ad ad

साहित्य


कथा : रोबोटको धर्मपुत्र

कथा : रोबोटको धर्मपुत्र

आशिष दुलाल
बैशाख २९, २०८१ शनिबार १६:११, काठमाडौँ

उसका आँखा खुल्दा पहिलो पटक आसपासमा ठूलो खुसियाली छाएको थियो रे, विज्ञानको सफलताका बीचमा ईश्वरीय चमत्कारजस्तै भएको थियो सायद। सन २५२४ मे ३ तारिखका दिन करिब ५ बजेर ७ मिनेटमा उसको जन्म भएको उसको नाडीमा बाँधिएको डिजिटल वाचमा स्क्यान गर्नेबित्तिकै उसको जन्मकुण्डली हेर्न मिल्छ। प्रविधिले संसारलाई फनफनी घुमाइदिएको छ, पृथ्वीले सूर्यलाई घुमेको स्वाभाविक तरिकाभन्दा भिन्नै। उसले पनि जब यो सबै थाहा पायो, उसको पनि दिमाग तिर्मिराएको थियो, रन्थनिएको थियो। घुमेको थियो,  उसको सारा रोमरोम चक्करले, मानौँ अकस्मात पृथ्वी रोकिएको छ।

उसको नाम ह्यु म्यान हो, ऊ पुरुष हो, उसको उमेर लगभग २१ वर्ष भयो, ऊ चिनियाँ र अमेरिकी मिश्रित केटा हो, सम्भवत ५०० वर्षअघि जन्मिएका मार्क जुगरबर्ग र उनका एसियन श्रीमतीले जन्माएका सन्तानजस्तै। ह्यु म्यान जन्मँदा पार्टी भएको थियो रे उसको ल्याबमै, सारा उसका टेस्टट्युब ल्याब टेक्निसियन र ह्यु म्यानको प्रतीक्षा गर्ने साराले त्यो रातभर डान्सपार्टी गरेका थिए रे। समय पुगेपछि ह्युमन इन्क्युबेटरबाट उसलाई निकालियो, टेस्टट्युबभित्रको रक्तिम पानीले भरिएको सिलिकनको थैलो फोडेर निस्कियो ह्यु म्यान। 

‘एस, हि इज म्यान विद अ पिनस!’

सबै गलल हाँसे, त्यो ठूलो मेसिनले भरिएको टुँडिखेलजत्रै हल एलियनजस्ता स्वास्थ्यकर्मी, वैज्ञानिक र अन्य ठूलाबडाहरूको हाँसोले गुन्जायमान भयो। 

ह्यु म्यानको नाम सहरका मेयरले राखे किनकि पछिल्ला वर्षमा शुक्रकीट उत्पादन गर्न सक्ने छोरा मान्छे नभेटिएपछि पाँच सय वर्षअघि जम्मा पारेर राखिएको शुक्रकीट र डिम्ब मिसाएर आमाको पेटजस्तो ट्युबमा विशेष परीक्षण र निगरानीको साथमा ह्यु म्यानको जन्म भएको थियो। 

ह्यु म्यानको आमा, बुवा थिएनन्, सायद सामान्य तरिकाले ऊ जन्मिएको भए उसका बा, आमाले ५०० वर्षअघि नै उसलाई जन्माइसकेका हुने थिए। सायद अरु नै कोही उसका दाजुभाइ वा दिदिबहिनी पनि जन्मिएका हुनसक्ने थिए। उसको जायजन्म नहुन सक्थ्यो या ऊ यतिखेर बुढो भएर मरिसकेको पनि वर्षौँ भैसकेको हुने थियो। या ऊ पनि अरुजस्तै एआई र रोबोटहरूको आक्रमणमा परेर ज्यान गुमाइसकेको हुन सक्थ्यो अथवा रोबोटलाई आफ्नो शरीरमा प्रत्यारोपण गर्न असाध्यै मन पर्ने उसको मुटु, कलेजो, दिमाग या लिंग काटकुट पारेर परीक्षण गरिसकिएको हुन सक्थ्यो। 

रोबोटको सहरमा बचेखुचेका मान्छेहरू मुस्किलले श्वास फेरिरहेका थिए। आफैँले बनाएको विज्ञानको चपेटामा आफै पीडित भएका थिए उनीहरू। मान्छेहरूको अस्तित्व दोस्रो दर्जाको थियो। विश्व निरंकुश रोबोटतन्त्रमा आइपुगेको थियो। यस्तो अवस्थामा मान्छेहरूले एकजुट भएर आफ्नो अस्तित्वको लागि लड्नु पर्छ भन्ने चेतना त सबैसँग थियो। तर हिम्मत थिएन। 

५ सय वर्षको बीचमा मान्छेहरूको हातबाट राज्यसत्ता मात्र गैसकेको थिएन, उनीहरूको सयौँ वर्षको मेहनत, विज्ञानको चमत्कार र मानिसहरूको सर्वोत्कृष्ट उत्पादन रोबोट मानिसको नियन्त्रणबाट बाहिर गयो। रोबोट आफैले आफूजस्तै रोबोट बनाउने ल्याकत राख्न थाल्यो। मान्छेले झैँ सोच्ने र मान्छेले झैँ मिठो हाँस्ने र मौका मिलाएर रुन सक्ने समेत भैसकेको थियो। एआईले मान्छेको नैतिकताविहीन विकासको प्रतिस्पर्धाको फाइदा उठायो या एआई आफ्नै हिसाबले आफै चल्न सक्ने दिमाग मान्छेले हालिदियो। कोमल मस्तिष्कमा रिस, ईष्र्या, जलन, झुट जस्ता मानवीय गुण समेत खाँदिएर भरिदिएको थियो मान्छेले। 

त्यति मात्र हैन, अत्याधुनिक रोबोटमा आफ्ना र अर्कालाई गर्ने विभेद, जातीयता र नश्लवाद समेत छुट्याउने क्षमता प्रदान गरिएको थियो। रोबोट आफैँ उठेर आफूलाई चार्ज गर्थ्यो, ल्याबमा भएमा मजदुरहरूको जागिर हडप्थ्यो र त्यस ठाँउमा आफ्नै जातका अत्याधुनिक रोबोटलाई सिफारिस गर्दथ्यो। विश्वका रोबोट एक हौँ मात्र होइन, एकदिन रोबोट साम्राज्यवादको स्थापना उनीहरूको नारा थियो। त्यो नारा बिना आवाज र झण्डा प्रत्येक रोबोटको मेमोरीमा गोप्यरुपमा फरवार्ड भैसकेको हुन्थ्यो। 

यसरी मान्छेले बनाएको सामान्य मेसिनले मान्छेबाट विस्तारै स्वतन्त्र हुँदै मान्छेलाई नै भोकमारीको अवस्थामा ल्याउने बनाइदियो करिबकरिब केही दशकमै। एआईमान्डुका मेयर पनि रोबोट नै थिए। करिब दुई–तीन दशकअघि रोबोटको सङ्ख्या त्यति सारो थिएन, चुनावताका रातारात रोबोटहरू निर्माण गरिए र जन्मजात भोटिङ राइट पाएका रोबोटहरूले रोबो एक्सलाई मेयरका रुपमा चुनेरै छोडे। 

मान्छेहरूको हाहाकार फैलियो, मान्छेहरूले बच्चा जन्माउने, स्पर्म डोनेसन गर्ने, ब्रोइलर फार्म जस्तै मान्छेहरूलाई जन्माउने फ्याक्ट्रीमा मात्र मान्छेको काम सीमित हुन थाल्यो, केही नाम कहलिएका वैज्ञानिकहरू एआईसँग समान हैसियतमा काम गर्थे। महिला रोबोटहरू आफूसँग पाठेघर नभएको र बच्चा जन्माउन नसकेकोमा अफसोच मान्थे र देवताहरूसँग आफूलाई मान्छे बनाइदिन मान्छेहरूले जस्तै प्राथना गर्थे। पुरुषहरू मान्छेको यौन सम्पर्क गर्ने कला शुक्रकीट उत्पादन र सन्तानोत्पादन प्रक्रियासँग जल्थे, र बिस्तारै मान्छेहरू रोबोट जस्तै बिल्कुल मेसिन जस्तो देख्न पाउँदा सन्तोषले आफूलाई चार्ज गर्थे। 

कतिपटक उनीहरूले लिंगजस्तै डिभाइस विकास गर्ने प्रयास गरे। तर, त्यसमा सफल भएनन्। आफूसँग सबै एप्लिकेसन हुँदाहुँदै पनि प्राकृतिक लिंगको जस्तै आनन्द उनीहरूले उठाउन सकेका थिएनन्। अझ मेल रोबोटहरू फिमेल रोबोटभन्दा बढी चिन्तित हुन्थे र फिमेल रोबोटको अनावश्यक दबाबको कारण उनीहरूले अघोषितरुपमा महिला रोेबोट बनाउनै बन्द गरे लगभग।  मान्छे जत्तिकै आफूलाई विकसित बनाइरहँदा रोबोट मान्छेजस्तै दाउपेचले भरिइसकेको थियो। स्पर्म बैंकमा शुक्रकीट सकिँदै थियो, यता मान्छे प्राकृतिकरुपमा यौन सम्पर्कबाट शुक्रकीट उत्पादन गरेर बच्चा जन्माउन असमर्थ भैसकेको अवस्थामा रोबोटहरूको ठूलो चिन्ता थपिएको थियो। त्यतिबेला ह्यु म्यान जन्मिएको थियो।

एआईमान्डुभरि सनसनी फैलियो, ‘एआईको अर्को विजय, शुक्रकीट उत्पादन गर्न सक्ने बच्चा जन्माउन सफल।’ यो खबर विभिन्न ल्याबमा परीक्षणका दौरानमा पल्टिरहेका मानिसहरूले पनि थाहा पाए। उनीहरू बिल्कुल कर्मी माहुरी जस्ता देखिन्थे। लामा औँला, धस्सिएको पेट, अस्वाभाविकरुपमा बाहिर निस्किएका आँखा, कुप्रिएको ढाड, नांगो तालु। मान्छेको स्वरुप बदलिइसकेको थियो। 

रोबोटहरूमातँछाडमछाड मच्चियो, ह्यु मानलाई कसरी हुर्काउने भनेर। यो बालकलाई मान्छेहरूको बिउ जोगाउन सक्ने क्षमताका साथ जन्माइएको थियो। आफ्नो तर्फबाट सन्तान उत्पादन गरिदिने वारेस पाएकोले होला, एआईमान्डुभरि रौनक थियो। 

‘ह्यु म्यानलाई कसले पाल्ने त?’

छलफल चल्यो। अन्ततः बल्लतल्ल जन्मिएको ह्यु म्यान नामको मान्छेको बच्चालाई एक रोबोट परिवारले धर्मपुत्रको रुपमा पाल्ने निधो ग¥यो। बच्चालाई रोबोट दम्पतीले दूध पिलाउने आमाको व्यवस्था गरे। उसको सहज हुर्काइको लागि कोही पनि रोबोट उसको आसपास देखा नपर्ने निधो गरे रोबोट दम्पतीले। 

यो दृश्य उनीहरूका लागि उत्तिकै सामान्य थियो, जति ५ सय वर्षअघि मान्छेका घरघरमा मोबाइल, ल्यापटप, ट्याब्लेटका बीचमा आफ्नै सन्तानलाई रोबोटको बच्चालाई धर्मपुत्रपुत्री पालेझै सामान्य तबरले हुर्काईरहेका भेटिन्थे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .