ad ad

लुम्बिनी


बुटवलको ६३ वर्षे यात्रा  : तिनाउ किनारको सानो बजारदेखि विशाल सहरसम्म

मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व
बुटवलको ६३ वर्षे यात्रा  : तिनाउ किनारको सानो बजारदेखि विशाल सहरसम्म

हालको बुटवल सहर


सुदीप भण्डारी
फागुन ३, २०७९ बुधबार १०:११, बुटवल

तिनाउ किनारको एउटा सानो बजार। जहाँ ५० वर्ष अघिसम्म पहाडी जिल्लाहरूबाट मानिसहरू लामो पैदलयात्रा गरेर किनमेल गर्न आउँथे। गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बाग्लुङलगायत जिल्लावासीको किनमेल गर्ने थलो थियो– बटौली बजार। पहाडबाट घिउ लिएर आई यहाँका व्यापारीलाई बेचेर नुन, तेल, कपडालगायत सामान किनेर लान्थे। पहाडबाट आएको घिउ बटौली हुँदै भारतका बनारस, कलकत्तालगायत सहरमा पुग्थ्यो। सय वर्षभन्दा पहिलेदेखि नै बटौली किनमेलको ठाउँ रहेको पाका पुस्ता बताउँछ। 

तत्कालीन बटौली बजार

विगतमा बटौली भनिने ठाउँ अहिले बुटवल उपमहानगरपालिकाका १ र २ नम्बर वडामा पर्छ। अहिले माथिल्लो पुलको गणेशथानदेखि जितगढी किल्लासम्म बटौली बजार थियो। 

कात्तिकदेखि हिउँदभर बटौली बजारमा किनमेल गर्नेहरूको निकै भिड हुन्थ्यो। हाल बटौली क्षेत्रमै रहेका पुरानो पुस्ताका देवेन्द्र शाक्यको परिवार पनि निकै अघिदेखि बटौलीमा व्यापार गर्थ्यो। ‘हाम्रो बुवा यहाँ व्यापार गर्नुहुन्थ्यो। व्यापार हुने महिनामा बटौली बस्थ्यौँ। अरू बेला पाल्पा। अहिलेको आर्थिक वर्ष भनेजस्तो त्यसबेला कात्तिक १ गते नयाँ खाता खोल्ने भन्ने थियो। वैशाखसम्म बटौलीमा चहलपहल हुन्थ्यो। वैशाखबाट कात्तिकसम्म भने सुनसान हुन्थ्यो’, शाक्यले सुनाए। 

खस्यौली भनिने हाल बुटवलको मुख्य बजार रहेको ठाउँमा त्यसबेला बस्ती थिएन। बीपीचोक, अमरपथ क्षेत्रमा केही टहरा होटल थिए। जहाँ भारतबाट फर्केका लाहुरे बास बस्थे। 

बटौली बजार धेरै पुरानो भए पनि ६३ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो। बटौली बजारलाई २०१६ फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालियो। 

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो। २०७१ मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो। अहिले यो पश्चिम नेपालकै प्रमुख सहर हो। ५ वर्षसम्म लुम्बिनी प्रदेशको राजधानीका रूपमा समेत रहयो।  अहिले भने प्रदेशको राजधानी दाङको देउखुरी कायम भएको छ। 

हालसम्मको नेतृत्व  
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे। शाक्यपछि ओमशङ्कर श्रेष्ठ, परीक्षितप्रसाद लाकौल, सरस्वतीप्रसाद शेरचन, हरिबहादुर सिंह, सूर्यलाल र बृजमान श्रेष्ठ प्रधानपञ्च भए। प्रजातन्त्र पुनःथापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोजप्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख भए। 

सूर्यबहादुर थापा सरकारबाट मनोनयन भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे। माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयका लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापनापछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो।

२०७४ सालमा भएको स्थानीय चुनावबाट शिवराज सुवेदी मेयर र गोमादेवी आचार्य उपमेयर भएका थिए। २०७९ वैशाखमा भएको चुनावपछि खेलराज पाण्डे मेयर र सावित्रा आर्याल उपमेयर छन्। 

तिनाउ किनारको बजार फैलिएर बन्यो देशको मुख्य सहर
हालको बुटवल अर्थात् बटौली बजार कुनै बेला तिनाउको किनारमा मात्र सीमित थियो। २०२० को दशकतिर तिनाउवारि खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गए। २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजार लाइनमा सर्‍यो। 

खस्यौलीमा पूर्वाधारहरू थापिँदै गएपछि बजारले बुटवल सहरको रूप लियो। बुटवलबाट दक्षिण र पश्चिम बजार विस्तार हुँदै गयो। २०७१ सालमा बुटवल नगरपालिकाबाट उपमहानगरपालिकामा स्तारोन्नति भएको हो। उपमहानगर बन्दा  पश्चिमका दुई गाविस मोतीपुर र सेमलार बुटवलमा गाभिए।

पूर्वमा देवदह नगरपालिका उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका पश्चिममा सैनामैना नगरपालिका र दक्षिणमा तिलोत्तमा नगरपालिकासँग बुटवल उपमहानगरपालिकाको सिमाना जोडिएको छ। फरक पालिका भए पनि बुटवलसहित जोडिएको तिलोत्तमा एउटै सहरजस्तो भएको छ। 

बुटवल मुख्य बजारबाट पश्चिम राजमार्ग क्षेत्रको ९ किलोमिटरसम्म उपमहानगरको क्षेत्र पर्छ। तर त्यसभन्दा पश्चिम सैनामैना नगरपालिकातर्फ पनि बुटवलको प्रभाव र बजार विस्तार भएको छ। बुटवलबाट २२ किलोमिटर पश्चिम सालझण्डीसम्म बजार क्षेत्र फैलिएको छ।  

कुनै बेला बुटवलबाट भैरहवासम्म मोटरमै जान पनि दिनभरजसो लाग्थ्यो। ‘खाल्डाखुल्डीसहितको साँघुरो बाटो, दायाँबायाँ झाडी, गाडी हिँड्दा पनि झाडीलाई छोइएर जान्थ्यो। भैरहवासम्म पुग्दा आठ/नौ घण्टा नै लाग्ने,’ देवेन्द्र शाक्यले सम्झे। 

तर अहिले बुटवलबाट भैरहवासम्म ६ लेनको सडक बनेको छ। जसका कारण २२ किलोमिटर यात्रा गर्न आधा घण्टा पनि लाग्दैन।

केही परको बुद्धजन्मस्थल लुम्बिनी, नजिकैको सहर भैरहवामा बनेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुटवलमै बनेका अन्तराष्ट्रिय सम्मेलन केन्द्रले यहाँको अझै आर्थिक विकास हुने आशा गरिएको छ। 

बुटवलमा अहिले दर्जनौँको संख्यामा स्तरीय होटल बनेका छन्। दुई/तीन वर्षयता बुटवलमा होटलहरू खुल्ने क्रमले तीव्रता पाएको छ। 

बुटवलको पुरानो बजार बटौलीमाथि केही उचाइमा मणिमुकुन्द सेन उद्यान अर्थात् फूलबारी पार्क छ। तिनाउ पुलकै सामुन्ने नेपालले अंग्रेजलाई हराएको स्थान जितगढी छ। यी दुई ठाउँबाहेक सिंगो बटौली क्षेत्रलाई खुला संग्रालयका रूपमा विकास गर्न सकिने जानकारहरू बताउँछन्। तर त्यसतर्फ पर्याप्त पहल भएको छैन। बटौली क्षेत्रमा अहिले पनि कतिपय सय वर्षभन्दा पुराना घर छन्। तिनीहरूको संरक्षण नहुँदा बटौली बजारले ऐतिहासिकता गुमाउँदै गएको छ। 

चुनौती   
सुकुमवासी समस्या, सवारीसाधनको चाप, तीव्र बसाइँसराइ बुटवलका मुख्य चुनौती हुन्। बुटवलको ११ नम्बर वडामा बाक्लो सुकुमवासी बस्ती छ। त्यसबाहेक अन्य वडामा पनि सुकुमवासी बस्ती फैलिएको छ। प्रत्येक चुनावमा सुकुमवासी समस्या समाधान चुनावी नारा बन्छन्, तर समस्या उस्तै छ। 

पछिल्लो समय बुटवलमा सडकमा ट्राफिक जामको समस्या पनि बढिरहेको छ। दिन प्रतिदिन निजी सवारीसाधन थपिएका छन्। तर पार्किङ गर्ने ठाउँको अभाव छ। २० वर्षअघि बनेको बुटवल बसपार्क पनि साँघुरो भएको छ। 

अध्ययन, जागिर र व्यवसायका लागि मानिसहरू बुटवलमा छन्। जागिर तथा व्यवसाय गरेर कतिपयले यहीँ घर बनाएर बसेका छन्। बुटवलमा घर थपिने क्रम बढ्दो छ। अहिले बुटवलमा खुला ठाउँ देख्न मुस्किल छ। यस्तै खानेपानी, फोहर व्यवस्थापनजस्ता समस्यालाई यहाँको नेतृत्वले ध्यान दिनुपर्ने चुनौती छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .