गर्मी महिनामा स्वस्थ देखिएको छालामा चिसो महिना सुरु भएसँगै विभिन्न समस्या देखिने गर्छ। तपाईं पनि गर्मी महिनामा नदेखिएको चायापोतो जाडो महिनामा बढेको पाउनुहुन्छ होला। त्यसको कारण हो– शरीर तातो बनाउन लामो समयसम्म घाममा बस्नु र हिटरको प्रयोग गर्नु। तातोले छालालाई बढी सुख्खा बनाउदा कालोपनको समस्या देखिन्छ। जसलाई चिकित्सकीय भाषामा ‘मेलाज्मा’ भनिन्छ।
घाममा रहेको अल्ट्राभायोलेट किरण छालामा परेपछि छालाले तातोपनबाट जोगाउन अधिक मेलानिन बनाउँछ। यही मेलानिन नै छालामा देखिने कालोपन हो। घामको कारण छालामा सुरु भएको मेलानिनलाई हिटरको तातोले झन् बढाउने गरेको छ। हिटरले अनुहार र शरीरको चिसोपन सोस्छ र छालामा सुख्खापन बढ्छ। जसले चायापोतोलाई झन् बढाउने गरेको छ।
छालालाई रङ दिने मेलानोसाइट कोसिकाहरू बढेपछि अनुहारको रङ गाढा भई चायापोतो बढाउँछ। यसलाई बढाउने मुख्य कारक घामको किरण नै हो। सूर्यको पराबैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ। बढी मात्रामा घाममा काम गर्ने र बस्ने व्यक्तिमा यस्तो समस्या देखिने गरेको चिकित्सक बताउँछन्।
सफा, चम्किलो, स्वस्थ र दागरहित छाला होस् भन्ने सबैको चाहना हुन्छ। तर, हाम्रो आफ्नै लापरबाहीले नै अनुहारको छाला बिग्रिरहेको हुन्छ।
अवस्थकर खानपान, जीवनशैली, गलत सौन्दर्य सामग्रीका कारण पनि हाम्रो छाला बिग्रिरहेको हुन्छ। त्यसमध्ये धेरै व्यक्तिलाई सताउने एउटा समस्या हो– अनुहारमा आउने चायापोतो।
हर्मोनल गडबडी, घाममा धेरै समय बस्ने, झन् चिसो महिनामा शरीर तातो बनाउन हिटर नजिक धेरै समय बिताउने व्यक्तिलाई चायापोतोको समस्याले सताउने गरेको छ। यस्तो समस्याले व्यक्तिमा मानसिक रुपमा तनाव सिर्जना गर्ने र आत्मविश्वासमा समेत कमी ल्याउन सक्ने चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार गर्भावस्थामा हार्माेनल परिवर्तन हुँदा धेरै महिलाको अनुहारमा चायापोतो आउने गरेको छ। गर्भावस्थामा आउने चायापोतोलाई चिकित्सकीय भाषामा ‘कोलाज्मा’ भनिन्छ।
यस्तो चायापोतो केही महिलामा सुत्केरी अवस्थामा आफैँ हराएर जान्छ भने केहीमा रहने गरेको छ। यस्तै हर्मोनल गडबडीका कारण देखिने थाइराइड समस्याका कारण पनि कालो पोतोको समस्या देखिने गरेको छ। चायापोतो आउनुको अर्को कारण वंशाणुगत पनि हुन सक्छ। यदि परिवारको सदस्यमा चायापोतो आउने समस्या भए सन्तानमा पनि देखिन सक्छ।
चायापोतो सबैभन्दा बढी अनुहारमा देखिन्छ। प्रायः गालाको हड्डी भएको भाग, नाक, निधार र चिउँडोमा देखिन्छ। यदि छालाको सतहमा मात्र पोतो भएमा भने हल्का खैरो मात्र हुन्छ। तर छालाको भित्री सतहमा असर गरेको खण्डमा गाढा निलो र कालो देखिन्छ। कालोपोतो देखिएका व्यक्ति सनस्क्रिन नलगाई घाममा बस्ने, हिटरको तातो सिधै अनुहारमा पारेर बस्दा झन् बढ्ने गर्छ।
चिकित्सकका अनुसार चायापोतोको समस्या उच्चरक्तचाप, मधुमेह जस्तै दीर्घकालीन रोग हो। एक पटक यो समस्या देखियो भने पूर्ण रुपमा निको बनाउन सकिँदैन। तर, नियन्त्रण गर्न भने सकिन्छ। सामाजिक सञ्जालमा चायापोतो पूर्ण रुपमा निको हुने भन्दै गरिएका विज्ञापनप्रति सचेत हुन चिकित्सक आग्रह गर्छन्।
चायापोतो निको बनाउन भन्दै प्रयोग गरिने औषधि वा मलमले केही समय हटेको जस्तो देखिए पनि पछि पुनः दोहोरिने गरेको छालारोग विशेषज्ञहरूको भनाइ छ।
यदि समयमै छालाको हेरचाह गरे यसको पनि समाधान हुन सक्छ। तातो बनाउन हिटर बाल्दा नजिकै नबस्ने, टाढाबाट हिटर ताप्ने घाममा बस्दा अनुहार घाममा नपार्ने, सनस्क्रिन लगाउने, चायापोतो धेरै बढ्दै गए चिकित्सकको परामर्श लिनेजस्ता उपाय अपनाउन सकिन्छ।
चायापोतो किन आउँछ, यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छालारोग विशेषज्ञ डा श्रद्धा चुडालको भिडिओ बिफ्रिङ :

प्रतिक्रिया