ad ad

लुम्बिनी


दसैँमा घर फर्कनेको लर्को, बुटवल बसपार्कमा यस्तो देखियो (तस्बिरहरु)

सिद्धार्थ राजमार्गमा बढ्यो चाप, थप गाडीको व्यवस्था
दसैँमा घर फर्कनेको लर्को, बुटवल बसपार्कमा यस्तो देखियो (तस्बिरहरु)

तस्बिर : सुदीप भण्डारी/नेपालखबर


सुदीप भण्डारी
असोज १५, २०७९ शनिबार १८:१६, बुटवल

बुटवल बसपार्क अर्थात् लुम्बिनी बस टर्मिनलमा दसैं मान्न घर फर्कनेहरुको भिड छ। घटस्थापनादेखी नै बसपार्कमा चहलपहल बढेको हो। शिक्षण संस्था बन्द भएकाले धेरैजसो विद्यार्थीहरु यस अघि नै आफ्नो जन्मथलो पुगिसकेका छन्।

आइतबार फूलपातीदेखी कार्यालयहरुमा दसैंको बिदा हुन्छ। अघिल्लो दिन आज शनिबार परेकाले घर फर्कने यात्रुहरुको भीड बढेको हो।

बसपार्क भित्र र बाहिर सडकमा पनि यात्रुहरु ठूला झोला र सुटकेश लिएर गाडी पर्खीरहेका थिए। बुटवलमा जागिर गर्ने हिमाल थापा गुल्मीको मुसिकोट नगरपालिका  इन्द्रगौंडास्थित घर जान आफ्नो गाडीको समय पर्खेर बसेका थिए।

‘टिकट लिएर बसेको गाडी अलि ढिला जाने रहेछ पर्खनुपर्यो।’ उनले भने ‘अघिल्लो दसैंमा घर गएको थिए। एकवर्ष पछि अहिले जाँदैछु। दसैँ मनाउन पर्यो।’ 

यता बुटवलमा बसेर पढ्दै गरेकी गिता पौडेल दाजु भाउजुसँग अर्घाखाँचीको ढिकुरा जान सामान लिएर बसेकी थिइन्। ‘अस्तीनै टिकट काटेर आज घर जानको लागि आएको। कलेज छुट्टी भयो, अब तिहारसम्म गाउँमै भइन्छ।’ उनले भनिन्।

अध्ययन, जागिर र व्यवसायको लागि गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, बाग्लुङ, नवलपरासी, कपिलबस्तु प्युठान लगायतका जिल्लाका मानिसहरु बुटवलमा रहेका छन्। बसपार्कमा विशेष गरि गुल्मी र अर्घाखाँचीको टिकट काउन्टरमा यात्रुको भिड थियो।

सबै भन्दा बढि गुल्मी जाने यात्रुहरु हुने गर्दछन्। बुटवलबाट गुल्मीको विभिन्न ठाउँका लागि नियमित रुपमा दैनिक ४५ वटा बस छुट्ने गर्दछ। तर दसैंको बेलामा थप गाडीको व्यवस्था गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालीका गुल्मी रुट संयोजक विजय तिवारीले बताए। ‘हिजो र आज घर जाने यात्रुहरुको भिड छ,’ उनले भने, ‘नियमित क्यु भन्दा बाहेक हिजो १०–१२ वटा गाडी बढि गएको थियो। आज साँझ सम्म २० वटा जति गाडी थप्नुपर्ने हुन सक्छ।’

अघिल्ला २ वर्ष कोरोना संक्रमणको कारण यात्र गर्ने यात्रुहरु कम नै थिए। त्यसैले ति वर्ष भन्दा यो वर्ष दसैं मान्न जानेहरुको चहलपहल बढेको छ। तर कोभिड भन्दा अघिको समय भन्दा चहलपहल कम भएको तिवारीले बताए। 

पहाडी जिल्लामा जाने सिद्धार्थ राजमार्गमा पनि सार्वजनिक सँगै निजी गाडीहरुको चाप पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाका ट्राफिक प्रहरी प्रमुख सइ दामोदर मल्लले केही दिनयता राजमार्गमा सवारी चाप बढेको बताए। ‘बिहीबारदेखि सिद्धार्थ राजमार्गमा गाडीहरुको चाप अलि बढेको छ। हिजो नियमीत भन्दा करिब २५ प्रतिसत बढी गाडी गुडका थिए। आज त्यो भन्दा बढि चाप हुनसक्छ’ उनले भने।

गाडीको चापलाई मध्यनजर गरि ठाउँ ठाउँमा चेक जाँच पनि बढाइएको मल्लले बताए। 

यस्तै संघीय राजधानीबाट बुटवल हुँदै विभिन्न जिल्लामा जाने यात्रुको चाप पनि उस्तै छ। सिट भरेर काठमाडौबाट आएका गाडीहरु राजधानी फर्किदा भने रित्तै हुने गर्दछ। निर्माणाधिन बुटवल नारायणगढको अवस्थाका कारण एकतर्फी रुपमा गाडी चलाउन समस्या हुने यातायात व्यवसायीहरुको गुनासो छ।

त्यसरी एकतर्फी रुपमा गाडी चलाउन व्यवसायीले गाह्रो मानेको र उनीहरुलाई मनाउन आफूहरुको संस्थाबाट प्रोत्सहन स्वरुप केही रकम दिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बताए।

‘काठमाडौंबाट गुल्मी अर्घाखाँची जाने गाडीहरुलाई १० हजार र भैरहवासम्म आउने गाडीलाई ५ हजार रुपैया दिएका छौं,’ उनले भने, ‘बुटवल नारायणगढ सडकको दुरावस्था र अहिलेको महंगीले एकतर्फी रुपमा यात्रु बोक्दा खर्च पनि नभेट्ने अवस्था हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .