ad ad

साहित्य


विनोदविक्रम केसीका १० प्रेम कविता

विनोदविक्रम केसीका १० प्रेम कविता

विनोदविक्रम केसी
फागुन २, २०८० बुधबार १४:१६, काठमाडौँ

लामो समयदेखि कथा–निबन्ध लेखन र अनुवादमा सक्रिय विनोदविक्रम केसीले मूलतः कविको परिचय बनाएका छन्। 

उनको ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित भएको एक दशक नाघिसकेको छ। 

भुइँमान्छेका पक्षबाट कवितामा पनि आगो ओकल्ने उनका प्रेमकविता काँडाजस्तै तीक्ष्ण हुन्छन्।

प्रस्तुत छ २०६९ देखि २०७९ सम्म प्रकाशित कवि केसीका १० प्रेम कविताः


पहिलो चुम्बन

                              
गोली लागेको पन्छीको पखेटाझैँ
फड्फडिरहेको छ मुटु 

बाघको मुखबाट उम्किएको मृगझैँ 
तुफानी वेगमा दौडिरहेछ रगत 

भर्खर खनेको बाटोमा 
गुडिरहेको थोत्रो लोकल बसका पाटपुर्जाझैँ
खन्द्र्याङ–खन्द्र्याङ बजिरहेका छन् 
अङ्ग–प्रत्यङ्ग

जेठको धुपमा 
घाँस काँट्न हिँडेकी 
कन्दराकी युवतीको अनुहारझैँ
राँक्किएका छन् ओठ 

सफा र शान्त छ आकाश 
अचानक शिरमा खस्छ चट्याङ 
फूल, मह, मदिरा र संगीतको घोलमा डुबेर 
बेहोस हुन्छ पर्यावरण 

यो एक मिनेट, बस एक मिनेट... 

दिनभरि चन्दनझैँ घोटिएको
मजदुरको रातको निद्राजस्तो 
यो एक मिनेट 

मेला गएकी आमा 
साँझ घर फर्कंदा 
दूधे शिशुको मुहारमा 
फक्रने इन्द्रकमलजस्तो 
यो एक मिनेट... 

यो एक मिनेटमा 
मैले खारेको 
प्रेमको बाह्रखरीमार्फत  
सम्मानको बाह्रखरीमार्फत 
बुझेको छु मैले 

मान्छेलाई बन्दुक किन चाहिन्छ?
कहिले चाहिन्छ?

मान्छेलाई गुलाब किन चाहिन्छ?
कहिले चाहिन्छ?    

(भोकको क्षेत्रफल, २०६९ बाट) 

 

अन्धो, लाटो र बहिरो प्रेममाथि 

सुनिरहेको छु सदियौँदेखि–
प्रेम अन्धो हुन्छ 
प्रेम लाटो हुन्छ
प्रेम बहिरो हुन्छ 

जान्न चाहन्छु म– 
कसले प्रेमलाई यस्तो अपाहिज बनाइदियो?
कसले प्रेमलाई यति निरीह बनाइदियो?

कसले फोरिदियो यसका आँखा?
कसले थुतिदियो यसको जिब्रो?
र, कसले हालिदियो सिसा घोलेर 
यसका कानमा? 

प्रेमलाई अपाहिज बनाइदिने 
क्रुरहरूको खोजीमा छु म 
तिनीहरूका नाभी ताकेर 
प्रहार गर्नुछ मलाई 
असंख्य क्षेप्यास्त्रहरू 

अन्धोपन, लाटोपन र बहिरोपनबाट 
प्रेमलाई मुक्त नगरेसम्म 
चलिरहनेछ रातो गुलाबको कठोर तानाशाही 

र, सिस्नोहरू कहिल्यै उठ्नेछैनन् 
दासभन्दा माथि।


चिसो १४ फेब्रुअरी

जर्जर घिन्ताङ र घुन्तुङ
अथवा झ्याल्टुङ सा–रे–ग–ममा अल्झिएर 
म प्राचीन हुने खतरा मोल्न सक्दिनँ
कम्तीमा 
यो समयको चल्तीको राग
सुसेल्नैपर्छ मैले

त्यसैले म यौटा गुलाब किन्छु
पैँतीस रुपैयाँ बराबर पचास सेन्टमा
र, भुलिदिन्छु आमाको दमको ओखती

सडक बालबालिकाहरू 
लुटेराको बन्दुकलाई हेरेझैँ हेर्छन्
मेरो हातको गुलाबलाई
तिनका आँखामा सायद फक्रन्छन्
एक–एक पाउन्ड पाउरोटी

म प्रेमको नसामा हिँडेको मान्छे
मेरो मथिङ्गलमा 
यस्ता कुरा आउनु हुँदैन
यो केवल टुँडिखेल हुनुपर्छ
मग्नमस्त बाइपङ्खी घोडाहरूको

कोप्चा आँखा भएका  
‘कुरूप’ युवतीहरू
बटुको थापेर बसेका छन्
एक सिक्का नजरका लागि
म प्रेमको नसामा
हिँडेको मान्छे
मसँग चानचुन छैन 

तितेपातीको गन्ध पछ्याएर 
कस्तुरी भेट्न हिँडेको मान्छे म...

प्रेम चमत्कार हो
हैन भन्ने दुस्साहस कसले गर्छ?
प्रेम सबथोक हो
हैन भन्ने दुस्साहस कसले गर्छ?

उर्दी जारी गरिरहेछन् लभगुरुहरू 
डुब
हो 
डुब
प्रेममा 
चुर्लुम्म
डुब

किनभने प्रेम सबथोक हो
हावा, पानी, माटो, फूल, पात, जून, तारा,
आँखा, ओठ, वक्ष, नितम्ब
भालेपोथी गणित
नरकटघारी समीकरण
सूत्रबद्ध अर्ग्याजम...

कुनै दिन बौरिनेछ चिहानबाट
भ्यालेन्टाइन बुढो
र, खोस्न थाल्नेछ हात–हातका गुलाबहरू
मुड्की हान्नेछ हाम्रा छातीमा

त्यतिबेला सफल हुनेछौँ हामी
आफ्ना इस्पातका मुटुहरू बजेको सुन्न

र, थाहा पाउनेछौँ
प्रेमका नाउँमा 
हामीले 
कति
उपेक्षा,
असम्मान र
अत्याचार गरेछौँ
सिस्नोहरूलाई।

(भोकको क्षेत्रफल, २०६९ बाट )

 

चक्कु र बाँसुरी 

यो देश के सारो दरिद्र भाको!
प्रेमिका र प्रेमीहरुलाई दिनका निम्ति 
योसँग चक्कुको धारसिवाय केही छैन 
यो देश हो कि 
चक्कुको उपनिवेश? 

मेरो प्रेम बाँसुरी हो 

धुनमा निमग्न हुन नसक्ने दरिद्रता नत्यागेसम्म 
यो देश मेरो प्रेमको लायक हुन सक्दैन।


मृतक प्रेमीको फिराद 

कविजी!
तिम्रा नाममा थाती छ 
एउटा अश्लील गाली 

हजारौँ वर्षदेखि तिमी त   
झुटो 
नक्कली 
र, जालसाज प्रेमगीत लेखिरहेका रहेछौ 

पृथ्वीभन्दा विशाल, आकाशभन्दा विस्तृत 
समुन्द्रभन्दा गहिरो, हिमालभन्दा उँचो 
घामभन्दा न्यानो, जूनभन्दा शीतल 
फूलभन्दा सुन्दर, महभन्दा मीठो  
सबैभन्दा महान्, सबैभन्दा पवित्र... 

प्रेम यति भव्य हुन्छ भन्यौ 
प्रेम यति दिव्य हुन्छ भन्यौ 

र, झुटको पराकाष्ठामा पुगेर भनिदियौ– 
प्रेमले जातभात भन्दैन 
अनि एक दिन संविधानले पनि आँखा सन्काउँदै 
पाल्सी भाषामा भन्योे–
जात सबै बराबर!

म त प्रेमी थिएँ 
पत्याइदिएँ 
प्रेमीहरू साह्रै सीधा हुन्छन् 

धेरै पछि पो थाहा पाएँ– 
प्रेमलाई जसले महान् र विशाल भनेका थिए 
‘माथिल्लो सिँढीका मान्छे’ थिए ती 
जसले प्रेमलाई  
सानो, साँघुरो, छिपछिपे, होचो, ठिहि¥याउँदो, पोल्दो, कुरूप, 
तीतो, तुच्छ र अपवित्र तुल्याइदिएका थिए  

प्रेम त हुनुपर्थ्यो साधारण 
एक साथ, एक भरोसा, एक सपना, 
एक चुम्बन, एक आलिंगन, एक सम्भोग, 
एक रोमाञ्च, एक तृप्ति, एक आनन्द...

धोकेबाजहरूले 
यति कञ्चन प्रेममा 
मिसाइदिए मैलो 
र, प्रेमको इतिहासभरि 
छरिएका छन् एक–एक बित्ताका बीचमा 
काटिएका गलाहरू 
छुरी, डोरी र विषहरू 

म त आफ्नै वेदना तगेर 
प्रेमलोक सिइरहेको थिएँ एउटा 
आफ्नै दुःख पोलेर, खारेर, पिटेर
पिरतीको देश बनाइरहेको थिएँ एउटा 

मेरो प्रेम अधुरो क्रान्ति हो  
संसारको कुनै न कुनै कुनामा 
एउटा न एउटा अतृप्त प्रेमीले 
पिरतीको मसाल त बोक्ने नै छ 
आहत मुटुको रगतले मात्र होइन 
यदाकदा प्रेमपत्र बन्दुकले पनि लेखिनेछ 

म मर्नुअघि 
मेरो प्रेम असाध्यै भोकाएको थियो 
मेरो प्रेम अचाक्ली तिर्खाएको थियो 
सम्मानको भोक–तिर्खामा छटपटाइरहेको प्रेमलाई हेर्नु 
मर्नुभन्दा गाह्रो हुँदो रहेछ 

मेरो खुनले जकडिएकी 
लज्जित र अवाक् भेरी 
एकछिन रोकिएकी थिइन् टक्क
दलित मायालुका शवमाथि रुँदारुँदा 
यो देशका नदीहरूसँग अब बाँकी छैन आँसु

तिमी व्यस्त रह्यौ 
संगमर्मरका दरबारका प्रेमगाथा गाउन 
भुइँमा पोखिएर हाँसीखुसी माटोमा मिलिजाने
पिरतीको गीत 
तिम्रो दिमागमा आएन झिलिक्क कहिल्यै 
   
हजारौँ वर्षदेखि तिमी त 
झुटो 
नक्कली 
र, जालसाज प्रेमगीत लेखिरहेका रहेछौ 

कविजी!
अब अन्त्यमा 
एउटा अश्लील गाली दिन्छु तिमीलाई। 
 

आँखाहरुको अँगालो 

म त के थिएँ र?
दुःखको पिँजडामा बन्दी 
पन्छी न थिएँ 
बन्धनको तार ठुङ्दाठुङ्दा जीवन रगतपच्छे थियो 
र, एक दिन 
तिमीले मलाई तिम्रा आँखाहरुको अँगालोमा
यसरी बाँधिदियौ, कि— 
म मुक्त भएँ 
सिङ्गै आकाश मेरो भयो। 


निमुखा मुमताजहरू 

जब–जब म प्रेमकविता लेखूँ भन्छु    
छाकसङ्ग्राममा हर भाँचिएको बुढो भात
समयको जीर्ण फलैँचामा बसेर 
फलाक्न थाल्छ
जिन्दगीका ह्यान र त्यान त्रासदीहरू 
कोई खोरन्डो तक्मावालले
आफ्ना लाहुरेकालका 
युद्धकथाहरू हाले जसरी 

हेरिरहेछु वर्षाैँदेखि
चोकमा मकै–भटमास बेच्ने त्यो एउटी केटीलाई
जसको चुक घोप्टाएजस्तो अनुहारमा
चन्द्रमाबाट देखिने ग्रेटवालजस्तै
जुँगाको मसिनो रेखी छ
भुइँचालोको डोज नपुगेर पूरै नभत्की
उभिएको जीर्ण घरजस्तो शरीर
र त्यस्तै–त्यस्तै मन बोकेर
ऊ तलास गरिरहेकी छे एउटा भ्यालेन्टाइन

साँच्चै, कहाँ बाँडिन्छन् भ्यालेन्टाइनहरू?
साँच्चै, कहाँ बेचिन्छन् भ्यालेन्टाइनहरू? 
कुन बम्पर उपहार योजनाअन्तर्गत?
कस्तो किस्ताबन्दीमा?

जब–जब म प्रेमकविता लेखूँ भन्छु
त्यही केटी मेरो कलमको टुप्पोमा
ढसमस्स बसिदिन्छे
र अवरुद्ध गरिदिन्छे
एक गाडी रोमियोहरूको सवारी 

जब–जब म प्रेमकविता लेखूँ भन्छु
बाह्र घण्टामा तेह्रचोटि मर्ने बेरोजगारहरू 
शब्द–शब्दको तुलसी मठमा लम्पसार परिदिन्छन्
त्यसमाथि लम्पसार परिदिन्छन्
मजदुरका सेप्रा पेटहरू
शहीदका भद्रगोल सपनाहरू
शहीद हुन बाँकीका गन्जागोल सपनाहरू
अनि
सबैभन्दा माथि
धेरैको भागमा पर्ने 
उही तेजाबले डढेको कागजजस्तो देश!

के दिल टुटाउन
यति नै काफी छैन र दिलरुवा?
के मन चुँडाउन
यति नै पर्याप्त छैन र जानेमन?

जब–जब म प्रेमकविता लेखूँ भन्छु
वाक्य–वाक्यमा गजधुम्म बसेका खण्डहरहरू
ढिम्किनै दिँदैनन् ताजमहललाई
र, दिन्छन् स्पष्टीकरण–

‘हामीले पनि पुरेका छौँ
गरिब शाहजहाँहरूका 
निमुखा मुमताजहरू
फरक यत्ति हो
हामीसँग प्रेम मात्रै छ
सङ्गमरमर छैन।’ 

(भोकको क्षेत्रफल, २०६९ बाट) 
 

ट्राफिक जाम 

फसेको छु ट्राफिक जाममा 

अचानक याद आयो 
छापामार प्रेमिका 

दुनियाँ बदल्न हतारिएकी थिई जो 

हतारैहतारमा जडिदिएकी थिई 
मेरो निधारमा एक चुम्बन 

र, भनेकी थिई जोसमा 
‘मेरो प्यारो कमरेड!
प्रेम द्रुत हुनुपर्छ आँधीजस्तो 
सुस्त भयो भने 
प्रेम, प्रेम रहँदैन 
चिप्लेकिरा बन्छ’ 

फसेको छु ट्राफिक जाममा 
चिप्लेकिराझैँ घस्रिरहेछन् गाडीहरु 

र, अचानक याद आयो मलाई 
बेपत्ता पारिएकी 
मेरी छापामार प्रेमिका।  

 

प्रेम : एक भोजन कविता 

मायालु, तिमी आयौ 
क्या मीठो सरलतासित आयौ 
नुन–पिरो ट्वाक्क मिलाएर आयौ जिन्दगीमा...

तिमी आयौ, त्यस्तो असाधारण केही आएन 
ऋतु दुर्घटना गराउँदै शिशिरमै वसन्त आएन 
अँध्यारै थियो औँसीको रात, चन्द्रमा आएन 
कुनै दरबारिया कवि, या मुसाहिब सायरले 
आह्वान गर्दैमा 
शयनकक्षमै आइपुग्ने 
के चन्द्रमाको इमान त्यति फितलो हुन्छ? 

तिमी आयौ जुन सडक हुँदै 
उस्तै थियो त्यो, रुखो–रुखो 
धुवाँधुलो अनि उच्चाटलाग्दा छिरबिरे छालहरू गाडीका 
तिमी आयौ 
फूलहरूको नाचमग्न लस्कर आएन 

तिमी आयौ 
महिनौँपछि मजदुरको भान्छामा मासु आयो 
हेर, उसका लालाबालाका आँखामा 
क्या चमक छायो स्वादिलो 
तिनका तृप्तिका पाइलाहरू पुग्नेछन् जहाँसम्म 
त्यहाँसम्म फैलिएको हुनेछ हाम्रो प्रेमको भूगोल 

तिमी आयौ 
नवजात शिशुको मुखमा आमाको दूधको मुन्टो आयो 
‘हङ्गर इन्डेक्स’को चपेटामा परेर 
प्रति पाँच सेकेन्डमा 
भोकले मर्छ एउटा बच्चा 
तिमी आयौ र एउटा बच्चाको ज्यानमा ज्यान आयो 

तिमी आयौ 
गुँडमा बचेराहरूका लागि 
व्यग्र माउको चुच्चो आयो 
ती हुर्किनेछन्, उड्नेछन् एक दिन 
र, मास्न उद्यतहरूका हातबाट  एक छिनलाई भए पनि 
तिनले खोस्नेछन् पर्यावरण, जहाँ—  
हाम्रो प्रेमले पाउनेछ हावा, अन्न र पानी 

तिमी आयौ 
दूर देशको शरणार्थी शिविरमा 
खानेकुरा बोकेर तिलस्मी ट्रक आयो 
आत्मा खोसिएकाहरूले पुनः आत्मा हासिल गरे 
र, हाम्रो प्रेमले एकसाथ रुँदै–हाँस्दै धारण ग¥यो 
क्या सरस पागलपन!

अन्नको अनादर गर्नेहरू खुङ्खार हुन्छन् 
प्रेम गर्नु तिनीहरूको वशमा हुँदैन 
जस्तो कि, करोडौँ टन अन्न खेर फाल्ने अमेरिकालाई 
युगौँदेखि मान्छे खाने बानी परेको छ 

मान्छे खानेले मरिगए प्रेम गर्दैन 

मायालु, म असाध्यै आदर गर्छु अन्न र प्रेमलाई 
किनभने, दुनियाँमा हरेक रात 
भोकै सुत्ने एकासी करोड मान्छेमध्ये 
कहिलेकाहीँ मै पनि एक जना हुन सक्छु 
त्यतिखेर तिम्रो प्रेम पाइनँ भने 
मेरो भागमा पर्ने छैन 
अर्काे सूर्याेदय, अर्काे आशा र अर्काे मिठास। 
 

भोकमरी र हिउँद 

तिम्रो मीठो माया—
तुसारोले खाएको 
रायोको सागजस्तो मीठो— 
तिम्रो मीठो माया पाउन्जेल 
काट्न सक्छु म सयौँ भोका रात।
 
तिम्रो न्यानो माया— 
दुःखीले दुःखीबाट पाउने 
भरोसाजस्तो न्यानो— 
तिम्रो न्यानो माया पाउन्जेल 
थोत्रो स्वेटर, अर्धानो ज्याकेट 
र, जडौरी गलबन्दीकै भरमा 
काट्न सक्छु म सयौँ हिउँद। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .