ad ad

मधेस


जनकपुरको ‘धराशायी’ क्याम्पसको साख स्ववियु निर्वाचनले फर्काउला?

जनकपुरको ‘धराशायी’ क्याम्पसको साख स्ववियु निर्वाचनले फर्काउला?

जयन्त ठाकुर
चैत १, २०७९ बुधबार १६:१५, जनकपुरधाम

कुनै समयमा जनकपुरधामस्थित रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस पूर्वी तराईको शैक्षिक हबका रुपमा स्थापित थियो। यस क्याम्पसमा धनुषा र महोत्तरीका मात्र नभई सर्लाही, सिन्धुली, रौतहट, रामेछाप, सिरहा, सप्तरी ओखलढुंगा लगायतका जिल्लाका विद्यार्थीहरू अध्ययन गर्नका लागि आउने गर्थे।

जनकपुरधामको यो क्याम्पस देशकै जेठो क्याम्पसहरु मध्येको एक क्याम्पस हो। तर ७ दशक लामो इतिहास बोकेको यो क्याम्पस सरकारको गलत नीति तथा क्याम्पसकै प्राध्यापक, कर्मचारी, विद्यार्थीलगायत सरोकारवाला पक्षको लापरवाहीका कारण धराशायी हुँदै गइरहेको छ।

मुलककै चर्चित डाक्टर, इन्जिनियर उत्पादन गर्नुका साथै उच्च प्रशासक तथा राजनीतिज्ञ जन्माउने राराव क्याम्पसको यो हविगत देखेर यतिबेला स्थानीय शिक्षाप्रेमी दुःखी छन्।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, पूर्वमन्त्री महेन्द्र यादव, रामकृष्ण यादव, युवराज खाती, प्रदेशसभा सदस्य रामसरोज यादव लगायतका नेताहरू राराब क्याम्पसकै उत्पादन हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त यस क्याम्पसमा प्राध्यापकको रुपमासमेत काम गरे। यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्।

प्राध्यापकहरूको समर्पण, मिहिनेत र पढाइप्रति विद्यार्थीहरूको लगनशीलताले चर्चित राराब क्याम्पसको अहिले साख गुम्दै गइरहेको छ। सरकारको गलत नीतिकै कारण देशैभर नाम कमाएको ‘क’ श्रेणीको क्याम्पस अहिले ‘ग’ श्रेणीमा झरिसकेको प्राध्यापकहरुको गुनासो छ। 

यद्यपी क्याम्पस प्रमुख प्रदीपकुमार साह भने राराब क्याम्पसको साख गुमेको स्वीकार गर्दैनन्। त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसहरुको अवस्था खस्किएको उनी बताउँछन्। सरकारले शिक्षालाई निजीकरण गर्ने निर्णय आफ्नै खुट्टामा बञ्चरो हाने सरह साबित भएको साहले बताए। 

‘सरकारले ल्याएको नयाँ शिक्षा नीतिले क्याम्पसको साख गुम्दै गइरहेको छ’, क्याम्पस प्रमुख साहले भने, ‘क्याम्पसको अवस्था धराशायी हुनुमा विभिन्न कारणहरु छन्, जसको प्रमुख कारण सरकार नै हो।’ 

उनका अनुसार टियु (त्रिभुवन विश्वविद्यालय) बाट प्रविणता प्रमाण पत्र तह हटाइनुले पनि टियुका सम्पूर्ण क्याम्पसहरुको हविगत यस्तै रहेको छ। राराब क्याम्पस सहित अन्य आंगिक क्याम्पसहरुको दुरावस्थामा सरकार र त्रिभुवन विश्वविद्यालय नै प्रमुख दोषी रहेको क्याम्पस प्रमुख प्रदीपले आरोप लगाए। 

‘त्रिविले पढाउने संकायहरुको इजाजत आंगिक क्याम्पस बाहेक अन्य निजी कलेज/क्याम्पसहरुलाई समेत दिएकाले विद्यार्थीहरुको संख्यामा कमी आएको छ’ उनले भने, ‘निजी क्याम्पसमै राम्रो पढाई हुन्छ भन्ने सोचका साथ विद्यार्थीहरुको संख्या आंगिक क्याम्पसहरुमा घट्दै गइरहेको छ।’

प्राध्यापकहरु सरकारी नीतिलाई दोषी ठहराई रहँदा पूर्वप्राध्यापाक नवेन्द्र निधि भने प्राध्यापकहरुकै रबैयाका कारण यस्तो हविगत आएको बताउँछन्। 

‘राराबका स्थायी प्राध्यापकहरूले आफ्नै निजी क्याम्पस सञ्चालन गरेका छन्, कागजी रुपमा नदेखिए पनि लगानी गरेका छन्,’ निधिले भने, ‘आफ्नै लगानी भएपछि मोह पलाउनु स्वभाविकै हो। तर यस्तै मोहका कारण राराबको साख खस्किँदैछ।’

प्राध्यापकहरूले निजी कलेजमा पढाउनुपूर्व त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ। क्याम्पसमा कक्षा रहेको समयमा प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाउन पाउँदैनन्। र, सोही अनुसार उनीहरूले त्रिविबाट स्वीकृति पनि लिएका छन्। तर कार्यान्वयन भने हुन सकेको छैन। राराबमा कक्षा लिनुपर्ने समयमा कतिपय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाइरहेका हुन्छन्। यसबारे राराबका प्रमुख पनि अनभिज्ञ भने छैनन्।

तर क्याम्पस प्रमुख प्रदीप ती प्राध्यापकहरुको बचाउ गर्दै भन्छन्, ‘त्रिविले नै उनीहरुलाई पढाउन इजाजत दिएको छ, इजाजत लिएर नै उनीहरु निजी क्याम्पसहरुमा पढाइरहेका छन्।’

यता विद्यार्थीहरू कक्षा लिन नआउँदा पढाइको गुणस्तर खस्केको कतिपय प्राध्यापक तथा विद्यार्थीहरूको गुनासो छ। लगभग ७ हजार विद्यार्थी अध्ययनरत रहेको राराव क्याम्पसको पूरानो गरिमा फर्काउनका लागि प्राध्यापकहरुदेखि विद्यार्थीहरुले समेत यो जिम्मेवारी आफ्नो काँधमा लिनुपर्ने स्नातक तहमा अध्ययनरत अनु साहले बताइन्।

स्ववियु निर्वाचनले क्याम्पसमा बढाएको चहल पहल
राराब क्याम्पसमा कुनै समय १५ हजार बढी विद्यार्थीहरु अध्ययनरत हुन्थे। तर अहिले त्यो संख्या ७ हजारमा झरेको छ। ७ हजार विद्यार्थीहरुमध्ये मुश्किलले २ हजार विद्यार्थी मात्रै दैनिक कक्षा लिन पुग्छन्। अन्य दिनमा खाली खाली हुने सो क्याम्पसमा अहिले स्ववियु निर्वाचनले चहल पहल बढाएको छ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले गर्दा राराब क्याम्पसमा विद्यार्थीहरुको आवागमन बढ्न थालेको छ। डेढ दशकअघिसम्म जनशक्ति उत्पादनमा नेपालकै प्रमुख क्याम्पसको रुपमा चर्चा बटुलेको राराब क्याम्पस पछिल्लो समय पढाई भन्दा पनि परीक्षा दिएर डिग्री लिने थलोको रुपमा परिचित छ।

तर दुई/तीन वर्षदेखि प्राविधिक शिक्षा अवलम्बन गर्न थालेपछि भने विद्यार्थीको संख्या वृद्धि भएको छ। प्राविधिक शिक्षाले विद्यार्थीको संख्यामा ह्वात्तै बढेपनि प्राविधिक शिक्षा बाहेकका संकायमा विद्यार्थी मुश्किलले आउने गरेका छन्। 

अहिले क्याम्पस भरिभराउ हुनुको कारण कक्षा होइन, स्ववियु निर्वाचन नै हो। विद्यार्थीहरु कक्षा कोठा छोडेर क्याम्पस परिसरमा चुनावी तयारीमा नै व्यस्त देखिन्छन्। क्याम्पस परिसरमा समूह समूहमा जम्मा भएका विद्यार्थीलाई स्ववियु उम्मेदवार बनेका विद्यार्थी नेताहरु आ–आफ्नो पक्षमा मत माग्दै फकाउँदै गरेको दृश्य देख्न पाइन्छ।

स्ववियुको नेतृत्व लिन आतुर विद्यार्थी नेताहरु डेढ दशकसम्म क्याम्पस स्ववियुविहीन बनेकाले प्रशासनले गर्दै आएको मनोमानीका कारण क्याम्पसको अवस्था दयनीय भएको आरोप लगाउँछन्। स्ववियु सभापतिमा उम्मेदवारी दिएका नेविसंघका मनिष कुमार यादव र जनमत विद्यार्थी संघका मो. ईजाज मोमिनले क्याम्पस प्रशासनको मनपर्दीले क्याम्पसहरुको अवस्था दयनीय भएको बताए।

स्ववियु निर्वाचनमा सभापतिका दलीय उम्मेदवारहरु स्ववियु निर्वाचनपछि क्याम्पसको दुरावस्थामा सुधार ल्याउन पहल गर्नुलाई आफ्नो चुनावी एजेण्डा नै बनाएका छन्। लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त कुमार झाले स्ववियुले नेतृत्व पाएपछि राराब क्याम्पसको शैक्षिक गतिविधिमा सुधार आउने दाबी गरे।

जनकपुरधामका समाजसेवी रामस्वरुप साह र रामसागर साहले ६९ विघा जग्गा दान गरेर स्थापना गरिदिएको सो क्याम्पसले जनकपुरधाम र धनुषालाई मात्र नभई नेपालकै दजर्नौं जिल्लालाई कुनै समयमा शिक्षित बनाउँदै आएको थियो। तर अहिले संरक्षणको अभावमा क्याम्पस नै धाराशायी हुने अवस्थामा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .