प्रतिपक्षी दलहरूको अवरोधले मधेस प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को प्रस्तुत बजेटमा छलफलका लागि बोलाइएको बैठक सुरु हुनसाथ प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र राप्रपाले एकसाथ बजेट सच्याउनुपर्ने माग राख्दै अवरोध गरेपछि सभामुख रामआशिष यादवले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।
बिहीबार पौने ३ बजे सुरु भएको सदनमा प्रतिपक्षी दलका सांसदहरूको अवरोधले १५ मिनेट पनि बैठक चलेन।
बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसद संजय यादव र जसपा नेपालका सांसद उपेन्द्र महतोले बजेट सच्याउनु पर्ने र यसै साता प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले एउटै जिल्ला रौतहटका लागि विभिन्न मितिमा गरेको एक अर्ब ६५ करोडको गरेको टेण्डर रद्द गर्नुपर्ने माग राख्दै बैठक अवरूद्ध गरेका थिए।
उनका अनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादव र भौतिक पुर्वाधार विकास मन्त्री मोहम्मद समीरको गृह जिल्ला रौतहटका लागिका २०८३ असार १५ गते रौतहट पूर्वाधार विकास कार्यालयले ३० करोड ८ लाखको पाँचवटा योजनाको लागि टेण्डर आह्वान गरेको हो।
सांसद महतोका अनुसार असार १७ गते १ अर्ब ३५ करोड बराबरको १० वटा कार्यक्रमको टेण्डर गरेको छ, जुन रेडबुकमा कतै थिएन। यो सरकारले प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको उनले आरोप लगाए।
जनमत पार्टीका सांसद यादवले टुक्रे योजना निरुत्साहित गर्ने भन्ने यो सरकारले टुक्रे योजना भद्रगोल अवस्थामा ल्याएर असक्षमताको प्रमाण दिएको बताए। यसले जनतामा वितृष्णा उत्पन्न गरेको उनको आरोप छ।
Shares

प्रतिक्रिया