जीवनशैली


सुत्केरी बिदा ६ महिना दिने तयारी, के छन् यसका फाइदा?

सुत्केरी बिदा ६ महिना दिने तयारी, के छन् यसका फाइदा?

समृद्धा केसी
बैशाख २७, २०८० बुधबार २०:२३, काठमाडौँ

सरकारले हाल दिँदै आएको ९८ दिनको सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउने भएको छ। नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएपछि सुत्केरी बिदा ६ महिना दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार शिशु जन्मिएदेखि पाँच महिनासम्म स्तनपान गराउने आमा ५६ प्रतिशत मात्र छन्। ४४ प्रतिशत आमाले फर्मुला (कृत्रिम) वा गाईभैँसीको दूध खुवाउँछन्। 

पूर्ण स्तनपान गराउने दर सन् १९९६ मा ७५ प्रतिशत, २००१ मा ६८ प्रतिशत, २००६ मा ५३ प्रतिशत र २०११ मा ७० प्रतिशत थियो भने २०१६ मा स्तनपान गराउने ६६ प्रतिशत थिए।

स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झन्डै दुई महिनापहिले सिफारिस गरेको थियो। 

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गरी ६ महिना सुत्केरी बिदा दिने व्यवस्थासहितको मस्यौदा करिब दुई हप्ताअगाडि नै कानुन मन्त्रालय गइसकेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। 

मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सुत्केरी बिदा ६ महिना दिने भनेर धेरैपहिला नै छलफल भएको जानकारी दिए। 

अब कानुन मन्त्रालयले पास गरेपछि मन्त्रिपरिषद्को स्वीकृति हुँदै संसदबाट पारित भएर संशोधित ऐन कार्यान्वयन भएपछि सुत्केरी बिदा ९८ दिनबाट बढेर ६ महिना पुग्ने छ। 

‘६ महिनासम्म आमाको दूध खान नपाएका बालबालिकामा भविष्यमा दीर्घ रोगहरु देखिन सक्छन्,’ डा. पौडेलले  भने, ‘त्यस्तै आमालाई पनि धेरै समस्या देखिन सक्छन्। सुत्केरी बिदा नै ६ महिना दियो भने यसले आमा र शिशु दुवैलाई निकै फाइदा पुग्छ।’

बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउनु पर्छ भनेर धेरै आमालाई थाहा हुँदाहुँदै पनि तीन महिनापछि जागिरमा फर्किनु पर्ने भएकाले फर्मुला दूध खुवाउन बाध्य भएको डा. पौडेलले बताए। यी समस्याहरु हटाउन सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउन आवश्यक रहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयसँग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले सुत्केरी बिदा ६ महिना गराउने भनेर धेरै पहिलाबाट नै छलफल गर्दै आएको शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिए।

‘विभन्न देशहरुमा सुत्केरी बिदा ६ महिना छ। नेपालमा पनि ६ महिना सुत्केरी बिदा दिनुपर्छ भनेर हामीले पहल गरेका छौँ। पास हुन्छ कि हुँदैन, थाहा छैन,’ उनले भने। 

के फाइदा हुन्छ ६ महिना सुत्केरी बिदा दिँदा?
सरकारले सुत्केरी बिदा तीन महिना मात्र दिँदा पूर्णस्तनपान गराउने आमाको संख्या घट्दै गइरहेको जनस्वास्थयविद् डा. लक्ष्मी तामाङ बताउँछिन्। 

‘हामीले तीन महिना सुत्केरी बिदा दिँदादेखि नै पुग्दैन, ६ महिना बनाउनु पर्छ भनेर आवाज उठाइरहेका थियौँ, तर त्यो बेला भएन,’ डा. तामाङले भनिन्, ‘अहिले फेरि सरकारले त्यो कार्यान्वयन गर्दै छ भने धेरै राम्रो कुरा हो।’

महिलाले ६ महिना सुत्केरी बिदा पाए भने धेरै कुराको फाइदा पुग्ने उनी बताउँछिन्। 

‘स्तनपान गराउँदा आमा र बच्चाबीचको सम्बन्ध प्रगाढ बन्छ। विशेष गरेर यसले बाल मनोविज्ञानमा सकारात्मक प्रभाव पार्छ,’ उनले भनिन्, ‘यदि बच्चाले दूध खान पाएनन् भने बच्चामा नराम्रो असर पर्छ। त्यसले भविष्यमा पनि असर गर्छ।’ 

६ महिना सुत्केरी बिदा धेरै महत्वपूर्ण भए पनि त्यो निजी संस्थाहरुमा लागू हुन्छ या हुन्न भन्ने कुरा महत्वपूर्ण हुने डा. तामाङले बताइन्। 

‘पहिला ६ महिना बिदा दिने ऐन छिटो लागू होस्। नियमित स्तनपानले आमाको प्रजनन् स्वास्थ्यमा पनि धेरै राम्रो गर्छ। यसले गर्भनिरोधकको काम गर्छ र स्तन क्यान्सरबाट पनि बचाउँछ,’ उनले भनिन्।  

महिला सशक्त भएका वा लैंगिङ्ग विभेद कम भएका देशहरु स्विडेन, नर्वे, स्विट्जरल्यान्डजस्ता देशमा सुत्केरी बिदा ६ महिना दिने नियम छ।

६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक पानी पनि खुवाउन नमिल्ने बाल रोग विशेषज्ञ डा. निभा राजभण्डारी श्रेष्ठ बताउँछिन्। ६ महिनापछि भने बालबालिकालाई सादा खान दिन सकिने र सकेसम्म दुई वर्षसम्म आमाले स्तनपान गराउनु पर्ने डा श्रेष्ठले बताइन्। 

‘आमाको दूधले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र बच्चालाई चाहिने सबै भिटामिन पाइन्छ। त्यसैले ६ महिनासम्म पूर्ण स्तनपान गराउनु पर्छ। त्यसका लागि सरकारले ६ महिना सुत्केरी बिदा ल्यायो भने धेरै राम्रो हुन्छ,’ डा. श्रेष्ठले भनिन्।

त्यस्तै, आमाको दूध खाएका बालबालिकाको बौद्धिक क्षमता ज्यादा हुनुका साथै भविष्यमा लाग्न सक्ने नसर्ने रोगहरुबाट बच्न पनि सहयोग पुग्ने उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .