मधेस


सरकारबाट न्याय नपाएपछि सर्लाहीका सुदखोरपीडित फेरि धर्नामा

सरकारबाट न्याय नपाएपछि सर्लाहीका सुदखोरपीडित फेरि धर्नामा

नेपालखबर
फागुन ८, २०७९ सोमबार १५:३२, सर्लाही

मिटर ब्याजपीडितहरूले न्याय माग गर्दै सर्लाहीको लालबन्दीमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। धर्नामा महिला-पुरुष गरी ५० जना पीडित सहभागी छन्। 

लालबन्दी नगरपालिका-१ नवलपुरस्थित पूर्वपश्चिम राजमार्गछेउमा आइतबारदेखि उनीहरू धर्ना बसेका हुन्। धर्ना आज (सोमबार) पनि जारी छ। 

धर्नामा सहभागी पीडितहरूले दृष्टिबन्धक खारेज गर, राजीनामा पास फिर्ता गर, जाली तमसुक मान्दैनौँ, हाम्रो जमिन फिर्ता गर, गरिब मारा मिटरब्याजी मुर्दावादजस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका छन्।

न्यायका लागि आफूहरूले चार वर्षदेखि चरणबद्ध आन्दोलन गरे पनि न्याय पाउन नसकेपछि फेरि धर्ना बस्नुपर्ने अवस्था सिर्जना भएको मिटरब्याज पीडित संघर्ष समिति (सर्लाही) की संयोजक रुक्मिणी चौधरीले बताइन्। 

मिटर ब्याजपीडितको धर्नामा ऐक्यबद्धता जनाउँदै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (चस्मा)

‘हामीले चार वर्षअघिदेखि मिटरब्याजको विरोधमा आन्दोलन गर्दै आए पनि अझै न्याय पाउन सकेका छैनौँ,’ चौधरीले भनिन्, ‘सरकारले केही सुदखोरलाई पक्राउ गरे पनि पीडितलाई कानुनी रुपमा ऋणमुक्त गर्नेतिर आवश्यक कदम चालेको छैन।’ 

धर्नास्थलमा पुगेर सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले पनि मिटरब्याजबाट पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। 

मिटर ब्याजपीडितको धर्नामा ऐक्यबद्धता जनाउँदै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (चस्मा)

माओवादी केन्द्रका नेतासमेत रहेका बुढाथोकीले विगतदेखि नै सर्लाहीमा सुदखोरविरोधी आन्दोलनको नेतृत्व गरिरहेका छन्। 

तीन वर्षअघि सर्लाहीका मिटरब्याज पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेपछि मिटरब्याजबाट पीडितहरूको समस्या उजागर भएको थियो।

पीडितहरूको चर्को दबाबपछि सरकाले श्याम परदेशी, रामबाबु राय लगायत सर्लाहीका केही सुदखोरलाई पक्राउ गरेको थियो। हाल उनीहरू पुर्पक्षको लागि थुनामा छन्। 

लालबन्दी ३ सिसुवाका कल्पनाथ चौधरीले श्याम परदेशीको मिटरब्याजबाट आफ्नो सबै जायजेथा सकिएको गुनासो गरे। 

‘मैले ऊसँग लिएको जम्मा एक लाख रुपैयाँ हो,’ नेपालखबरसँग चौधरीले भने, ‘एक वर्षभित्रै मैले उसलाई एक लाखको अढाई लाख रुपैयाँ तिरेँ। तर, उसले मलाई कागज दिएन। मलाई एक लाख रुपैयाँ दिएर १० लाखको कागज बनाएको रहेछ। अहिले त्यसको ब्जाय र स्याजले मेरो भएको एक कठ्ठा घडेरी पनि अदालतले लिलाम गरेको छ।’ 

अदालतका कर्मचारीसँगको मिलेमतोमा सुदखोरहरूले फर्जि कागज देखाएर मुद्दा हाल्ने र पीडितको जायजेथा लिलाम हुने क्रम बढ्दै गएको संघर्ष समितिकी संयोजक चौधरीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad