाको प्रचलन स्पेन र अन्य भूमध्यसागरीय देशहरूमा शताब्दीयौंदेखि रहँदै आएको छ। हालैका वर्षहरूमा बढ्दो आधुनिकीकरण तथा विज्ञान–प्रविधिका मद्दतले कामहरु सहज हुँदै गएकोले सिएस्टाको प्रचलनमा कमी आउन थालेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .