द वर्ल्ड ओबेसिटी फेडरेसनले आगामी १२ वर्षभित्रमा संसारमा मोटा तथा अत्यधिक तौल भएकाहरुको संख्या ४ अर्ब पुग्ने जनाएको छ।
मोटोपनका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने यो संस्थाले जारी गरेको पछिल्लो रिपोर्ट मा सन् २०३५ सम्ममा संसारभरिमा मोटाहरुको संख्या उल्लेख्य मात्रामा बढ्ने र उनीहरुको संख्या ४ अर्ब पुग्ने आकलन गरेको छ।
कतिपयलाई लाग्न सक्छ, मोटोपन व्यक्तिको स्वास्थ्यसँग सम्बन्धित कुरा हो। तर वास्तवमा यो कुरा त्यति मात्रै हैन। यो त राष्ट्रको अर्थतन्त्रसँग पनि गाँसिएको हुन्छ। मोटोपनले मुलुक र विश्वकै अर्थतन्त्रमा पनि भार थपिइरहेको हुन्छ।
फेडरेसनका अनुसार, मोटाहरुको संख्या वृद्धिमाथि बेलैमा अंकुश लगाउने उपाय र उपचारहरु खोजिएन भने त्यसले विश्व अर्थतन्त्रमा वार्षिक ४३ खरब २० अर्ब अमेरिकी डलरको आर्थिक भार पर्नेछ।
यो रकम भनेको विश्वको कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत हो। यो भनेको कोरोना महामारीले सन् २०२० मा अर्थतन्त्रमा पारेको असर बराबरको रकम हो।
सन् २०२० सम्ममा विश्वव्यापी रुपमा २ अर्ब ६० करोड मानिसहरु मोटो तथा अति बढी तौल भएका समूहमा थिए। त्यो भनेको तत्कालीन वैश्विक जनसंख्याको ३८ प्रतिशत हुन आउँछ। तर त्यो आँकडामा तीव्र वृद्धि भइरहेको छ। खासगरी बाल्यावस्थामा देखापर्ने मोटापनको दरमा वृद्धि भइरहेको र सन् २०३५ सम्ममा त्यो सन् २०२० को तुलनामा दोब्बर हुने देखिन्छ। त्यतिबेलासम्ममा करिब २० करोड ८० लाख बालक र १७ करोड ५० लाख बालिकाहरु मोटा तथा अत्यधिक तौलको हुने छन्। यो भनेको सन् २०२० को तुलनामा क्रमशः १०० र १२५ प्रतिशतले बढोत्तरी हो।
अहिलेको तथ्यांकअनुसार काम आयस्तर भएका देशहरुमा मोटोपनाको समस्या बढी रहेको देखिन्छ। आगामी वर्षहरुमा पनि यही क्रम चल्नेछ। त्यस्ता देशहरुमा १० मा ९ वटा देशहरु त न्यून वा न्यूनमध्यम आय भएका एसिया र अफ्रिकाका देशहरु हुनेछन्।
फेडरेसनको उक्त रिपोर्टमा सरकार तथा नीतिनिर्माताहरुले यसलाई रोक्न विशेष योजना बनाउनुपर्ने कुरामा जोड दिएको छ। बढ्दो मोटोपना र अत्यधिक तौलका जरो कारणहरुलाई पहिचान गर्न र त्यसको रोकथामका उपायहरु अवलम्बन गर्न तुरुन्तै कदमहरु चाल्न जरुरी छ। त्यसो गरेको खण्डमा भविष्यमा करोडौं मानिसहरुलाई मोटोपन तथ अत्यधिक तौलका समस्याको सिकार बन्नबाट बचाउन सकिने फेडरेसनले जनाएको छ।
मान्छे मोटो हो कि पातलो– थाहा पाउने कसरी?
एउटा मानिसको तौल कति हुनुपर्छ? कतिसम्म तौल भएको मानिसलाई ठिक तौल भएको मान्ने? अनि कतिभन्दा बढी तौल भएको मानिसलाई चाहिँ मोटो मान्ने?
यो कुरा थाहा पाउने सजिलो उपाय छ। त्यो उपायलाई बडी मास इन्डेक्स भनिन्छ। यो उपायको आधारमा मानिसको तौल बढी भए–नभएको निर्क्यौल गरिन्छ।
वास्तवमा बडी मास इन्डेक्सको प्रयोग एउटा मानिसको शरीरमा जम्मा भएको बोसो नाप्न उपयोग गरिन्छ। सामान्यतः मानिसको शरीरमा जमेको बोसोको आधारमा नै उक्त व्यक्ति मोटो छ वा दुब्लो छ भनेर मान्ने गरिन्छ। यसअनुसार बडी मास इन्डेक्स नाप्दा पनि कुनै पनि व्यक्तिको शरीरमा कति बोसो जमेको छ भनेर सामान्य गणनाको आधारमा आकलन गर्ने गरिन्छ। यसअनुसार व्यक्तिको तौल किलोग्राम र उचाइ मिटरमा नापिन्छ। अनि उसको तौल र उचाइलाई वर्गमिटरमा ढालेर विभाजन गरिन्छ। यस प्रक्रियाबाट प्राप्त हुने नतिजाको आधारमा कुनै पनि व्यक्ति दुब्लो वा मोटो के छ भन्ने कुराको टुंगो गरिन्छ।
उदाहरणको लागि एउटा व्यक्तिको तौल ७२ किलो छ। उसको उचाइ ५ फिट ५ इन्च छ।
यसअनुसार उसको उचाइ ६५ इन्च हुन आउँछ। यो भनेको मिटरमा उसको उचाइ १.६५ जति हुन आउँछ।
अब उसको बडी मास इन्डेक्स थाहा पाउनको लागि हामी उसको जम्मा तौल ७२ किलोलाई १.६५ x १.६५ ले भाग गर्छौं। यसअनुसार नतिजा २६.४७ हुन आउँछ। यो भनेको उसको शरीरमा आवश्यकताभन्दा बढी बोसो जमेको छ। अर्थात् त्यो व्यक्ति मोटो हो।
१८.५ देखि २४.९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ। त्योभन्दा कमलाई दुब्लो मानिन्छ भने २५ देखि २९.९ सम्मलाई मोटो मान्ने गरिन्छ। ३० वा त्योभन्दा बढी बडी मास इन्डेक्स हुने मानिसलाई चाहिँ धेरै मोटो मान्ने गरिन्छ।
त्यसो त बडी मास इन्डेक्स मान्छे मोटो छ कि दुब्लो भनेर निर्क्यौल गर्ने सामान्य उपाय मात्रै हो। यो मानिसको शरीरमा कति बढी बोसो छ भनेर यकिनका साथ नाप्ने उपाय चाहिँ होइन। बडी मास इन्डेक्सले मानिसको शरीरमा भएको मासु र उसको शरीरको बनावटलाई प्रतिनिधित्व गर्दैन। त्यसैले बडी मास इन्डेक्स भएको मानिसमा मांसपेशीहरु धेरै छ भने उचित मात्रामा मात्रै बोसो भएको हुन पनि सक्छ। त्यसको ठीक विपरीत बढी मास इन्डेक्स कम देखिएको मानिसमा चाहिँ मांसपेशी कम तर बोसो चाहिँ बढी थुप्रिएको पनि हुन सक्छ।
प्रतिक्रिया