मधेस


तराईमा आज यस वर्षकै धेरै चिसो

तराईमा आज यस वर्षकै धेरै चिसो

नेपालखबर
पुस १३, २०७९ बुधबार १६:११, सर्लाही

मध्य तराईका जिल्लामा आज (बुधबार) बिहानैदेखि घाम लागेको छैन। 

दिउँसोसम्म पनि घाम नलाग्दा सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, बारा, पर्सासहितका जिल्लामा आज यस वर्षकै सबैभन्दा धेरै चिसो महसुस भएको छ। 

मधेशका अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ। दिउँसोपख हुस्सु केही कम भएपनि मधेशका अधिकांश क्षेत्रमा घाम लाग्न सकेको छैन।

बाराको सिमरामा आज मधेश प्रदेशकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान पौने नौ बजे सिमरामा ६ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको हो। यो मंगलबारको तुलनामा एक डिग्री कम तापक्रम हो। 

त्यसैगरी मधेश प्रदेशको राजधानी जनकपुरमा आजको न्युनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको छ। हिजो जनकपुरको न्युनतम तापक्रम ९ दशमलव २ डिग्री मापन गरिएको थियो। 

त्यसैगरी प्रदेश १ को विराटनगरमा आज बिहान पौने नौ बजे ७ दशमलव १ डिग्री तापक्रम मापन भएको छ। 

हुस्सु र कुहिरोको कारण तराई मधेशमा भिजिविलिटी पनि घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दृश्यमा एक किलोमिटर भन्दा कम पारदर्शिता हुनुलाई कुहिरो र एक देखि पाँच किलोमिटर सम्म पारदर्शिता हुनुलाई हुस्सु भनिन्छ।

चिसो बढ्दा मधेशको जनजीवन कष्टकर बनेको छ। कठ्यांग्रिने जाडोको कारण शहर बजार क्षेत्रमासमेत आज मानिसको चहलपहल पातलो देखिएको छ। 

कठ्यांग्रिदो चिसोले अति विपन्न परिवार, दलित, मजदुर, किसान, स्कुले बालबालिका बढी प्रभावित बनेका छन्।

विशेषगरी शरीरमा लगाउने बाक्ला र न्यानो कपडा नभएका तराई मधेशका डोम, चमार, मुसहरजस्ता अति पिछडिएका र गरिब वर्ग चिसोको मारमा परेका छन्। 

चिसो छल्न चोक चौराहामा आगो बालेर ताप्नेक्रम पनि बढेको छ। काम नहुनेहरु आगो बालेर चिसोबाट जोगिए पनि दैनिक श्रम नगरी जीविका चलाउन नसक्ने मजदुरहरु चिसोको बढी मारमा पर्दै आएका छन्। 

तराई मधेशमा यतिबेला उखु काट्ने सिजन छ। कठ्यांग्रिने चिसोको कारण उखु खेतीमा रहेका मजदुर र किसान बढी मारमा परेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad