जीवनशैली


मानिसमा हुने यी गुण, जुन शारीरिक सुन्दरताभन्दा बढी आकर्षक हुन्छन्

मानिसमा हुने यी गुण, जुन शारीरिक सुन्दरताभन्दा बढी आकर्षक हुन्छन्

नेपालखबर
पुस २७, २०८० शुक्रबार २१:३९, काठमाडौँ

अंग्रेजीमा एउटा भनाइ छ- ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन।’

यसको अर्थ- तपाईंले पहिलोपटक भेट्दा कुनै व्यक्तिमा जुन छाप वा प्रभाव पर्छ, त्यो उसले लामो समयसम्म सम्झन्छ।

पहिलो भेटमा तपाईं कस्तो देखिनुहुन्छ भन्ने कुराले अर्थ राख्नसक्छ, तर व्यक्तिको व्यक्तित्वका ती अन्य पक्ष के हुन् जसले मानिसहरूको मन छुन्छ।

आमधारणा के छ भने कुनै पनि रोमान्टिक सम्बन्ध यसरी सुरु हुन्छ कि तपाईं पहिलो नजरमा कसरी प्रस्तुत हुनुहुन्छ? 

तर शारीरिक आकर्षण व्यक्तिका अन्य धेरै गुणका कारणले पनि हुनसक्छ। तपाईं पहुँचयोग्य हुनुहुन्छ? तपाईंको कुरा गर्ने शैली कस्तो छ? तपाईंको व्यवहार कस्तो छ?

अमेरिकामा गरिएको एक सर्वेक्षणमा जोडीहरूलाई लुक्सबाहेक तपाईंलाई एकअर्काका अरू कुन–कुन गुण मन पर्छन् भनेर सोधिएको थियो।

जवाफमा मानिसहरूले भौतिक सफलता जस्तै- आर्थिक सुरक्षा र राम्रो घर, उनीहरूका लागि आकर्षक गुणमध्ये सबैभन्दा पुछारमा पर्ने बताए। अर्कातर्फ उनीहरूले आफ्नो पार्टनरको कुरामा सहमत हुनु, बहिर्मुखी हुनु, बौद्धिकतालाई शारीरिक आकर्षणभन्दा धेरै माथि राखे। 

लुक्स कत्तिको महत्त्वपूर्ण?
यस सर्वेक्षणका विषयमा अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्रोफेसर ग्रेग वेबस्टर भन्छन्, ‘यस्ता सर्वेक्षणमा मानिसहरूले यस्तो जवाफ दिने प्रयास गर्छन्, जसले अरूका नजरमा आफूलाई राम्रो देखाऊन्। यसको अर्थ यस्ता सर्वेक्षण डाटाले पूर्ण रूपमा स्पष्ट चित्र प्रस्तुत नगर्न सक्छ।’

तर प्रश्न के हो भने जब हामी वास्तविक जीवनबारे कुरा गर्छौं, तब लुक्समा भन्दा अधिक ध्यान व्यक्तिको व्यक्तित्वले तान्छ?

यस प्रश्नमा मनोवैज्ञानिक डा. पूजा शिवम जेटली भन्छिन्, ‘सुरुमा आकर्षण लुक्समा आधारित हुन्छ। तर यो कुरा व्यक्ति–विशेषमा पनि भर पर्छ।’

‘तपाईं कस्तो देखिनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र यो सुरुवाती बिन्दु पनि हो। तर कसैको सौन्दर्य वा रूपले लामो समयसम्म कसैलाई आकर्षित गर्न सक्दैन।’

डा. पूजा शिवम जेटली भन्छिन्, ‘तर तपाईं लामो समयको सम्बन्धबारे सोध्नुहुन्छ भने तपाईंको व्यक्तित्व, तपाईंको आवश्यकता र तपाईं संसारलाई कसरी हेर्नुहुन्छ यी सबै कुराले पनि मानिसहरूलाई आकर्षित गर्छ।’

उनका अनुसार धेरैजसो सम्बन्धमा यी पक्षमा छलफल भएनन् भने भविष्यमा मतभेद आउन सक्छ। आफ्नो पार्टनरको कुरा सुन्नु र आपसी सहमति कायम राख्नु कुनै पनि सम्बन्धका लागि धेरै महत्त्वपूर्ण हुन्छ।

उनी भन्छिन्, ‘के कोही यस्तो व्यक्तिलाई विश्वास गर्न सक्छन्, जसले आफ्नो कुरालाई महत्त्व दिँदैन?’

कुनै पनि व्यक्तिको व्यक्तित्व मापन गर्नु गाह्रो काम हो। दशकौँदेखि मानिसहरूलाई साइकोमेट्रिक परीक्षणमा धेरै प्रश्नहरू सोधिन्छन्, ताकि तिनीहरूको व्यक्तित्वबारे थप जानकारी प्राप्त गर्न सकियोस्। 

कसैको व्यक्तित्व कसरी मूल्यांकन गर्ने?
तर सामान्य जीवनमा मानिसको व्यक्तित्वलाई कसरी मूल्यांकन गर्न सकिन्छ?

यस प्रश्नमा व्यवहार विशेषज्ञ तथा जीवन प्रशिक्षक आस्था दिवान भन्छिन्, ‘एउटा व्यक्तिको व्यक्तित्व धेरै कुराले बनेको हुन्छ। तपाईं ऊसँग सजिलै कुरा गर्न सक्नुहुन्छ कि छैन भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ।’

‘तपाईं कुरा गर्दा अरूलाई बोल्ने मौका दिनुहुन्छ? तपाईंको प्राथमिकता के हो? तपाई्रलाई के मन पर्छ? तपाईंको जीवन मूल्य के हो? तपाईंको आत्मविश्वास कस्तो छ? यी सबै चिज तपाईंको व्यक्तित्वका महत्त्वपूर्ण हिस्सा हुन्।’ 

यसैगरी तपाईंले यो पनि सुन्नु भएको होला कि ‘विपरीत आकर्षण’ भनेको दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया भिन्न छन् र एकअर्काप्रति आकर्षित हुन्छन् किनभने व्यक्तित्वमा भिन्नताले पनि मानिसहरूलाई आकर्षित गर्छ।

युनिभर्सिटी अफ रोचेस्टर, संयुक्त राज्य अमेरिकाका ह्यारी रिड र मिनेसोटा विश्वविद्यालयका एलन बर्शार्डका अनुसार एक व्यक्तिले पहिलेदेखि चिनेको साथी खोज्छ, जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ। यो आकर्षणको आधारभूत सिद्धान्त हो।

यसबारे डा. आस्था दिवान भन्छिन्, ‘कतिपय मानिसहरू आपसमा समानता खोज्छन्, कहिलेकाहीँ आफूभन्दा फरक व्यक्ति पनि रोज्छन्। समानता खोज्नु मानवीय स्वभाव हो।’

‘यो कुराले मानिसलाई धेरै सुरक्षित महसुस गराउँछ, जब तपाईंका विचार, गुण र रुचिमा समानता हुन्छ, तब त्यहाँ तुरुन्त स्पार्क आउँछ, तुरुन्त एउटा सम्बन्ध सिर्जना हुन्छ।’ 

उनी भन्छिन्, ‘कुनै पनि सम्बन्धलाई लामो समयसम्म टिकाउन सँगै बसेर पनि जीवनमा अलग–अलग रूपमा अगाडि बढ्ने अवसर हुनु जरुरी छ।’

‘मानिसहरू सधैँ समानता खोज्छन् भन्ने होइन, कहिलेकाहीँ तपाईंलाई आफूभन्दा पूर्णतया भिन्न व्यक्ति पनि मन पर्न सक्छ, यदि दुवैले एकअर्काको आधारभूत आवश्यकता पूरा गरिरहेका छन् भने।’

डा. आस्था दिवानका अनुसार मित्रताभन्दा बढी आकर्षण धेरैजसो विपरीत व्यक्तिसँग हुने गर्छ। मित्रता पनि दुई पूर्णतया फरक व्यक्तिहरूबीच छिट्टै हुन्छ। 

उनी भन्छिन्, ‘धेरैपटक मानिस आफूमा जे कुराको कमी छ, त्यो उसले आफ्नो पार्टनरमा खोज्छ र एकअर्कासँग मिलेर पूरा गर्छ।’

ग्रेग वेबस्टर भन्छन्, ‘अन्य आकर्षक गुणहका साथसाथै सहमति कायम राख्नाले सम्बन्धमा दुवैको व्यक्तित्वको उत्कृष्ट पक्षलाई अझ उठाउन सक्छ।’ 

ग्रेग वेबस्टरले सामाजिक मनोवैज्ञानिक एन्जेला ब्रायन र अमान्डा महाफेसँग मिलेर एक व्यक्तिको तीनवटा व्यक्तित्वका लक्षणबारे अनुसन्धान गरे।

ती तीन गुण थिए– शारीरिक रूपमा आकर्षक, आर्थिक रूपमा प्रभावशाली र अरूसँग सहमति कायम राख्न सक्ने स्वभाव। 
यस अध्ययनमा यी तीनवटै गुणले मानिसलाई आफूतर्फ आकर्षित गर्ने गरेको पाइयो। 

किनभने प्रत्येक गुणले कुनै न कुनै रूपमा सुरक्षा तथा खाना, बासजस्ता आधारभूत आवश्यकता पूरा गर्छन्। 

तर प्रभुत्व राम्रो र खराब पनि हुन सक्छ।

वेबस्टर भन्छन्, ‘जब वर्चस्वको कुरा आउँछ, तब पक्कै पनि यो कुराको ख्याल हुनेछ कि आफ्नो पार्टनर सामाजिक, शारीरिक वा आर्थिक रूपमा प्रभावशाली होस् तर धेरैजसो मानिस के मन पराउँदैनन् भने यस्तो प्रभुत्वले आफ्नो सम्बन्धमा पनि असर पारोस्।’ 
‘यदि कुनै व्यक्तिमा प्रभुत्व स्थापित गर्नाका साथै आपसी सहमति निर्माण गर्ने गुण छ भने त्यो व्यक्ति अझ आकर्षक देखिन थाल्छ।’

अन्त्यमा वेबस्टर भन्छन्, ‘सबैसँग सहमति कायम गर्न सक्ने हाम्रो गुण हाम्रो व्यक्तित्वका अन्य गुणभन्दा धेरै अगाडि छ।’ बीबीसी हिन्दीबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .