जीवनशैली


नेपालमा क्यान्सर : स्तन क्यान्सर दोस्रो नम्बरमा, पुरुष पनि जोखिममा

नेपालमा क्यान्सर : स्तन क्यान्सर दोस्रो नम्बरमा, पुरुष पनि जोखिममा

राधिका अधिकारी
माघ २१, २०८० आइतबार १५:५३, काठमाडौँ

केही वर्ष अघिसम्म क्यान्सर लाग्नेबित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने भ्रम चिरिएको छ। समयमै उपचार गरेको खण्डमा क्यान्सर रोग निको भएर रोगीले पूर्ण जीवन बाँचेको प्रशस्तै उदाहरण छन्। बलिउडमा सफल नेपाली चेली मनिषा कोइरालालाई डिम्बाशयको क्यान्सर भयो। उपचारपछि निको भएकी मनिषा हिजोआज सबैभन्दा पहिला आफूलाई माया गर्नु पर्ने कुरा आम मानिसलाई स्मरण गराइरहेकी हुन्छिन्। 
उता हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले क्यान्सरको जोखिमबाट बच्न आफ्ना दुवै स्तन फाल्न लगाइन्। विश्वभरका महिला स्तन क्यान्सरको उच्च जोखिममा छन्।

सन् २०२० मा स्तन क्यान्सरबाट मात्रै विश्वभर ६ लाख ८५ हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। विश्वभर स्तन क्यान्सर भएकामध्ये ६६ प्रतिशत महिला भने उपचार पछि पूर्ण स्वस्थ भएका छन्। सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु क्यान्सर रोगका कारण भएको छ। संगठनका अनुसार क्यान्सर रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सूर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ। नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने क्यान्सरका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ। यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा क्यान्सरको रोग बढी हुने गर्छ।

विश्व स्वास्थ्य संगठनको केही वर्षअघिको तथ्यांक अनुसार नेपालमा वर्षेनि एक लाखमा २१.८ जना महिलामा स्तन क्यान्सर हुने र तीमध्ये १० जनाको मृत्यु हुने गरेको छ। महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरका कारण भएको छ। पुरुषको दाँजोमा महिलामा स्तन क्यान्सर सय गुणा बढी हुन्छ।

५० वर्षभन्दा माथिका, आनुवांशिक खराबी भएका, ३५ वर्षपछि विवाह गरेर आमा बनेका, १२ वर्ष अगाडि नै महिनावारी सुरू भएका, मोटोपना भएका, अधिक वा लामो समयदेखि एस्ट्रोजन सेवन गरेका, अधिक धुम्रपान तथा मद्यपान गर्ने, बढी चिल्लो तथा बोसोयुक्त खाना खाने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन्।

यसैगरी, वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन सक्छ। साथै, विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएका र पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा पनि यो रोगको जोखिम उच्च हुन्छ। २५ वर्षभन्दा कम उमेरका महिलामा स्तन क्यान्सरको दर कम रहेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन्। 

स्तन क्यान्सर के हो?
स्तन क्यान्सर जीवनलाई खतरामा पार्ने रोग हो। जसले वर्षेनि विश्वभर लाखौँ मानिसलाई असर गरिरहेको छ। मुख्यतयाः स्तन क्यान्सरका कारण महिलाहरु जोखिममा छन्। विश्वमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पहिलो नम्बरमा छ। तर, नेपालमा पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ। ८ महिलामध्ये १ महिलामा र १ हजार पुरुषमध्ये १ पुरूषमा स्तन क्यान्सर देखा पर्दछ। स्तनको तन्तुमा असामान्य कोषिकाहरू अनियन्त्रित रूपमा बढ्न थालेपश्चात स्तन क्यान्सर देखा पर्ने गर्छ। स्तन क्यान्सर, यसको कारण, लक्षण र रोकथामका उपायहरू बुझ्नु प्रारम्भिक पहिचान र प्रभावकारी उपचारको लागि आवश्यक छ।

स्तनमा गिर्खा हुनु, स्तनको आकारमा परिवर्तन, मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिनु, मुन्टा भित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण हुन्। यस्ता लक्षण देखिइसक्दा पनि दुखाइ भने प्रायः नहुने भएकाले स्तन क्यान्सरले धेरैलाई झुक्याउने गरेको स्तन क्यानसरपछि उपचार गराएर निको भएकाहरुले सुनाउने गरेका छन्। 

स्तन क्यान्सरको प्रारम्भिक लक्षण निम्नानुसार हुने विज्ञहरूको भनाइ छ:

निप्पलमा जलन अनुभूति 
स्तनको निप्पल जलनका धेरै कारणहरू हुन सक्छन्। तर निप्पल जलन पनि स्तन क्यान्सरको एक लक्षण हो। यसबाहेक निप्पलमा चिलाउने र रातो दागहरू देखिने स्तन क्यान्सरका सामान्य लक्षण हुन्। 

स्तनमा गाँठो 
सामान्यतया स्तन क्यान्सर स्तनमा गाँठो बनेर सुरु हुन्छ। स्तनमा कुनै प्रकारको गाँठो आएको छ भने ढिलाइ नगरी डाक्टरलाई सम्पर्क गर्न क्यान्सर रोग विशेषज्ञहरुले सुझाव दिँदै आएका छन्।

स्तन आकारमा परिवर्तन 
स्तनमा अचानक परिवर्तन देखिनु। स्तनको आकार परिवर्तन हुँदै जानु स्तन क्यान्सरको संकेत हुन सक्छ। स्तनको आकारमा असमानता हुनु, स्तनको आकार एकातर्फ घट्नु स्तन क्यान्सरको लक्षण भित्र पर्छ। 

स्तनमा दुखाइ
स्तन छुँदा कुनै पनि प्रकारको दुखाइ हुन्छ भने ढिलो नगरी डाक्टरसँग परामर्श लिनु पर्छ। किनभने क्यान्सर सुरुमै रोकिएमा यो समस्या धेरै हदसम्म कम गर्न सकिन्छ। 

निप्पलबाट तरल पदार्थ बग्नु 
गर्भावस्थाबिना नै स्तनबाट पानी वा अन्य कुनै तरल पदार्थ निस्किरहेको छ भने यो स्तन क्यान्सरको जोखिममा रहेको संकेत हो। यदि कुनै पनि प्रकारको अनावश्यक तरल पदार्थ देखियो भन ढिला नगरी डाक्टरसँग परामर्श लिनु पर्छ।

पुरुष पनि स्तन क्यानसरको जोखिममा
पछिल्लो समय पुरुषमा पनि स्तन क्यान्सर देखिन थालेको नर्भिक इन्टरनेुनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्की बताउँछिन्। चिकित्सकको अध्ययन र अनुसन्धानअनुसार सय जना महिला बराबर एक जना पुरुषमा स्तन क्यान्सर फेला पर्ने गरेको भक्तपुर क्यान्सर अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट विभागीय प्रमुख तथा स्तन क्यान्सर रोग विशेषज्ञ डाक्टर उत्सवमान श्रेष्ठ बताउँछन्। पुरुषहरुमा स्तन क्यान्सर विशेषगरी हर्मोनका कारण हुने उनको भनाइ छ। 

डा. श्रेष्ठका अनुसार हालसम्मको अवस्था हेर्दा करिब ३५ वर्षदेखि ७० वर्षका पुरुषहरुमा स्तन क्यान्सर देखिने गरेको छ। डा. श्रेष्ठका अनुसार अस्पतालले १० वर्षमा १८ जना पुरुषको स्तन क्यान्सरको अप्रेसन गरेको छ। यो तथ्यांकलाई हेर्ने हो भने स्तन क्यान्सर पीडित पुरुषको संख्या बढ्दो क्रममा छ। अस्पतालले वार्षिक ३ सय जना महिला र तीन देखि चार जना पुरुषको शल्यक्रिया गर्ने गरेको उनी बताउँछन्। 

यो त भक्तपुर क्यान्सर अस्पतालको मात्रै तथ्यांक हो। देशभरका अस्पतालका रिपोर्ट हेर्ने हो भने स्तन क्यान्सर पीडित पुरूषहरूको संख्या बढेको देखिन्छ। त्रिवि शिक्षण अस्पतालकी कसल्ट्यान्ट तथा सर्जन डा. सुजिता हिराचन आफूले वर्षमा २÷३ जना स्तन क्यान्सर भएका पुरुष बिरामीहरुको उपचार गर्ने गरेको अनुभव सुनाउँछिन्। 

पुरुषमा देखिने स्तन क्यान्सरका लक्षण
स्तन क्यान्सरको सुरुवाती चरणमा खासै लक्षण देखा पर्दैन। दोस्रो चरणमा पुग्दा स्तन वरपर सामान्य लाग्ने गिर्खा देखा पर्छ, तर दुखाइ भने खासै महसुस हुँदैन। तेस्रो चरणमा पुगिसकेपछि भने गिर्खाको आकार बढ्दै जाने, दुखाइ महसुस हुने, निप्पल पाक्ने, घाउ खटिरा आउने र एक ठाउँबाट सर्दै काखी, घाँटीलगायत शरीरको अन्य भागसम्म फैलन सक्ने सम्भावना रहने डा. उत्सवमान श्रेष्ठ बताउँछन्। 

सामान्यतयाः स्तन क्यान्सरका लक्षण महिला र पुरुषमा उस्ता–उस्तै हुने गर्छन्। महिलाको तुलनामा पुरुषको स्तनको आकार सानो हुने भएका कारण लक्षण देखिनासाथ परीक्षण गर्न सके पुरुषमा शतप्रतिशत पूर्ण रुपमा निको हुने उनको भनाइ छ। पहिलो चरणमा खासै असर नपर्ने हुँदा प्राय पुरुषहरु अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको श्रेष्ठले बताए। 

स्तन क्यान्सरका कारणहरू
स्तन क्यान्सर यसै कारणले हुन्छ भन्ने कुरा अझैं अस्पष्ट नै छ। तर, धेरै जोखिम कारकहरू यो रोग विकाससँग सम्बन्ध राख्दछन्।

वंशाणुगत 
स्तन क्यान्सर पारिवारिक इतिहाससँग सम्बन्धित क्यान्सर हो। विशेषगरी यदि अघिल्लो पुस्ताका पारिवारिक सदस्यहरुमा यो रोग देखिएको भएमा पछिल्लो पुस्तामा पनि स्तन क्सान्सरको जोखिम बढी हुन्छ। 

हर्मोन 
एस्ट्रोजनको लामो समयसम्म एक्सपोजर, जस्तै प्रारम्भिक महिनावारी वा ढिलो रजोनिवृत्तिजस्ता कारणले पनि स्तन क्यान्सरको जोखिम बढाउन सक्छ। 

उमेर 
स्तन क्यान्सरको जोखिम उमेरसँगै बढ्दै जान्छ। यो अधिकांश ५० वर्षभन्दा माथिका महिलाहरूमा हुने गर्छ। 

अस्वस्थकर जीवनशैली 
अत्यधिक मदिरा सेवन, धुम्रपान र शारीरिक गतिविभिको कमीजस्ता अस्वस्थ बानीहरूले स्तन क्यान्सरको जोखिममा योगदान पु¥याउँछ। 

विकिरण एक्सपोजर
विकिरणको उच्च डोजका कारण पनि यसको जोखिम बढ्छ। जस्तैः अघिल्लो क्यान्सर उपचारको समयमा हुने विकिरण जोखिम पनि स्तन क्यान्सरको कारण बन्न सक्छ।
 
स्तन क्यान्सर रोकथामका उपाय
केही जोखिम हाम्रो नियन्त्रणभन्दा बाहिर भएतापनि स्तन क्यान्सरको जोखिम कम गर्ने केही उपाय छन्।

स्वस्थ जीवनशैली
अन्य रोगहरुलाई जस्तै स्तन क्यान्सर जित्नलाई पनि सन्तुलित आहारले ठूलो भूमिका खेल्दछ। नियमित व्यायाम गर्ने तथा लागूपदार्थ सेवन र धुम्रपान नगर्नाले पनि स्तन क्यान्सरको जोखिम कम गर्दछ। 

स्तनको स्वपरीक्षण
स्तनमा कुनै परिवर्तनहरू पत्ता लगाउन नियमित स्वपरीक्षण गर्ने।

क्लिनिकल स्क्रिनिङ
स्वास्थ्यकर्मीले भनेअनुसार नियमित म्यामोग्राम र क्लिनिकल स्तन परीक्षणहरू गर्ने।

आनुवांशिक परामर्श
 यदि स्तन क्यान्सरको पारिवारिक इतिहास छ भने जोखिम मूल्यांकन गर्न आनुवांशिक परामर्श लिने।

स्तनपान
केही अध्ययनकाअनुसार स्तनपानले स्तन क्यान्सरको जोखिम कम गर्न सक्छ। 

स्तन क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या हो। तर, प्रारम्भिक पहिचान र नौलो उपचार विधिको आविष्कारले नियमित रोगको निदानमा उल्लेखनीय सुधार भएको छ। नियमित स्क्रिनिङ, स्वस्थ जीवनशैली र लक्षणहरूको सचेतनाले स्तन क्यान्सरलाई रोक्न र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्दछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .