प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहलमा मंगलबार प्रेमजोडीहरूको चहलपहल थियो। रानीमहल पुगेका जोडीहरुलाई स्वागत र सम्मान कार्यक्रम समेत राखिएको थियो।
तानसेन नगरपालिकाको आयोजना र नाटा लुम्बिनी तथा नाटा पाल्पा च्याप्टरको व्यवस्थापनमा कार्यक्रम गरिएको थियो।
ऐतिहासिक पर्यटकीय स्थल रानीमहलको प्रचार प्रसार गरी पर्यटक तथा प्रेम जोडीलाई आकर्षण गर्न कार्यक्रम आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए।
‘प्रेम प्रतिक’ का रुपमा समेत लिने गरिएको रानीमहलमा पछिल्लो समय प्रणय दिवसका अवसरमा प्रेमजोडीहरू जाने गरेका छन्।
रानीमहलको पर्यटकीय प्रवर्द्धनको लागि सुरुवात भएपनि यसलाई निरन्तरता दिएर थप विकास र विस्तारका लागि तानसेन नगरपालिकाले गुरु योजना नै बनाएर अघि बढ्ने पनि नगर प्रमुख श्रेष्ठले बताए।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले प्रेम बाँड्दा आपसी सम्बन्ध सुमधुर बन्ने बताए। उनले मानिसले प्रेम बाँड्न नसक्दा समाज तनावयुक्त बनेको भन्दै तनावबाट मुक्त हुन सबैले प्रेम साट्नुपर्नेमा जोड दिए।
रानीमहल पुगेका प्रेम जोडीले महादेव मन्दिरमा प्रेम सफलताको कामना, सिक्का दान तथा एक आपसमा गुलावका फुल साटासाट गरेका थिए। उनीहरुले धार्मिक रुपमा पृथक मानिएको कालीगण्डकी उत्तर बाहिनीको अवलोकन गरेको नाटा च्याप्टर पाल्पाका अध्यक्ष राजीव शाहले बताए।
१९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए।
पाल्पाको बौघागुम्हा र खानीगाउँ गाविसको सीमानामा कालीगण्डकीको किनारमा बनाइएको रानीमहल जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ।
प्रतिक्रिया