म्यागेजिन


भोजपुर र काठमाडौँमा पढेका डा. मृगेन्द्रः इन्सपेक्टर नभएपछि प्राज्ञिक कर्ममा

भोजपुर र काठमाडौँमा पढेका डा. मृगेन्द्रः इन्सपेक्टर नभएपछि प्राज्ञिक कर्ममा

मीना खड्का
जेठ २१ , काठमाडौँ

उनका हजुरबुबा राणा कालमा सेनाको कप्तान थिए। काठमाडौँको न्यूरोडस्थित वायुसेवा निगमको केन्द्रीय कार्यालयपछाडि हजुरबुबाको घर थियो। तर, देव शमशेर सत्ताच्यूत भएपछि उनको हजुरबुबामाथि संकट आइपर्यो। 

पूर्वी पहाडतिर भागेका देव शमशेरलाई हजुरबुबाले भोजपुरको आफ्नो घरमा ३५ दिनसम्म लुकाएर राखेका थिए। त्यसपछि डोली चढाई अरुण नदी तारेर धनकुटा पठाएका थिए। 

यही इबीका कारण राणाहरुले उनका हजुरबुबालाई भोजपुरको जेलमा थुन्न लगाए। हजुरबुबाले जेलमै आफूले लगाएको हिराको औँठी निलेर आत्महत्या गरे। 

त्यसपछि उनकी हजुरआमाले काठमाडौँको घर बेचिन् र आफ्ना बालबच्चा लिएर भोजपुर गइन्। उनका बुबाहरु भोजपुरमै हुर्किए।

काठमाडौँमा जन्मेका डा.​ मृगेन्द्रबहादुर कार्कीको पनि बाल्यकाल भोजपुरमै बित्यो। उनका बुबाले दार्जिलिङ र काशीमा पढेर आएका थिए। मृगेन्द्रले कखरा र एबीसीडी घरमै सिके। त्यसपछि बुबा र ठूलोबुबाले घरछेउमै खोलेको गाँउकै फलिपञ्चे देउराली प्राविमा भर्ना भए। 

त्यसबेला पनि त्यो स्कुलमा राम्रो भवन, मिलेका डेस्कबेन्च, कक्षाकोठा र गतिला शिक्षक थिए। गाउँमा गरिबी थियो, उनका सहपाठीहरुले धुलौटोमा काठको छेस्कोले कोरेर अक्षर सिकेका थिए। कापीकलम पाइहाले साथीहरु लोभले साँचेर राख्थे। किनभने ती सजिलै पाइँदैनथे। 

तर, उनलाई यस्तो समस्या थिएन। प्रशस्त कापी, कलम थिए। त्यसैले उनी आफूलाई भाग्यमानी ठान्ने गर्छन्।

घरमा पनि लेख्नलाई कालोपाटी थियो। त्यसैमा चकले लेख्दै मेट्दै गरेर उनले धेरै कुरा सिकेका थिए। 

डाँडामा थियो उनको घर, तल खोला। माछा मार्न खोलामा जान मन लाग्ने। 

बुबाआमा सम्झाउँथे, ‘जतिबेला पायो त्यतिबेला खोलामा नजानू। बाढी आउँछ।’

तर, मृगेन्द्र अटेरी थिए। भोटे सार्की उनको मिल्ने साथी। जोसँग मिलेर उनी बा आमाको आँखा छल्दै खोलामा पुगिहाल्थे।

एकदिन बुबाले हात पछाडि बाँधिदिएर कुटेको उनी अझै सम्झिरहन्छन्।

‘पहाडतिर कस्तो भने तलतिर घाम लागे पनि माथितिर पानी परेको हुन्थ्यो। पत्तै नहुनेगरी मान्छे नै बगाउने खोला आउँथ्यो,’ मृगेन्द्र भन्छन्, ‘त्यसैले पनि बुबाआमा बेलाबेला सचेत गराइरहनुहुन्थ्यो।’

प्रत्येक बुधबार घरदेखि ४५ मिनेट टाढा हाट लाग्थ्यो। उनी सानै हुनाले लामो बाटो हिँड्न सक्दैनथे। बुबा हाटबाट फर्किंदा १० मिनेट परसम्म बुबालाई लिन जान्थे।

एकदिन त्यसैगरी बुबालाई लिन गए। बुबाले बाहुनडाँडा भट्टराईको पसलबाट उनलाई एउटा चिनियाँ कलम किनिदिए। उनलाई के के न पाएँ भन्ने भयो। कलम साथीहरुलाई देखाउन निस्किए। तर, फर्किंदा कलम उनीसँग थिएन। हराइसकेको थियो। 

कक्षा ४ देखि भने उनी ५० मिनेट हिँडेर शारदा मावि जान थालेका थिए।  

त्यतिबेला गाउँमा छोरीहरुलाई पढाउने चलन थिएन। तर उनका दिदीहरुले घरबाट धाउन मिलुन्जेल स्कुल गएर पढे। त्यसपछि पढाइ छुट्यो। उनका बुबाले छोराहरुलाई भने खेत बेचेर काठमाडौँमा डेरामा राखेर पढाए।

कक्षा ८ पछि उनी काठमाडौँ आए र विजय मेमोरीयल स्कुलमा भर्ना भए।

निकै सुखसुविधा भएर पनि बाल्यकालमा आफूले पढाइमा प्रगति नगरेको उनको भनाइ छ।

‘विद्यालय जीवनमा म त्यति राम्रो विद्यार्थी थिइनँ। तर कक्षाहरु बढ्दै जाँदा पढाइमा पनि ध्यान गयो। पढ्नुपर्छ भन्ने चेतनाको विकास भयो,’ उनी भन्छन्। 

‘धेरै काँचो माटोमा छाप लायो भने त्यो बस्दैन। धेरै सुकेपछि पनि बस्दैन। ठिक्कको भयो भने बस्छ। तिमीहरुको उमेर र दिमाग अहिले ठिक्क छ। योबेला जतिसक्दो धेरै पढ्नुपर्छ। राम्रो सिक्नुपर्छ,’ बुबाले उनलाई पढ्न हौसला दिन्थे।

पढाइमा राजनीतिको अवरोध
उनको परिवार पहिले आर्थिक रुपले निकै सक्षम थियो। तर, मोरङको कयौँ बिघा खेत ठूलोबुबाले जुवामा हारेपछि परिवारलाई झड्का लाग्यो। 

‘केही समयअघि आर्थिक रुपमा सक्षम परिवार त्यो बेला कमजोर भएको थियो। मोरङको सयौँ बिघा जमिन ठूलोबुबाले जुवा खेलेर सकेका थिए,’ उनी भन्छन्, ‘तर बुबाले हामीमाथि गरिरहेको लगानी र बढाइरहेको हौसलाको कारणले पढ्नुपर्छ भन्ने मानसिकता बढेको थियो।’

एसएलसीपछि साइन्स पढ्ने चाहनाले उनी अमृत साइन्स कलेज भर्ना भए। 

पञ्चायतकालीन अवस्था। उनका जेठा दाजु ज्ञानेन्द्र कार्की त्यतिबेला विद्यार्थी राजनीतिमा थिए। मृगेन्द्र पनि दाजुकै कदम पछ्याउन थालेका थिए।

दाइसँगै विद्यार्थी आन्दोलनमा होमिएका बेला प्रहरीले उनलाई भक्कुमार कुट्यो। केही समय हिरासतमा पनि बस्नुपर्यो। हिरासतमुक्त हुँदा उनको स्वास्थ्य कमजोर थियो। उनी पढाइ छाडेर घर गए। भोजपुरमा पानीबाट चल्ने मिलमा बसेर बुबाआमालाई सघाए। 

त्यसपछि उनले साइन्स विषय छाडे। आर्ट्सबाट आईए र बीए उत्तीर्ण गरे, मुख्य विषय राजनीतिशास्त्र राखे। तर, मास्टर्स भने त्रिवि केन्द्रीय विभागबाट समाजशास्त्रमा गरे।

लेक्चरर हुँ भन्दा झण्डै भएन विवाह
शनिबारको दिन मृगेन्द्र सुतिरहेका थिए। एकाबिहानै बुबाले उठाए र भने, ‘हिँड् केटी हेर्न जाउँ।’

‘कहाँ जाने?’ उनले निद्रामै सोधे।

बुबाले भने, ‘एअरपोर्ट।’ 

उनी केटी हेर्न एअरपोर्ट गए। केटी बुद्ध एअरमा काम गर्थिन्। पहिलो भेटमै उनले केटी मन पराए। उनले केटीको घरमा आफ्नो बिजनेस कार्ड दिए।

तुरुन्दै केटीले बिहे अस्वीकार गरिन्। कारण– उनको कार्ड थियो। कार्डमा मृगेन्द्रले आफूलाई लेक्चरर उल्लेख गरेका थिए।

उनकी भावी पत्नी विराटनगरकी थिइन्। त्यहाँ उनले लेक्चररहरु चप्पल लगाएर साइकलमा हिँडेको देखेकी थिइन्। त्यही सम्झेर उनले मृगेन्द्रसँग बिहे नगर्ने बताएकी थिइन्।

तर, पछि आफन्तले सम्झाएपछि उनी राजी भइन् र बिहे भयो।

इन्सपेक्टर बन्न नपाएपछि प्राज्ञिक कर्ममा
नेपालमा बहुदल आइसकेको थियो। एमए पढ्दापढ्दै इन्सपेक्टरको भर्ती खुल्यो। पढाइ छाडेर उनी इन्स्पेक्टरको तयारीमा लागे।

तर दुर्भाग्य, सबै परीक्षा पास गरेपछि अन्त्यमा अन्तर्वार्तामा उनी फालिए। त्यसपछि उनीसँग कुनै विकल्प बाँकी रहेन। इन्स्पेक्टरको तयारीमा लाग्दा पढाइ कमजोर बनेको थियो। एमएमा सोचेजस्तो अंक प्राप्त गर्न सकेनन्।

एमए गरेपछि उनी गैरसरकारी संस्थामा काम गर्न थाले। त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र​ (सिनास) मा पनि जोडिए। अरुण उपत्यकाको ह्युमन इकोलोजीबारे सिनास र नर्वेको बर्गन विश्वविद्यालयको संयुक्त कार्यक्रमको माध्यमबाट उनी प्राज्ञिक कर्ममा लागे।

त्यसैताका बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरसँग अनुसन्धानमा काम गर्ने मौका पाए। वास्तवमा त्यसपछि नै आफू प्राज्ञिक क्षेत्रमा प्रवेश गरेको उनको भनाइ छ।

‘गेल्नरबाट विश्वविद्यालयको औपचारिक उपाधि र पहिले प्रकाशित पुस्तकको ज्ञान नयाँ पुस्तालाई कक्षा कोठाहरुमा व्याख्यान दिनु मात्र प्राज्ञिक काम होइन रहेछ भन्ने ज्ञान पाएँ,’ उनी भन्छन्। 

गेल्नरसँग मिलेर लेखेका उनका लेख विदेशी प्रकाशन गृहका पुस्तकहरुमा समावेश छन्। जसलाई विदेशी विश्वविद्यालयको पाठ्यक्रममा राखिएको छ।

गेल्नरसँग काम गर्नुअघि सिनासमा छँदै उनले जापान भ्रमण गर्ने मौका पाए। उनलाई त्यहाँको सभ्यता र संस्कृति सिकाउने भनेर जापान लगियो। त्यतिबेला उनी ३० वर्षका थिए। 

जापानबाट फर्किसकेपछि उनले विद्यावारिधिको सोच बनाए। र, क्वानसाइ गाकोइन विश्वविद्यालयबाट विद्यावारिधि गरे।

डा. मृगेन्द्रबहादुर कार्की हाल त्रिवि अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)को कार्यकारी निर्देशक छन्। सिनासमा रहेको नेपालको मौलिक सामाजिक विज्ञान, दर्शन, सिद्धान्त र विधिशास्त्र निर्माणमा आफूले योगदान दिइरहेको उनको भनाइ छ।

उनले सिनासमा पनि शिवलिङ्ग र बुद्धको मूर्ति स्थापना गरेका छन्। 

‘युरोपको आधुनिक ज्ञान प्रणालीमा चर्चको योगदान छ,’ उनी भन्छन्, ‘नेपालमा किन यस क्षेत्रको सभ्यता र संस्कृतिसँग सिनासको अध्ययन र अनुसन्धानलाई नजोड्ने?’

उनको प्रस्तावमा एक जना साथीले प्रोत्साहन दिए। सिनासको व्यवस्थापन समितिले पनि अनुमोदन गर्यो। त्रिविका ६३ आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा यो शिवलिङ्ग नै पहिलो रहेको उनको भनाइ छ।  

‘अक्सफोर्ड युनिभर्सिटीमा चर्च र विद्यालय सँगसँगै छन्। त्यहाँ कोही विद्यार्थी पढ्छन्। कोही प्रार्थना गर्छन्। त्यहाँ त त्यसरी पढाउने व्यवस्था छ भने हाम्रो त्रिभुवन विश्वविद्यालयमा किन यसो नगर्ने? यो सोच्नुपर्ने विषय हो,’ उनी भन्छन्। 

त्यस्तै, पाँच करोड रुपैयाँको अक्षय कोष राखेर नेपालको सुरक्षा र विदेश नीतिसम्बन्धी अध्ययनमा विदेशी पैसा नलिने सिनासको नीति पनि उनले बनाएका छन्।

उनको कार्यकालमा नेपाल अध्ययन जर्नल पहिलो पटक नेपाली भाषामा प्रकाशित भएको छ। यसले नेपालको सामाजिक शास्त्रलाई मौलिक र वैज्ञानिक बनाउन सहयोग गर्ने उनको बुझाइ छ।

उनको बुबा चाहन्थे– छोरा सिनासको कार्यकारी निर्देशक बनोस्। तर, त्यो सपना बुबाको जीवनकालमा पुरा भएन। 

बुबाको मृत्यु भएको २ महिनापछि मात्रै मृगेन्द्र सिनासको कार्यकारी निर्देशक बने।

‘बुबा जीवित हुँदै म कार्यकारी निर्देशक भएको भए बुबा कत्ति खुसी हुनुहुन्थ्यो होला,’ उनी थकथकी मान्छन्, ‘शिक्षाको दृष्टिकोणले बुबा निकै सकारात्मक हुनुहुन्थ्यो। हामीलाई खेत बेचेर बुबाले पढाउनुभएको थियो। त्यसैले पनि मैले विद्यावारिधी गरेको हुँ।’

जेठ २०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad