जीवनशैली


हाच्छिउँ रोक्नु हुनसक्छ खतरनाक, बेलायतको घटनापछि चिकित्सकले दिए चेतावनी

हाच्छिउँ रोक्नु हुनसक्छ खतरनाक, बेलायतको घटनापछि चिकित्सकले दिए चेतावनी

नेपालखबर
पुस २, २०८० सोमबार ८:२७, काठमाडौँ

बेलायतमा एक व्यक्तिले हाच्छिउँ रोक्न खोज्दा घाँटीभित्र घाउ भएपछि चिकित्सकले हाच्छिउँ नरोक्न चेतावनी दिएका छन्।

बेलायतको डन्डीमा एक ३० वर्षीय पुरुषलाई घाँटीमा गहिरो दुखाइ भएपछि नाइनवेल्स अस्पताल भर्ना गरिएको छ। उनले हाच्छिउँ रोक्न नाक र मुख बन्द गरेका थिए। 

स्क्यान गर्दा हाच्छिउँ रोकिँदा उनको श्वासनलीमा २ एमएमसम्मको घाउ बनेको देखियो।

डन्डी युनिभर्सिटीका डाक्टरहरू भन्छन्– हाच्छिउँ रोक्न मुख र नाक बन्द गर्दा श्वासनलीको माथिल्लो भागमा दबाब २० गुणासम्म बढ्न सक्छ।

जसका कारण मानिसको कानको पर्दा फुट्न सक्ने उनको भनाइ छ। रक्तनलीमा अप्रत्याशित दबाब पर्नसक्छ, जसलाई एन्युरिज्म भनिन्छ। छातीको हड्डी भाँचिन वा अन्य गम्भीर चोट लाग्नसक्छ।

यो कुरा मेडिकल साइन्सेससँग सम्बन्धित बीएमजी जर्नलमा एउटा केसका रूपमा दर्ता गरिएको छ।

ती व्यक्तिको जाँच गर्दा घाँटी छोएपछि चर्को आवाज निस्किरहेको र यसमा व्यक्तिको नियन्त्रण नभएको चिकित्सकहरू बताउँछन्।

हाच्छिउँको समयमा ती व्यक्ति (नाम गोप्य) कार चलाउँदै थिए र सिट बेल्ट लगाएका थिए। चिकित्सकका अनुसार उक्त व्यक्तिलाई पहिल्यैदेखि एलर्जी र घाँटी दुख्ने समस्या पनि थियो।

‘हाच्छिउँले शरीरको सुरक्षा गर्छ’
उक्त व्यक्तिको शल्यक्रिया आवश्यक नरहेको र केही समय अस्पतालमा निगरानीमा राखिएको चिकित्सकहरूले बताएका छन्।

उनलाई केही पेनकिलर खुवाएर अस्पतालबाट डिस्चार्ज गरिएको छ।

चिकित्सकले उनलाई पर्याप्त आराम गर्न र दुई सातासम्म कुनै भारी काम नगर्न सल्लाह दिएका छन्।

पाँच हप्तापछि अर्को स्क्यान गर्दा भने घाँटीको घाउ पूर्ण रूपमा निको भएको पाइयो। 

बीएमजेमा प्रकाशित प्रतिवेदनका प्रमुख लेखक डा. रासेड्स मिसिरोभ्सले हाच्छिउँ गर्नु मानव शरीरको ‘रक्षा संयन्त्र’ अर्थात् प्राकृतिक सुरक्षा प्रक्रिया भएको बताए। 

उनका अनुसार हाच्छिउँले शरीरमा प्रवेश गर्ने इरिटेन्ट्स (दुःख दिन तत्त्व) लाई नाकबाट बाहिर निकाल्छ, यसैले यसलाई  कहिले रोक्न हुँदैन। 

उनी भन्छन्, ‘हाच्छिउँ गर्दा नाकबाट थुक र म्युकससँगै भाइरसजस्ता पदार्थ पनि बाहिर निस्कन्छन्। यो हाम्रा वरपरका मानिससम्म पुग्नबाट रोक्न आफ्नो नाकलाई हात वा कुहिनोको भित्री भागले छोप्नुपर्ने हुन्छ।’

डाक्टर रासेड्स मिसिरोभ्सका अनुसार कहिलेकाहीँ मानिसहरू आफ्नो हाच्छिउँ रोक्न नाक वा मुख बन्द गर्दैनन् र अन्य तरिकाले रोक्छन्।

उनी भन्छन्, ‘व्यक्तिगत रूपमा म हाच्छिउँ रोक्न नाक छोप्दिनँ। म फरक तरिका प्रयोग गर्छु। म आफ्नो नाकको मुनि मेरो माथिल्लो ओठमा औँला राख्छु र त्यो ठाउँलाई केही सेकेन्डसम्म थिच्छु। यो विधिले मेरा लागि काम गर्छ।’

हाच्छिउँ रोक्दा अचानक श्वासनलीमा गम्भीर चोट लाग्नसक्छ, जसलाई चिकित्सकीय भाषामा ‘स्पोन्टेनियस ट्रेकियल पर्फोरेसन’ भनिन्छ।

डाक्टरहरूका अनुसार यस्ता केस विरलै देखिन्छन् तर कहिलेकाहीँ यो घातक हुनसक्छ।

सन् २०१८ मा बेलायतमा यस्तो घटना सार्वजनिक भएको थियो। लेस्टरमा एक व्यक्तिले हाच्छिउँ रोक्दा उनको घाँटीमा चोट लागेको थियो।

हाच्छिउँ रोकेपछि एक्कासि घाँटी दुख्ने र बोल्न र निल्न समस्या हुन थालेको उनले बताएका थिए। 

उनको घाँटी निको हुने समय दिन डाक्टरहरूले उनलाई सात दिनसम्म ट्युबमार्फत खाना खुवाएका थिए।

किन आउँछ हाच्छिउँ?
अनुसन्धान गरिरहेका डाक्टरहरूका अनुसार कीटाणु, भाइरस वा परागकणले मात्रै हाच्छुयु आउँदैन। कहिलेकाहीँ सूर्यको कडा किरण तथा चर्काे घामका कारण पनि व्यक्तिलाई हाच्छिउँ आउनसक्छ।

यो कुरा जर्मन अनुसन्धानकर्ताहरूले १००० भन्दा बढी मानिसमा गरेको अनुसन्धानबाट पत्ता लगाएका हुन्। 

कतिपय विज्ञ भने यसको कारण आनुवंशिक पनि हुनसक्ने विश्वास गर्छन्। यस्तै कतिपयले चाहिँ धेरै खाना खाएपछि हाच्छिउँ आउने गरेको बताएका छन्। 

मानिसको हाच्छिउँ ८ मिटर अर्थात् २६ फिटसम्म पुग्न सक्छ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा लिडिया बोरोइबाले गरेको अनुसन्धानले हाच्छिउँ गर्दा नाकबाट निस्कने कण केही मिनेटसम्म हावामा रहने देखाएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .