२१ शताब्दीसम्म आइपुग्दा विभिन्न रोगका अनेक उपचार विधि र प्रविधि विकास भइसकेका छन्। १०/१५ सेन्टिमिटर पेट चिरेर गर्नु पर्ने शल्यक्रिया अब एक सेन्टिमिटर प्वाल पारेर दुरबिनको माध्यमबाट गर्न सकिने भइसकेको छ। दुरबिनको माध्यमबाट (ल्याप्रोस्कोपिक) शल्यक्रियामार्फत पाठेघरमा रहेको ट्युमर कसरी हटाउन सकिन्छ भन्नेबारे त्रिपुररेश्वर स्थित ब्लुक्रस अस्पतालमा कार्यररत स्त्री, निसन्तान तथा ल्याप्रोस्कोपी सर्जन डा. रंगीना लाइकंगबमसँग गरिएको कुराकानीः
के हो ल्याप्रोस्कोपिक सर्जरी?
पहिलेपहिले पाठेघरमा समस्या आउँदा १० देखि १५ सेन्टिमिटर पेट चिरेर ट्युमर निकालिन्थ्यो। जसलाई ओपन सर्जरी पनि भनिन्छ।
ल्याप्रोस्कोपिकमा भने पेटमा एक सेन्टिमिटरसम्मको दुई वटा प्वाल पारेर त्यहाँबाट क्यामरा पठाइन्छ। क्यामरा पठाइसकेपछि टीभीको स्क्रिनमा हेरिन्छ। प्वालबाट औजारको माध्यमले पाठेघरको जुन भागमा समस्या छ, त्यही भागमा सर्जरी गरिन्छ। जसलाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ। यसलाई दुरबिनको माध्यमद्वारा गरिने सर्जरी पनि भनिन्छ।
ल्याप्रोस्कोपिक सर्जरीद्वारा पाठेघर, अण्डाशय र गर्भनलीसम्बन्धी शल्यक्रिया गरिन्छ।
हिस्ट्रस्कोपी भनेको के हो?
हिस्ट्रस्कोपी भनेको योनीद्वारबाट टेलिस्कोप पठाएर गरिने शल्यक्रिया हो। लगभग सात वर्ष भइसकेको छ, मैले यो प्रविधिद्वारा उपचार गरेको। ओपीडीमा आउने बिरामी, जसलाई हिस्ट्रस्कोपी गर्नु पर्ने हुन्छ, तीमध्ये जम्मा एक प्रतिशतलाई मात्र यस प्रविधिको बारेमा थाहा छ।
हिस्ट्रस्कोपी सबैभन्दा धेरै पाठेघरको भित्री भागमा मासु पलाएको छ भने गरिन्छ। त्यस्तै बच्चा बसेर पनि बारम्बार खेर गइरहेको छ भने पाठेघरको आकार बिग्रिएको छ भने, पाठेघरभित्रको बायोप्सी लिनका लागि, दुई तीन पटक आईभीएफ असफल भएको छ भने हिस्ट्रस्कोपीद्वारा अप्रेसन गरिन्छ।
योनीद्वारबाट टेलिस्कोप पठाएर अप्रेसन गरिनेलाई हिस्ट्रोसकोपी भनिन्छ भने पेटमा एक सेन्टिमिटर चिरेर लेन्स हालेर अप्रेसन गर्नुलाई ल्याप्रोस्कोपी भनिन्छ।
ल्याप्रोस्कोपी कस्ताकस्ता बिरामीलाई गरिन्छ?
पाठेघरसम्बन्धी जति पनि रोग लाग्छ र ओपन सर्जरीबाट अप्रेसन गरिन्छ, ती सबै ल्याप्रोस्कोपीबाट अप्रेसन गर्न मिल्छ।
समग्रमा भन्नु पर्दा पाठेघरमा मासु पलाउँदा, अण्डाशयमा सिस्ट आउँदा, गर्भनली सुनिएर बिग्रिँदा, धेरै रगत बगिरहँदा पनि यो प्रविधिद्वारा अप्रेसन गर्न सकिन्छ। अर्थात पहिला पेट चिरेर पाठेघर सम्बन्धी गरिने सबै अप्रेसन यो प्रविधिद्वारा गर्न सकिन्छ।
पेट चिरेर गरिनेभन्दा यस प्रविधिद्वारा गरिने अप्रेसनले जीनवशैलीमा धेरै फाइदा पुर्याएको छ।
ल्याप्रोस्कोपिक सर्जरीका फाइदाहरु के–के छन्?
पेट चिरेर गरिने सर्जरीभन्दा पेट नै नचिरेर गरिने वा दुरबिनको माध्यमबाट गरिने यो शल्यक्रिया फाइदाजनक मानिन्छ। पेट जति ठूलो चिर्यो, दुखाइ उति नै हुन्छ। र घाउमा इन्फेक्सन हुने जोखिम पनि उति नै हुन्छ।
ल्याप्रोस्कोपिक सर्जरी गर्दा पेट पनि निकै कम चिरिन्छ जसले गर्दा दुखाइ पनि कम हुन्छ। इन्फेक्सन हुने डर पनि हुँदैन। ओपन सर्जरीमा जसरी बिरामीलाई रगत पनि दिनु पर्दैन। बिरामी छिटो निको हुन्छ।
ल्याप्रोस्कोपिक सर्जरी गर्दा मलाई धेरै बिरामीले रगत कति चाहिन्छ भनेर प्रश्न गर्नु हुन्छ। तर रगत एक थोपा पनि लाग्दैन भनेर उत्तर दिँदा मलाई निकै रमाइलो लाग्छ। किनभने ओपन सर्जरी गर्दा जति चिर्यो, रगत त्यति धेरै नै खेर जान्छ। बिरामीको आफन्तलाई रगत खोज्न धेरै दुख हुन्छ। पैसा पनि खर्च हुन्छ।
ल्याप्रोस्कोपिक धेरै विकसित प्रविधि हो। जुन चिरेपछि पनि सिलाउनु पर्दैन। सिल गर्ने हो। सर्जरी गर्दा एक थोपा रगत पनि बग्दैन।
त्यस्तै ल्याप्रोस्कोपिक सर्जरीपछि बिरामीलाई भोलिपल्ट नै घर पठाइन्छ। अस्पतालको बसाइ एक दिनको मात्र हुन्छ। ल्याप्रोस्कोपिक सर्जरी गरेको आठदस दिनमै अफिस वा घरको काम गर्न सकिन्छ।
केही बिरामी त चार दिनमै अफिस जानु पनि भएको छ।
त्यसैले ल्याप्रोस्कोपिक सर्जरी ओपन सर्जरीभन्दा निकै फाइदाजनक मानिन्छ। यो प्रविधि अब नेपालमा पनि भित्रिसकेको छ र यसको फाइदाहरु धेरै छन् भनेर बुझाउन आवश्क छ।
पाठेघरमा भएको कति ठूलो ट्युमर यस प्रविधिद्वारा निकाल्न सकिन्छ?
यस प्रविधिद्वारा जति ठूलो ट्युमर पनि निकाल्न सकिन्छ। नेपाल खासै धेरै अनुसन्धान हुँदैन र हामीलाई धेरै मिडिया कभरेज पनि हुँदैन। हामी आफ्नो प्रिजेन्टेसन पनि धेरै शो गर्न पाउँदैनौं।
तर यो कुरा मिडियामा ल्याउन धेरै आवश्यक छ कि हामीले अहिलेसम्म सबैभन्दा ठूलो अण्डाशयमा भएको ६ किलो ६ सय ग्रामको सिस्ट ल्याप्रोस्कोपिक सर्जरी गरेको छौं। म सँग त्यसको प्रमाण पनि छ। मैले त्यो सिस्टबाट निकालेको कुरा तौल लिएको थिएँ।
पाठेघरमा कत्रो ट्युमर हुँदा निकाल्नुपर्ने हुन्छ?
हरेक रोगलाई बिरामीले कसरी लिन्छ भन्ने कुरामा भर पर्छ। ४० वर्ष कटिसकेको छ र ट्युमर चार देखि पाँच सेन्टिमिटर भएको छ भने बिरामीलाई एक वर्षसम्म फलोअपमा राखिन्छ। र त्यो ट्युमर बढ्दै गएन भने त्यसलाई औषधिको माध्यमबाट कन्ट्रोल गरिन्छ।
तर सोही बिरामीलाई महिनावारी हुँदा धेरै रगत बगिरहेको छ, जसले गर्दा शरीरमा रगतको मात्रा कम भइरहेको छ, धेरै पेट दुखेको छ, महिनावारी छिटोछिटो भइरहेको छ, रगत लामो समयसम्म पनि बगिरहेको छ भने लक्षण अनुसार सक्दो चाँडो उपचार गर्नु पर्छ।
ट्युमर आठ सेन्टिमिटर भन्दा बढी भइसकेको छ तर लक्षण केही पनि देखिएको छैन भने पनि ट्युमर निकाल्नु पर्ने हुन्छ।
पाठेघरमा मासु पलाएका बिरामीहरु कत्तिको आउनु हुन्छ र कुन उमेर समूहको बढी हुनुहुन्छ?
हामीले किताबमा पढ्दा पाठेघरमा पलाउने ट्युमर ४० वर्ष कटिसकेपछि मात्र देखिन्छ भनेर पढेको हो तर अहिले मैले १९ वर्षको एउटा नानीको पाठेघरबाट सय वटा भन्दा बढी ट्युमर निकालेको छु।
पहिले वा किताबमा लेखिए जसरी ४० वर्षभन्दा माथिको उमेरलाई मात्र ट्युमर हुन्छ भन्ने कुरा अहिले लागू हुँदैन। किनभने अहिले १८÷१९ वर्षको अविवाहित किशोरीहरुको पाठेघरमा पनि ट्युमर देखिरहेको छ।
बिहे भएको लामो समयसम्म पनि बच्चा बसेको छैन भनेर जाँच गर्न आएका महिलाहरुमा ट्युमर देखिने आम समस्या भइसकेको छ।
तर नेपालको सन्र्दभमा कुरा गर्दा चाहिँ ट्युमर हुँदा ७५ प्रतिशतले अझै पनि ओपन सर्जरी नै गर्नु हुन्छ। दुरबिनको माध्यमद्वारा गरिने ल्याप्रोस्कोपिक सर्जरीका बारेमा कम मानिसलाई मात्र थाहा छ। र, थाहा भएकाहरु पनि अन्य देश जाने गर्छन्।
हामीले यहीँ पनि अत्याधुनिक प्रविधिद्वारा ल्याप्रोस्कोपिक सर्जरी गरिहेका छौँ।
यहाँ आउने प्राय बिरामी भनेको विदेशबाट हो। कोही रोजगारी र पढ्नका लागि विदेश गएका नेपालीहरुले पहिला नै समय लिएर आउने गर्नु हुन्छ।
पाठेघरमा ट्युमर पलाउनुको कारण के हो?
पाठेघरमा ट्युमर पलाउने धेरै कारणहरु छन्। ती विभिन्न प्रकारका हुन्छन्। सबैभन्दा बढीमा हुने कारण भनेको हाम्रो शरीरलाई चाहिनेभन्दा चार पाँच गुणा बढी एस्ट्रोजन हर्मोन हुँदा पनि ट्युमरमा परिणत हुन्छ।
अर्को भनेको महिनावारीको समयमा हाम्रो शरीरबाट रगतसँगै ग्ल्यान्ड बाहिर निस्कनु पर्ने हुन्छ तर त्यो पुरै बाहिर नगएर भित्र भित्र घोचेर गयो भने चाहिँ पाठेघर सुनिन्छ जुन ट्युमर हुन्छ। महिनावारी हुँदा धेरै दुख्ने, रगत खुलेर नजाने कालो ढिका हुने जस्ता लक्षण देखिन्छन्।
कस्ता व्यक्तिलाई ल्याप्रोस्कोपिक सर्जरी गर्न मिल्दैन?
खास गरेर मुटु रोग भएका वा मुटुको कुनै पनि शल्यक्रिया गरिएको व्यक्तिलाई ल्याप्रोस्कोपिक गर्नु भन्दा पहिला जाँच गरिन्छ र कुनै पनि समस्या देखियो भने सर्जरी गर्न मिल्दैन।
ल्याप्रोस्कोपिक सर्जरी भन्नेबित्तिकै पेटमा कार्बोनाइड ग्यास हालेर पेटलाई फुलाएर गरिन्छ। त्यसैले मुटुमा समस्या भएका व्यक्तिलाई केही असर गर्छ कि भनेर जाँच गरेर मात्र सर्जरी गरिन्छ।
सुरुमा पेट नै नचिरी अप्रेसन गरिन्छ भन्दा बिरामीले पत्याउँथे त?
सात वर्षअगाडि जब यो प्रविधिद्वारा सर्जरी गरिन्थ्यो, त्यो बेलामा मैले अप्रेसनका लागि १० जना बिरामी जम्मा गरेको थिएँ। एकदुई जनाले मात्र दुरबिनको माध्यमबाट अप्रेसन गर्न मान्नु भएको थियो। तर हाम्रा लागि एकदुई जनाले मान्नु पनि धेरै ठूलो थियो। आजको मितिमा हामी स्वास्थ्यमा अलि बढी सचेत बनेका छौँ।
विदेशतिर पनि यही प्रविधिद्वारा उपचार भइरहेका कारण ओपन सर्जरी भन्दा दुरबिनको माध्यमबाट गरिने सर्जरी राम्रो भन्ने बिरामी पनि छन्।
मिडियाबाट पनि यसबारे जानकारी गइरहेका कारणले गर्दा होला अस्पताल आउने केही बिरामीले आफैँ यस विषयमा कुरा गरिहेका हुन्छन्।
ल्याप्रोस्कोपिक सर्जरी कत्तिको महंगो छ?
ओपन सर्जरीभन्दा यो महंगो नै छ। किनभने यो प्रविधिमा प्रयोग गरिने औजारहरु महंगो नै हुन्छ। कुनै औजार एक पटक मात्र प्रयोग गरेर फाल्नु पर्ने हुन्छ।
तर कटौती कहाँबाट हुन्छ भने ओपन सर्जरी गर्दा रगत चाहिने, औषधिको धेरै प्रयोग गर्नु पर्छ, अस्पताल धेरै बस्नु पर्दा चार्ज धेरै लाग्छ तर ल्याप्रोस्कोपिक गर्दा बिरामीलाई निकै कम औषधि चलाइन्छ र अस्पताल पनि धेरै बस्नु पर्दैन। यस्ता धेरै तरिकाबाट पैसा बचिरहेको हुन्छ।
ल्याप्रोस्कोपिक सर्जरीको बारेमा के भन्न चाहनुहुन्छ?
विशेष गरेर महिलाले स्वास्थ्य क्षेत्रमा ज्ञान बढाउन निकै जरुरी छ। हामी महिला आफ्नो स्वास्थ्यका विषयमा निकै पछाडि गएको देखिन्छ।
ल्याप्रोस्कोपी र हिस्ट्रस्कोपीका बारेमा नेपालमा धेरै भ्रम र गलत कुराहरु फैलिएका छन्। सायद यसको कारण भनेको जनचेतनाका कार्यक्रमहरु धेरै नभएर र धेरै डाक्टर नभएर पनि हुन सक्छ।
यी दुवै प्रविधिद्वारा सर्जरी गर्दा ट्युमर छुट्छ वा पेट मज्जाले खोलेर अप्रेसन गर्दा मात्र राम्रो सँग उपचार हुन्छ भन्ने सोच धेरै पाइन्छ। तर त्यो होइन।
आज विश्वभर नै प्रमाणित भइसकेको छ कि ओपन सर्जरीभन्दा ल्याप्रोस्कोपिक धेरै राम्रो हो भनेर। अरुले भनेको कुरा नसुनेर आफैँले पनि के राम्रो हो के नराम्रो भनेर नेटतिर हेरेर पनि थाहा पाउन सकिन्छ।
प्रतिक्रिया