ad ad

साहित्य


मण्डलामा गुञ्जिए कवि विनोदविक्रम केसी

मण्डलामा गुञ्जिए कवि विनोदविक्रम केसी

कविता वाचन गर्दै कवि विनोदविक्रम केसी। तस्बिर : विशाल कार्की/नेपालखबर


राधिका अधिकारी
पुस ४, २०७९ सोमबार १८:११, काठमाडौँ

काठमाडौंको मण्डला थिएटरमा सोमबार दिउँसो सधैँ हुने भन्दा बेग्लै चहलपहल देखिन्थ्यो। 

यो थिएटरमा नियमित मञ्चन भइरहेको नाटक ‘कुभिन्डोको कथा’ रोकिएको थियो। त्यही मञ्चमा कविता भन्न तम्तयार थिए पछिल्लो पुस्ताका सशक्त कवि विनोदविक्रम केसी।

कविता क्रान्ति लेख्ने विनोदका कविता सुन्न नेपाली साहित्यमा बेग्लै स्थान बनाएका सर्जकदेखि पत्रकारको बाक्लो उपस्थिति देखियो। 

कार्यक्रम निर्धारित समयभन्दा झन्डै एक घन्टा ढिला भयो। तर कार्यक्रम ढिला हुँदा पनि कविता सुन्न आएका स्रोतामा कुनै हतारो देखिँदैनथ्यो। यो कुरा विनोद कति शक्तिशाली कवि छन् भन्ने कुराको प्रमाण पनि हो।

अपराह्न ४ बजे कविता वाचन सुरु भयो। सुरुवातमा अग्रज कवि विमल निभाले विनोदको चर्चित कविता ‘भोकको क्षेत्रफल’ वाचन गरे। 

कार्यक्रमको दोस्रो सत्रमा कविता वाचन गर्न मञ्चमा उभिएका विनोदले पहिलो चरणमा ४ प्रेम कविता वाचन गरेर सुनाए। 

नवनिर्मित मण्डला थिएटरमा खचाखच उपस्थितिबीच विनोदले ‘प्रेमः एक भोजन कविता’ कवितामा प्रेमको एउटा आयाम सुनाए।

दोस्रो कविता ‘मृतक प्रेमीको फिराद’ सुनाउँदै विनोदले भने, ‘यो मैले घोर निराशाको समयमा लेखेको कविता। रुकुम हत्या काण्डपछि हतास मानसिकतामा लेखेको कविता हो।’ 

कविता वाचन गर्दै विनोदविक्रम केसी

कवितालाई जोड्न उनले आफैँलाई प्रश्न गरे, ‘हामीले कस्तो समाज निर्माण गरेछौँ।’  

त्यसपछि विनोदले ‘निमुखा मुमताजहरू’ र ‘प्रेम केही प्रकरण’ शीर्षकका केही छोटा कविता सुनाए।

त्यसपछि मण्डलाको भव्य सेटमा देखिएको सुसेलाको सांगीतिक समूहले विनोदको एउटा गीत गाएर सुनायो।

‘सडक बढार्ने केटी’ बोलको गीतमा सडककै कथा भनिएको थियो। 

गीतमा सडक बढार्ने केटीको हिम्मत, संघर्ष र जिम्मेवारीको कथा लेखिएको थियो।  

त्यसपछि कवि शान्ति प्रियवन्दनाले विनोदको ‘गिटार भिरिहिँड्ने युवती’ शीर्षकको कविता सुनाइन्।

कविता वाचनको दोस्रो चरणमा विनोदले ‘गोल्ड मेडल’ कविता वाचन गरे। 

विनोदले यो कविता मञ्चमा पढिरहँदा दर्शकले ताली र हुटिङ गरेर साथ दिए। त्यसपपछि उनले ‘तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ’ शीर्षकको कविता सुनाए। 

विनोदले यो कविता काठमाडौंको एक अस्पताल बसाइको क्रममा लेखेका थिए। 

उनी त्यतिबेला उनका साथी दीपक सापकोटालाई हेर्न अस्पताल पुगेका थिए। उनको ध्यान हात भाँचिएर बेडमा सुतिरहेका दीपकले भन्दा अस्पतालमा सीसीटीभीले तान्यो।

उनलाई लाग्यो ‘म त कति ठूलो अपराधी रहेछु’ अनि लेखेको कविता सुनाए। 

दर्शकले ताली बजाएर उनको कवितालाई अनुमोदन गरे। त्यसपछि ‘डेन्जर जोन’ शीर्षकको कवितामा पछिल्लोको चर्चित मोबाइल एप गेम ‘क्यान्डीक्रस’ को लतको कथा सुनाए।

विनोदविक्रमका कविता सुन्न पुगेकाहरु

दर्शकदीर्घामा बसेका उनका छोरालाई प्रायः कविता कण्ठस्थ थिए। उनी बुवासँगसँगै कविताका हरफ दोहोराइरहेका सुनिन्थे।

विनोदले ‘आज सरको क्लास लिन्छ विद्यार्थी’ शीर्षकको कविता सुनाएपछि पुनः सुसेला समूहले उनको गीत गाएर सुनाएको थियो। 

गायनको दोस्रो चरणमा सुसेला समूहको सांगीतिक ब्यान्डले ‘ए छोरी लाइदे न आलाराम’ बोलको गीत गाएका थिए।

कविता वाचनको अर्को चरणमा ‘जण्ड वेश्याको वक्तव्य’ शीर्षकको कविता सुनाइरहँदा दर्शकले घरी हाँसेर, घरी भावुक भएर साथ दिए। 

अर्को कवितामा विनोदले ‘शुभकामनाः फोहरको नयाँ प्रजाति’ शीर्षकको कविता सुनाए।

यो कवितामा उनले पछिल्लो समय हृदयविहीन बन्दै गएको मान्छेको कथा सुनाए। 

कवि विनोदविक्रम केसी

कविताको यो चरणमा विनोदले समय, मान्छे, समाज र अविश्वासका कुरा बताए।

त्यसपछि कवि भूपाल राईले विनोदको ‘नेपाल सानै छ देवकोटाजी’ शीर्षकको कविता सुनाए। 

कविता सुनाउँदै भूपालले विनोदको काव्यिक चेतबारे बोलेका थिए। उनले भने, ‘ऊ कविताको पदयात्री हो।’ 

भूपालले वाचन गरेको उक्त कवितासँगै विनोदविक्रमका कविता यात्रा समाप्त भएको थियो। 

सुसेला सांगीतिक समूहको प्रस्तुतिबाट अन्त्य भएको ‘सुसेला काव्यशाला’को पहिलो सत्र यहीँ टुंगियो। 

आयोजक सुसेला सांगीतिक समूहले कविता वाचनमा केन्द्रित औपचारिक रूपमा गरेको पहिलो कार्यक्रम हो। 

यो समूहले यसअघि विभिन्न सामाजिक मुद्दा र आन्दोलनहरूमा संगीतका माध्यमबाट सहभागिता जनाउँदै आएको थियो।

कविता सुन्न पुगेका दर्शकहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .