ad ad

लुम्बिनी


नेपाली फूलले धानेन माग, बजारमा भारतीय माला छ्याप–छ्याप्ती

नेपाली फूलले धानेन माग, बजारमा भारतीय माला छ्याप–छ्याप्ती

सुदीप भण्डारी
कात्तिक ८, २०७९ मंगलबार १५:१६, बुटवल

तिहार सुरु हुन केही दिन अघिदेखि रुपन्देहीका फूल उत्पादक तथा व्यवसायीहरु निकै व्यस्त छन्। बारीदेखि शहरबजारका सटर तथा सडकपेटीसम्म यतिबेला फूलका माला बिक्रीका लागि राखिएको छ। 

रुपन्देहीमा तिलोत्तमा, देवदह, सैनामैना लगायतका नगरका कतिपय किसानहरुले फूल खेती गर्दै आएका छन्। तर बजारमा भने भारतबाट आएका फूलका माला नै बढी देखिन्छन्। पसलहरुमा नेपाली फूलका माला निकै कम मात्र छन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका योगिकुटीमा दिपेन्द्र नेपालीले माला लगायत तिहार लक्षित समानहरु बिक्रीका लागि राखेका छन्। नेपालीले पसलमा राखेको सयपत्री फूलको माला भारतकै उत्पादन हो। 

‘यहाँ नेपालका माला छैनन्। सबै भारतबाटै आएका हुन्’ उनले भने, ‘नेपालमा अहिले फूलको राम्रो सिजन पनि छैन। जतिपनि बेचेका छौँ सबै उतैका हुन्।’ 

नेपालीले आफूले किनेको दरमा १० देखि २० रुपैयाँ नाफा राखेर ग्राहकलाई माला बेच्ने बताए। 

फूलका मालासँगै भारतबाट आएका प्लाष्टिकका कृतिम माला पनि बेच्न राखिएको छ। तर धेरै ग्राहकको रोजाइ। 

नेपाली उत्पादनका फूलको लागि ग्राहकहरु किसानको बारीसम्मै पुग्ने गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिंगरनगरमा क्षितिज नमुना कृषक समूहले ४ वर्षदेखि व्यवसायिक रुपमा फूलखेती गर्दै आएको छ। तर फूल बजारमा जान नपाउँदै बारिबाटै सकिने समूहकी अध्यक्ष नविना भण्डारीले बताइन्। 

‘बजारमा पुर्याउनै सकिन्न। हाम्रोमा यहीँ लिन आउँछन्’ उनले भनिन्, ‘२ दिन त माला उनेर नै बेच्यौँ। पछि फूल नै बेच्न थालेका छौँ। त्यसो भएपछि उहाँहरुले आफ्नो साइज अनुसार माला बनाउन सक्नुहुन्छ।’ 

बारीबाट प्रतिकेजी ७ सय रुपैयाँमा फूल बेचेको भण्डारीले बताइन्। 

समूहमा ११ जना छन्। डेढ विघाह जग्गा लिजमा लिएर १० कठ्ठा जतिमा फूल लगाइएको छ। 

कात्तिकदेखि माघसम्म फूल उत्पादनको मौसम मानिन्छ। फूल खेती गर्दा ग्राहकका कारण किसानलाई घाटा छैन। तर मौसमले समस्या परिदिन्छ। गत वर्ष र यो वर्ष ढिलासम्म वर्षा भएकाले जति उत्पादन हुनुपर्ने हो, त्यति फूल नफूलेको भण्डारीले सुनाइन्। 

‘बजारमा माग भएजति फूल पुर्याउनै मुस्किल छ। तर वर्षाले गर्दा डुवान भएपछि धेरै फूल्नै पाउँदैन’ उनले भनिन् ‘गत वर्ष पनि पानीले डुवान गरेको थियो। अहिले पनि डुवानले आशा गरेजस्तो भएन।’ 

वर्षा लामो समय हुँदा व्यवसायिक कृषककोमा मात्र नभई घर घरमा लगाइने फूलको उत्पादन पनि कम छ। जसका कारण बजारमा यो वर्ष फूलको माग निकै बढेको हो। फूलको माग बढ्नुका साथै तिहार छिटो हुँदा पनि कृषकले पर्याप्त फूल बिक्री गर्न नपाएको लुम्बिनी फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल लुफ्यानका अध्यक्ष रमेश पाण्डेले बताए। 

‘तिहारका बेला अझै पर्याप्त फूल फूलिसकेको छैन। यो दुई तीन दिनको लागि फूलको कारोबार बढी हुन्छ तर उत्पादन कम छ’ उनले भने, ‘अब ३० गतेसम्म विहेको लगन पनि छैन। यसबीचमा फूलेका फूल १० प्रतिशत मात्र प्रयोगमा आउने हुन् ९० प्रतिसत फूल खेर जान्छ।’ 

सरकारले किसानको लागि कोल्ड स्टोरको व्यवस्था गर्ने हो भने खेर जाने फूल लगन अनि चुनावी माहोलको समयमा प्रयोगमा आउन सक्ने पाण्डेले बताए। 

लुम्बिनी प्रदेशमा पछिल्लो समय पुष्प व्यवसाय फस्टाउँदो छ। यहाँ अरबौंको फूल उत्पादन गर्न सक्ने सम्भावना भएपनि सरकारले किसानलाई अनुकुल हुने गरि नीति नबनाएको पाण्डेले बताए। 

नेपालमा माग बढी र उत्पादन कम भएकाले उपभोक्ताले भारतबाट फूल किन्नुपर्ने बाध्यता छ। 

सिप जानेकाले फूल खेती गर्दा यसमा घाटा नहुने उनले बताए। तर यसमा सरकारको साथ आवश्यक भएको पाण्डेको भनाइ छ। 

‘किसानले तालिम लिइ अध्ययन गरेर मेहनतका साथ काम गर्नुपर्छ र अर्कोतर्फ किसानले गरिरहेको ठाउँमा सरकारले साथ दिनुपर्यो’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .