ad ad

म्यागेजिन


३२ अर्ब कारोबार गर्ने गोल्यान ग्रुप सम्हाल्दै अमेरिकाबाट फर्केका ३४ वर्षीय अक्षय (भिडिओ)

३२ अर्ब कारोबार गर्ने गोल्यान ग्रुप सम्हाल्दै अमेरिकाबाट फर्केका ३४ वर्षीय अक्षय (भिडिओ)

२०१६ मा नेपाल फर्किँदै गर्दा अक्षय गोल्यानले सोचेका थिए– भनेजस्तो भएन भने फर्किहाल्छु नि (तस्बिर/भिडिओ: सरोज बैजु)


सम्झना घिमिरे
बैशाख ८, २०८० शुक्रबार ९:२१, काठमाडौँ

त्यतिबेला अक्षय पढाइको सिलसिलामा स्पेनमा थिए। युरोपको जीवनशैली अनि चमकदार सहरले उनलाई लोभ्याएको थियो। सोच्थे, ‘जीवन त यहीँ छ नि!’ 

उनले भर्खरै स्पेनकै ईएसएडीईबाट एमबीए सकेका थिए। उनलाई लाग्थ्यो, नेपाल फर्केर बुबा पवन गोल्यानको बिजनेश विरासत धान्नुभन्दा स्पेनमै वा अमेरिकातिर गएर गुणस्तरीय जीवन बिताउनु ठिक हो।

‘विदेशमा पढ्दै गर्दा त्यहाँको जीवनशैलीले जोकोहीलाई तान्छ। मलाई पनि तान्यो,’ अक्षय गोल्यान भन्छन्, ‘उतै बसौँ भन्ने सोचले सुरुमा नेपाल आउन मन थिएन।’  

तर, छोराको रहर बुबा पवनलाई उति ठिक लागेन। उनी चाहन्थे– गोल्यान परिवारले नेपालमा खडा गरेको व्यावसायिक साम्राज्य छोरा अक्षय, भतिजा अनन्त र शक्तिले अगाडि बढाऊन्। 

पवन आफूले कमाउँदा देशले पनि कमाउनुपर्छ भन्ने मान्यता राख्थे। त्यसैले उनी आफ्ना सन्तानको भविष्य नेपालमै कोर्दै थिए।

झण्डै ६५ वर्ष पुगेका पवनले ४५ व्यवसाय गर्दा गोल्यान ग्रुप अफ कम्पनी अन्तर्गत उद्योग, जलविद्युत्, कृषि, बैंकिङ र निर्माण क्षेत्रमा १६ वटा कम्पनी खडा गरेका थिए। बुबा सोहनलाल गोल्यानले सुरु गरेको व्यवसायलाई काँध दिँदै पवन र दाइ वासुदेवले गोल्यान परिवारलाई व्यावसायिक घरानामा परिणत गरेका थिए। त्यसैले पनि भतिजा र छोरा अक्षयले आफ्नै पाइला पछ्याऊन् भन्ने चाहना थियो उनको।

तर, सन् २०१४ मै पढाइ सकेका अक्षय २ वर्ष अमेरिका र स्पेनमा अलमलिए। नेपाल आउन हिच्किचाइरहेका अक्षयलाई जागिर छोड्न लगाएर स्वदेश फर्काउनु थियो पवनलाई। उनले छोरालाई नेपाल आउन आग्रह गरे।

बुबाले कर गरेपछि अक्षय २०१६ मा नेपाल फर्किए। आउँदै गर्दा उनले सोचेका थिए– भनेजस्तो भएन भने फर्किहाल्छु नि।

त्यसरी नेपाल आएका अक्षय गोल्यान अहिले १६ कम्पनी सञ्चालन गरिरहेको गोल्यान ग्रुप अफ कम्पनीको निर्देशक छन्। 

बुबाको व्यवसाय हेर्दा अक्षयलाई लाग्थ्यो– पारिवारिक व्यवसाय हो, चलाउन धेरै मेहनत गर्नु नपर्ला। तर, दुई वर्ष रिलायन्स स्पिनिङ मिल्समा बसेर उत्पादन भएका वस्तु, व्यवस्थाापन समूह र कर्मचारीहरुसँग काम गरेपछि बुबाले कति मेहनत गर्नु परेको रहेछ भन्ने उनले देखे, बुझे।

यता नेपालमा आफैँले मेहनत सुरु गरेसँगै अक्षयको विदेशमोह भंग भयो।

‘नेपाल फर्केपछि गुणस्तरीय जीवन बाँच्नुपर्छ भन्ने मेरो धारणा परिवर्तन भयो। व्यवसायमा बुबा हजुरबुबाको मेहनत देखेँ र उहाँहरुको मेहनतले हामी गोल्यान परिवार मात्रै नभएर देशलाई नै कसरी सकारात्मक प्रभाव पार्दैछ भन्ने महशुस हुँदै गएपछि विदेश फर्किने मोह हरायो,’ उनले सुनाए।

काठमाडौँको लिङ्कन स्कुलबाट एसएलसी पूरा गर्दैगर्दा अक्षयलाई लाग्थ्यो– व्यवसाय भनेको पैसा मात्रै कमाउने ठाउँ हो, धनी हुने ठाउँ हो। तर, उनको त्यो धारणा फेरिएको छ। अचेल उनलाई लाग्छ– आफूसँगै कर्मचारी र सिंगो देशलाई नै समृद्धितिर डोर्याउने आधार हो व्यवसाय।

थुप्रैले भन्छन्, व्यवसायमा सफल हुन चाहने व्यक्ति भावुक हुनुहुँदैन। तर, अक्षय व्यवसायसँग भावनात्मक पक्ष सधैँ जोडिने बताउँछन्।

भन्छन्, ‘कम्पनीको अवस्था राम्रो देख्दा मन फुरुंग हुने रहेछ। नराम्रो कुरा सुन्दा, कर्मचारी दुखी हुँदा आफैँलाई चित्त दुख्ने रहेछ।’ 

उनका कम्पनीहरुले अहिले वार्षिक झण्डै ३२ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ। उनी पहिले आफूजसरी नै विदेशी जीवनशैलीसँग लोभिएर वा रोजगारीको बाध्यताले देश छाड्दै गरेका युवाहरुलाई रोक्ने प्रयासमा छन्।

अक्षयलाई लाग्छ, ‘व्यवसायमार्फत नै युवा पलायनलाई रोकेपछि मात्रै देश र व्यवसायी दुवै धनी हुन सक्छन्।’

नेपाल फर्किएर विरासतको व्यवसाय सम्हालेसँगै आफूमा वैचारिक परिवर्तन आएको उनले महशुस गरे। 

नेपालको नामी बिजनेश घराना गोल्यान ग्रुपका अध्यक्ष पवन र उपाध्यक्ष वासुदेव तेस्रो पुस्तालाई व्यावसायिक विरासत हस्तान्तरण गर्दैछन्। जसका लागि वासुदेवका दुई छोरा शक्ति र अनन्त तयार छन् भने पवनका छोरा अक्षय व्यवसायिक नेतृत्व सम्हाल्दै छन्। 

गोल्यान ग्रुपले अहिलेसम्म द रेजिडेन्स एट ह्यात प्लेस, रिलायन्स स्पिनिङ, माटो, वेस्टर प्रोपर्टिज, एनएमबी, धागो, प्योर इनर्जी, कर्मशिलय फार्मिङ, एनआईसी एसिया, नेपाल लाइफ, एसियन इन्स्योरेन्स, शिवम प्लास्टिकजस्ता उद्योग र बैंक सञ्चालन गरिरहेको छ। जलविद्युततर्फ भने यो समूहले अपर बलेफी, बलेफी, मिजु इनर्जी, केएनबीआर आस्वा हाइड्रो, ताराप खोला हाइड्रो, मुगुखोला र अपर मुगुखोला हाइड्रो, नम्लाङ खोला र भोटेकोसी खोला हाइड्रो सञ्चालन गरिरहेको छ।

भिडिओः सरोज नेपाल 

कर्मचारीलाई लगानीकर्ता बनाउने तरखरमा अक्षय 
अक्षयलाई लाग्छ, बाबुबाजेले व्यवसाय बढाउन मेहनत गरिसकेकाले अब तेस्रो पुस्ताले त्यसका लागि उति समय खर्चिनुपर्दैन। जग बसिसकेको व्यवसायमा अब कर्मचारी र व्यवस्थापकबीचको सम्बन्ध सुधार्नु र कर्मचारीलाई अपनत्व अनुभव गराउनु उनको प्रमुख उदेश्य हो। 

५ हजारभन्दा धेरै कर्मचारीलाई कम्पनीप्रतिको अपनत्व अनुभव गराउनकै लागि अक्षयले नयाँ योजना अघि सार्दैछन्। उनी कर्मचारीलाई पनि कम्पनीको मालिक बनाउने मोडलमा गृहकार्य गरिरहेका छन्। 

‘हामी कर्मचारीलाई पनि स्टकहोल्डर बनाउन चाहन्छौँ। सिपसँगै अपनत्व पनि जोडियो भने जुनसुकै व्यवसाय सहजै अगाडि बढ्न सक्छ,’ उनी भन्छन्।  

अक्षय ५ हजार व्यवसायीलाई व्यवसायको मालिक बनाउन सम्भव भए नेपालको व्यावसायिक प्रणाली नै परिवर्तन हुने धारणा राख्छन्। 

‘विदेशमा कर्मचारी सेयर भनेर सेयर छुट्याइएको हुन्छ। उनीहरुले त्यहाँ लगानी गर्न सक्छन्। आफ्नो पैसा परेपछि कम्पनी पनि आफ्नो लाग्दोरहेछ,’ उनले भने।

यसअघि प्रमोटर लगानीकर्ताले नै निर्णायक भूमिका निर्वाह गर्दै आएको बताउँदै अक्षय भन्छन्– सो प्रणालीलाई बदल्दै कर्मचारीलाई नै निर्णय गर्न सक्ने अधिकार दिइएको छ। 

‘नेपालमा पनि कर्मचारी कम्पनीको स्टकहोल्डर रहन सक्ने मोडलमा जाने प्रयासमा छौँ हामी,’ उनले भने।

५ वर्षमा जलविद्युतमा ४ अर्ब लगानी थप्ने योजना
गोल्यान ग्रुपले अहिलेसम्म सबैभन्दा धेरै कृषि र उर्जा क्षेत्रमा लगानी गर्दै आएको छ। अक्षय कृषि क्षेत्रमा एक अर्ब र जलविद्युतमा झण्डै डेढ अर्ब लगानी गरिसकेको बताउँछन्। अबको पाँच वर्षमा जलविद्युत क्षेत्रमा मात्रै करिब ४ अर्ब लगानी थप्ने योजनामा छन् उनी। 

विश्वले अपार सम्भावना देखेको कृषि र जलविद्युत क्षेत्रमा सरकार र निजी क्षेत्रले भने सम्भावना ग्रहण गर्न नसकेको तर्क छ उनको। 

भन्छन्, ‘जलविद्युत क्षेत्रमा अपार सम्भावना छ। हामीले त्यसैलाई हेरेर यो क्षेत्रमा लगानी बढाइरहेका छौँ। अबको ४/५ वर्षमा ५ अर्ब बराबरको लगानी थप गर्ने योजनामा छौँ।’ 

पछिल्लो ३ वर्षदेखि सरकारले निजी क्षेत्रसँग नयाँ विद्युत खरिद सम्झौता (पीपीए) नगर्दा निजी क्षेत्र थप धरासायी हुन पुगेको उनको भनाइ छ।

भन्छन्, ‘पीपीए नहुँदा लगानी जोखिममा परिरहेको छ। ब्याज मात्रै तिर्दै बस्नुपर्ने अवस्थाले निजी क्षेत्र जलविद्युतप्रति निराश छन्।’ 

कृषि क्षेत्रमा पनि चाहेजति काम गर्न नसक्दा केही निराश सुनिए अक्षय। किसान सुरक्षामा सरकार सचेत नहुँदा वर्षेनि किसान हुन चाहनेको संख्या घट्दै गइरहेको उनले देखेका छन्। 

अक्षय भन्छन्, ‘किसानको छोरोले किसान बन्छु भन्न सक्ने वातावरण नभएसम्म कृषि क्षेत्रको विकास हुन सम्भव छैन।’ 

यसका लागि ठूला व्यवसायी आफैँ किसानसम्म पुगेर लगानी गर्नुपर्ने उनको धारणा छ। गोल्यान ग्रुपले पनि देशका विभिन्न क्षेत्रमा व्यावसायिक खेतीमा लगानी गर्दै आएको छ। अक्षय कृषिमा पनि लगानी बढाउन चाहेको बताउँछन्। 

‘खाद्य सुरक्षाका लागि किसान सुरक्षा अनिवार्य छ। हाम्रोमा किसान नै सुरक्षित छैनन्। यसमा सरकार र निजी क्षेत्र दुवै सचेत हुनु आवश्यक छ,’ उनले भने।

युवा फर्काउने कार्यक्रम 
‘फेरि विदेश’ नामक सचेतना कार्यक्रम मार्फत युवाहरुलाई देश फर्किन आग्रह गर्दैछन् अक्षय। दक्ष कर्मचारी अभावका कारण विदेशिएका नेपाली युवाहरुलाई नेपाल फर्कन आग्रह गर्दै आएको बताउँछन् उनी। 

‘बजारमा दक्ष जनशक्तिको अभाव छ, विदेशिएका लाखौँ युवा नेपालमै बस्ने हो भने यहाँको व्यावसायिक वातावरण नै फरक हुन्थ्यो,’ उनी भन्छन्। 

बिनाअनुभव जागिर पाउन असम्भव देखेका युवाहरुलाई गोल्यान ग्रुपले सिकाउँदै रोजगारी पनि दिने तयारी गरिरहेको उनको भनाइ छ।

भन्छन्, ‘हामी नयाँ कर्मचारीदेखि डराउँदैनौँ। बरु उनीहरुको उर्जालाई सही दिशानिर्देश गर्ने काम गर्छौं।’

अक्षय आफूहरुले अनुभव नभएका युवाहरुलाई ३ देखि ४ महिनासम्म तालिम दिएर जागिर दिने बताउँछन्।

यसरी उदाएको थियो गोल्यान ग्रुप अफ कम्पनी
गोल्यान ग्रुप अफ कम्पनी पवन र उनका दाइ वासुदेव गोल्यानले स्थापना गरेका होइनन्। बुबा सोहनलाल गोल्यानले १९७० को दशकमा कपडा उद्योग खोलेका थिए। 

क्रमशः १९९४ मा रिलायन्स स्पिनिङ मिल्स, २००० मा शिवम प्लास्टिक उद्योग, २००८ मा वेस्टर प्रोपर्टिज स्थापना गर्दै ९ वटा हाइड्रोपावर कम्पनी स्थापना गर्न सफल बन्यो यो ग्रुप। 

गोल्यान ग्रुपले झापामा २ सय  बिघा क्षेत्रफलमा व्यावसायिक खेती गर्दै आएको छ भने नेपालको पानी निर्यात गर्ने पहिलो कम्पनी पनि बनेको छ।

यही ग्रुपले माटो नामक मिनरल वाटर विदेश निर्यात गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .