पछिल्लो समय सर्लाहीका किसानलाई घोडगधाले दुःख दिन थालेका छन्। निलगाई पनि भनिने घोडगधाले बालिनाली खाइदिँदा किसान हैरान छन्।
विशेषगरी जंगल आसपासका खेतबारीमा आएर घोडगधाले बालिनाली खाने गरेको किसानहरुले बताएका छन्।
बर्खामा धान, मकै, उखु, कोदो, परवललगायत बालिनाली खाएर हैरान बनाएको घोडगधाले अहिले गहुँ, मसुरो, चना, लहरी, टमाटरजस्ता बालि खाएर दुःख दिने गरेको किसानहरु बताउँछन्।
सर्लाहीमा मात्र नभएर घोडगधाको आतंक महोत्तरी, रौतहटलगायत तराई-मधेशका अरु जिल्लामा पनि छ।
गाईगोरुजस्तै ठूलो प्रजातिको र तीव्र गतिमा दौडिन सक्ने पशु भएकाले घोडगधाले एकैपटकमा धेरै बालिनालीमा क्षति पुर्याउने गरेको छ।
सर्लाहीका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, महोत्तरीका बर्दिबास, गौशाला, रौतहटको चन्द्रपुरलगायतका जंगलमा बाक्लो संख्यामा घोडगधा बस्ने गरेका छन्।
सुक्खा मौसमका कारण वन जंगलमा यतिबेला पिउने पानी र घाँसपात पनि कम छ। त्यसले पनि गाउँबस्तीमा प्रवेश गरेर घोडगधाले किसानको बालीनाली खान थालेका हुन्।
यतिबेला जंगल क्षेत्रमा डढेलो लागेकाले पनि घोडगधाले गाउँ आसपासका क्षेत्रलाई आफ्नो बासस्थान बनाउन थालेका छन्।
सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागबानी केन्द्रको बगैँचा र जंगल क्षेत्रलाई घोडगधाले लामो समयदेखि आफ्नो बासस्थान बनाइरहेको छ।
जंगलबाट घोडगधा प्रवेश नगरोस् भनेर बागबानी केन्द्रको बगैँचालाई यस वर्षबाट तारबारसहित पक्की पर्खालले घेरिएको छ। तर पनि फलफूलको बगैँचामा घोडगधाको आतंक भने नरोकिएको केन्द्रका प्रमुख रामकुमार यादवले बताए।
‘गत वर्षसम्म यो बागबानी घोडगधाको मुख्य बासस्थान जस्तै थियो’, यादवले भने, ‘घोडगधा, बँदेललगायतका जंगली जनावरले बोटविरुवा, फलफूल खाएर दुःख दिन थालेपछि हामीले यस वर्ष चारैतिर पर्खाल लगाएका छौँ, तर अझै घोडगधाको आतंक पूरै निर्मूल भइसकेको छैन।’
एक सय ८५ दशमलव ५ हेक्टर (करिब ३ सय बिघा) क्षेत्रफलमा फैलिएको बागबानी केन्द्रमा अहिले पनि सयौँको संख्यामा घोडगधा देख्न सकिन्छ।
चारैतिर अग्लो पर्खाल लगाएपछि बाहिरबाट केन्द्रमा घोडगधा प्रवेश गर्ने क्रम रोकिए पनि विगतदेखि भित्रै बस्ने गरेका घोडगधाको आतंक भने अहिले पनि उस्तै रहेको यादवले बताए।
‘पक्की पर्खाल लगाउने क्रममा हामीले धेरैजसो घोडगधालाई नजिकैको जंगलतिर लखेट्यौँ’, यादवले भने, ‘केन्द्रभित्र जंगल र झाडी क्षेत्र पनि धेरै छ। त्यहाँ लुकेर बसेका घोडगधाले अहिले पनि उस्तै गरी दुःख दिने गरेका छन्।’
भित्र रहेका घोडगधालाई धेरैपटक गेट खोलेर बाहिर लखेट्ने प्रयास गरे पनि सम्भव नभएको उनले बताए।
आँप र लिचीका कलमी, केरासहितका फलफूलका बोट र फल खाएर घोडगधाले अहिले पनि हैरान बनाइरहेको यादवको भनाइ छ।
घोडगधा एक वर्षमै दुईपटक ब्याउने गरेकाले पनि यसको संख्या द्रूत गतिमा वृद्धि हुँदै गएको यादवले बताए।
८/१० वर्षअघिसम्म सर्लाही, रौतहटलगायत जिल्लामा घोडगधा थिएनन्। अहिले यी घोडगधा कहाँबाट यता आए र किन यसरी तीव्र गतिमा फैलिए छुट्टै अनुसन्धानको विषय भएको यादव बताउँछन्।
प्रतिक्रिया