साहित्य


आख्यान झन् बढी यथार्थ र शक्तिशाली सत्य हो : विष्णु सापकोटा

आख्यान झन् बढी यथार्थ र शक्तिशाली सत्य हो : विष्णु सापकोटा

रामबहादुर रावल
मंसिर ९, २०८० शनिबार ९:१४, काठमाडौँ

एउटा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध भएर विगत ४ वर्षदेखि कम्बोडियामा कार्यरत विष्णु सापकोटा काठमाडौँमा छन् भन्ने सुइँको पाएपछि एकपटक त भेट्नैपर्ला भन्ने लागेको थियो। यसपालिको भेटको मेनुमा शान्ति प्रक्रियाको समीक्षा, सत्ताको सम्भावित उलटपुलट, भूराजनीतिक चलखेलजस्ता परिकार पक्कै थिएनन्। अरु केही ‘बौद्धिक खुराक’मा गफिने दाउ थियो। भइदियो योभन्दा पनि भिन्न। कीर्तिपुरका हरिया चौरमा बसेर वादहरूको बिस्कुन लगाएर विभिन्न उपन्यासका पात्रहरू निफनेको पनि धेरै भइसकेछ। सापकोटाले पुराना याद ताजा गराइदिए, जब उनले आफू औपन्यासिक संसारमा प्रवेशको कुरा साविकको ट्वीटर भन्ने एपको इनबक्समा ‘अडिएका पाइला’ उपन्यास सार्वजनिकीकरणको निम्तो पठाए- मिति मंसिर ९ गते, स्थान नेपाल प्रज्ञा प्रतिष्ठानको डबली। पत्रिका र टेलिभिजनमा राजनीतिक विचार र विश्लेषण दिने तिनै सापकोटाको औपन्यासिक अवतार सार्वजनिक हुनुअघिको वार्तालाप यसैमा केन्द्रित रह्यो। प्रस्तुत छ, अनौपचारिक वार्तालापको सम्पादित अंश।

राजनीतिक विश्लेषण र टिप्पणीबाट अब आख्यानतिर विधान्तर हुनुभएको हो?
अहिले आएर विधान्तर भएको होइन। म सधैँ औपन्यासिक जगतकै पठनमा हुन्थेँ।

त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य नै पढेँ–पढाएँ। तर, समसामयिक विषयमा मेरो अखबारी लेखनले १०–१५ वर्ष विश्वविद्यालयका कक्षामा बौद्धिक इतिहास र साहित्य पढे–पढाएको अनुभवलाई थिचिदिएछ। जबकि, विगत १०–१२ वर्षमा मैले राजनीतिक लेख–टिप्पणी लेखे पनि बेलाबेला साहित्यिक विधासँगको साइनो कायमै राखेको थिएँ।

तपाईँले आख्यान बढी पढ्नुभएको छ कि गैरआख्यान?
यो त अलि अफ्ठ्यारो प्रश्न भयो। सायद उस्तैउस्तै होला।

तर, भित्री रुचिको हिसाबले मैले पढ्ने भनेको साहित्यिक कृति नै हो। स्वदेशी होऊन् वा विदेशी लेखकका राम्राराम्रा उपन्याससँग म हराएको छु। तिनका पात्रहरूसँग संवाद गरेको छु। सभ्यता र संस्कृतिका पानाहरूमा आफूलाई भुलाएको छु। मन पर्दा मान्छेका आत्मकथामा डुबेको छु। मेरो रुचि–अभिरुचि यही हुन्छ। मेरो बेड–टेबुलको वरिपरि यिनै हुन्छन्।

तपाईँ त यथार्थ लेख्न पर्याप्त कन्टेन्ट भएको व्यक्ति। किन काल्पनिक लेखनतिर लाग्नुभयो?
मलाई उपन्यास लेखन अयथार्थ हो भन्ने लागेकै छैन। कहिलेकाहीँ बाहिर देखिने यथार्थभन्दा आख्यान झन् बढी यथार्थ र पूर्ण लाग्छ। तपाईँको जीवनलाई बुझ्न आख्यान नै आइपुग्नुपर्छ। हरेक मान्छेभित्र यति धेरै कथा हुन्छन्, ती कुरा आख्यानले मात्र भन्न सक्छ। किनभने, त्यहाँ भित्रैदेखिका संवेगहरू कोरिएको हुन्छ । आत्मा पोखिएको हुन्छ। यो आख्यानमा मात्र पाइन्छ। 

त्यसो भए आख्यान र गैरआख्यानबीच फरक के त?
कुनै कविको काव्यचेत वा समयचेतले देख्ने यथार्थ र दैनन्दिनमा भएको यथार्थमा कुनचाहिँ बढी यथार्थपरक होला भन्ने एउटा प्रश्न हुन्छ।

दोस्रो, कल्पनाशीलता भनेको अथार्थ होइन। किनकि, शून्यमा कल्पना हुनै सक्दैन। कल्पना त गरियो नि, हैन? जब केही गरिन्छ, त्यो यथार्थ भइहाल्छ।

अर्को कुरा, तपाईँ र म यहाँ बसिरहेका छौँ। तपाईँको मनमा केके कुराहरू आएका छन्? कति कुरा कल्पना गरिरहनुभएको छ? ती सबै कुरा भन्न चाहनुहुन्न। के भन्दा ठीक होला भन्ने छानेर तपाईँ भन्नुहुन्छ। म पनि त्यही गर्छु। अब भन्नुहोस्, तपाईँले बोलेका कुरा बढी यथार्थ भए कि कल्पना गरेका कुरा?

बाहिरी यथार्थले वास्तविक तपाईँलाई प्रतिनिधित्व गर्छ त? गर्दैन। त्यसैले यहाँ औपन्यासिक यथार्थ चाहिन्छ। यो तपाईँ र मबीचको कुरा मात्र होइन। मेरो घरायसी सम्बन्ध, समाज र देशसँगको सम्बन्धका सवालमा पनि यही लागू हुन्छ। उपन्यासले वास्तविक यथार्थसम्म पुग्ने र उन्मुक्त तवरले व्यक्त गर्ने माध्यम दिन्छ। त्यसैले यो लागि बढी शक्तिशाली सत्य हो।   

त्यसो भए गैरआख्यान किन पढ्ने त?
गैरआख्यान महत्त्वहीन हुन्छ भनेको होइन मैले। तर, यसका सीमा हुन्छन्।

राजनीतिक–सामाजिक विषयवस्तु मात्र होइन, मानवीय जीवनका सम्बन्धका कुराहरू, कतिपय पाटाहरू, जीवनका बुझाइहरू, आफ्ना विश्वदृष्टि जे भए पनि यो गैरआख्यान हो भनेर लेख्नुभयो भने त्यसमा सीमा खडा भइहाल्छन्। जब त्यही कुरा औपन्यासिक माध्यमबाट व्यक्त गर्न खोज्नुहुन्छ, त्यहाँ सीमा हुँदैन। लेखकीय स्वतन्त्रता हुन्छ। उन्मुक्त लेखनको अवसर हुन्छ।

कोलम्बियाका लेखक गार्बियल गार्सिया मार्खेजको उदाहरण लिऊँ। २० औँ शताब्दीका सबैभन्दा महानमध्येका एक उपन्यासकार हुन् उनी। उनले ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ उपन्यासमा दक्षिण अमेरिकाको सम्पूर्ण इतिहास नै अटाएका छन्। जादुयी यथार्थको प्रयोग त्यसमा पाइन्छ। दक्षिण अमेरिकाको दुई–तीन सय वर्षको इतिहास र त्यहाँको दुःखान्तलाई कल्पनाशीलताको उच्चतम प्रयोगमार्फत् व्यक्त गरेका छन्।

सलमान रुस्दीको ‘द स्याटानिक भर्सस’ले पनि त्यसैगरी ऐतिहासिक कथा भन्छ, भलै एउटा धर्मको एउटा समुदायमाथि गरेको प्रस्तुतिलाई लिएर त्यो विवादास्पद भएको छ।

उपन्यासमा भनिएका सबै घटना वा पात्र इतिहासमा नभेटिन सक्छन्। तर, जब लेखकले त्यो कल्पना गर्छ भने पनि त्यो स्वयं एक यथार्थ हो।

तपाईँले उपन्यास लेख्दा पहिला कथा रोज्नुभयो कि कुनै पात्रले घचेट्यो?
यसमा एउटा रमाइलो प्रसंग छ।

सैद्धान्तिकरुपमा म कुनै कुराबाट प्रेरणा लिने भन्नेमा झ्याप्पै विश्वास गर्दिनँ। किनभने, मेरो बौद्धिक इतिहासको पठन र सैद्धान्तिक–दार्शनिक विचरण बेग्लै छ।

यस उपन्यासको कथावस्तुका सन्दर्भमा के भयो भने मैले कस्तो उपत्यास पढ्न चाहन्छु, त्यो मैले लेख्नुपर्छ र पहिलो पाठक म हुन्छु भन्ने थियो। कतिपयले कुन पाठकलाई सोचेर लेख्न बसिस् भनेर सोध्छन्। म भन्छु, त्यो मै हो। मैले कस्तो उपन्यास पढ्न चाहन्छु भन्दा 'यस्तो' भन्ने मेरो दिमागमा थियो। 

यस्तै एक दिन मेरो सपनामा कुनै कथा आयो। त्यो छविछायाँ मेरो दिमागबाट कहिल्यै हटेन। बरु झन् बढी गाढा भएर बस्यो।

जीवनमा सपना कति देखियो होला? कति त राति देखेको सपना बिहान भइसक्दा बिर्सिहालिन्छ। तर, एउटा दृश्य एकदमै शक्तिशालीरूपमा देखापर्‍यो। दिमागमा बसेको बस्यै गर्न थाल्यो। पछि विपनाका दृश्यहरूमा मिसिन थाल्यो। अनि मैले यस दृश्यलाई कृतिमा उतार्नैपर्छजस्तो लाग्यो। अनि लेख्न बसेँ। 

यो उपन्यास लेख्न कति समय लाग्यो?
यो कथानकमा लेख्छु भनेर एउटा खाका मेरो मनमा पहिल्यैदेखि कोरिएको थियो। त्यसको सामयिकता निर्धारण, देश–काल–परिस्थितिको निर्माण अनि प्रतिबद्धताका साथ यो आकार दिन करिब २ वर्ष लाग्यो।

तपाईँ देशबाहिर हुँदा लेखनलाई पूर्णता दिन सजिलो भयो कि झन् बिथोलिनुभयो? के छ तपाईँको अनुभव?
लेख्न बसिसकेपछि म स्वदेशमा छु वा विदेशमा भन्ने कुनै मतलब हुँदैन। कहाँ छु भन्ने बिर्सेर उपन्यासकै संसारमा हराइरहेको हुन्छु। 

तपाईँको उपन्यास पाठकले कसरी पढिदिऊन् वा बुझिदिऊन् भन्ने लागेको छ?
उपन्यास सार्वजनिक भइसकेपछि त्यो अब मेरो हुँदैन। त्यतिन्जेल म पनि एक पाठक भइसकेको हुन्छु। मैले यसो भन्न खोजेको हुँ, उसो भन्न खोजेको हुँ भन्ने छूट हुँदैन र भनेर साध्य पनि लाग्दैन। लेखकको धारणा वा व्याख्यालाई नै आधिकारिक मान्नुपर्छ भन्ने पनि हुँदैन। 

लेखकले कृति लेखेपछि ऊ मरेको हुन्छ। लेखक आफै जान्ने भएर बोल्नु साहित्यिक हिसाबले शोभनीय पनि नहोला। कृतिले जे भन्छ, त्यसको अर्थ त्यही नै हो।

अर्को कुरा, साहित्यिक संसारमा लेखक भन्ने कुरा निकै पछि आएको हो। कृति मुख्य कुरा हो। तपाईँले याद गर्नुभएको होला, कतिपय यस्ता चर्चित, लोकप्रिय र प्रत्येक पुस्तामा हस्तान्तरित हुँदै आएका कृति छन्, जसको लेखक को हो भन्ने कसैलाई यकिन छैन।

सेक्सपियरकै पालासम्म पनि नाटक हुन्थे तर नाटककार हुन्थेनन्। पहिला नाटक प्रदर्शनका लागि लेखिन्थे। पछि छापिन थाले। छापिएपछि पनि कयौँ समयसम्म सेक्सपियरको नाम लेखिएको हुन्थेन रे! निकै पछि मात्र लेखकको रूपमा सेक्सपियरको नाम लेख्न थालिएको भनिन्छ।

हाम्रै पूर्वीय वाङ्मयमा पनि शास्त्रहरू अनगिन्ती छन् तर कसले कुन लेखे भन्ने किटानीसाथ हामी भन्न सक्दैनौँ। हाम्रा धेरै शास्त्र त लेखिएकै थिएनन् र श्रुतिपरम्पराबाट आएका थिए। यसले पनि के देखाउँछ भने यहाँ लेखक महत्त्वपूर्ण होइन, कृति महत्त्वपूर्ण हो। 

कृतिमा सारतत्व छ, कला छ, सौन्दर्य छ भने त्यो बाँच्छ। कुनै कृति लेखकको कारणले बाँच्ने पनि होइन। 

तसर्थ, अहिले पनि लेखकले आफ्नो स्वादको लागि वा अरु जेसुकै उद्देश्य राखेर लेखे पनि लेख्यो, सकियो। त्यसपछि बाँच्ने, बस्ने वा यथार्थ भनेको कृति नै हो।

तपाईँको यो कृति कुन र कस्तो समय वा समाजमा उभिएको छ?
कुनै पनि कृतिको देश, काल, परिस्थिति त हुन्छ नै। तर, त्यो पनि अब पाठकले नै निर्धारण गर्नेछन्। उनीहरूले जुन समय देख्नेछन्, त्यो नै सत्य र यथार्थ हुनेछ।

उपन्यासको कथावस्तु जन्माउँदा तपाईँ नेपालमा हुनुहुन्थ्यो। पछि बाहिर गएर बस्नुभयो। आफूले कृतिमा खेलाएका पात्रमध्ये कोहीकसैसँग पृथ्वीको अर्को कुनामा पनि जम्काभेट भयो कि?
त्यस्तै चरित्रका कतैकतै देखिए–भेटिए होलान्। आधारभूत मानवीय स्वभावहरू त हामी ८ अर्ब मानिसमध्ये हरेकभन्दा हरेक फरक छौँ। 

अर्को, तपाईँले पात्रलाई खेलाएको रोचक कुरा गर्नुभयो। तर, एउटा लेखकका रूपमा मलाई के अनुभूति हुन्छ भने कुनै बिन्दुमा पुगेपछि पात्रले नै लेखकलाई खेलाइदिने रहेछन्। लेखक आफू स्वायत्त छु भन्छ, तर कथा अगाडि बढेपछि लेखक स्वयं त्यसको एक भाग मात्र हुन्छ।

एउटा नदीमा रुज्दैभिज्दै पौडी खेलेजस्तै लेखक पनि कथामा चोबलिँदै बगेको हुन्छ। यो मेरो पहिलो अनुभव पनि हो। यस्तो हुँदोरहेछ भन्ने मलाई अनुभूति भयो। अरूलाई पनि हुन्छ होला।

तपाईँले विश्वविद्यालयमा कयौँ वाद र दर्शनहरू पढाउनुभयो होला। तर, आफ्नो रुझानको दर्शन कुनै एक हुन सक्छ। उपन्यास लेख्न बस्दा आफ्नो जीवनदर्शन त्यहाँ आउनुपर्छ भनेर बस्नुभयो कि नाइँ?
यो प्रश्न गहिरो छ। सटीकरूपमा जीवन दर्शन लेख्दिनँ भन्दा पनि लेखिएरै छाड्छ। लेख्न बसिसक्दा कुनै न कुनै दृष्टिकोण त आइहाल्छ नि।

कृतिमा भनिएका सबै कुरा लेखककै विचार नहुन सक्छन्। तर, मेरो रुझानले पक्कै पनि रुझाउने–भिजाउने गरेको होला। 

तपाईँको प्रश्नको अर्को आशय पनि म बुझ्छु। मूलतः यो कृति मेरै लागि लेखेको मैले भनिसकेँ। यति भनिसकेपछि समाज कस्तो हुनुपर्छ भन्ने मेरो दृष्टिकोण वा आदर्श कृतिमार्फत् बोलिएको छ त? यस्तो बोलिनैपर्ने हो त? त्यसो भए ल मानौँ, कुनै समाजमा सारा कुरा मिलेका छन्, सुधार गर्नुपर्ने कुरा केही छैनन्। के त्यहाँ साहित्य–कला रचिन छाड्छन् त? पक्कै छाड्दैनन्।

त्यसैले यहाँ पनि मेरो दृष्टिकोण के छभन्दा पनि पाठकले कुन दृष्टिबाट पढ्छ र बुझ्छ, त्यो नै बढी महत्त्वपूर्ण र यथार्थ हो। प्रत्येक पाठकले फरक दृष्टि र कोणबाट पढ्छन्, बुझ्छन्। सर्जकको सफलता पनि त्यसैमा निर्धारित हुन्छ।

मैले बुझ्न खोजेको, तपाईँ आफूलाई प्रिय लागेको कुनै एक दर्शनलाई यस कृतिमार्फत् स्थापित गर्छु भन्ने विचार राख्नुहुन्छ कि नाइँ?
पाठकलाई त्यस्तो लाग्न पनि सक्ला। तर, यी सबै तरल कुरा हुन्। बगिराखेका छन्। कृतिमा ती अडिन पनि सक्छन्। तर, जीवनमा ती बगिरहेका हुन्छन्। म यो कृति लेख्नुअघि पनि थिएँ, पछि पनि हुँला। कृतिमा भएको दर्शन भोलि लेखकमा किन छैन भन्न थाल्नुभयो भने त्यो मिल्दैन। त्यसैले त कतिपय लेखकका कृतिपिच्छे फरक दर्शन र विचार पनि पाइन्छन्।

यो उपन्यास लेख्न बस्दा जहाँ लगेर बिसाउँछु भन्ने लागेको थियो, त्यहीँ बिसाउनुभयो कि देश–काल–परिस्थितिले फरक ठाउँमा पुर्‍यायो?
त्यसमा त म पहिला नै स्पष्ट थिएँ। बीचका केही मसिना कुराहरु फरक परे होलान् तर कथा जहाँ बिसाउनुपर्ने थियो, त्यहीँ बिसाइएको छ।  

तपाईँले आफ्नो जीवनमा विभिन्न प्रकारका संसार सिर्जना गर्नुभयो होला। प्रेम भयो होला, विवाह गरेर नयाँ घर निर्माण गर्नुभयो होला। आकर्षक जागिरहरू खानुभयो। अहिले एउटा कृति जन्माएर सार्वजनिक गर्दै हुनुहुन्छ। यीमध्ये सबैभन्दा बढी उत्साह र खुल्दुली भएको क्षण कुनलाई मान्नुहुन्छ?
विगतका केही महिनाहरूमा नोबल पुरस्कार विजेता फ्रान्सेली लेखिका आनी अर्नोका कृतिहरू पढेँ। यी कृति पढ्दा मेरो मनमा के आएको थियो भने जीवनको कुनै पनि घडीमा गरिएका निर्णय तत्कालीन समयको तापमा उत्पन्न भएका हुन्छन्। ५–१० वर्षपछि हेर्दा ती किन गरिएका होलान् जस्तो लाग्छ। अथवा अर्को गरेको भए पनि हुन्थ्योजस्तो लाग्छ। तर त्यो सोच गलत हो भन्ने कुराले मलाई छोएको छ।

कुनै पनि निर्णय त्यहाँ अर्को गर्न नमिल्ने भएकाले त्यही गरेको हो भन्ने बुझ्नुपर्छ। न त्यहाँ पश्चात्तापले जल्नु उचित हुन्छ, न खुसीले उफ्रनु नै। 

यो कुरा अहिले किन सम्झिएँ भने मैले एसएलसी पास गर्दाको दिन कम्ता उत्साहपूर्ण क्षण थिएन। सारा संसार जितेजस्तो लाग्थ्यो। स्याङ्जा जिल्लामा त्यतिखेर एसएलसी पास हुनु नै दुर्लभ कुरा हुन्थ्यो।

एमए पढ्दा गोल्डमेडलिस्ट भएँ। राजा वीरेन्द्रका हातबाट स्वर्णपदक थाप्न पाउनु त्यसबेलाको समयका हिसाबले त्यत्तिकै खुसीको कुरा हुन्थ्यो।

पछि क्याम्ब्रिज विश्वविद्यालय पढ्न जान पाउनु थप उपलब्धिको कुरा भयो।

विगत ५–१० वर्षयतालाई हेर्दा सबैभन्दा रमाइलो यही पुस्तकको सार्वजनिकीकरण लागेको छ। विगत दुई–तीन वर्ष यसैको संसारमा गुम्सिएँ। लामो प्रक्रिया यसमा गुजारेँ। एकदमै सुन्दर अनुभूति भयो।

तर, यो यही समयका लागि मात्र हो भन्ने लाग्छ। अहिले म धेरै उत्साहित छु भनेर विगतका क्षणलाई अन्याय गर्न चाहन्न।

तपाईँको विचारमा लेखनमा जीवनदृष्टि बढी महत्त्वपूर्ण छ कि सौन्दर्य?
मैले जीवनमा आफूलाई सबैभन्दा धेरै प्रश्न कुनै सोधेको छु भने त्यो 'लेख्ने किन?' भन्ने हो।

यो प्रश्न सोध्ने म एक्लो वा पहिलो होइन। अन्तिम त झन् हुनेवाला नै होइन।

अस्तित्ववादी साहित्यकार दार्शनिक जाँ पाल साल्टले सोधेको प्रश्न हो यो। उनी कुनै संस्था स्वीकार गर्दैनथे। परिवार भन्ने संस्था स्वीकारेनन् र विवाह नै गरेनन्। नोबेल पुरस्कार पाउँदा पनि लिएनन्। यी कुनै कुराको अर्थ छैन भन्थे।

हामी पृथ्वीमा किन आयौँ, केका लागि आयौँ भन्ने कसलाई थाहा छ? हामी जन्मनुको पनि न उद्देश्य छ, न अर्थ छ। यी देश, समाज, विवाह, बच्चाबच्ची, नोबेल पुरस्कारको पनि अर्थ छैन। उनी यो विचार राख्थे।

तर, पनि उनले लेख्न भने छाडेनन्, लेखिरहे। जब केही कुराको अर्थ छैन भने लेख्ने किन त?

यस प्रश्नमा उनी भन्छन् कि सिर्जनशीलता मान्छेसँगसँगै आएको कुरा हो। उनलाई मान्ने हो भने कि आफ्नो अस्तित्व नामेट पार्नुपर्‍यो, कि जीवन छउन्जेल सिर्जनशीलता हुनुपर्‍यो।

त्यसैले सिर्जनशीलता यति गम्भीर विषय पनि हो। यति सुन्दर विषय पनि हो। जसले अरू केही कुरामा पनि अर्थ देखेन, र पनि उसले लेख्छ। 

मान्छेले सौन्दर्यबोध गर्ने क्षमता पनि सँगसँगै लिएर आएको हुन्छ। सौन्दर्यबोध आफै गरिरहेको हुन्छ। घाम उदाउँछ। सूर्य अस्ताउँछ। झरना झर्छ। त्यसमा मान्छे रमाइरहेको हुन्छ। त्यसमा कुनै विशेष पठनको दृष्टि पनि चाहिँदैन।

त्यहाँ कुनै जीवनदृष्टि चाहिँदैन। मान्छेमा सँगैसँगै स्वतः भइरहेको कुरालाई एउटा आकार दिने काम हो, कला। चाहे तपाईँ चित्र कोर्नूस् या कविता लेख्नूस्। राम्रो निबन्ध लेख्नूस् या कुनै सुन्दर साँझ बिताउनूस्। अथवा, कोहीसँग सुन्दर वार्ता गर्नूस्। ती सबै कला हुन्। माध्यम मात्र फरक हुन्। सिर्जनात्मक प्रक्रिया वा सौन्दर्यबोध गर्ने प्रक्रिया एउटै हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .