ad ad

जीवनशैली


प्रत्यारोपण गर्न आउनेमध्ये ९५ प्रतिशतको कलेजो रक्सीले बिग्रेको हुन्छ : डा. रमेशसिंह भण्डारी (भिडिओ वार्ता)

प्रत्यारोपण गर्न आउनेमध्ये ९५ प्रतिशतको कलेजो रक्सीले बिग्रेको हुन्छ : डा. रमेशसिंह भण्डारी (भिडिओ वार्ता)

शिक्षण अस्पतालका लिभर तथा प्यान्क्रियाज सर्जन प्रा.डा. रमेशसिंह भण्डारी (फोटो/भिडिओ : सरोज नेपाल)


समृद्धा केसी
माघ १४, २०७९ शनिबार १२:३८, काठमाडौँ

नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको चार वर्ष भयो। यसबीचमा त्रिवि शिक्षण अस्पतालमा नौ वटा कलेजो प्रत्यारोपण भइसकेको छ। कलेजोमा कस्ता रोग लाग्छन्, कुन अवस्थामा प्रत्यारोपण गर्नुपर्छ र त्यसको प्रक्रिया तथा खर्च कति छ? यस विषयमा शिक्षण अस्पतालका लिभर तथा प्यान्क्रियाज सर्जन प्रा.डा. रमेशसिंह भण्डारीसँग नेपालखबरले गरेको कुराकानी : 

मानव शरीरका लागि कलेजोको महत्व कति छ? 
हाम्रो शरीरमा भएका सबै अङ्गहरुको महत्व उत्तिकै हुन्छ। सबै अङ्गहरुले आ–आफ्नै काम गर्ने भएकाले तिनीहरुको महत्व पनि फरकफरक हुन्छ। म कलेजो सर्जन भएकाले मलाई सबैभन्दा महत्वपूर्ण अङ्ग कलेजो नै लाग्छ। किनभने कलेजोलाई हाम्रो शरीरको फ्याक्ट्री हाउस पनि भनिन्छ। अरु अङ्गको तुलनामा यसको धेरै काम छ। 

हाम्रो शरीरलाई चाहिने प्रोटिन, इन्फेक्सनसँग लड्नका लागि चाहिने एन्टीबडी र काटिएको ठाउँमा रगत जमाउने, यी सबै कामहरु कलेजोले नै गर्छ। त्यस्तै कलेजोले हाम्रो शरीरबाट निस्कने फोहोरलाई फाल्न पनि मद्दत गर्छ भने शरीरका लागि पछि चाहिने भिटामिन र सुगरलाई जम्मा गरेर राख्ने काम पनि गर्छ। कामको हिसाबले हेर्दा यसको धेरै महत्व छ। अहिलेसम्म त्यस्तो कुनै मेसिन बनिसकेको छैन, जसले कलेजोको काम गर्न सकोस्। जस्तो कि बिग्रिएको मिर्गौलालाई चलाउन डायलासिस गर्न सक्छौँ, मुटु चलाउनका लागि पनि अन्य कुनै तरिका अपनाउन सक्छौँ। तर कलेजोलाई चलाउन सक्ने अहिलेसम्म कुनै प्रविधि बनिसकेको छैन। त्यसैले पनि कलेजोलाई शरीरको महत्वपूर्ण अङ्गका रुपमा लिइन्छ।

नेपालको सन्दर्भमा कलेजोमा कस्ता–कस्ता समस्याहरु देखिन्छन्?
मैले हेर्ने बिरामी अप्रेसन गर्नु पर्ने खालका हुन्छन्। कलेजोमा क्यान्सर, सिस्ट, विभिन्न भाइरसले इन्फेक्सन गरेर कलेजोमा पिप जमेको, कलेजोमा पत्थरी, जन्डिस र सिरोसिस जस्ता समस्या लिएर धेरै बिरामी आउने गर्छन्। 

कतिपय कलेजो प्रत्यारोपण गर्नै पर्ने खालका बिरामीहरु पनि आउँछन्। कलेजोको प्रत्यारोपण विभिन्न अवस्थामा चाहिन सक्छ। त्यसमध्ये प्रायः मा लिभर सिरोसिस हुँदा प्रत्यारोपण गर्नु पर्छ। सिरोसिस हुँदा कलेजो काम नलाग्ने हुन्छ। अत्यधिक रक्सी सेवन, इन्फेक्सन, हेपाटाइटिस बी, सी र बोसो जमेर सिरोसिस भन्ने स्टेजमा पुग्छ। 

खानपिन र जीवनशैलीका कारणले पनि कलेजो बिग्रने हुन्छ। तर केहीमा कलेजो के कारणले बिग्रियो भन्ने कुरा थाहा नै हुँदैन। नेपालको सन्दर्भमा सबैभन्दा बढी कलेजो बिग्रने भनेकै रक्सी सेवन गरेर हो। 

त्यसैगरी खानपिन र व्यायमहरुमा ध्यान नदिँदा मोटोपना बढ्दै जान्छ। र कलेजोमा बोसो जम्छ। जसले गर्दा कलेजोलाई असर गर्छ। कलेजो बिगार्नमा केही हदसम्म जीवनशैलीको पनि भूमिका हुन्छ। 

कलेजोमा कुनै पनि समस्या देखिँदा सुरुवाती चरणमा कस्ता लक्षण देखिन्छन्? 
कलेजोमा धेरै किसिमका समस्या हुन्छन्। त्यही समस्या अनुसार नै लक्षणहरु देखिने हो। कलेजोमा देखिने लक्षणहरुले नै कस्तो रोग लागेको छ भनेर अनुमान गर्न सकिन्छ। तर कलेजोमा समस्या देखिएपछि धेरैमा देखिने मुख्य लक्षण भनेको जन्डिस हो। 

लक्षणहरुमा पेटमा पानी भरिने, पेट, अनुहार, खुट्टा सुनिने, दिसाबाट रगत जाने, कालो दिसा हुने, आँखा पहेँलो हुने, बेहोस हुने, धेरै संक्रमण भइरहने र बिरामी बिस्तारै कमजोर हुँदै जान्छन्। माथि भनेका लक्षणहरु धेरै जसो सिरोसिस भएका बिरामीहरुमा देखिन्छ। 

कलेजो क्यान्सर भएका बिरामीहरुमा खाना खान मन नलाग्ने, दुब्लाउँदै जाने, दाहिनेतिर दुख्ने र कलेजोको भाग तिर डल्लोजस्तो पनि आउन सक्छ। त्यस्तै, कलेजोमा पिप र सिस्ट छ भने धेरै ज्वरो आउने र दुख्ने हुन्छ।

लिभर सिरोसिस भनेको के हो? 
सिरोसिस भयो भने कलेजो बिस्तारै सुक्दै र सारो हुँदै जान्छ। र, बिस्तारै यसले काम गर्न छोड्छ। एक किसिमले भन्दा इन्जिन जस्तै हो हाम्रो कलेजो पनि त्यसैले सिरोसिस हुँदा बिस्तारै यसले काम गर्न छोड्छ र प्रत्यारोपण गर्नु पर्ने अवस्था आउँछ। 

सिरोसिस हुने पनि धेरै कारणहरु छन्। त्योमध्ये सबैभन्दा धेरैमा देखिने भनेको अत्याधिक रक्सी सेवन हो जसले कलेजोका सेलहरु नै बिगार्दै लैजान्छ। कलेजोमा चोट लाग्यो भने पनि सिरोसिस हुन्छ। 

भिडिओ

त्रिवि शिक्षण अस्पतालमा हालसम्म कति वटा प्रत्यारोपण भयो? यो कत्तिको जटिल छ? 
हाम्रो टिमले २०७६ जेठ १८ गते पहिलो पटक प्रत्यारोपण गरेको थियो। जुन सफल भयो। त्यो बेला ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बुबामा प्रत्यारोपण गरिएको थियो। त्यसको दुई महिनापछि दोस्रो प्रत्यारोपण गर्दा ४४ वर्षीय पुरुषलाई उनका २८ वर्षीय ज्वाइँले कलेजो दिएका थिए। चार वर्षको अवधिमा नौ वटा प्रत्यारोपण सफल भइसकेको छन्। दुई हप्ता पहिलासम्ममा हामीले नौ वटा प्रत्यारोपण गरेका छौँ। 

सुरुको वर्ष चार वटा गर्यौँ, त्यसयता दुई वर्ष कोभिडले गर्दा हामीले त्यो समयावधिमा जम्मा एउटा मात्र प्रत्यारोपण गर्यौँ। र, गत वर्षबाट हामीले राम्रोसँग सञ्चालन गरेका छौँ। चिकित्सा विज्ञानले सबैभन्दा ठूलो शल्यक्रिया र जटिल भनेकै प्रत्यारोपण मानेको छ। 

प्रत्यारोपण गर्नुभन्दा दुईतीन हप्तापहिला नै बिरामीलाई निगरानीमा राख्नु पर्छ। अङ्ग दिने र लिने दुवै जनाको सम्पूर्ण जाँच गर्नु पर्छ। यो जाँच यति गहिरो हुन्छ कि अरु कुनै उपचारमा त्यति डिटेल जाँच गर्नु पर्दैन। कलेजो प्रत्यारोपण गर्दा १२ देखि १६ घण्टासम्म लाग्छ। टिम पनि त्यतिकै ठूलो चाहिन्छ। प्रत्यारोपण गर्दा प्राविधिक सामान र औषधि धेरै चाहिन्छ र महंगो पनि उत्तिकै हुन्छ। 

गम्भीर खालको शल्यक्रिया गर्दा पनि १०–१५ युनिट मात्र रगत लाग्छ भने कलेजो प्रत्यारोपणमा ५० युनिट रगत चाहिन्छ। अङ्ग दिने मान्छेलाई पनि १० युनिट रगत लाग्ने भएकाले रगत धेरै आवश्यक पर्छ। प्रत्यारोपणपछि पनि बिरामीलाई उच्च निगरानी र एन्टिबायोटिक, भिटामिन सप्लिमेन्ट्री दिनुपर्छ जो धेरै महंगो हुन्छ। यी सबै कारणले पनि कलेजो प्रत्यारोपण निकै जटिल मानिन्छ। 

कस्तो अवस्थामा प्रत्यारोपण गर्नु पर्छ र कति प्रतिशतसम्म प्रत्यारोपण गर्नु पर्ने हो? 
कलेजो प्रत्यारोपण गर्नु पर्ने अवस्था धेरै छन्। जस्तो धेरैमा प्रत्यारोपण गर्नु पर्ने भनेको सिरोसिस हुँदा हो। 

त्यस्तै कलेजो क्यान्सर लागेको कतिपय अवस्थामा पनि प्रत्यारोपण गर्नु पर्छ। बालबालिकाहरुमा पनि जन्मजात हुने समस्याले गर्दा कलेजो बिग्रेर प्रत्यारोपण गर्नु पर्छ। हामीले पनि एउटा सानो नानीको प्रत्यारोपण गरेका थियौँ। उसको जन्मजात पित्तथैलीमा बन्नु पर्ने नलीहरु नबनेर भविष्यमा समस्या ल्याउन सक्ने भएकाले प्रत्यारोपण गरिएको थियो। त्यस्तै सिटामोल बढी खाँदा वा अन्य कुनै औषधि खाँदा विषाक्त भयो भने पनि कलेजो बिग्रन सक्छ। हेपाटाइटिसले पनि कलेजो बिगारेर प्रत्यारोपण गर्नु पर्ने हुन्छ। 

कलेजो कति प्रतिशत बिग्रेर प्रत्यारोपण र्गु पर्छ भन्दा पनि कलेजोेले कति काम गर्न छोडेको छ भन्ने आधारमा प्रत्यारोपण गर्नु पर्छ। 

प्रत्यारोपण गर्दा दिने मान्छेको कलेजो ५० देखि ६० प्रतिशत भाग झिक्नु पर्छ। दिने व्यक्तिको कलेजो निकाल्दा सीटीस्क्यान र एमआरआई गरेर रगत र पित्तको नसाहरु हेरेर कहाँनेर आधा पर्छ भन्ने आधारमा दुई भागमा बाँडिन्छ। त्यसरी बाँड्दा प्रायः ४० प्रतिशत एकातिर पर्छ भने अर्को तिर ६० प्रतिशत निकालेर दिन सक्छौँ। 

कलेजो दिने र लिने दुवैको प्रत्यारोपण भइसकेपछि सामान्यतया ६ देखि ८ हप्तामा ९५ प्रतिशत कलेजो पलाएर पहिलाकै अवस्थामा गइसकेको हुन्छ। कलेजो दिने मान्छे आठदस दिनमा डिस्चार्ज भइसक्छ। तर उसले दुई महिनासम्म भारी समान उठाउनु हुँदैन। १२ हप्तापछि कलेजो दिने मान्छे पहिलाकै जीवनशैलीमा फर्किन सक्छ। ठूलो अप्रेसन भएकाले १–२ प्रतिशतमा भने सामान्य समस्या देखिन सक्छ। 

त्यस्तै कलेजो लिने मान्छे पहिलाबाटै बिरामी भएकाले उनीहरुलाई एकहप्ता जति आईसीयूमा राख्नु पर्छ। बिरामी आफैँ खान सक्ने भएपछि भने वार्डमा सारिन्छ। सुरुको चरणमा धेरै औषधि दिइन्छ। र, वार्डमा लगिएको तीनदेखि चार हप्तापछि बिरामीलाई डिस्चार्ज गरिन्छ। कलेजो लिने व्यक्ति दिने जति छिटो निको हुन सक्दैन।

प्रत्यारोपण गरिएका बिरामीहरुले जीवनभर ध्यान त दिनु नै पर्छ। तर सुरुका केही महिनासम्म भने विशेष ध्यान दिनु पर्छ।

कस्तो अवस्थामा प्रत्यारोपण गर्न मिल्दैन? 
बिरामीको अवस्था गम्भीर भयो र अप्रेसन धान्नै नसक्ने अवस्थामा पुगेको छ भने प्रत्यारोपण गर्न मिल्दैन। कलेजो रोगका कारणले मुटु र छातीमै असर गरेको छ भने पनि मिल्दैन। त्यस्तै इन्फेक्सन धेरै भएका बेला पनि प्रत्यारोपण गर्नु हुँदैन। 

प्रत्यारोपण गर्नुभन्दा पहिला बिरामीको अवस्था कस्तो छ भनेर सम्पूर्ण जाँच गर्नु पर्छ। कहिलेकाहीँ दिने व्यक्तिमा पनि समस्या देखियो भने दिन मिल्दैन। कहिलेकाहीँ रगतको समूह पनि मिल्दैन। कलेजो दिने व्यक्ति पाए पनि कानुनीरुपमा नाताभित्र परेन भने पनि प्रत्यारोपण गर्न मिल्दैन।

तपाईंले प्रत्यारोपण गर्दा निकै खर्च हुन्छ भन्नु भयो। के एउटा निम्न वर्गको व्यक्तिले प्रत्यारोपण गर्न सक्छ?
हामीले प्रत्यारोपण सेवा सुरु गर्दा खर्च कतिसम्म लाग्न सक्छ भनेर थाहा थिएन र अन्दाजको भरमा यतिसम्म लाग्न सक्छ भन्थ्यौँ। तर अहिले हामीले नौ वटा प्रत्यारोपण गरिसकेकाले प्रत्यारोपण गर्ने भनेदेखि बिरामी डिस्चार्ज नहुँदासम्म २५ देखि ३५ लाखसम्म लाग्न सक्छ। कसैलाई थोरै कम, कसैलाई थोरै बढी चाहिँ लाग्न सक्छ। नेपालबाहिर प्रत्यारोपण गर्न जाँदा अझ बढी महंगो पर्न जान्छ।

केही पनि हुँदै नभएको मानिसलाई यो पनि निकै महंगो भएकाले गाह्रो पर्न जान्छ। यहीँ पनि प्रत्यारोपण भएका दुईतीन जनाले राहत संकलन नै गर्नु परेको थियो।

प्रत्यारोपणका लागि मात्र पैसा भएर भएन, त्यसपछि पनि खाने औषधिहरु निकै महंगो पर्न जान्छ। केहीलाई दुई वर्षसम्म पनि औषधि खानु पर्ने हुन्छ। त्यस्तै प्रत्यारोपण गरेका व्यक्तिलाई हेरचाह पनि उत्तिकै चाहिने भएकाले घरमा विशेष ख्याल गर्ने व्यक्ति चाहिन्छ। 

कहिलेकाहीँ कलेजो वंशाणुगत कारणले पनि बिग्रिन्छ भनिन्छ। हालै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको त्यस्तै समस्या देखिएको भनिन्थ्यो। खासमा के हो? 
उहाँलाई ठ्याक्कै के भएको हो, मैले हेर्न पाएको छैन। सुनेको भरमा भन्नुपर्दा जेनेटिक कारणले गर्दा पनि कलेजोमा असर गर्छ। कलेजोमा हुनु पर्ने तत्व बढी भयो वा कम भयो भने बिस्तारै कलेजोले काम गर्न छोड्छ। र कलेजो प्रत्यारोपण गर्न गर्नुपर्ने अवस्था पनि आउन सक्छ। हामीले कहिलेकाहीँ कलेजो कसरी बिग्रियो, थाहा नै पाउँदैनौँ। धेरै कममा मात्र जेनेटिक कारणले गर्दा कलेजो बिग्रने गर्छ। यस अस्पतालमा प्रत्यारोपणका लागि आउने ९५ प्रतिशत चाहिँ रक्सी सेवन गरेर बिग्रनेहरु हुन्छन्। वंशाणुगत कारणले कलेजो बिग्रनेहरुको हिस्सा निकै कम हुन्छ। 

वंशाणुगत कारणले बिग्रिएको कलेजो पनि नेपालमै प्रत्यारोपण गरिन्छ?
जुनसुकै कारणले गर्दा पनि कलेजो बिग्रिएको छ भने प्रत्यारोपण गर्नुपर्ने प्रक्रिया एउटै हो। कहिलेकाहीँ औषधिहरु केही फरक चलाउनु पर्छ होला नत्र भने सबै एउटै हो। हामीले अप्रेसन गर्नुभन्दा पहिला गरिने चेकजाँच पनि एउटै हो।

यो प्रत्यारोपण नेपालमा पनि सम्भव छ तर बिरामी गम्भीर भयो भने अलिक अनुभवी टिम चाहिन्छ। 

त्रिवि अस्पतालले महिनामा कति जनासम्मको प्रत्यारोपण गर्न सक्ने क्षमता राख्दछ? 
अहिले यस अस्पतालको महिनामा एक जनाको प्रत्यारोपण गर्न सक्ने क्षमता छ। तर प्रत्यारोपण गर्नु पर्ने बिरामी नभएकाले क्षमता अनुसार पनि काम भएको छैन। वर्षमा चारपाँच वटा मात्र भएको छ। तर हामी जनशक्ति र प्राविधिक उपकरणहरुले महिनामा एक जनासम्मको गर्न सक्ने क्षमता भन्छौँ। दुईतीन वर्षसम्म यही गतिमा गयो भने यही जनशक्तिले पुग्छ तर दीर्घकालसम्म भने पुग्दैन होला। 

सरकारले क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई आर्थिक सहयोग गरेजस्तै कलेजो प्रत्यारोपण गर्ने बिरामीलाई पनि दियो भने धेरै जना बिरामीले सहयोग पाउँथे। पैसा नभएरै कति बिरामीहरु प्रत्यारोपण गर्नबाट बञ्चित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .