ad ad

मधेस


कालीगण्डकीको देवशिलालाई जानकी मन्दिरमा महाआरती, सोमबार अयोध्या पठाइने

कालीगण्डकीको देवशिलालाई जानकी मन्दिरमा महाआरती, सोमबार अयोध्या पठाइने

जयन्त ठाकुर
माघ १५, २०७९ आइतबार १३:३७, जनकपुरधाम

भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा भगवान रामको प्रतिमा निर्माणका लागि ल्याइएको देवशिला अयोध्या पठाइने भएको छ।

शनिबार साँझ म्याग्दीको कालीगण्डकी नदीबाट ल्याएको शालिग्राम शिला सोमबार अयोध्या पठाउन लागिएको हो। 

शालिग्राम शिला पाइने नेपालको एक मात्र कालीगण्डकी नदीबाट दुई विशाल शिला जनकपुरधाम ल्याइएको हो। यी दुवै शिलालाई भोली (सोमबार) अयोध्या पठाउन लागिएको हो।

अयोध्या पठाउनका लागि कालीगण्डकीबाट ल्याइएको सो दुवै शिलालाई आज (आइतबार) जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गण पूजा अर्चना गर्दै महाआरती गरिएको छ।

शिला पूजन तथा महाआरतीमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, धनुषा-३ का प्रतिनिधिसभा सांसद जुलीकुमारी महतो, जानकी मन्दिरको महन्थ रामतपेश्वर दास वैष्णव लगायतको उपस्थिति रहेको थियो।  

नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान रामको बालस्वरुप निर्माण गरिनेछ । शिला संकलन तथा पठाउने कार्यमा सक्रिय जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार सो ढुंगाबाट निर्माण गरिने भगवान रामको बालस्वरुप मन्दिरको गर्भगृहमा स्थापित गरिने छ। 

दुवै शिलाबाट रामको बालस्वप निर्माण गरिने छ भने निर्मित दूबै प्रतिमामध्ये उत्कृष्ट प्रतिमालाई गर्भगृहमा राखिने छ।

‘५ सय वर्षको लामो संघर्षपछि भारतको अयोध्यामा राम मन्दिर निर्माण भई रहेको यो सम्पूर्ण हिन्दुहरुका लागि खुशीको विषय हो’, जानकी मन्दिरका महन्थ वैष्णवले भने, ‘मन्दिरको गर्भगृहमा राखिने भगवान रामको बालस्वरुपको प्रतिमा नेपालकै शिलाबाट निर्माण हुनु गर्वको विषय हो।’ 

यसले नेपाल–भारत बिचको वर्षो पुरानो धार्मिक सांस्कृतिका सम्बन्ध थप प्रगाढ हुने उनको भनाई छ। 

नेपालको शिला अयोध्या लैजाने वातावरण यसरी बन्यो
गत साउनमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले भारत भ्रमणमा पुगेका थिए।

त्यो समय उनले अयोध्या राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरे।

भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए।

जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएपछि मात्रै यो वातावरण बनेको थियो। 

त्यसलगत्तै नेपाल फर्किएका नेता निधिले सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिएका थिए।

गत पुस ३ गते बसेको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो।

यसको खोजी म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट शुरु गरिएको थियो। प्राविधिक हिसाबले ठूलो पहिरो नजिकै उपयुक्त शिला फेला परेको हो।

तत्कालीन समयमा शिलाको खोजीका लागि पहल गरेका निधिसहितको टोली नै शिला उत्खनन स्थलमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .