लुम्बिनी


सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माण प्रभावित भयो : उपाध्यक्ष घिमिरे

सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माण प्रभावित भयो : उपाध्यक्ष घिमिरे

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १०:४७, सुनवल, नवलपरासी पश्चिम

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भएको बताएकी छन्।

सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा विधेयक अघि बढाउनै नसकिएको बताए।

‘व्यवस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानुन बनाउनका लागि विधेयक अघि बढाउन सरकारलाई आग्रह गर्छौं,’ उनले भने, ‘छिटोछिटो सरकारसँगै मन्त्री परिर्वतन हुँदा विधेयक नै अघि बढ्न सकिरहेका छैनन्, जसले गर्दा अत्यावश्यक कानुन निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ।’

संविधानअनुसार बाझिएका कानुनहरू सुधारका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय सभाले पटकपटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरे संसदको आगामी हिउँदे अधिवेशनबाट धेरै विधेयक पास हुने विश्वास पनि व्यक्त गरिन्।

समितिमा अड्किएका विधेयकहरूलाई छिटो टुंगोमा पुर्‍याउनका लागि केही दिन पहिले राष्ट्रिय सभाका अध्यक्ष र आफूले सम्बन्धित समितिका सभापतिहरूसँग छलफल गरेको र प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभामा आएका विधेयकहरू छिटो टुंगोमा पुग्दै आएको जानकारी उनले दिइन्।

उनले मुलुकमा केही समयदेखि बढिरहेको अराजकताप्रति चिन्ता व्यक्त गर्दै अराजकता सृजना गर्ने जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन्।

तीनै तहका सरकारले आफूलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्ने उनको भनाइ थियो। जनतामा बढी अपेक्षा हुने र सरकारले त्यसअनुरूप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकतावादीले भड्काउने प्रयास गर्न सक्नेतर्फ सचेत हुन उनले आग्रह गरिन्।

सहकारीमा बचतकर्ताको रकम डुब्ने र ऋणीले फिर्ता नगरे पनि हुन्छ भन्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा पनि उनले राखिन्।

बचतकर्ताले बचत डुब्ने डरमा नियमित बचत छाड्ने र ऋण असुली नहुने समस्याको हल खोज्न सरकारले पहल गर्ने अपेक्षा उनको थियो। 

उपाध्यक्ष घिमिरेले सुनवल नगरपालिकाको सहयोगमा बाल नगर सञ्जालले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर नवलपरासी बर्दघाट सुस्तापूर्वमा पर्ने विनय त्रिवेणी गाउँपालिकास्थित प्रसिद्ध त्रिवेणी धाम र सुस्ता जोड्ने झोलुंगे पुलको अवलोकन गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad