भक्तपुरकी सलिना महर्जन (नाम परिवर्तन) विवाह गरेको ५ वर्षपछि गर्भवती भइन्। परिवारमा खुसीको माहोल बन्यो। सलिना पनि विवाह गरेको लामो समयपछि आमा बन्न लागेकोमा निकै खुसी थिइन्।
केही दिनपछि उनलाई अत्यधिक पेट दुख्न थाल्यो। गर्भावस्थाको लक्षण होला भन्ने ठानेर सहन थालिन्। तर पेट दुखाइसँगै वान्ता हुने, रगत बग्ने समस्या देखिन थाल्यो।
सलिना स्वास्थ्य परीक्षण गराउन चिकित्सककहाँ पुगिन्। चिकित्सकले बच्चा कसरी बसेको छ हेर्न अल्ट्रासाउन्ड गर्नुपर्छ भने। सलिना ६ हप्ताकी गर्भवती थिइन्। अल्ट्रासाउन्ड गर्दा चिकित्सकले पाठेघरमा बस्नुपर्ने बच्चा नलीमा बसेको बताए।
सलिनाको खुसी एकैपटक दुःखमा बदलियो। चिकित्सकले गर्भ पाठेघरबाहिर नलीमा बसेकाले जुनसुकै बेला नली फुट्ने बताए। तत्काल शल्यक्रिया गरेर नली काटेर फाल्नुपर्छ भने। केही बोल्न सकिनन्। प्रतिक्रियाविहीन भइन्। चिकित्सकले भने बमोजिम गर्न स्वीकृति दिन थालिन्।

उनको पाठेघरको नली काटेर फालियो। चिकित्सकले अर्को नलीमार्फत गर्भवती हुन सक्ने बताए। २ वर्षपछि सलिना फेरि गर्भवती भइन्। पहिलो पटकको दुख बिर्संदै थिइन्। दोस्रो पटक गर्भवती हुँदा उनको परिवारमा खुसी छायो। तर पहिलाको जस्तै बच्चा नलीमा पो बसेको छ कि भन्दै डराउँदै उनी चिकित्सककहाँ पुगिन्।
अल्ट्रासाउन्ड गर्दा सलिनाको यो पटक पनि बच्चा पाठेघर बाहिर नलीमा बसेको बताए। शल्यक्रिया गरेर नली काटेर फाल्नुपर्छ भने। सलिनाको दोस्रो पटक आमा बन्ने सपना फेरि तुहियो।
दुवै नली काटेर फालेका कारण चिकित्सकले ‘आईभीएफ’ मार्फत सन्तान जन्माउन सक्ने जनाए।
सामान्य अवस्थामा जब अण्डा र शुक्रकीटको मिलन (फर्टिलाइजेसन) हुन्छ, त्यो भ्रूण पाठेघरको नली (फेलोपियन ट्युब) हुँदै पाठेघरको भित्री तहमा पुगेर बस्छ। र त्यहीँबाट भ्रूण विकास हुन्छ। तर कहिलेकाहीँ यो भ्रूण पाठेघरसम्म पुग्न नसकी नलीमै अड्किन्छ र त्यहीँ बस्न थाल्छ। यस अवस्थालाई चिकित्सकीय भाषामा ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ।
चिकित्सकका अनुसार सामान्यतया १० प्रतिशतसम्म गर्भवती महिलामा ‘एक्टोपिक प्रेग्नेन्सी’ हुन्छ।
फर्टिलाइज भएको भ्रूण पाठेघरमा आएर विकास हुनुपर्नेमा पाठेघरमा नगई त्यो अण्डवाहिनी नलीमा वा अन्यत्र बसेका कारण गर्भ त्यहाँ हुर्कन सक्दैन जसले गर्दा फुट्छ। धेरै अवस्थामा फुटेर रगत बगेपछि मात्र थाहा हुन्छ। यो अवस्थामा चिकित्सकले ट्युबमा बसेको भ्रूणलाई औषधि र शल्यक्रिया गरेर हटाउने गर्छन्।
गर्भावस्थाको अर्को समस्या : मोलार प्रेग्नेन्सी
यो भनेको गर्भावस्था जस्तै लक्षण देखिन्छ, तर गर्भमा भ्रूण विकास नभई ट्युमर पलाउँछ।
मकवानपुरकी हिमकुमारी तामाङ (नाम परिवर्तन) विवाह गरेको केही महिनामै गर्भवती भइन्। ३१ वर्षकी हिमकुमारीले गर्भवती पहिचान घरमै गरेकी थिइन्। त्यसपछि उनी चिकित्सककहाँ पुगिन्। चिकित्सकले सबै लक्षण हेर्दा गर्भवती भएको बताए। गर्भ कहाँ बसेको छ, मुटुको चाल कस्तो छ हेर्न अल्ट्रासाउन्ड गर्नुपर्छ भने।
अल्ट्रासाउन्ड गर्दा पाठेघरमा गर्भ नभई अर्कै देखियो। अंगुरको झुप्पाजसरी बसेको मासुको डल्लो देखियो। चिकित्सकले त्यसको बायोप्सी परीक्षण गर्नुपर्छ भने। गर्भको अवस्था परीक्षण गराउन गएकी हिमकुमारीलाई बायोप्सी परीक्षण गर्नुपर्छ भन्दा के भइरहेको छ पत्तो पाउन सकिनन्। चिकित्सकले गर्भावस्था जस्तै लक्षण देखिए पनि उनी गर्भवती नभएको बताए। उनलाई ‘मोलार प्रेग्नेन्सी’ भएको बताए। बायोप्सीको रिपोर्टमा उनको पाठेघरमा पलाएको टिस्युमा क्यान्सर देखियो।
यो प्रायः गर्भमा बच्चा बस्ने प्रक्रिया ‘फर्टिलाइजेसन’ हुँदा क्रोमोजोमको गडबडीका कारण हुन्छ। सामान्य गर्भावस्थामा अण्डा र शुक्रकीट मिल्दा ४६ क्रोमोजोम २३ आमा र २३ बाबुबाट आउनु पर्छ। तर मोलार प्रेग्नेन्सीमा यो प्रक्रिया पूर्ण हुन पाउँदैन।
मोलार प्रेग्नेन्सीलाई हाइडाटिडिफर्म मोल पनि भनिन्छ।
यस्तो अवस्थामा चिकित्सकले औषधि र शल्यक्रिया गरेर पाठेघरबाट पलाएको असामान्य टिस्युलाई हटाउने गर्छन्। असामान्य टिस्युलाई हटाउन सकिएन भने त्यसले पछि क्यान्सरसम्म देखिने गरेको चिकित्सक बताउँछन्।
किन पाठेघरबाहिर बस्छ भ्रूण?
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा आरजु चन्द सिंह गर्भवती हुनुअघि नै महिला र पुरुषले आफ्नो स्वास्थ्य परीक्षण गर्ने हो भने गर्भावस्थामा देखिने धेरै समस्या समाधान गर्न सकिने बताउँछिन्।
महिलाको शरीरमा दुईवटा पाठेघरको नली (फलोपियन ट्युब वा डिम्बवाहिनी नली) हुन्छन्। यी दुई नलीहरूले दुईवटा अण्डाशयलाई पाठेघरसँग जोड्छन्। अण्डाशयबाट अण्डा निस्किएपछि यो नलीबाट अण्डा पाठेघरमा जान्छ। यही नलीमा नै शुक्रकीटसँग मिलन हुँदा गर्भ रहन्छ।
डा सिंहका अनुसार यसरी बसेको गर्भ पाठेघरमा नै बस्छ भन्ने हुँदैन। केही महिलाको पाठेघरको नली (फेलोपियन ट्युब) मा गएर बस्छ। जसलाई चिकित्सकीय भाषामा ‘एक्टोपिक’ भनिन्छ। धेरै जनासँग यौन सम्पर्क गर्दा, सानै उमेरमा यौन सम्पर्क गर्दा वा विवाह गर्दा पनि यस्ता समस्या देखिनसक्ने उनी बताउँछिन्।
गर्भवती भएको पहिचान भएपछि सुरुमा बच्चा कहाँ बसेको छ भन्ने थाहा पाउन चिकित्सककहाँ जानुपर्छ र ‘अल्ट्रासाउन्ड’ गरेर थाहा पाउन सकिन्छ। चिकित्सकले भ्रूण पाठेघरको नलीमा बसेको भए शल्यक्रिया वा औषधि मार्फत निकाल्ने गर्छन्।
शल्यक्रिया मार्फत गर्दा भने भ्रूण बसेको नली नै काटेर फाल्नुपर्छ। डा सिंहका अनुसार एउटा नली काटेर फाले पनि पाठेघरको अर्को नलीले पुनः गर्भवती हुन सकिन्छ। तर एक पटक नलीमा गर्भ बसेको महिलाको दोस्रो पटक पनि नलीमा नै गएर बस्ने सम्भावना हुन्छ।
बच्चा पाठेघरको नलीमा गएर बसेको समयमा धेरै महिलालाई सहन नसक्ने गरी पेट दुख्ने, बेहोस हुने, रगत बग्ने, अत्यधिक वान्ता हुने जस्ता लक्षण देखिन्छ।
भ्रूण विकसित हुँदै जाँदा नली फुट्छ। र पेटभरि रगत नै रगत हुन्छ। त्यसले थप जोखिम र समस्या बढाउँछ। त्यसकारण पनि गर्भवती भएको पत्ता लागेपछि चिकित्सककहाँ जानुपर्छ।
अल्ट्रासाउन्डले बच्चा कहाँ बसेको छ भनेर थाहा पाउन, कति वटा बच्चा बसेको छ, बच्चा बसेको हो कि होइन भन्ने पहिचान गर्न सकिन्छ।
भिडिओ-

प्रतिक्रिया