जीवनशैली


यी हुन् जाडोमा एलर्जीबाट जोगिने उपाय

यी हुन् जाडोमा एलर्जीबाट जोगिने उपाय

नेपालखबर
पुस १५, २०८० आइतबार १७:५५, काठमाडौँ

चिसो र एलर्जीबीच कस्तो सम्बन्ध छ, ठ्याक्कै भन्न सक्ने अवस्था छैन। तर, चिसो समयमा विभिन्न खालका एलर्जीले सताउने गर्दछ। चिसोमा धेरैथरीका एलर्जी हुने चिकित्सकहरु बताउँछन्। चिसोमा लगातार हाच्छ्यिुँ आउनु, नाकबाट पानी बग्नु, रुघाखोकी लागिरहनु एकप्रकारको एलर्जीको संकेत हो। 

चिसोमा छालाको एलर्जीले पनि मानिसलाई सताउने छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. मोहन भुसाल बताउँछन्। संवेदनशील छाला भएका व्यक्तिलाई चिसो याम कष्टकर हुने उनको भनाइ छ। चिसोमा घाम तापेर अथवा कोठामा हिटर बालेर शरीरलाई न्यानो बनाउँदा सुख्खापन बढ्ने र चिसो मौसममा बाहिरी वातावरण पनि सुख्खा हुने भएकाले यसको सोझो असर छालामा पर्ने भुसाल बताउँछन्। 

चिसोमा पानी कम पिउनाले छालाको चिल्लोपना घटेर जाने र हात,  खुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखा पर्ने गर्दछ। गर्मी मौसमको तुलनामा चिसो मौसममा छाला चिलाउने समस्या पनि बढी हुन्छ। जाडोमा छाला सुख्खा हुँदा अन्य विभिन्न समस्या समेत देखापर्ने डा. भुसाल बताउँछन्। 

जाडो मौसममा बढी मात्रामा एलर्जीको समस्या देखा पर्ने गर्छ। जसलाई विन्टर एक्जिमा वा अटोपिक डर्माटिटिक्स पनि भनिन्छ। जसका कारण शरीरको विभिन्न भागमा रातो बिमिरा आउने, हातखुट्टामा कत्ला लगायतका समस्या देखिन्छन्। चिसोमा घाम प्यारो हुन्छ। तर, सीधै घाममा बस्नाले फोटोडर्माटाइटिस अर्थात घामबाट हुने एलर्जी देखापर्ने डा. भुसालको भनाइ छ।

यसले गर्दा हात, मुख, घाँटीमा बिमिरा आउने सम्भावना हुने भन्दै सीधै घामको राप आउने गरी नबस्न डा. भुसाल सल्लाह दिन्छन्। 

चिसोमा हिडँडुल गर्दा वा चिसो पानी प्रयोग गर्दा रक्तसञ्चारमा कमी आउने र हातखुट्टा सुन्निनुका साथै रातो देखिने हुन्छ। हिटर नजिकबाट ताप्दा छालामा धर्का देखिन्छ। जसलाई इरिथेमा एब इग्ने भनिन्छ। यसबाट बच्न कन्भेक्सन हिटरको प्रयोग गर्ने वा अलि टाढाबाट हिटर ताप्नुपर्छ। नांगो शरीरमा हट ब्यागको प्रयोग पनि गर्नु नहुने डा. भुसाल बताउँछन्। 

जाडो याममा छालामा कत्लेरोग, सिरोसिस, एक्जिमा जस्ता समस्याले पनि सताउने गर्छ। 

त्यसो भए कसरी यो समस्याबाट छुटकरा पाउने त?
–चिसोबाट बच्न शरीरलाई न्यानो पारेर राख्ने। घरभित्रै बस्दा होस् अथवा बाहिर निस्कँदा न्यानो र पूरा शरीर ढाक्ने लुगा लगाउने। 

–नुहाउँदा शरीरमा मोस्चराइजरयुक्त साबुन वा स्याम्पुको प्रयोग गर्नुपर्छ। 

–नुहाउनेबित्तिकै शरीरमा मोस्चराइजर वा बडी आयल लगाउनुपर्छ। यसले छालालाई लामो समयसम्म नरम राख्छ। 

–नुहाउनुभन्दा अघि बडी लोसन वा तेल लगाउनुपर्छ। 

–धेरै तातो पानीले नुहाउनु हुँदैन। यसले छालालाई सुख्खा गराउँछ। मनतातो पानीले नुहाउनुपर्छ।

–घाममा बस्नुअगाडि सनब्लक क्रिम तथा लोसनको प्रयोग गर्नु पर्छ। घरमा बस्दा पनि मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पर्छ।

–छालामा टाँसिने ‘सिन्थेटिक’ खालका कपडा लगाउनु हुँदैन। जुन शरीरमा घर्षण भएर छालामा समस्या हुन्छ। 

–जाडोबाट बच्नका लागि ऊनीको कपडा लगाइन्छ। यसले पनि जिउ चिलाउने समस्या हुन्छ। त्यसैले ऊनीको कपडाभित्र सुतीको कपडा लगाउनुपर्छ।

–छालाको एलर्जी हुनेहरूले चिकित्सकको परामर्श अनुसार साबुन वा स्याम्पूको प्रयोग गर्नुपर्छ। 

–छाला सम्बन्धी केही समस्या देखा परेको खण्डमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।

–मुख धुँदा साबुन र फेसवासको सट्टा ‘क्लिन्जिङ आयल’, ‘क्लिन्जिङ जेल’ वा ‘क्लिन्जिङ मिल्क’ प्रयोग गर्नुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .