ad ad

मधेस


मुख्यमन्त्री राउतको राजीनामाबारे उपेन्द्र यादवका दुईथरी कुरा

बेलुका राजीनामा मागे, विहान होइन भने
मुख्यमन्त्री राउतको राजीनामाबारे उपेन्द्र यादवका दुईथरी कुरा

शैलेन्द्र महतो
भदौ ७, २०७९ मंगलबार १९:१६, जनकपुरधाम

सोमबार अपराह्नदेखि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामाको चर्चा जोडतोडले सुरु भयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका समाचार प्रकाशित भए।

धमाधम समाचार प्रकाशित हुन थालेपछि सामाजिक सञ्जालका भित्ताहरु पनि सो खबरले भरिए। यद्यपि यो विषयमा जसपाबाटै प्रदेशमा रहेका बहालवाला मन्त्री तथा पार्टीका जिम्मेवार नेताले नै अनभिज्ञता प्रकट गरे। 

यो विषयमा मुख्यमन्त्री राउत ‘एन्टी’ पक्षले हल्ला चलाएको हुन सक्ने आकलन धेरैको थियो। दिन ढल्दै जाँदा राति १० बजेसम्म कतिपय संचारमाध्यमले जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया सहितको आधिकारिक पुष्टिसहितको समाचार पनि प्रकाशन प्रशारण गरे।

सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले ‘मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएको हुँ’ भनेर स्वीकार गरे। 

उपेन्द्र यादवको अधिकारिक स्वीकारोक्तिले मुख्यमन्त्रीलाई राजीनामा दिन दिएको निर्देशन सही नै हो, गलत होइन भन्ने अन्योल हट्यो। 

तर, मंगलबार एकाबिहानै सरकारी एजेन्सी राष्ट्रिय समाचार समितिको समाचारमा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन नदिएको दाबी गरे। रासससँगको कुराकानीमा उपेन्द्रले भनेका छन्, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन,’ उनले अझ अगाडि भनेका छन्, ‘मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन। हटाउने कुनै योजना पनि छैन।’

उता, मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको जसपाका प्रवक्तासमेत रहेका प्रदेश सांसद मनिष सुमनले स्वीकार गरेका छन्।

‘अध्यक्षजीले मुख्यमन्त्री राउतलाई सल्लाह दिनुभयो राजीनामा दि–दिनुस्। यो कुरा सोमबार मुख्यमन्त्री राउतलाई बेलाएर अध्यक्षजीले भन्नुभयो’ नेता सुमनले नेपालखबरसँग भने। 

मुख्यमन्त्री राउतले भने आफूले राजीनामा दिने भन्ने हल्ला ‘वाहियात’ रहेको प्रतिक्रिया दिएका छन्। 

तर प्रवक्ता सुमनले भने, ‘अध्यक्षजीले राजीनामा दिन निर्देशन दिनु भएको छ। पार्टीको सच्चा नेता कार्यकर्ताको हिसाबले पार्टी र अध्यक्षको निर्देशन मान्नु हुन्छ भन्ने मलाई विश्वास छ।’

बेथिति, अलोकप्रियता लगायतको कारण मुख्यमन्त्री राउतलाई राजीनामा दिन पार्टीको दबाव छ। 

मधेश सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ र मुख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार छताछुल्ल हुँदा मुख्यमन्त्री राउत बदनाम भएका छन्।

चौतर्फी रुपमा जसपा नेतृत्वको प्रदेश सरकारको आलोचना हुँदा यसले अगामी चुनावमा पार्टीले क्षति व्यहोर्नुपर्ने आकलनसहित अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन दबाव दिएका हुन् ।  

यस विषयमा मंगलबारसमेत अध्यक्ष यादवले मुख्यमन्त्री राउतसँग दुई तीन चरणमा छलफल गरेको एक मन्त्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .