सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट मंगलबार भैरहवा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो दिन पनि बयान लिइँदै छ।
बिहान कार्यालय खुल्नासाथ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर सरकारी वकिलकै रोहवरमा बयान लिन सुरू गरेको थियो। साँझ अँध्यारो भइसक्दा पनि उनको बयान चलिरहेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले दिनभर बयानको क्रम चलेको नेपालखबरलाई जानकारी दिए।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही (भैरहवा) पुर्याइएको थियो। हिजो सुरु गरिएको लामिछानेको बयानलाई आज पनि निरन्तरता दिइएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताए।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्याइएको थियो। त्यही दिनदेखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि पक्राउ पुर्जी जारी भएपछि त्यता लगिएको हो।
सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई यसअघि नै बुटवल लगेर बयान लिई पुन: पोखरा फर्काइसकिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा यसअघि नै २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा चलिरहेको छ। उनीहरूले १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको अभियोग छ।
त्यसमा रवि र छविलाई प्रतिवादी बनाइएको थिएन। अभियोगपत्रमा रविलाई प्रतिवादी नबनाइए पनि उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको किटान गरिएको छ।
अब रवि र छविविरूद्ध पूरक अभियोगपत्र दर्ता गर्ने तयारी छ।
Shares

प्रतिक्रिया