ad ad

मधेस


बलिदानी दिवस : भित्र प्रदेश सरकारको भव्य कार्यक्रम, बाहिर सहिद परिवारको धर्ना

बलिदानी दिवस : भित्र प्रदेश सरकारको भव्य कार्यक्रम, बाहिर सहिद परिवारको धर्ना

जयन्त ठाकुर
माघ ५, २०७९ बिहिबार २२:२, जनकपुरधाम

स्वायत्त मधेश एक प्रदेश र अधिकार प्राप्तिका लागि भन्दै १६ वर्ष अगाडि मधेशी जनता तथा मधेशवादी दलहरुले आन्दोलनको सुरुवात गरेका थिए। जुन आन्दोलन १९ दिनसम्म चलेको थियो। मधेशमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो। तीन वटै मधेश आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे।     

पहिलो मधेश आन्दोलन माघ ३ गतेदेखि जनकपुरधामबाट शुरु भएपनि सिरहाको लहानमा माघ ५ गते रमेश महतोको प्रहरीको गोली लागेर मृत्यु भएपछि आन्दोलन झनै बढेको थियो। र, महतोकै शहादतको स्मरणमा प्रत्येक वर्ष माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ। १९ दिनसम्म चलेको सोही आन्दोलनको बलमा देशको संविधानमा संघीयता शब्दले स्थान पाएको मधेशवादी दलका नेताहरुको दाबी छ।

यद्यपि आन्दोलन जति पुरानो हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गइरहेको छ। तैपनि मधेश आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि भन्दै प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ। प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।

मधेश आन्दोलनको शुरुवात भएको दिनमा समेत मधेशवादी दलमा भने उर्जा देखिएको छैन। मानौँ, मधेशमा आन्दोलन नै भएको थिएन।

गृह तथा संचार मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिस्ठानको आयोजनामा बिहीबार बलिदानी दिवस मनाइएको छ। सो कार्यक्रममा मधेश सरकारका बिना विभागीय मन्त्री संजयकुमार यादवले सहिदहरुकै बलिदानीको बलमा मुलुकले संघीयता पाएको र सहिदहरुको सम्मानमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा ६१ जना सहिद परिवारलाई २ लाखको दरले आर्थिक सहयोग र ब्लैंकेट वितरण गरिएको थियो।

मुख्यमन्त्री सरोज यादव भने सो कार्यक्रममा सहभागी भएनन्। विश्वासको मत पाए लगत्तै उनी काठमाडौँ पुगेका छन्। 

सहिद परिवारको आफ्नै पीडा
बलिदानी दिवसको अवसर पारेर यता मधेश भवनमा भब्य कार्यक्रमको आयोजना गरिएको थियो। बाहिर भने सहिद परिवार धर्नामा थिए।

मधेश सरकारका बिना विभागीय मन्त्री संजयकुमार यादवले भित्र भाषण गरिरहँदा बाहिर सहिद परिवार आफ्नै पीडा पोखिरहेका थिए।

धर्नामा मधेश आन्दोलनको क्रममा रौतहटका लालबाबु राउत कुर्मी प्रहरीको गोली लागि घाइते भएका थिए। पहिलो मधेश आन्दोलनको क्रममा राउतको पेटमा प्रहरीको गोली लागेको थियो। सो गोली अहिले उनको शरीर भित्रै रहेको राउत बताउँछन्। 

‘गोली अहिलेसम्म बाहिर निकाल्न सकिएको छैन, जसले गर्दा खाना खान अहिले पनि कठिनाई भई रहेको छ’ उनले भने। 

उनको समस्याप्रति प्रदेश सरकार जानकार हुँदा पनि कुनै किसिमको सहयोग नपाएको राउतको गुनासो छ।

मधेश आन्दोलनमा सरिक भएकै कारण सर्लाहीका सकुन्तला ठाकुरको श्रीमानमाथी प्रहरीले गोली बर्सायो। प्रहरीको गोली लागि उनको मृत्यु भयो। सकुन्तलाका श्रीमानले सहादत दिएकै कारण प्रदेश सरकारले उनलाई मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यालय सहयोगीमा जागिर दियो।

उनी केही वर्ष यतादेखि सो मन्त्रालयमा जागिर खाँदै आई रहेकी छन्। तर सकुन्तलाले आफ्नो क्षमता अनुसारको जागिर नदिएकोमा दुःख व्यक्त गरिन्। 

उनले भनिन्, ‘सहिदहरुको बलिदानकै बलमा मुलुकले संघीयता आयो, कयौँ मन्त्री भए तर सहिद परिवारका सदस्यहरुलाई मन्त्रालयहरुमा भाँडा मस्काउनु परिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .