जीवनशैली


धूमपानले वर्षौँसम्म गर्नसक्छ शरीरको प्रतिरक्षा प्रणालीमा असर

धूमपानले वर्षौँसम्म गर्नसक्छ शरीरको प्रतिरक्षा प्रणालीमा असर

नेपालखबर
फागुन ७, २०८० सोमबार १६:२६, काठमाडौँ

चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीमा वर्षौँसम्म असर गर्ने देखाएको छ। 

नयाँ अध्ययनअनुसार सेवन गर्न छोडेको धेरै वर्षसम्म पनि यसले व्यक्तिको प्रतिरक्षा प्रणालीलाई नै परिवर्तन गर्ने र विभिन्न रोग तथा संक्रमणको जोखिम हुने देखिएको छ। 

दशकौँसम्म स्वास्थ्य सेवा प्रदायकहरुले धूमपान गर्ने बानीले स्वास्थ्यमा गम्भीर समस्या ल्याउने र फोक्सोमा क्यान्सर, हृदयाघातसम्म हुने बताए पनि गत बुधबार जर्नल नेचरमा प्रकाशित अध्ययनले भने धूमपान अर्को एक कारणले छोड्नुपर्ने देखाएको छ। 

उक्त अध्ययनले धूमपानले शरीरको संक्रमणसँग लड्ने क्षमतामा समयक्रमअनुसार क्रमशः ह्रास आउने र र्‍युमेटोइड आर्थिटिस (हाडजोर्नीका समस्या), लुपुस (जोर्नी, छाला, मस्तिष्क, फोक्सो, मिर्गौला र रगतमा समस्या ल्याउने) जस्ता विभिन्न रोग लाग्ने देखिएको हो।

उक्त अध्ययनका सहलेखक पेरिसस्थित इन्स्टिचुट पास्टियरमा कम्प्युटेसनल बायोलजीका एक विज्ञ डा. भायलेन सेन्ट आन्द्रे जतिसक्दो चाँडो धूमपान छोड्न सल्लाह दिन्छिन्। 

उनी भन्छिन्, ‘हाम्रो अध्ययनको मुख्य सन्देश भनेको विशेषगरी युवाहरुका लागि हो, धूमपान सुरु नै नगर्नुहोस् भन्ने हो।’

अध्ययनमा २० देखि ६९ वर्षका १ हजार स्वस्थ मानिसहरुबाट विभिन्न समयमा रक्त नमुना संकलन गरिएको थियो। त्यो समूहमा महिला र पुरुष बराबर संख्यामा थिए। 

अनुसन्धानकर्ताहरुले उनीहरुको जीवनशैली, सामाजिक आर्थिक पक्षहरु र आहार बानीहरुले उमेर, लिंग र आनुवांशिक पक्षअनुसार प्रतिरक्षा प्रणालीलाई प्रभाव पार्छन् भन्ने अध्ययन गरेका थिए। यसले लिइएका रक्त नमूनाबाट सामान्य कीटाणुहरु इ. कोली ब्याक्टेरिया र फ्लु भाइरस फेला परेको र प्रतिरक्षा प्रतिक्रियाको मापन गरेको पाइएको थियो। 

अध्ययनका क्रममा धूमपान, बडी मास इन्डेक्स र हर्प्स भाइरसबाट हुने संक्रमण बढी देखिएको थियो जसमा प्रतिरक्षा प्रणालीमा सबैभन्दा बढी परिवर्तन धूमपानले गरेको तथ्य फेला पर्यो। यसले उमेर र लिंगजस्ता महत्त्वपूर्ण कुराले जस्तै धूमपानले पनि प्रतिरक्षा प्रणालीमा असर गरेको देखियो। 

यो विचारणीय रहेको सेन्ट आन्द्रे बताउँछन्। 

जब अध्ययनमा क्रममा धूमपानकर्ताले त्यसलाई छाडे तिनीहरुको प्रतिरक्षा प्रणाली पनि राम्रो हुँदै गएको पनि देखियो तर यो पूर्णरुपमा वर्षौँसम्म ठीक नभएको अर्का सहअध्येता डा. डारा डफी बताउँछन्। उनी पनि इन्स्टिचुट पास्टियरमै ट्रान्सलेसनल इम्युनोलोजीका सञ्चालक हुन्। 

‘राम्रो कुरा के हो भने यसले फेरि ठीक हुन सुरुचाहिँ गर्छ’, उनले भने, ‘धूमपान सुरु गर्नु कहिल्यै पनि सही समय होइन तर यदि तपाईं गर्नुहुन्छ भने छोड्ने उपयुक्त समय अहिले हो।’ 

 डफीका अनुसार विस्तारै कम गर्दै जानु पनि सकारात्मक हुन्छ। 

उक्त अध्ययनले धूमपानले लामो समयसम्म प्रतिरक्षा प्रणालीका दुई मुख्य रक्षा– जन्मदेखिको प्रतिक्रिया (इन्नेट रिस्पन्स) र पछि ग्रहण गर्दै जाने प्रतिक्रिया (अड्याप्टिभ रिस्पन्स) मा एपिजेनेटिक (व्यक्तिको व्यवहार र वातावरणले हुने परिवर्तन जसले उसको जिनले काम गर्ने कुरालाई प्रभाव पार्छ) प्रभावहरु पर्ने देखाएको छ। यसले धूमपान छाड्दा प्रतिरक्षा प्रणालीको जन्मदेखिको प्रतिक्रियामा पर्ने असर हट्ने तर अड्याप्टिभ रिस्पन्समा पर्ने असर धूमपान छोडे पनि लामो समयसम्म रहिरहने देखिएको छ। 

उक्त अध्ययनबाट पत्ता लागेको मुख्य तथ्य भनेको छोटो समयको धूमपानको असर लामो समयसम्म रहन्छ भन्ने नै भएको सेन्ट आन्द्रे बताउँछिन्। 

यो अध्ययनका आफ्नै सीमितता भने रहेको छ। किनभने यो प्रयोगशालामा संकलित नमूनाबाट अध्ययन गरिएको थियो। तर वास्तविक जीवनमा भने प्रतिरक्षा प्रणालीले फरक हिसाबले पनि प्रतिक्रिया गर्न सक्छ। सीएनएनबाट भावानुवाद  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .