नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान अवस्थालाई चुनौतीपूर्ण बताउँदै व्यापक पुनर्संरचना र डिजिटल रूपान्तरणको आवश्यकता औँल्याएका छन्। बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले पार्टीको खस्किँदो चुनावी नतिजाले नेतृत्व र संगठन दुवैलाई गम्भीर आत्मसमीक्षाको आवश्यकता रहेको बताए।
उनले विगतमा बलियो संसदीय उपस्थिति रहेको एमाले अहिले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यक रहेको धारणा राखे।
पाण्डेका अनुसार कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्यको संख्या भन्दा कम मत प्राप्त भएको अवस्था देखिएकाले सदस्यता वितरणदेखि वडादेखि केन्द्रसम्मका कमिटी निर्माण प्रक्रियासम्म पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ। यसले संगठनभित्रको कमजोरी उजागर गरेको उनको भनाइ थियो।
उनले अबको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिको भएको उल्लेख गर्दै एमालेलाई परम्परागत ‘फिजिकल’ संरचनाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए। पुरानो शैलीका संगठनात्मक गतिविधिले मात्र अबको राजनीतिक प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने भन्दै प्रविधिमैत्री पार्टी निर्माणमा जोड दिए।
पाण्डेले समाज निरन्तर परिवर्तनशील रहेको र त्यसअनुसार पार्टीका विचार, नेतृत्व विकासको शैली तथा संगठनात्मक संस्कृतिमा पनि समयानुकूल सुधार आवश्यक पर्ने बताए। मदन भण्डारीको समयदेखि अहिलेसम्म विश्व र समाजमा ठूलो परिवर्तन आइसकेकाले पार्टीले पनि आफूलाई बदल्नुपर्ने उनको तर्क थियो।
वर्तमान अवस्थाबाट यथास्थितिमै पार्टी आन्दोलन अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले संगठनात्मक सुधारका लागि अध्ययन तथा सुझाव संकलन गर्न कार्यदलले काम गरिरहेको जानकारी दिए। पार्टीलाई नयाँ ऊर्जा र विश्वासका साथ अगाडि बढाउन पुनर्संरचना अपरिहार्य रहेको उनको निष्कर्ष थियो।
Shares

प्रतिक्रिया