लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले सोमबार पद तथा गोपनीयताको शपथ खाएका छन्। बुटवलमा आयोजित कार्यक्रममा उनले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ खाएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा ल्याउन मुख्यमन्त्री लीला गिरीले एमालेबाट कृषिमन्त्री बनेका तुलसीराम शर्मालाई बिनाविभागीय बनाउँदै जसपाका नेता भण्डारीलाललाई कृषि मन्त्रालय दिएका हुन्।
भण्डारीलाल यस्तो बेलामा मन्त्री बनेका छन्, जतिबेला केन्द्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच निकटता बढेको छ। जसका कारण राष्ट्रपतिमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने र अहिलेको गठबन्धन परिवर्तन हुने चर्चा भइरहेको छ। गठबन्धन परिवर्तन भएमा त्यसको असर प्रदेशमा पनि पर्न सक्छ।
सोमबार शपथ खाएपछि कृषिमन्त्री भण्डारीलाललाई पत्रकारहरूले तपाईं कति समयका लागि मन्त्री हो भनेर प्रश्न गरेका थिए। जवाफमा भण्डारीललाले आफू ५ वर्षकै लागि मन्त्री भएको दाबी गरे। ‘म ५ वर्षका लागि मन्त्री भएको हुँ। गठबन्धन तलमाथि पर्ने भन्ने त भविष्यको कुरा हो’, उनले भने, ‘कुरा त धेरै होला। तर यो सरकार टिक्छ।’
मन्त्री भण्डारीलालले किसानले भोग्नुपरेका मलखाद, बीउबिजन, सिँचाइका समस्या हल गर्न प्रयास गर्ने बताए। प्रदेशले सक्नेजति आफूले गर्ने, नसक्ने संघसँग सहकार्यको पहल गर्ने उनले उल्लेख गरे।
प्रतिक्रिया