जीवनशैली


खुसी र सन्तुष्ट रहन अपनाउनुस् यी ८ उपाय

खुसी र सन्तुष्ट रहन अपनाउनुस् यी ८ उपाय

नेपालखबर
मंसिर २५, २०८० सोमबार १९:५, काठमाडौँ

हामीमध्ये थुप्रै मानिस खुसीको खोजीमा हुन्छौँ। तर, कतिपयले बुझेका हुन्नौँ, यो कुनै अलग्गै चिज वा उपलब्धि होइन, बरु हाम्रै आनीबानीमा लुकेको हुन्छ। त्यसैले आफ्नो आदतमा गरिने ससाना सुधारले पनि हाम्रो दृष्टिकोण बदल्न सहयोग गर्छ।

अझ भन्दा जीवनका ससाना घटनाहरु, उदाहरणका लागि प्रकृतिसँगको निकटता, साथीभाइ, आफन्तसँग भेटघाट वा प्रिय पुस्तक पढ्दा आनन्द मान्नेहरु ज्यादा खुसी हुन सक्छन्।

खुसी र सन्तुष्ट रहन आफ्नो दैनिकीमा निम्न सुधार गर्न सकिन्छ :

कृतज्ञताको अभ्यास
हरेक दिन कृतज्ञता ज्ञापन गर्ने बानी बसाउनुहोस्। यसले असफलतालाई पनि सकारात्मक दृष्टिले हेर्न सिकाउँछ। 

कृतज्ञताले तपाईंसँग जे छैन, त्यसमा ध्यान केन्द्रित हुन दिँदैन र तपाईंसँग जे छ, त्यसमा ध्यान केन्द्रित गर्न सिकाउँछ। खुसी रहने यो सरल उपाय हो।

सचेतता
सचेतता भन्नाले तपाईं जे गर्दै हुनुहुन्छ, त्यसमा पूर्ण रुपमा सामेल हुनु वा सचेत रहनु हो।  त्यसका लागि तपाईं जुन काम गर्दै हुनुहुन्छ, त्यसमा पूरै लागिपर्नुपर्छ। वर्तमानमा खुसीको क्षण खोज्न जान्नुभयो भने दुःखी भइँदैन। यसले तपाईंको सचेतता बढाउँछ, तनाव घटाउँछ र ससाना खुसीहरु प्राप्त गर्न सिकाउँछ।

नियमित कसरत
कसरतले शारीरिक स्वास्थ्यलाई फाइदा त गर्छ नै। यसले तपाईंको मनस्थिति पनि सुधार गर्छ। उदाहरणका लागि, तपाईंको मनमा जे चलिरहेको भए पनि एकछिन बाहिर निस्केर घाममा हिँड्दा तत्काल मुड सुधार हुन सक्छ। कसरतले एन्डोर्फिन हर्मोन उत्पादन गर्छ। जसले हामीलाई खुसी रहन मद्दत गर्छ।

त्यसैले, हिँडाइ, व्यायम, योग, जे भए पनि गर्नु खुसी रहने सजिलो तरिका हो।

सुताइ
हरेक रात निद्रा पुग्नेगरी सुत्नुहोस्। दैनिक जीवनका चुनौतीहरुलाई झेल्ने र भावनात्मक सन्तुलन कायम राखिरहने यसभन्दा उत्तम उपाय अर्को छैन।

सहानुभूति
अरुप्रति सहानुभूति अभिव्यक्त हुने ससाना काम गर्ने सचेत प्रयत्न गर्नुहोस्। कसैलाई आवश्यक पर्दा सहयोग गर्नुहोस्, कसैको प्रशंसा गर्नुहोस्। यसले अरुलाई मात्र सकारात्मक प्रभाव पार्ने छैन, तपाईंको सन्तुष्टिलाई पनि बढावा दिनेछ।

सदा सिक्न प्रयत्नरत रहनुहोस्
आफ्नो दिमागलाई जगाउने क्रियाकलापमा सहभागी बन्नुहोस्। नयाँ सिप, भाषा सिक्नुहोस्। सिकाइले व्यक्तिगत वृद्धि गराउँछ। आत्मविश्वास बढाउँछ र उपलब्धि हासिल गरेको महसुस गराउँछ।

प्रकृतिसँगको नाता
नियमित रुपमा घरबाहिर र सकेसम्म प्रकृतिको नजिक हुने कोसिस गर्नुहोस्। यसले मनमा शान्ति कायम राख्न र चुनौतीहरुलाई अलग तरिकाले हेर्न मद्दत गर्छ।

डिजिटल दुनियाँबाट बाहिर निस्किनुहोस्
बेलाबखत डिजिटल उपकरणहरुबाट छुट्टी लिनुहोस्। निरन्तर डिजिटल दुनियाँमा रहँदा तनावमा वृद्धि हुन्छ। साथै, यसले सम्बन्धहरुमा प्रभाव पार्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .