ad ad

म्यागेजिन


खगेन्द्र संग्रौला र जमुना गुरुङको बन्दीपुरे पिरती

खगेन्द्र संग्रौला र जमुना गुरुङको बन्दीपुरे पिरती

उज्ज्वल प्रसाई
कात्तिक १३, २०७९ आइतबार ५:३९, काठमाडौँ

बन्दीपुर अस्पतालबाट सरूवा लिएर पोखरा जान ठिक्क परेकी जमुनाको सरूवा रोकियो। उनको ठाउँमा आउन लागेकी नर्सले भनसुन गरेर आफ्नो सरूवा थमौती गरिछन्। त्यसैले जमुना बन्दीपुर नै बस्नुपर्ने भयो। 

यही बिछट्टको संयोगले खगेन्द्र र जमुनाको सङ्गत बढाएको हो। पोखराको सरूवा नरोकिँदो हो त सायद खगेन्द्रको जिन्दगीले एकदमै फरक बाटो लिन्थ्यो। र, अहिले यसरी यो कथा लेखिनुपर्ने दिन नआउन पनि सक्थ्यो।

खगेन्द्र माथिल्लो कोठामा सरे। खाना भने उही एकल महिलाको होटलमा खाइरहे। होटलको खाना बढी चिल्लो र पिरो हुन्थ्यो। काठमाडौंबाट दिमागमा क्रान्तिको रङ्गीन सपनासँगै आन्द्रामा रङ्गहीन अल्सर पनि बोकेर खुदी र चुँदी हुँदै बन्दीपुर पुगेका थिए, उनी। सबै ग्राहकलाई एउटै भाँडोमा पकाइएको अतिरिक्त चिल्लो र पिरो खाना खान उनलाई सकस भइरहेको थियो। त्यसैले चिल्लो–पिरो कम भएको खाना खोज्नुपर्ने भयो। एक्लो ज्यानलाई भान्साका सारा सामान जुटाएर आफैं पकाएर खान पनि धपेडी पथ्र्यो। दिनभरि विद्यालयको पढाइ र बिहान–बेलुका ट्युसन पढाउने ध्याउन्नाले गर्दा भातभान्साको लेठो गर्नु सहज थिएन। 

त्यसैले उनै ईश्वरले आफ्नी श्रीमतीकी साथी जमुनाछेउ फेरि एउटा बिन्ती बिसाए। तल्लो तलामा आफ्ना भाइ, बहिनी र ईश्वरकी सालीसँग बसेकी जमुनालाई उनीहरुकै मेसमा ‘खगेन्द्र सरलाई खाना ख्वाए कसो होला’ भनेर सोधे। जमुनाले आनाकानी नगरी ‘हुन्छ’ भनिन्। त्यसपछि खगेन्द्र तल्लो तलामा खाना खान थाले। खगेन्द्र र जमुनाको भेटलाई गाढा सम्बन्धमा बदल्ने अर्को संयोग बन्यो, सँगै खाना खाने यस्तो परिपञ्च। 

गुरूङकी छोरी जमुना ठूलो दारकी थिइन्, खगेन्द्र भने सानो काँटीका पातला मानिस थिए। भर्याङबाट तलमाथि गर्ने क्रममा जम्काभेट हुँदा खगेन्द्र उनीसँग सङ्कोच मान्दै तर्किएर हिँड्थे। तर, भातभान्सा सँगै भएपछि भने बिस्तारै कुराकानी हुन थाल्यो।  

चार वर्षअघि बिनुसँग प्रेममा पर्दापर्दै उनी पिठ्यूँमा माओलाई बोकेर गाउँतिर हिँडेका थिए। त्यसअघि विद्यालयकालमा एउटीलाई परपरै मन पराएका थिए। त्यो भावुक प्रेमको पातलो बाफ थियो, यसै हावामा बिलायो। भावुक, कल्पनाशील र साहित्य–सङ्गीतमा रूचि भएको अविवाहित युवालाई उमेर मिल्ने महिलाप्रति चासो र लगाव हुनु सामान्य हो। खगेन्द्रमा पनि ती सबै गुण थिए। कोही उपयुक्त पात्र खोजेर विवाह गर्ने र घरजम बसाउने योजना भने उनको थिएन। सुदूर भविष्यसम्म त्यस्तो केही गरिएला भन्ने उनले सोचेका समेत थिएनन्। त्यसैले आफूलाई उपयुक्त हुने जोडीको खोजी गर्ने प्रयत्न पनि उनीबाट भएको थिएन। 

यत्तिकैमा जमुनासँग उनको निकटता बढ्न थाल्यो। 

जमुनाको अवस्था भने केही फरक थियो। विवाह गर्ने उमेर भइसकेकाले उनलाई हेर्न र विवाहका प्रस्ताव लिएर केटाहरु आउन थालिसकेका थिए। त्यसबेला पनि गुरूङ समुदायका पुरूष लाहुर जाने चलन अटुट थियो। राम्रो आम्दानी गर्ने, थुप्रै गरगहना दिन सक्ने र पल्टन लैजान सक्ने ल्याकत सुनाएर केटी माग्न आउनेको लर्को थियो। धेरैजसो कक्षा आठ वा धेरै भए बल्लतल्ल म्याट्रिकसम्म पुगेका केटाहरु लाहुरे भएका हुन्थे। उनलाई माग्न आउनेमा त्यस्तै लाहुरे धेरै थिए। 

जमुना भने शिक्षित मानिसको खोजीमा थिइन्। उनी चाहन्थिन्, त्यस्तो मानिस फेला परोस्, जोसँग आफ्नो अभिरूचि र योग्यताको तह मिलोस्। साथै, त्यो मानिसको छक्कापञ्जा गर्ने, स्त्रीलम्पट भएर चारचौरास चर्दै हिँड्ने बानी नहोस्। एकातिर उनको मनभित्र त्यस्तो मानिसको तस्बिर कोरिएको छ, माग्न आउनेका अनुहार भने मनको रेखाचित्रसँग ठ्याम्मै मेल खाँदैनन्। 

त्यस्तो दुबिधा बेहोरेको चार दशकपछि ती दिनका सम्झनाहरु फुकाउन खोज्दै जमुना भन्छिन्, ‘खराब लोग्नेका कारण दुःख पाएका आफ्नै साथीहरुको हालत देखेर पनि मलाई आफूलाई माग्न आउने आफ्नै समुदायका केटाप्रति धेरै विश्वास भएन।’

एक पटक यसो हेरेर को मानिस कस्तो भन्ने ठम्याउन सक्छु भन्ने भ्रम वा गाढा विश्वास थियो, उनमा।   

मनको र यथार्थको चित्रको र्याङठ्याङ नमिलेको बेला खगेन्द्रको डेरा जमुनानजिक सरेको थियो। डेरा मात्रै नभएर अब त भान्सा नै सरिसकेको थियो। अल्सरले च्यापेका बेला औषधि लिन अस्पताल पुगेका उनलाई जमुनाले दुईचार पटक देखेकी थिइन्। अहिले त्यही खिरिलो ज्यानको मास्टर आफ्नो समीप आइपुगेको थियो।

तिनताक बन्दीपुरका वामपन्थी शिक्षक र अन्य राजनीतिक मान्छेहरु बेलुका खगेन्द्रकहाँ गफिन आउँथे। उनीहरु कोठामा बसेर लामालामा बातचित गर्थे। देश र दुनियाँको परस्थितिबारे गफ गर्ने क्रममा कहिले पञ्चायती व्यवस्थाबारे कुरा हुन्थ्यो, कहिले जीवनदर्शन र साहित्यबारे गफ हुन्थ्यो। ती सायम्कालीन गफमा जमुनाको चासो बढ्दै गयो। उनी आफैं गफमा धेरै सामेल हुँदैन थिइन्, तर कोठाको एउटा कुनामा बसेर तन्मयतासाथ सुनिरहन्थिन्। गोरखपुरको शिक्षित वातावरणमा हुर्केकी उनलाई पुस्तकप्रति सम्मान र लगाव थियो। त्यसो त पढ्ने रूचि पनि बढ्न थालेको थियो। खगेन्द्र लेखकका रुपमा धेरथोर चिनिइसकेका थिए। उनका कथा र उपन्यास प्रकाशित भइसकेका थिए। त्यसैले उनीसँग साहित्यिक किताब नहुने कुरै भएन। ती किताब पनि उनीहरुबीचको सम्बन्ध–सेतु बन्न थाले; किताब पढ्ने, अनि पढेका किताबबारे बेलाबेला रमाइला गफ गर्ने! 

जमुनाको मनको चित्रमा कताकता मिल्न खोजेको अनुहार ‘यही किताबी मानिस पो हो कि?’ झैं हुन थालेको थियो।  

पुरूषसँग मुखर हुने न उनको स्वभाव थियो, न उबेला त्यति सजिलोसँग फरासिलो हुने अवस्था नै थियो। यसैबीच जमुनाले आईएको जाँच दिन प्राइभेट फारम भरिन्। जागिरसँगै घरधन्दा गरेर आईए पार लगाउनुपर्ने थियो। अरु विषय जेनतेन पार लगाए पनि अङ्ग्रेजीमा केही न केही मद्दत चाहिएला भन्ने उनलाई लागेको थियो। त्यसो त उनीजस्तै काम गरेर जाँच दिनुपर्ने अरु साथी पनि थिए। म्याट्रिक सकेर लगालग आईए पढ्ने ती सबै जमुनाभन्दा उमेरले साना थिए। ती भाइ र उनले अङ्ग्रेजीका शिक्षक डेरा–छिमेकी तथा सहभोजनी खगेन्द्रसँग ट्युसन पढ्ने मतो मिलाए। 

मेहनेत गरेर राम्रो पढाउने खगेन्द्रले ट्युसन पढ्न आउने सबै विद्यार्थीका मन जिते। आईए पढ्ने भाइहरु सबै यी अङ्ग्रेजी सरका प्रशंसक बने। उनीहरु भन्न थाले, ‘यो मानिस त हीरा हो नि, यहाँ यो गाउँमा आएर पो कीराजस्तो भएर बसेको छ।’ स्कुलमा पढाएको उनको पहिल्यैदेखि प्रशंसा हुन थालेकै थियो, यी आईएवालाले समेत यिनैको महिमा गाउन थाले। जति यस्ता महिमा सुनिन्छ, जमुनाको मनमा लुकेको तस्बिरसँग ख्याउटे ज्यानका यी मास्टरको चित्र मिल्न खोजेझैं हुन्छ। 

त्यसो त खगेन्द्रको मनमा समेत उमेरजन्य कौतुक र आफूनजिक भइरहेकी महिला साथीप्रति नौला केही भावना उठ्न थालेका थिए। मुखर रुपमा दुईमध्ये एकले अर्कोलाई केही भनेको छैन। भेट्ने र कुराकानी गर्ने तिर्सना भने बढ्न थालेको छ। 

एक दिन बिनायोजना उनीहरु गफ गर्दै पाँचसात मिनेट परको टुँडिखेलसम्म घुम्न जान्छन्। एक पटक त्यसरी गफिएर टुँडिखेल पुगेपछि, दोस्रो वा तेस्रो पटक त्यसो गर्न खासै अप्ठ्यारो लाग्दैन। अक्सर बेलुका उनीहरु दुई जना गफ गरेर वा किताब पढेर कोठामा बस्छन्। 

खगेन्द्र त्यो बेला जानीनजानी मुरली बजाउँथे। जमुना कोठामा भएको बेला उनी मुरलीमा मीठो धुन निकाल्ने कोसिस गरिरहन्थे। एवम् रीतले यी दुई तन्नेरी नजानिँदो पाराले एकले अर्कालाई आफूतिर आकर्षित गर्ने र प्रभाव पार्ने यत्न गरि नै रहेका थिए। तर, खुलेर केही भन्न अझै बाँकी थियो। 

त्यत्तिकैमा खगेन्द्रका मनमा कुरा खेल्न थाल्यो, ‘लमजुङकी गुरूङकी छोरी, आफूभन्दा अल्गी र ठूलो दारकी, पढेलेखेर आफ्नै पौरखमा बाँचेर भाइबहिनीसमेत पढाइरहेकी केटी छ। आफू भने पूर्वी पहाडको सानो बाहुन केटो छु। खासै भरपर्दो जागिर, टेक्ने र समाउने भरपर्दो ठाउँसमेत नभएको मानिस। खै, कसरी धानिएला र यो?’ 

उसो त जमुनाको मनमा पनि उसै गरी कुरा खेल्न थालेका थिए। उनलाई आमाबाबुले बाहुन केटासँग घरजम गर्न दिन्छन् जस्तो एकरत्ती लागेको थिएन। त्यसमाथि आफूभन्दा सानो कदको मानिस छ। जोडी मिलेन भनेर मानिसले हियाउने हुन् कि भन्ने डर पनि छँदै छ। बाबुआमाको मन्जुरीबेगर बिहे गर्दा सिङ्गो परिवार र समुदायबाट परित्यक्त भइन्छ भन्ने पिरले पनि गाँजेको छ। बिस्तारै नजिक हुँदै गएकाले र मनमा आफैंले बनाएको त्यो तस्बिरसँग मिलिरहेको खगेन्द्रको अनुहारले गर्दा जमुनाले उनीभन्दा फरक अर्काे कोहीबारे सोच्न सकेकी थिइनन्। 

खगेन्द्रको पृष्ठभूमिबारे जमुनालाई केही पनि थाहा थिएन। उमेर पुगिसकेको र बीए पास गरिसकेको मानिस, पहिल्यै बिहे गरिसकेको पनि हुन सक्छ भन्ने उनको मनमा सन्देह थियो। सबै कुरा खुलेर सोध्न आँट आएन। त्यसैले खगेन्द्रबारे थाहा पाउन उनी कोठामा नभएका बेला उनका नोटबुक, किताब र चिठी पल्टाएर हेर्न थालिन्। तिनमा आफूले शङ्का गरेजस्तो केही पाइनन्। त्यसो त बन्दीपुरका चिनजानका मानिसले पनि खगेन्द्रबारे कहिल्यै नराम्रो कुरा गरेको सुनेकी थिइनन्। अरु कोही महिलासँग नजिक हुन खोजेको सुइँको पनि पाएकी थिइनन्।  

मनमा यस्ता कुरा खेल्न थालेपछि मानिसले कुरा सुनाउने साथी खोज्छ। कति कुरा मनको कमजोर भित्तोमुनि कज्याएर राख्न सकिन्छ र? जमुनालाई पनि मनको गुम्फन र दिन प्रतिदिन बढिरहेको अन्योल कोसँग गएर पोखूँ भन्ने लागिरहन्थ्यो। उनीसँगै काम गर्ने एक जना स्विस नर्स थिइन्, रेगुला फा, उनकी सुपरभाइजर। एक दिन उनले कुरैकुरामा रेगुलालाई मनको कुरा भनिन्। 

उनले सोधिन्, ‘रेगुला, आफूभन्दा होचो मानिससँग बिहे गर्दा के हुन्छ?’ 

रेगुलाले आफ्नै शैलीमा ट्वाक्क जवाफ दिइन्, ‘अ स्मल म्यान मेक्स अ गुड हजबेन्ड।’ 

अर्थात्, सानो मानिस काइदाको श्रीमान् हुन्छ। 

आफूभन्दा ‘सिनियर’ र भुक्तभोगीले नै यसो भनेपछि जोडी नमिले के होला भन्ने जमुनाको सन्देह दूर भयो। सम्बन्ध झन् नजिक हुँदै झाँगिंदै जान थाल्यो।

यसैबीच खगेन्द्रले जोबनको देउरालीमा शीर्षकको गीतिनाटक लेखे। नाटकमा बाहुन र क्षत्रीबीचको अन्तरजातीय विवाहको कथा थियो। तिनताक बाहुन र क्षत्रीबीचको विवाह वा प्रेमलाई अप्ठ्यारो विषय मानिन्थ्यो। आफ्नो अन्तरजातीय प्रेम अङ्कुराउँदै गरेका बेला उनले त्यस्तै विषयवस्तु जोडेर नाटक लेखेका थिए। त्यसो त जातिवादमाथि प्रश्न उठाउने उनको देब्रे ढल्कुवा विश्वदृष्टिकोणले पनि काम गरेकै थियो। नाटक लेखेको र मञ्चन गरेको सम्झना उनको मस्तिष्कमा अझै ताजा छ। भन्छन्, ‘मलाई त्यो नाटक मेरो सङ्कोची मनोविज्ञानको कलात्मक अभिव्यक्ति होला भन्ने लाग्छ। मेरो प्रेमलाई सहजीकरण गर्ने जोडदार प्रयत्न हुनुपर्छ, त्यो।’

यावत् दर्शकले गीतिनाटक मन पराए। बन्दीपुरको सेरोफेरोमा त्यो ठूलो चर्चाको विषय बन्यो। जमुनाले पनि नाटक हेरिन्। नाटक हेरेपछि सम्भवतः खगेन्द्रले आफूप्रतिको प्रेम दर्शाउन नै यो नाटक लेखेको हुनुपर्छ भन्ने लख काटिन्। त्यसले पक्कै उनको मनोबल बढेको हुनुपर्छ।   

सधैंझैं खगेन्द्र र जमुना एक साँझ कोठामा एकअर्काको नजिकै कुर्सीमा बसेका थिए। उनीहरुले एकअर्कालाई नजानिंदो गरी छोए। शरीरको हलुका स्पर्शले मात्रै पनि ठिटाठिटीमा रोमाञ्चक भाव पैदा गर्छ। दुवैलाई सङ्कोच लागिरहेको भए पनि स्पर्शमा आनन्द आइरहेको थियो। 

बिस्तारै नजानिँदो स्पर्शबाट जानिँदो गरी नै स्पर्श हुन थाल्यो। 

त्यसपछि उनीहरुले एकअर्कालाई अँगाले, चुमे। 

शारीरिक दूरी घटेपछि मनका बाँधहरु भकाभक भत्किन थाले। हिजोसम्म दबेका अनेक कौतुक र प्रश्नहरु छताछुल्ल भए। एकअर्काबारे उनीहरुले लामो समयसम्म बात मारे। जमुनाले खगेन्द्रको नालीबेली सबै सोधिन्। परिवार, पृष्ठभूमि, प्रेमसम्बन्ध सबै सोध्नलाई अब केहीले रोकेन, केहीले छेकेन। खगेन्द्रले पनि जमुनाको पृष्ठभूमि र परिवारबारे सोधे। 

त्यतिन्जेल उनीहरुबीचको सम्बन्धलाई लिएर त्यो सानो र उजाड बजारमा कुरा कटनी सुरू भइसकेको थियो। तिनताक स्कुलमा पढाउने शिक्षक अत्यन्त नैतिकवान् र शुद्ध चरित्रको हुनुपर्छ भन्ने मान्यता थियो। नैतिकवान् र चरित्रवान् हुनुको अर्थ विवाहअघि परस्त्रीसँग कुनै पनि किसिमको सम्बन्ध, सम्पर्क नहुनु भन्ने हुन्थ्यो। खगेन्द्र र जमुना भने विवाह नै नगरी गफ गर्दै, सँगै हिँड्न थालेका थिए। 

टुँडिखेलको खुला मैदानको डिलको रमितेढुङ्गोमा दुई जना मात्रै बसेर गफ गर्ने गरेको दुनियाँले देख्न थालेको थियो। उनीहरु रात–साँझ हात समातेर हिँड्न थालेका पनि थिए। उनीहरुको सम्बन्ध के हो भनेर थुप्रै बेरोजगार गफाडीहरुले चियोचर्चो सुरू गरिसकेका थिए। यस्तो हुँदै जानु र बजारका मानिसका सस्ता गफका विषय हुनु खास गरी महिलाका लागि अप्ठ्यारो हुन्थ्यो। त्यसैले अब बिहे गर्ने हतारो हुन थाल्यो। अन्ततः उनीहरुले बिहे गर्ने वाचाबन्धन गरे। 

बिहे गर्ने गफ भएपछि, जमुना आमाबाबुलाई आफूले गरेको निर्णय सुनाउन अस्पतालबाट केही दिनको बिदा लिएर लमजुङ घर गइन्। ती पुराना दिनका पत्र उप्काउँदै  खगेन्द्र भन्छन्, ‘जन्ड हुन्, जमुना। हाकाहाकी आमाबाबुलाई विजातीय केटोसँग बिहे गर्ने निर्णय गरेँ भन्न ठूलो आँट चाहिन्छ। अहिले त गाह्रो छ भने उबेला झन् कस्तो थियो होला?’ 

पढेलेखेर आफ्ना लागि कमाउन सक्ने भएकाले पनि जमुनालाई यो आँट आएको हुन सक्छ। केटो भलाद्मी, पढेलेखेको र जागिरे छ, तर ऊ बाहुन हो भनेर पहिले उनले आमालाई सुनाइन्। 

आमाले साँझ बाबुलाई सुनाइन्। 

लाहुरे बा मुरमुरिए। 

कारा गुरूङ पड्किए, ‘आफ्नै जातका लाहुरे, हुनेखाने र सुनैले पुरेर रानीजस्तो बनाएर राख्ने केटाहरु माग्न आएका आयै छन्। रोजीछाडी राम्रा गुरूङ केटाको ताँती भएका बेला, बाहुनसँग बिहे गर्ने?’ 

जमुनाले बिहे आफूले गर्ने भएकाले आफूलाई सुहाउँदो र असल केटो रोजेकाले उसैसँग बिहे गर्दा उचित हुने अठोट सुनाइन्। 

अन्त्यमा बाले भने, ‘त्यसैसँग बिहे गर्छेस् भने तँ यहाँ नआउनू। तँ हाम्रा लागि छैनस् अब।’ 

जमुना निराश भएर बन्दीपुर फर्किन्। उनको मनमा अनेक तर्कना खेले। आमाबाबुको माया गुमाउने गरी बाहुनसँग बिहे गर्ने निर्णय फिर्ता लिनुपर्ला भनेर दिक्क मानिन्। 

बाटोमा योजना बनाइन्, ‘अब गएर खगेन्द्रलाई भन्दिन्छु, मेरो घरको कारण बिहे गर्न नमिल्ने भयो। मेरो विवशता बुझेर तपाईं अन्तै डेरा सर्नुस्।’ 

तर, जसै आएर बिहे गर्ने दिनको पर्खाइमा बसिरहेका, प्यारो बनिसकेका ती बाहुनलाई देखिन्; उनको मन पग्लियो, भन्न सकिनन्। 

(बेला पब्लिकेसन्सद्वारा प्रकाशित उज्ज्वल प्रसाईको पुस्तक ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष’को एक अंश।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .