ad ad

मधेस


बर्दिबास नगरपालिका : स्वतन्त्र मेयरलाई कार्यपालिकामा सधैँ बहुमतको साथ!

बर्दिबास नगरपालिका : स्वतन्त्र मेयरलाई कार्यपालिकामा सधैँ बहुमतको साथ!

जनार्दन पोखरेल
फागुन २०, २०७९ शनिबार १५:२७, महोत्तरी

दोस्रो प्रयासमा महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर पदमा विजयी प्रह्लादकुमार क्षेत्री यतिबेला आफ्नो १० महिने कार्यकाल गुजारिरहेका छन्। 

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयर उम्मेदवार बन्दा क्षेत्री माओवादी केन्द्रबाट उम्मेदवार बनेका विदुर कार्कीसँग हारेका थिए। उनै क्षेत्री ३० वैशाख ०७९ मा भएको स्थानीय तहको दोस्रो निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेर बर्दिबास नगरपालिकाको मेयर पदमा विजयी भए।

अघिल्लो निर्वाचनमा माओवादी उम्मेदवारसँग पराजित क्षेत्रीले दोस्रो निर्वाचनमा माओवादीकै उम्मेदवारलाई हराएका हुन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तथा महोत्तरी जिल्ला इन्चार्ज राजु खड्कालाई भारी मतान्तरले हराउँदै क्षेत्री बर्दिबासको मेयर बन्न सफल भएका हुन्। 

दोस्रो निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि क्षेत्री स्वतन्त्र उम्मेदवार बनेका हुन्। आफू मात्र होइन, निर्वाचनमा उनले मेयरदेखि वडा सदस्यसम्म नै आफ्नो प्यानल खडा गरे। उनी नेतृत्वको स्वतन्त्र समूहबाट मेयर र उपमेयरसहित चारजना वडाध्यक्ष र तीनजना वडा सदस्य पनि विजयी बने।

क्षेत्री र उनको समूहलाई निर्वाचनमा विजयी गराउन कांग्रेस र एमालेका स्थानीय नेता/कार्यकर्ता खुलेरै लागेका थिए। 

यतिबेला उनको समूहबाट बर्दिबास नगरपालिकाको कार्यपालिकामा नौजनाको प्रतिनिधित्व छ। २५ सदस्यीय कार्यपालिकामा बहुमतको लागि १३ सदस्य आवश्यक पर्छ। यसरी हेर्दा उनलाई कुनै विषयमा कार्यपालिकाको बहुमतबाट निर्णय गर्नुपर्दा चार मत पुग्दैन। 

कुनै विषयमा मत विभाजनका आधारमा निर्णय गर्नुपर्ने अवस्था आयो भने त्यो चार मत उनी कसरी पूर्ति गलान्? 

नेपालखबरको जिज्ञासामा क्षेत्रीले भने, ‘यो १० महिनाको अवधिमा बर्दिबास नगरपालिकामा बहुमत र अल्पमतका आधारमा निर्णय गर्नुपर्ने अवस्था आएकै छैन। हामीले सबै निर्णय अहिलेसम्म सर्वसम्मत रुपमा गर्दै आएका छौँ।’ 

दस महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका, जनकपुर, धरान र धनगढी उपमहानगरपालिका, बर्दिबास नगरपालिकालगायत देशका केही स्थानीय तहको प्रमुख पदमा ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवार विजयी भएको विषयले निकै चर्चा पाएको थियो। 

ठूला दलका प्रभावशाली नेताहरुलाई हराउँदै स्वतन्त्रबाट मेयरमा विजयी काठमाडौंका बालेन साह र धरानका हर्क साम्पाङ आफ्ना काम र अभिव्यक्तिका कारण बेलाबेला विवाद र चर्चामा आइरहन्छन्। 

स्वतन्त्रबाटै जनकपुर उपमहानगरपालिकाको मेयरमा विजयी हुने मनोज साह र बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्रीको चर्चा भने बालेन र साम्पाङको जस्तो छैन। त्यसको प्रमुख कारण हो- उनीहरुको दलगत निकटता। साह र क्षेत्री दुवै पुराना कांग्रेस नेता हुन्। पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनीहरु नगरप्रमुख पदमा विजयी भएका हुन्। 

‘स्वतन्त्र’ आवरणमा चुनाव जिते पनि उनीहरुको खास ‘लिगेसी’ अहिले पनि कांग्रेससँगै छ।

मेयरमा विजयी हुनासाथ जनकपुरका मेयर साहले आफू कांग्रेसमै रहेको घोषणै गरे। तर बर्दिबासका मेयर क्षेत्रीले अहिलेसम्म आफूलाई ‘स्वतन्त्र’ नै देखाउने प्रयास गरिरहेका छन्। बेलाबेला उनी अन्य दलका प्रवेश गर्न खोजेको विषयले पनि चर्चा पाउँछ।

गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यो विषयले निकै चर्चासमेत पाएको थियो। त्यतिबेला उनले स्वतन्त्र उम्मेदवार बन्दा पार्टीले गरेको कारबाही फुकुवाका लागि स्थानीयदेखि केन्द्रसम्मका कांग्रेस नेता गुहारे। तर उनीविरुद्धको कारबाही कांग्रेसले अहिलेसम्म फुकुवा गरेको छैन। 

फेरि पनि उनको आन्तरिक निकटता भने कांग्रेससँगै छ। यो तथ्य उनी आफैँ पनि स्वीकार्छन्। 

‘कांग्रेससँग मेरो पुरानो लिगेसी अझै बाँकी छ’, नेपालखबरसँग उनले भने, ‘कार्यपालिकामा बहुमत/अल्पमतका आधारमा निर्णय गर्नुपर्ने अवस्था आउँदा लिगेसीले पनि काम गर्दोरहेछ। त्यो अवस्थामा कांग्रेसका जनप्रतिनिधिले मलाई नै साथ दिन्छन्।’

बर्दिबास नगरपालिकाका १४ मध्ये स्थानीय तह निर्वाचनमा क्षेत्री नेतृत्वको स्वतन्त्र समूहले ४, माओवादी केन्द्रले ४, एमालेले ३, कांग्रेसले २ र लोसपाले एउटा वडा जितेको थियो। 

२४ सदस्यीय कार्यपालिकामा हाल मनोनीतसमेत क्षेत्री समूहबाट नौ जना छन् भने एमाले र माओवादीबाट पाँच/पाँच, कांग्रेसबाट चार, लोसपाबाट एक सदस्य छन्।

सुरुदेखि नै माओवादीबाहेक अरु पार्टीबाट निर्वाचित हुने कार्यपालिकाका सबै सदस्यले क्षेत्रीले गर्ने निर्णयलाई हुबहु साथ दिइरहेका छन्। 

माओवादीबाहेक अरु पार्टीबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यले बैठकमा मेयर क्षेत्रीसँग तर्क/बितर्क नै गर्दैनन्। क्षेत्रीले बैठकमा प्रस्तुत गरेका सबै एजेन्डा फटाफट पास गरिदिन्छन्।

अघिल्लो कार्यकालमा अत्यधिक बहुमतसहित बर्दिबास नगरपालिकाको नेतृत्व गरेको माओवादी केन्द्र यसपटक पाँच सदस्यमा खुम्चिएका कारण बर्दिबास नगरको कार्यपालिकामा ऊ निर्णायक भूमिकामा छैन।

एमाले, कांग्रेस र लोसपाबाट निर्वाचित सबै कार्यपालिका सदस्यले पहिलो बैठकदेखि नै मेयरले अघि सारेका एजेन्डालाई प्रश्न र तर्कबिनै नै पास गर्दै आए पनि आफूहरुले त्यो नगरेको दाबी माओवादी निकट एक कार्यपालिका सदस्यले गरे।

‘नगरसभामा माओवादीका पाँच जना कार्यपालिका सदस्यसहित २५ जना निर्वाचित सदस्य छन्। नगरसभामा सबैभन्दा धेरै सदस्य माओवादीकै छन्’, उनले भने, ‘त्यति हुँदा पनि कार्यपालिका र नगरसभामा मेयरकै पक्षमा बहुमत पुग्दै आएको छ। हामीले सुरुदेखि नै कतिपय चित्त नबुझेका विषयमा फरकमत राख्दै आएका छौँ। कांग्रेस, एमाले र लोसपाबाट निर्वाचित जनप्रतिनिधिले मेयरसँग ‘त्वम् शरणम्’ गर्दै आएका कारण उनलाई जुनसुकै विषयमा निर्णय गर्न सहज भएको छ।’

पहिलो बैठकदेखि नै माओवादीको असहमति
बर्दिबास नगरपालिकामा निर्वाचनकै बेलादेखि माओवादीविरुद्ध सबै दलले स्वतन्त्र उम्मेदवारसँग मोर्चाबन्दी गरेका थिए। एमाले, कांग्रेस र मधेशवादी दलहरुले गरेको मोर्चाबन्दीकै कारण माओवादी निर्वाचनमा पराजित बन्यो।

निर्वाचनपछि बसेको पहिलो नगरसभाको माइन्युटमै माओवादीका जनप्रतिनिधिले फरक मत राखेका थिए। आफूले भनेजसरी बजेट विनियोजन नभएपछि पहिलो नगरसभाको निर्णयमै माओवादीका जनप्रतिनिधिले सहि गरेनन्।

क्षेत्री नगरको नेतृत्वमा आएपछि सुरुमै उनले कार्यपालिकाको बैठक सञ्चालन प्रक्रिया नै परिवर्तन गरे। त्यसप्रति माओवादीका जनप्रतिनिधिले सुरुमै तीव्र असहमति जनाएका थिए। 

माओवादीबाट निर्वाचित एक कार्यपालिका सदस्यका अनुसार कार्यपालिकाको बैठक बस्दा मेयर क्षेत्रीले बैठक सञ्चालनको प्रचलित मान्यताविपरीत गर्न खोजे। माइन्युटको सुरुमै ‘नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीको अध्यक्षतामा बैठक बसी तपसिलका निर्णयहरु पारित गरियो’ भनेर लेख्न थालेपछि माओवादीबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाएका थिए। 

बैठक बसेको बेहोरामै ‘बैठक बसी तपसिलका निर्णयहरु पारित गरियो’ भनेर लेख्ने, त्यो भन्दा तल उपस्थिति र निर्णय लेखेर प्रशासकीय प्रमुखले प्रमाणीकरण गर्ने तरिका सुरुको बैठकदेखि नै मेयर क्षेत्रीले अपनाए। 

‘कार्यपालिकामा आफ्नो बहुमत नहुँदा क्षेत्रीले फरक तरिकाबाट बैठक चलाउन खोजे। तर, त्यसप्रति हामीले सुरुदेखि नै असहमति जनायौँ’, माओवादीका एक वडाध्यक्षले भने, ‘बैठकको सुरुमा बैठक बसेको बेहोरा, त्यो भन्दा तल उपस्थिति, त्यसपछि बैठकका एजेन्डा र त्यसपछि मात्रै निर्णय लेख्नुपर्छ भन्ने अडान हामीले लियौँ। केन्द्रदेखि गाउँ तहका सबै सरकार, जुनसुकै संघसंस्थामा पनि यस्तै अभ्यास छ भनेर सम्झायौँ। निर्णयमा असहमत हुनेले फरक मत राख्न पाउने व्यवस्था गर्न पनि माग गर्‍यौँ। हाम्रै असहमतिपछि अहिले बैठकको माइन्युट लेख्ने तरिका भने परिवर्तन भएको छ।’ 

माओवादीकै असहमतिले बैठकको माइन्युट लेख्ने तरिका परिवर्तन भए पनि कार्यपालिकामा आफू अनुकूलका निर्णय गर्न सक्ने हैसियतमा भने माओवादी केन्द्र अहिले छैन। 

कांग्रेस, एमालेलगायत ठूला भनिएका दलका जनप्रतिनिधि नै मेयरको अनुकूलतामा चल्दा अहिलेसम्म नगरपालिकाले दूरगामी महत्त्व राख्ने कुनै पनि कामको योजना बनाउन नसकेको तर्क माओवादीबाट निर्वाचित एक कार्यपालिका सदस्यले गरे।

तर, एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले मेयरलाई काम गर्न सहज होस् भनेर मात्रै आफूहरुले अहिलेसम्म मेयरका निर्णयमा साथ दिइरहेको दाबी गरे। 

‘स्थानीय सरकार सञ्चालन गर्दा पक्ष विपक्ष गर्न थालियो भने विकास निर्माणका कामले गति लिँदैन’, उनले भने, ‘त्यसैले कतिपय विषयमा चित्त नबुझे पनि हामीले अहिलेसम्म मेयरले अघि सारेका एजेन्डामा असहमति जनाएका छैनौँ।’

नगरप्रमुख भएपछि क्षेत्रीले के गरे? 
बर्दिबासको नगर प्रमुख भएपछि आफूले बर्दिबासका बाटोघाटो, शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको उनको दाबी छ। 

‘यस अवधिमा एक दर्जनजति सडक पिच र ढलान भइसकेको छ। अझै धेरै सडक ढलान र पीचको प्रक्रियामा छन्’, उनले भने, ‘बर्दिबासको सरकारी अस्पताल कुनै पनि सेवा सुविधा बिनाको गोदाम घरजस्तो थियो। अहिले त्यसलाई हामीले अप्रेसन सेवासहितको सुविधा सम्पन्न बनाएका छौँ। चारजना विशेषज्ञ डाक्टरले अहिले त्यहाँ दैनिक सेवा दिइरहेका छन्।’

बर्दिबास बजारनजिकै रहेको रातु खोला किनारमा रामजानकी फनपार्क निर्माण गर्ने योजना नगरले अघि सारेको छ। ३० बिघा भन्दा धेरै क्षेत्रफलमा निर्माण हुने त्यो फनपार्क निर्माणमा झण्डै एक अर्ब खर्च हुने अनुमान गरिएको छ। 

फनपार्कमा जनयुद्ध संग्रहालयसमेत रहनेगरी त्यसको डीपीआर तयार हुँदै छ। 

‘फनपार्क निर्माणको लागि मधेश प्रदेश सरकारले दुई करोड रुपैयाँ निकासा गरिसकेको छ’, मेयर क्षेत्रीले भने, ‘हामीले फनपार्क निर्माणको कामलाई नगरको गौरवको योजनामा समेटेका छौँ। प्रदेश र केन्द्र सरकारको लगानीमा त्यसको काम पूरा हुने छ।’

उनले नगरपालिकाले गर्न खोजेका कतिपय कामका योजनामा मुख्य राजनीतिक पार्टीका स्थानीय नेताहरुबाट साथ नपाएको गुनासो गरे।

‘कतिपय विकास निर्माणका कामका योजना लिएर प्रदेश र केन्द्रमा डेलिगेशन जानुपर्ने अवस्था आउँदा मेजर पार्टीका नेताहरुले साथ दिनुहुन्न’, उनले भने, ‘केही दिनअघि बर्दिबास मेडिकल कलेजको विषय लिएर काठमाडौँ डेलिगेसन जाँदा पनि त्यस्तै भयो।’ 

आफूले मुख्य राजनीतिक दलहरुसँग सहमति र सहकार्यमै नगरको कामलाई अघि बढाउने प्रयास गरिरहेको दाबी उनले गरे। ‘यहाँका मुख्य राजनीतिक दलहरुसँगको समन्वयमा काम गर्न अब नगरस्तरीय राजनीतिक संयन्त्र गठन गरौँ कि भन्ने लागेको छ’, क्षेत्रीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .