ad ad

म्यागेजिन


चार पटक क्यान्सर जितेकी बिनु भन्छिन् : डराएर होइन, लडेर जित्नुपर्छ

चार पटक क्यान्सर जितेकी बिनु भन्छिन् : डराएर होइन, लडेर जित्नुपर्छ

फोटो/भिडिओ : सरोज बैजु


समृद्धा केसी
माघ २१, २०७९ शनिबार १६:३, काठमाडौँ

आजभन्दा झन्डै १५ वर्षअघि बिनुको जीवन निकै खुसियालीका साथ बित्दै थियो। बुढानीलकण्ठमा बस्ने उनी व्यवसाय गर्थिन्। राम्रो चलिरहेको थियो।

२०६४ साल। अचानक एकदिन दाहिने स्तनबाट केही बगेको महसुस गरिन् उनले। नभन्दै दूध जस्तो सेतो पदार्थ निस्किएको रहेछ। 

बिनुका साढे तीन वर्षीय छोराले दूध खान छोडेको ६ महिना मात्र भएको थियो। त्यसैले उनलाई लाग्यो, दूध आएको होला, केही दिनमा सुकेर जान्छ।

तर उनले सोचेको जस्तो भएन। हप्ता दिनसम्म पनि सेतो पदार्थ बग्न नछोडेपछि उनी  स्त्री रोग विशेषज्ञलाई देखाउँछिन। जाँच गरेपछि डाक्टरले केही भएको छैन भन्दै स्तनबाट बग्ने पदार्थ सुकाउने औषधि दिन्छन्। 

एक महिनाको औषधि लिएर ठिक हुने आशामा घर फर्किएकी बिनु झन्–झन् बिरामी र कमजोर हुँदै जान्छिन्। राति सुत्दा पनि कसैले छातीमा जोडले थिचेजस्तो हुने, कता–कता दुखेजस्तो हुने। सासै फेर्न गाह्रो हुँदै गएपछि उनका कयौँ रात नसुती बिते।

त्यति मात्र होइन शरीरभरि नै डाबर पनि फैलिएपछि छाला रोग विशेषज्ञलाई पनि देखाउँछिन्। कुनै एलर्जीका कारण डाबर फैलिएको हुनसक्ने भन्दै डाक्टरले सबै जाँच गर्छन् तर त्यो  रिपोर्ट पनि नर्मल नै आउँछ। 

समस्या बढ्दै गएपछि उनले जनरल फिजिसियनसँग पनि जाँच गराउँछिन्। डाक्टरले उनलाई रक्तचाप कम भएका कारण त्यस्तो समस्या देखिएको भन्दै खानपिन र आराम गर्न लगाउँछन्।

व्यवसाय, घरपरिवार र सानो छोराको स्याहार सबैको भार बिनुमाथि नै थियो। उनलाई पनि यी सबैले गर्दा आफूलाई समय दिन नसकेकाले नै बिरामी भएको हो कि भन्ने लाग्छ। केही दिन आराम गर्छिन् तर त्यति गर्दा पनि निको हुने कुनै छाँट देखिँदैन। 

करिब तीनचार महिनापछि नुहाउँदै गर्दा बिनुको भित्री वस्त्रमा रगतका टाटा देख्छिन्। स्तन निचोर्छिन्, दाहिने स्तनबाट रगत सिर्का आउँछ। 

बिनु अत्तालिँदै ह्याम्स अस्पताल पुग्छिन्। डाक्टरलाई सबै समस्या सुनाएपछि स्तनबाट सानो मासुको टुक्रा निकालिन्छ र अन्य जाँच पनि गर्न लगाइन्छ। 

त्यसरी जाँच गरिने भएपछि उनको मनमा कताकता डर पस्छ र कुन रोगको परीक्षण गरिँदै छ भनेर जान्न खोज्छिन्। 

डाक्टरले केही भएको छैन भन्दै नआत्तिन आग्रह गर्छन्। तर, उनी सानो छोरा सम्झिएर निकै रुन्छिन्। आफूलाई केही ठूलै रोग लागेकाले यस्तो परीक्षण गरिँदै छ भनेर डराउँछिन् पनि। 

अन्ततः उनले क्यान्सरको शंका गरिएको थाहा पाउँछिन्। केही दिनमा उनको रिपोर्ट आउँछ र दाहिने स्तनमा प्रारम्भिक चरणमा क्यान्सर भएको पुष्टि हुन्छ। 

‘क्यान्सरको परीक्षण हुँदैछ भन्ने त थाहा थियो तर लाग्ला भनेर सोचेको थिइनँ,’ उनले भनिन्, ‘म निकै अत्तालिएँ। कहिल्यै सोच्दै नसोचेको रोग लागेको थियो। अब के हुन्छ, मर्छु होला भन्ने सोचेँ। तर परिवारका सबैले निकै हौसला दिनु भयो अनि आफूलाई बलियो बनाएँ।’

त्यो बेला नेपालमा क्यान्सरको उपचार राम्रोसँग नहुने भएपछि भारतको राजीव गान्धी अस्पताल रिफर गरिएको उनले सुनाइन्। 

सानो छोरोलाई परिवारको भरमा छोडेर श्रीमानसँग उपचारका लागि भारत गएकी बिनुले ६ चरण केमोथेरापी र क्यान्सर रहेको स्तनको सानो शल्यक्रिया गराउँछिन्।

दोहोरिएको पीडा
बिनुले क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी थिइन्। 

उनले क्यान्सरलाई जितेको पनि चार वर्ष भइसकेको थियो। तर एक दिन अचानक उनले पहिलाकै जस्तो बेचैनी महसुस गर्छिन। लक्षणहरु पनि उस्तै देखिन्छन्। 

पहिला क्यान्सर देखिएकै स्तनमा एउटा सानो गिर्खा भेटियो। उनी अत्तालिँदै भारत पुग्छिन्। 

नभन्दै उनलाई पहिला क्यान्सर भएकै स्तनमा पुनः क्यान्सर पुष्टि हुन्छ। यो पटक पनि उनको क्यान्सर पहिलो चरणमै पत्ता लागेको थियो। 

पहिलो पटक क्यान्सर भएको बेला क्यान्सर रहेको भागमात्र काटेर फालिएको थियो। तर यो पटक भने उनले पुरै स्तन नै काटेर फल्छिन्। 

दोस्रो पटक पनि उनले क्यान्सरलाई जित्छिन्। 

डिप्रेसनसँगको लडाइँ
यतिमै बिनुले क्यान्सरबाट छुटकारा किन पाउँथिन् र! उनलाई क्यान्सरले छोड्दै छोडेन। 

दोस्रो पटक क्यान्सर पुष्टि भएको चार वर्षपछि पुनः उनलाई बिसन्चो हुन थाल्छ। यो पटक भने उनको देब्रेपट्टिको स्तनबाट पहिलेकै जस्तो तरल पदार्थ निस्किन थाल्छ। 

डाक्टरलाई आफ्नो समस्या बताउँछिन्। तर डाक्टरले उनलाई एन्जाइटी भएको होला भन्दै नआत्तिन आग्रह गर्छन। दुई–दुई पटक क्यान्सरको पीडा भोगिसकेकी बिनुले तेस्रो पटकको लक्षणलाई नचिन्ने कुरै भएन।

उनले तेस्रो पटक भने भारत नगई नेपालमै  क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठसँग जाँच गराउँछिन्। नभन्दै उनको देब्रे स्तनमा निकै सानोे गिर्खा फेला पर्छ। 

गिर्खा निकै सानो र क्यान्सर थोरै ठाउँमा भएकाले बिनुलाई डाक्टरले स्तन नफाल्ने सुझाव दिए। तर, बिनुले पहिलाकै जस्तो गल्ती दोहोर्याउन चाहिनन् र उनले स्तन नै काटेर फाल्न आग्रह गरिन्।

पहिलो पटक क्यान्सर पुष्टि भएदेखि उनी निकै सचेत बनेकी थिइन्। डाक्टरले भनेअनुसार नै नियमित जाँच गर्थिन्, औषधि पनि खान्थिन्। तैपनि उनलाई तीन पटक क्यानसर भइसकेको थियो। परिवारको साथ र सहयोग भए पनि आफ्नै शरीसँग आजित बनिसकेकी थिइन्। उनी डिप्रेसनको औषधि खान थाल्छिन्। 

‘एक रात श्रीमान् र छोरा सँगै सुतिरहेको थिए। मलाई निकै गाह्रो भइरहेको थियो। यसरी बाँच्नुभन्दा मर्छु, छोरा सानो छ ठूलो हुँदै जाँदा बिर्सिन्छ। श्रीमानको पनि उमेर छ, केही वर्षपछि नयाँ जीवन सुरु गरेर बिर्सिहाल्नु हुन्छ भन्ने सोच आयो र आत्महत्याको प्रयास गर्दै थिएँ छोराले मामु भनेको आवाजले मलाई झस्कायो र म रोकिएँ,’ उनले सुनाइन्।

त्यो रातभर उनी सोच्छिन्। आफूले गर्न लागेको गल्तीबाट निकै पछुताउँछिन्। त्यसपछि भने क्यान्सर जसरी नै आफूले डिप्रेसनसँग पनि लडेरै जित्ने अठोट लिएको उनले बताइन्। 

डिप्रेसनबाट छुटकारा पाउन योगध्यान र साथीभाइसँग घुम्ने, परिवारसँग धेरै समय बिताउने गर्छिन्। र, डिप्रेसनलाई पनि जित्छिन्। 

परिवारसँग बोलेको त्यो झुट 
तेस्रो पटक क्यान्सर लागेको तीन वर्ष पुरा भएको थियो। दुई पटक क्यान्सर लागेको केही वर्षपछि पुनः देखिएकाले उनी झस्किरहन्थिन्।

तेस्रो पटक क्यान्सर भएको साढे तीन वर्ष पुरा भएर चार वर्षमा लाग्दै थियो। बिनुलाई महिना दिनसम्म लगातार खोकी लागिरह्यो र सास फेर्न पनि गाह्रो हुन थाल्यो। 

‘लामो समयसम्म खोकी सन्चो नभएपछि अस्पताल गएँ। जाँच गराउँदा छातीमा केही छिटाहरु देखियो। डाक्टरले धेरै छिटाहरु देखेपछि जाँच गर्दा प्रारम्भिक चरणमा पुग्नै लागेको फोक्सोको क्यान्सर भनेर पुष्टि भयो। अप्रेसन गर्न नमिल्ने भएपछि डाक्टरले औषधि दिनु भयो,’ उनले सुनाइन्।

चौथो पटक क्यान्सर लाग्दासम्म बिनु निकै बलियो बनिसकेकी थिइन्। क्यान्सरलाई जित्न सक्ने हिम्मत उनीसँग कायमै थियो। 

डाक्टरले पनि उनलाई निकै बहादुर मान्थे। उनले डाक्टरसँग आफूलाई फोक्साकोे क्यान्सर लागेको कुरा परिवारलाई नभन्न आग्रह गरिन्। बिनुले निकै जिद्दी गरेपछि डाक्टर राजी हुन्छन्। 

‘मलाई फेरि पनि क्यान्सर भएको रहेछ भन्ने थाहा पाउनु भयो भने उहाँहरु कमजोर पर्नु हुन्छ। उहाँहरु कमजोर हुनु भनेकै म पनि कमजोर हुनु हो। जो म चाहन्थिनँ,’ उनले भनिन्, ‘छोरोले मेरो कदमकदमको पीडा देखिसकेको थियो। त्यो बेलासम्म त ऊ बुझ्ने पनि भइसकेको थियो। मेरो क्यान्सरको असर छोरालाई पर्न दिन्नँ भनेर मैले त्यो बेला झुट बोलेँ।’

दुई वर्षसम्म लगातार औषधि खाएपछि फोक्सोमा रहेका छिटाहरु पुरै हराएर गएको उनले सुनाइन्। 

त्यो बेलासम्म उनले परिवारका कुनै पनि सदस्यलाई शंका लाग्नै दिइनन्। चौथो पटक उनले क्यान्सरसँग एक्लै लडेकी थिइन्। तर, जब परिवारको खुसी देख्थिन्, उनी त्यसमै रमाउँथिन्। 

जुन दिन डाक्टरले उनलाई चौथो क्यान्सर पनि जित्यौ भनेर सुनाउँछन्, उनी खुसीले दिदीहरुसँग रुन्छिन्। 

उनी भन्छिन्, ‘त्यो दिन दिदीसँग अस्पताल गएको थिए। डाक्टरले क्यान्सर छैन भनेपछि मैले उहाँहरुलाई रुँदै सबै कुरा सुनाएँ। घरमा पनि थाहा भयो। यत्रो वर्षसम्म कति गाह्रो भयो होला भन्दै गाली पनि गर्नु भयो।’

क्यान्सरकै कारण गुमे परिवारका चार सदस्य
बिनु भन्छिन्, ‘१५ वर्षको अवधिमा मैले मामा र तीन जना सानिमा क्यान्सरकै कारणले गुमाएँ। उहाँहरुलाई क्यान्सर लागेको ढिलो थाहा भयो र निकै डराउनु पनि भयो। एक जना सानिमाले आफूलाई क्यान्सर लागेको दुई वर्षसम्म पनि लुकाउनुभयो, जसले गर्दा उपचार गर्दा पनि निको भएन।’

आफू सानै हुँदा उनको मामाघरको हजुरबा र ठूलीआमा पनि क्यान्सर जस्तै लक्षण भएर बितेको बिनुले सुनाइन्। 

‘जब क्यान्सर लाग्छ, डराउने र आत्तिने गरेपछि क्यान्सर जित्न कठिन हुन्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छिन्, ‘क्यान्सर लाग्यो, अब डराएर हुँदैन, लडेर जित्नुपर्छ भन्ने अठोट लियो भने अवश्य जितिन्छ।’

आफू सचेत भएकाले चारै पटक क्यान्सर प्रारम्भिक चरणमा हुँदै थाहा पाएको उनले सुनाइन्। 

भन्छिन्, ‘क्यान्सर निको हुने भनेको औषधिले मात्र होइन रहेछ। घरपरिवारको साथ र सहयोग पनि उत्तिकै आवश्यक हुने रहेछ।’

बिनुले क्यान्सरसहित शरीरमा १२ वटा शल्यक्रिया गरिसकेकी छिन्। सुरक्षाका लागि आफ्नो स्वस्थ पाठेघर पनि फालिसकेको उनले बताइन्।

‘अहिले म स्वस्थ छु तर शरीर निकै दुख्छ। एकातिर मैले मेरो जीवनसाथीलाई राखेको छु भने अर्कोतिर दुखाइलाई राखेको छ। म यी दुवै नै मेरो जीवनसाथी हुन् भन्छु। यदि मैले यो गरिनँ भने म कमजोर भैहाल्छु,’ उनले भनिन्। 

पीडाले जन्माएको संस्था
बारम्बार क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी बिनुले अस्पतालको शय्याबाटै केही गर्ने प्रण लिएकी थिइन्। 

पाँच वर्षअघि क्यान्सर विजयी र क्यान्सरसँग लडिरहेका साथीहरुसँग मिलेर नेपाल क्यान्सर सर्भाइर सोसाइटी नामक संस्था स्थापना गरेको उनले बताइन्। संस्थामा सबै जनाले स्वयंसेवक भएर काम गरिरहेका छन्।

उनी भन्छिन्, ‘शरीरको पीडा कम गर्ने काम डाक्टरले गर्नु हुन्छ। मानसिक पीडाका लागि पनि डाक्टर हुनुहुन्छ तर जुन पीडाबाट हामी गुज्रिन्छौँ, त्यो भोगाइ बाँड्नका लागि हामीले उस्तै साथ खोज्छौँ। एक जना क्यान्सर बिरामीले अर्कोको पीडा देख्दा र बुझ्दा पनि निकै हिम्मत पाइने रहेछ।’

संस्थाको मुख्य उदेश्य क्यान्सरसँग लडिरहेकालाई आफ्नो भोगाइ सुनाउँदै क्यान्सर जित्नलाई थप हौसला दिनु रहेको बिनुले बताइन्। 

‘क्यान्सर उपचारपछिको जीवन निकै भयावह हुन्छ,’ उनी भन्छिन्, ‘अरु साथीको कुरा सुन्दा म त निकै भाग्यमानी रहेछु, बुझ्ने परिवार पाएँ भन्ने लाग्छ तर पनि कहिलेकहीँ निकै कमजोर हुन्छु। अझ नबुझ्ने, साथ नदिने परिवारभित्रका क्यान्सरका बिरामी दिदिबहिनीको अवस्था के होला? त्यसैले हामी सबै मिलेर यस संस्थाबाट बिरामीको मनोबल उच्च राख्ने काम गरिहेका छौँ।’ 

संस्थामा जोडिएका सबैलाई एउटै रोग लागे पनि पीडा भने सबैको फरकफरक रहेको उनी बताउँछिन्। 

‘क्यान्सरसँगको लडाइ एकातिर छँदैछ, अर्कोतिर हामीलाई भयावह रोग लागेको छ भनेर हेर्ने नजर र साथ नदिने परिवारको मानसिकतामा परिर्वतन ल्याउन आवश्यक छ,’ उनी भन्छिन्।

थप सामाग्री :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .