केही दिनअघि महोत्तरीको बर्दिबास पुगेका बेला नजिकैको मुसहर बस्ती जान मन लाग्यो। मुसहर बस्ती जानुअघि मञ्जय सदालाई फोन लगाएँ।
‘भाइ कता हुनुहुन्छ?’
उनी बोले, ‘म यतै घरतिरै छु दाइ, स्कुल जाने तयारी गर्दै छु।’
घडी हेरेँ। बिहानको सवा ९ बजिसकेको थियो। उनलाई स्कुल जान हतार थियो। मलाई भने उनीसँग एकैछिन गफिने चाहना।
मुसहर समुदायका यी २४ वर्षीय युवक घर नजिकैको जनता माविमा शिक्षक छन्। ‘एकैछिन भाइसँग भेटघाट हुन्छ भने म त्यहाँ आउन खोजेको। के गरौँ?’
मेरो आग्रह मिश्रित जिज्ञासापछि उनले ‘हुन्छ, आउनूस् न दाइ’ भनेर अनुमति दिए। म र अर्का सञ्चारकर्मी साथी विशाल बस्नेत मोटरसाइकल लिएर बर्दिबास १४ को मुसहर बस्तीतिर हुइँकियौँ।
मुसहर बस्ती प्रवेश गर्ने गेट खुलै थियो। गेटको दाहिनेतिर भित्तामा लेखिएको थियो- ‘धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्मित एकीकृत नमुना मुसहर बस्ती।’
मुसहर बस्तीको गेटमै भेटिए बस्तीकै एकमात्र पढेलेखा युवा- मञ्जय सदा। जो यतिबेला यो मुसहर बस्तीको मात्रै होइन, यो समुदायका हजारौँ बालबालिका र किशोर-किशोरीका लागि प्रेरणाको स्रोत बनेका छन्।
६ वर्षअघिसम्म बर्दिवास ६ (हाल बर्दिवास १४) को मुसहर बस्ती अहिलेको स्वरुपमा थिएन। १२ वर्ष बर्दिबास बस्दा पूर्व साप्ताहिक, रेडियो दर्पण, उज्यालो ९० नेटवर्क र नयाँ पत्रिका दैनिकको रिपोर्टर भएर मैले पनि केही दर्जनपटक मुसहर बस्ती टेकेँ हुँला।
त्यतिबेला यो बस्तीको भोक, रोग र शोकका धेरै कथा लेखियो। तर, त्यतिबेला हामीले लेखेका त्यहाँको गरिबी, अशिक्षा, अचेतना र अभावका कथा पढ्न सक्ने साक्षरसम्म पनि बस्तीमा कोही थिएनन्।
बालबालिका नांगैभुतुंगै धुलोमैलोमा लडिबुडी गरिरहेका भेटिन्थे। अधिकांश बालबालिका विद्यालयमा भर्ना भएका थिएनन्। भर्ना भएका पनि नियमित स्कुल जाँदैनथे। बीचमै पढाइ छाड्थे।
उनीहरुको स्कुल ड्रेस थिएन। भनेको बेला घरमा खाना पाक्दैनथ्यो। भोको पेट लिएर कसरी स्कुल जानु? अभिभावकमा पनि आफ्ना बालबालिकालाई स्कुल पढाउनुपर्छ भन्ने चेतना थिएन।
अहिले कम्तीमा पनि बालबालिकालाई स्कुल पठाउनुपर्छ भन्ने ज्ञानको सञ्चारसम्म मुसहर बस्तीमा भएको छ। बस्तीका सबै बालबालिका नजिकैको सरकारी विद्यालयमा भर्ना भएका छन्।
यही बस्तीका युवा मञ्जय सदाले बीबीएस उत्तीर्ण गरेका छन्। स्नातकोत्तर तह अध्ययनको तयारीमा रहेका उनी आफ्नो घर नजिकैको सरकारी विद्यालय जनता माविमा शिक्षक छन्।
उनकै प्रेरणाले अहिले विभिन्न बाधा/व्यवधान छिचोल्दै बस्तीका सबैजसो बालबालिका नियमित विद्यालय गइरहेका छन्। अभिभावकले पनि आफ्ना छोराछोरीलाई ‘मञ्जय जस्तै’ बनाउने सपना देख्न थालेका छन्।
‘यो बस्तीमा अहिले पढ्ने उमेरका १०५ जना बालबालिका छन्,’ मञ्जयले नेपालखबरसँग भने, ‘दुई/चारजना बाहेक अहिले सबै बालबालिका नियमित विद्यालय जान्छन्। जीविकोपार्जनको अवस्था त उस्तै छ, तर बालबालिकालाई विद्यालय पढ्न पठाउनुपर्छ भन्ने चेतनासम्म यहाँका अभिभावकमा जागृत भएको छ।’
जब धुर्मुस-सुन्तली मुसहर बस्ती पुगे
करिब सात वर्षअघि सरकारको सरसफाइ दूत बनेर कलाकार सीताराम कट्टेल (धुर्मुस) र उनकी पत्नी कुञ्जना घिमिरे (सुन्तली) बर्दिबास पुगेका थिए। त्यही क्रममा स्थानीय सञ्चारकर्मी राजकरण महतोले धुर्मुसलाई मुसहर बस्तीमा पुर्याए। त्यहाँको कथा-व्यथा धुर्मुस-सुन्तलीले आफ्नै आँखाले देख्न पाए।
भूमिहीनता, घाम पानी नछेक्ने खर-परालले छाएका ससाना झुपडी, बनमाराको बेरा, ओढ्ने/ओछ्याउनेबिनै पुस माघको कठ्यांग्रिने जाडोमा रात काटिरहेका मुसहर परिवार। उनीहरुको बर्खाको घाम पानी नछेक्ने, हिउँदको चिसो सिरेटो र तुसारो नरोक्ने झुपडीमा भोक लाग्दा खाने अन्न पनि थिएन।
त्यो देखेपछि धुर्मसले बस्तीको स्वरुप परिवर्तन गर्ने अठोट गरे। बस्ती निर्माणका लागि देश-विदेशमा सहयोग आह्वान गरे।
२५ पुस ०७३ मा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर धुर्मुस मुसहर बस्ती पुगे। त्यही दिन महजोडीले बस्तीको शिलान्यास गरे। त्यसको तीन महिनामै तयार भयो- ५५ परिवारका लागि सुन्दर एकीकृत मुसहर बस्ती। १ वैशाख ०७४ मा विधिवत् रुपमा त्यो बस्ती मुसहर परिवारलाई हस्तान्तरण गरियो।
जहाँ ५० परिवार मुसहरको एउटै कम्पाउन्डभित्र एकै स्वरुपमा बनेका अलग-अलग घर छन्। जस्ताले छाएका दुईतले पक्की घरमा चारवटा कोठा छन्।
यो अभियानका क्रममा मुसहर बस्तीको कम्पाउन्ड बाहिर उही स्वरुपमा पाँचवटा घर निर्माण गरियो। र, मुसहरकै जस्तो आर्थिक जीवन बाँचिरहेका गैरदलित परिवार (मगर र भुजेल) लाई हस्तान्तरण गरियो।
हाल यहाँ गरिबी र बेरोजगारीको समस्या उस्तै भए पनि अहिले कम्तीमा बस्तीका सबैजना पानी नचुहिने घरमा बस्न पाएका छन्।
‘अहिले दिनभरि अर्काकोमा बनिबुतो गरेर आउँदा पनि राति आफ्नै घरमा मिठो निद्रा सुत्न पाइन्छ,’ मञ्जयले भने, ‘धुर्मुस-सुन्तलीले मुसहर बस्ती बसाउनुभयो। पढ्नुपर्छ भन्ने चेतना जागृत गराउनुभयो। तर, यहाँका नागरिकको जीविकोपार्जनका लागि राज्यले रोजागारीको कुनै व्यवस्था गरेको छैन। अहिले पनि यहाँ हातमुख जोड्नै धौधौ छ।’
मञ्जय आफ्नो बस्तीलाई विगतसँग तुलना गर्दा केही आशावादी देखिए।
‘पहिला यहाँ खानेपानी, बिजुली, बाटो केही थिएन। एउटा सार्वजनिक धारामा पानी थाप्दा युद्ध लडेजस्तो गर्नुपर्थ्यो। धारामा तीन/चार घण्टा लाइन नबसी पानी भर्न पाइन्नथ्यो। अँध्यारोमै रात बिताउनुपर्थ्यो’, उनले भने, ‘अहिले घरघरमै पानीका धारा जोडिएका छन्। पक्की घरमा बिजुली बत्तीको उज्यालोमा बास बस्न पाइएको छ। घामपानीको डर छैन। यो परिवर्तन हाम्रो लागि ठूलो कुरा हो।’
बस्तीका ‘रोल मोडल’ मञ्जय
मञ्जयबाहेक यो मुसहर बस्तीका कसैले पनि अहिलेसम्म ७ कक्षाभन्दा माथि पढ्न सकेका छैनन्। मञ्जय निजी स्रोतबाट स्थानीय जनता माविमा शिक्षक छन्। महिनाको झण्डै ३० हजार तलब थाप्छन्।
उनले एसएलसी सक्नेबित्तिकै ट्युसन पढाउन थाले। केही समय नजिकैको बोर्डिङ स्कुलमा पढाए। अहिले आफैँले एसएलसीसम्म पढेको सरकारी विद्यालयमा कक्षा ४ र ५ लाई गणित, ८ र ९ का विद्यार्थीलाई अर्थशास्त्र विषय पढाउँछन्।
‘स्कुल प्रशासनले बीबीएस सकिएपछि तलब बढाइदिने भनेको छ। सायद अब तलब बढ्छ होला’, उनले भने।
बस्तीका अधिकांश अभिभावक निरक्षर छन्। ‘अनपढ भएपछि रोजगारी पाइँदो रहेनछ’, मञ्जयकै उमेरका सोही बस्तीका विनोद सदा भन्छन्, ‘हाम्रो जीविकोपार्जनको आधार भनेकै अर्काकोमा ज्याला-मजदुरी हो। त्यो पनि कहिले पाइन्छ, कहिले पाइँदैन। रोजगारीको दिगो आधार नहुँदा घर व्यवहार चलाउन समस्या हुँदोरहेछ।’
अर्काकोमा ज्याला-मजदुरी गर्न नपाएको दिन विनोद साथीहरुसँग दाउरा काट्न जंगल जान्छन्। त्यही दाउरा बेचेर बिहान-बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा अहिले पनि धेरैजसो अभिभावक छन्।
गफिने क्रममा मञ्जय विगततिरै फर्किए। त्यो बेला मञ्जयका केही दौतरी उनीसँगै स्कुल भर्ना भएका थिए। तर, उनीहरु कसैले पनि ४, ५ कक्षाभन्दा माथि पढ्न सकेनन्। पढाइ बीचमै छाडेर उनीहरु आफ्ना अभिभावकसँगै ज्याला-मजदुरीतिर लागे। किशोर उमेरमै विवाह गरेर सन्तानका अभिभावक बने। अहिले उनीहरुका ८/१० वर्षका छोराछोरी छन्। आफ्नो उमेरका साथीका छोराछोरीलाई मञ्जय नै पढाउँछन्।
‘त्यतिबेला गरिबी, बेरोजगारी अहिलेभन्दा ज्यादा थियो। पढाइको महत्त्व यो बस्तीका कसैले बुझेकै थिएनन्,’ मञ्जय भन्छन्, ‘अहिले त बस्तीमा आफ्ना बालबालिकालाई स्कुल पठाउन मन नगर्ने अभिभावक धेरै छन्। झन् १७/१८ वर्षअघि अवस्था कस्तो थियो होला? हामी आफैँ कल्पना गर्न सक्छौँ।’
आफूसँगै स्कुल भर्ना भएका सबैले ३/४ कक्षामै पढाइ छाडे पनि मञ्जयले छाडेनन्। आमा मानकी र बुवा लक्ष्मी सदाले जस्तोसुकै दुःखकष्ट बेहोरेर भए पनि छोरालाई पढाउने अठोट गरे। दुःखसुख मञ्जयलाई स्कुल पठाउँदै गए।
‘बुवाआमा बिहानै दाउरा लिन जंगल जानुहुन्थ्यो। दाउरा ल्याएर बेच्न पाएको दिन भात खान पाइन्थ्यो, नत्र पाइँदैनथ्यो’, बाल्यकाल सम्झिँदै मञ्जयले भने, ‘कहिलेकाहीँ आमा बुवा बिहानै जंगल जाँदा घरमा खानेकुरा केही हुँदैनथ्यो। त्योबेला भोकै भए पनि म स्कुल गएँ। जस्तोसुकै कष्टमा पनि पढाइ छाडिनँ। आमा बुवाको दुःख देख्दा मैले जसरी पनि पढ्नुपर्छ भन्ने लाग्थ्यो।’
कक्षा ५ बाट ६ मा जाँदा उनी पहिलोपटक कक्षामा तृतीय भए। यसले पनि उनलाई पढाइमा हौसला मिल्यो। एउटा मुसहरको छोरो पढाइमा अब्बल बनेको देख्दा शिक्षकहरु पनि खुसी थिए। कक्षा ७ र ८ मा उनले आफ्नो पढाइलाई अझ सुधारे। उनी कक्षामा पहिला र दोस्रा हुन थाले। प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे।
एसएलसी गरेपछि नजिकैको जनता कलेजले उनलाई निःशुल्क पढ्ने व्यवस्था मिलायो। कक्षा ११, १२ र स्नातक तह उनले सोही कजलेमा निःशुल्क पढ्न पाए।
‘मेरो मेहनत र पढाइप्रतिको लगाव देखेपछि र कक्षामा जान्ने विद्यार्थीमा गनिन थालेपछि म शिक्षकहरुको नजरमा परेँ’, मञ्जयले भने, ‘सोही कारण मैले उच्च शिक्षा निःशुल्क पढ्न पाएँ। यो बस्तीबाट कोही पढेलेखेका छैनन्। यसलाई पढ्नका लागि हामीले प्रोत्साहन गर्नुपर्छ भनेर टिचरहरुले पनि मलाई सहयोग गर्नुभयो।’
आफूले पढेकै स्कुलमा रोजगारीचाहिँ उनले सक्षम भएकै कारण पाएका हुन्। ‘यहाँ माया गरेर कसैले रोजगारी दिँदैन। त्यसका लागि पहिला आफू सक्षम हुनुपर्छ’, उनले भने।
मुसहर बस्तीमा अहिले पनि बालविवाह गर्ने क्रम हटेको छैन। अहिले पनि १६/१७ वर्षसम्ममा यो बस्तीका सबैको विवाह भइसक्छ। अभिभावकले नै विवाह गरिदिन्छन्। कोही आफैँ जोडी खोज्छन् र घर छाडेर भाग्छन्। ‘२४ वर्षसम्म पनि विवाह नगरी बस्ने यो बस्तीमा म मात्रै हो’, मञ्जयले हाँस्दै भने।
मञ्जयकै उमेरका बेचन सदाको किशोर उमेरमै विवाह भयो। अहिले उनका दुई सन्तान छन्। रोजगारी छैन। गाउँघरतिर काम नपाउँदा जंगलबाट दाउरा ल्याएर परिवारको हातमुख जोड्छन्। आम्दानी नभएको दिन भोकै बस्नुपर्ने बाध्यता छ।
‘त्यतिबेला मैले पढ्न पाइनँ। आफूले पढ्न नपाए पनि अब जसरी पनि छोराछोरीलाई पढाउने अठोट गरेको छु’, बेचनले भने, ‘मजस्ता सबै अभिभावकले अहिले मञ्जयलाई हेरेर आफ्ना छोराछोरीलाई स्कुल पठाइरहेका छन्।’
मञ्जयको चाहना निजामती सेवा
मुसहर बस्तीबाट अभावको पहाड छिचोल्दै शिक्षक बनेका मञ्जय निजामती सेवा प्रवेशको संघारमा छन्।
‘मेरो लक्ष्य टिचर होइन। म निजामती सेवामा प्रवेश गर्न चाहन्छु’, आफ्नो पढ्ने कोठामा गफिँदै मञ्जयले भने, ‘कमर्स पढेको कारण बैँकिड क्षेत्रमा पनि जाने चाहना छ। तर, भित्री इच्छा निजामति सेवामै छ।’
उनले राष्ट्रिय वाणिज्य बैँकले लिएको चौथो तहको प्रथम चरणको परीक्षा पास गरिसकेका छन्। त्यसैगरी उनले निजामती सेवातिर खरिदारको पनि प्रथम चरणको परीक्षा पास गरिसकेका छन्।
‘निजामती सेवातिर गएर अफिसर हुने मेरो इच्छा छ’, उनले भने, ‘हाम्रो समुदायबाट निजामती सेवामा औँलामा गन्न सकिने मात्रै छन्। मुसहर समुदायबाट म निजामती सेवामा गएर अफिसर भएँ भने, हाम्रो समुदायका लागि त्यो अर्को प्रेरणाको स्रोत बन्न सक्छ।’
‘तपाईं निजामति सेवामा गएपछि यो बस्ती छाड्नुहोला, अहिलेजस्तो दिनहुँ यी बालबालिकासँग भेट नहोला। त्यतिबेला फेरि यो बस्तीमा जागृत हुँदै गरेको शैक्षिक चेतनाको दियो निभ्दैन?’
मेरो जिज्ञासामा उनी बोले, ‘निभ्दैन दाइ, अब यो बस्तीका अभिभावकले छोराछोरीलाई मात्र होइन, बुहारीलाईसमेत स्कुल पठाउन थालेका छन्। हामी यो बस्तीबाट चेतनाको यो दियो निम्न दिँदैनौँ।’
बीबीएस उत्तीर्ण गरेर मञ्जय स्नातकोत्तर तह अध्ययनको तयारीमा लागेको खबर पाएपछि कलाकार सीताराम कट्टेल (धुर्मुस) पनि औधी खुसी भएका छन्।
‘हामी पहिलोपटक त्यो बस्तीमा पुग्दा मञ्जय कक्षा ९ मा पढ्दै थिए। उनी नचिनेका मान्छेसँग बोल्न डराउँथे,’ धुर्मुसले नेपालखबरसँग भने, ‘अहिले उनै मञ्जयले बीबीएस उत्तीर्ण गरको खबर पाउँदा हामी धेरै नै हर्षित भएका छौँ।’
उनले मञ्जयलाई स्नातकोत्तर तह अध्ययनको लागि आफूले सिन्धुलीको कलेज प्रशासनसँग बुधबार मात्रै कुरा गरेको सुनाए।
‘सिन्धुलीको कलेजले पनि मञ्जयलाई छात्रवृत्तिमा पढाइ दिने आश्वासन दिएको छ,’ धुर्मुसले भने, ‘मञ्जय जस्ता त्यहाँका अरु बालबालिकाको शिक्षादिक्षालाई ठिक ढंगले अघि बढाउन हामी सबैले ध्यान दिन आवश्यक छ।’
मञ्जयको प्रेरणा : बुहारी ललिता सदा कक्षा ७ की विद्यार्थी
मञ्जयकै प्रेरणाले सोही बस्तीकी बुहारी ललिता सदा यतिबेला कक्षा ७ मा पढिरहेकी छन्। पाँच कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा उनको विवाह भयो। विवाहपछि दुई छोरा जन्मिए। पढाइ अलपत्र पर्यो।
हाल पति रामएकवाल सदालाई घरको काम जिम्मा लगाएर २३ वर्षीया ललिता नियमित स्कुल जान्छिन्। उनका एक छोरा ३ र अर्को ४ कक्षामा पढ्छन्। बिहान सँगै खाना खाएर ललिता छोराहरुसँगै स्कुल जान्छिन्।
कोरोनाकालमा रोजगारीका सबै स्रोत बन्द भए। अभिभावकले ज्याला-मजदुरी गर्न नपाउँदा मुसहर बस्तीमा भोकमरीको अवस्था सिर्जना भयो।
‘लकडाउनका बेला पनि मलाई भने स्कुलले तलब पठाइरह्यो’, विगत सम्झिँदै मञ्जयले भने, ‘त्यो देखेपछि ‘पढेलेखेका मान्छेले काम नगरे पनि तलब आउँदो रहेछ’ भन्ने अभिभावकलाई पर्यो। त्यसले पनि उनीहरुलाई आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने सन्देश प्रवाह भएको छ।’
मञ्जयकै प्रेरणाका कारण घरकी बुहारी ललिताले पनि कक्षा ६ मा भर्ना भएर आफ्नो छुटेको पढाइलाई अघि बढाउने अठोट गरेकी छन्।
अहिले धेरै अभिभावक आफ्ना छोराछोरीलाई ‘मञ्जय जस्तै’ बनाउने अठोटसहित स्कुल पठाइरहेका छन्। ‘छोराछोरीलाई मात्र होइन, बुहारीलाई पनि स्कुल पढ्न पठाउनु अरु समुदायमा सामान्य मानिएला। तर, हाम्रो बस्तीका लागि यो निकै नै महत्त्वपूर्ण कुरो हो’, मञ्जयले भने।
मुसहर बस्तीका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले बर्दिबास नगरपालिकाले रोटरी क्लबसँगको सहकार्यमा नियमित ट्युसनको व्यवस्था गरेको छ।
केही समयअघिसम्म मञ्जय आफैँ बस्तीका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँथे। तर, आफैँले पढ्नुपर्ने र स्कुलमा पनि पढाउनुपर्ने भएपछि उनले भ्याएनन्।
गैरसरकारी संस्था (एनजीओ) सँगको सहकार्यमा नगरपालिकाले बस्तीका ट्युसन कक्षाको व्यवस्था गरे पनि त्यहाँका अभिभावकलाई जीविकोपार्जनका लागि रोजगारी सिर्जना गर्ने विषयमा भने नगरपालिकाले अहिलेसम्म कुनै योजना बनाएको छैन।
‘हामीले अहिलेसम्म मुसहर बस्तीलाई लक्ष्य गरेर रोजगारी सिर्जना गर्ने विषयमा केही सोचेका छैनौँ’, बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले नेपालखबरसँग भने, ‘हामीले चाहेर मात्रै पनि बस्तीका सबैलाई रोजगारी दिन सकिँदैन।’
सानो क्षेत्रफलमा समेटिएको मुसहर बस्तीको जनसंख्या झन्डै ५ सय छ। प्रत्येक घरमा कम्तीमा ५/६ जनाको परिवार छ। उनीहरुमा अझै पनि परिवार नियोजनको जानकारी छैन। नचाहेर पनि सन्तान जन्माउने अभिभावक बस्तीमा अझै धेरै छन्।
‘मुसहर बस्तीमा जनसंख्याको अनुपातमा आवासको पनि अभाव हुन थालेको छ’, मुसहर बस्तीको कथा-व्यथालाई नजिकबाट नियालिरहेका पत्रकार राजकरण महतोले भने, ‘वैकल्पिक आवास नहुँदा दाजुभाइ भिन्न हुन पाएका छैनन्। अलग हुन चाहनेलाई छुट्टै घर बनाउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने हो, तर त्यसप्रति कसैको ध्यान गएको छैन।’
प्रतिक्रिया