मधेस


भासिएको १८ महिना बितिसक्दा पनि पुनर्निर्माण हुन सकेन ‘कमला पुल’

भासिएको १८ महिना बितिसक्दा पनि पुनर्निर्माण हुन सकेन ‘कमला पुल’

जयन्त ठाकुर
पुस २४, २०७९ आइतबार १७:१३, जनकपुरधाम

धनुषा र सिरहा जिल्लाको सिमाना कमला नदीले छुट्याउँछ। हुलाकी राजमार्ग हुँदै दुवै जिल्ला जोड्ने कमला नदीमाथिको पुल निर्माण सम्पन्न नहुँदै भासिएपछि स्थानीय जोखिम लिएर आवतजावत गर्न बाध्य छन्।

निर्माण सम्पन्न नहुँदै भासिएको पुल डेढ वर्षसम्म पनि मरम्मत हुन सकेको छैन। डेढ वर्ष अगाडि अविरल वर्षाका कारण कमला नदीको स्पाम भासिएपछि पुल भत्किएको थियो।

पुल भत्किएको १८ महिनापछि पनि हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने सो पुलको मरम्मत सम्भार गर्नेतर्फ कुनै निकायको ध्यान जान सकेको छैन।

गत वर्ष पुलको निर्माण कार्य सम्पन्न हुन केही काम मात्रै बाँकी रहेको र उद्घाटन हुन एक साता मात्रै बाँकी रहेको समयमा सो पुल भासिएको थियो। हुलाकी राजमार्ग आयोजनाले समेत भत्किएको सो पुलको मरम्मतका लागि कुनै पहल गरेको छैन।

त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण २४ करोड ४२ लाख रुपैयाँको लागत निर्माण गरिएको सो पुलको उद्घाटनको अघिल्लो सातामै यस्तो हविगत भएपछि उच्चस्तरीय प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको थियो। तर, अहिलेसम्म के कति कारणले पुल भासिएको भन्‍ने प्रतिवेदन सार्वजनिक गरिएको छैन।

हुलाकी राजमार्ग आयोजना जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले आफूहरु सो पूलको मरम्मत सम्भारका लागि गम्भीर रहेको दाबी गरे।

उनले भने, ‘हामीले चासो नलिएको कुरा होइन। काम गर्ने प्रक्रिया अघि बढिसकेको छ, सकेसम्म छिट्टै मरम्मत सम्भार कार्य सुरू हुनेछ।’

‘स्वाइल टेस्टको काम भइसकेको छ, निर्माण कम्पनीले नयाँ डिजाइन बनाइरहेको छ, जुन अन्तिम चरणमा रहेको छ,’ प्रमुख महतोले भने, ‘अहिले मनसुन चलिरहेकाले नदीमा पानी छ, डिजाइन तयार भइसकेपछि हामी मरम्मत सम्भारको कार्य अगाडि बढाउने छौं।’

उच्चस्तरीय प्राविधिक टोलीले कति कारणले निरीक्षणको प्रतिवेदन सार्वजनिक गरेन भन्‍ने प्रश्नमा प्रमुख महतोले उच्चस्तरीय टोली निर्माण कम्पनीले नै गठन गरेको जानकारी दिए। त्यो प्रतिवेदनकै आधारमा पछिल्लो गल्ती नदोहरिने गरी नयाँ डिजाइन तयार पारेर काम अगाडि बढाइने उनले बताए।

२०६८ साल मंसिरमा शिलान्यास भएको ४ सय ७० मिटर लामो पुलको १२ वटा स्पाम मध्ये २०७८ साल असार २० गते आएको बाढीका कारण दुईटा पिलरसँगै स्लाप पनि भासिएको थियो। पानीको बेग र बहाव अनुसारको जग नरहेकै कारण पुल भासिएपछि स्थानीय जोखिम लिएर आवजावत गर्न बाध्य छन्।

४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको सो पुल निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी विल्डर्स जेभी कन्स्ट्रक्सनले २४ करोड ९१ लाखमा २०६८ जेठ ३१ मा लिएको थियो। २०६८ साल मंसिरमा सो पुल निर्माणका लागि विधिवत रूपमा शिलान्यास गरिएको थियो।

तीन वर्षमै सम्पन्‍न गर्ने भनी ठेक्का लिएपनि निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै अन्ततः पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई दिइयो। लुम्बिनी विल्डर्सले कार्य सम्पन्‍न भएको देखाएर २०७८ असारमा उद्घाटन गर्ने तयारी गरेको थियो। तर उद्घाटन हुनुभन्दा एक साता पहिले नै सिरहा नगरपालिका–६ बसपिट्टा घाटनजिकै पुलको एउटा स्पाम (पाया) भासिएको थियो। सो स्पाम भासिएसँगै दुईवटा स्ल्याब ७८.२० मिटर तल झरेको थियो।

कमला पुलसँगै निर्माण गरिएको पाँच सय ४० मिटरको रिभर टेड्रिङ (बाँध) समेत बाढीले बगाएको छ। पहिलो पाया भासिएको चार महिनापछि ०७८ कात्तिक ३ मा धनुषा जिल्लातर्फका तेस्रो स्पाम पनि दुई मिटर तल भासियो।

पुल पुननिर्माण हुन नसकेकोमा चिन्ता
कमला पुल पुनर्निर्माणमा ढिलाई भएपछि नागरिक अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्। जनकपुरधाममा हुलाकी सडक संघर्ष समितिले गरेको कमला पुलको पुनर्निर्माण र हुलाकी सडकको अवस्था विषयक अन्तरक्रियामा सहभागीहरूले अघिल्लो वर्ष भत्किएको निर्माणाधीन कमला पुलको पुनर्निर्माणमा विलम्ब भइरहेको र देशकै पुरानो हुलाकी सडक निर्माणमा सरकारले चासो नदिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सरकारको गलत नियतका कारण मधेशका जनता विकासबाट टाढा हुनुपरेको उनीहरूले आरोप लगाए। राज्य सञ्चालन गर्नेहरूको सोच राम्रो नभएकाले पनि सडक निर्माणमा विलम्ब भएको उनीहरूको भनाइ छ। कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विकासका विषयहरू सिधा मानव अधिकारसँग जोडिएका विषय रहेको भन्दै विकासको अधिकारबाट जनतालाई वञ्चित गर्न नहुने बताए।

यता, कमला पुल पुनर्निर्माणमा भएको विलम्बको विषयमा निर्माणसम्बद्ध इन्जिनियर कौशल यादवले भासिएको पुलको पिलरको रि–डिजाइनको प्रक्रिया चलिरहेको भन्दै अन्य पिलरहरूलाई कसरी मजबुत पार्ने लगायत विषयमा काम भइरहेको जानकारी दिए। इन्जिनियर यादवले कमलाको क्षतिग्रस्त हुनुको कारणबारे अनुसन्धान भइरहेको बताए।

हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले कमला पूल र हुलाकी सडकको अवस्थामा सुधार नआएसम्म संघर्ष गरिरहने बताए। राज्य हुलाकी सडक निर्माण तथा कमला पुनर्निर्माणका लागि गम्भीर छैन, यादवले भने, ‘यसका लागि सिंहदरबार घेर्नु परे त्यो गर्नबाट पनि पछाडि पर्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .