म्यागेजिन


१ सय ३ वर्ष बाँचेर गए काठमाडौँमा पहिलो विमान अवतरण गराएका दलिप सिंह

जहाज हेर्न श्री ३ मोहन शमशेर राजा त्रिभुवनका साथ पुगेका थिए गौचर
१ सय ३ वर्ष बाँचेर गए काठमाडौँमा पहिलो विमान अवतरण गराएका दलिप सिंह

गौचर मैदानमा पहिलो पटक अवतरित बोनाञ्जा बिच जहाज अवलोकन गर्दै राजा त्रिभुवन। साथमा पाइलट दलिप सिंह मजेठिया। फोटो साभार (अंकित गुप्ता) आईएफडटइन


सीताराम बराल
बैशाख १०, २०८१ सोमबार ९:२९, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो दिन मृत्यु भएका भारतीय वायुसेनाका एक पूर्व अधिकारीप्रति श्रद्धाञ्जली प्रकट गर्न ४ वैशाखमा एक्समा एउटा पोष्ट गरे। 

चुनावी चटारोका बीच सो पोष्टमार्फत् मोदीले श्रद्धाञ्जली अर्पण गरेका ती पूर्वसैनिक अधिकारी थिए, दलिप सिंह मजेठिया। १ सय ३ वर्षको उमेरमा ३ वैशाख (२०८१) मा भारतको उत्तराखण्डस्थित रुद्रपुरमा दलिप सिंहको निधन भएको थियो। 

‘भारतीय वायुसेनाका पूर्व ‘स्क्वाड्रन लिडर’ स्व. मजेठियाको उदाहरणीय पेसागत जीवन र सौर्यले उच्च आदर्शको उदाहरण पेस गरेको छ,’ मोदीले भनेका छन्, ‘मजेठियाको निधन भारतीय वायु सेनाका लागि गम्भीर क्षति हो।’ 

निधन अघिसम्म मजेठिया भारतीय वायुसेनाका सबैभन्दा बढी उमेरका पूर्वअधिकारी थिए। तीन वर्षअघि जन्म शताब्दी मनाउँदै गर्दा उनको चर्चा भारतमा एकाएक चुलिन सुरु गरेको थियो। 

जीवनमा सय वर्ष पार गर्न पाउने अवसर कमैले प्राप्त गर्छन्। यस्तो अवसर प्राप्त गरेका आफ्ना पूर्वअधिकारीको जन्म शताब्दी भारतीय वायुसेनाले उनकै निवास पुगेर मनाएको थियो। 

मजेठियाले जन्म शताब्दी मनाएको काठमाडौँमा समेत त्यो बेला चर्चाको विषय बन्यो। काठमाडौँको गौचर मैदानमा पहिलो पटक विमान अवतरण गर्ने व्यक्ति उनै थिए भन्ने कुराको खुलासा त्यसैक्रममा भएको थियो।

दलिप सिंह मजेठियाले उडाएको जहाज ठिक ७५ वर्षअघि ११ वैशाख २००६ मा गौचर मैदान (हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) अवतरण गरेको थियो।

काठमाडौँमा पहिलो पटक विमान अवतरण गर्दाको सनसनीपूर्ण कहानी आफ्नो जन्म शताब्दीको क्रममा अन्तर्वार्ता लिन गएका एनडीटीभीका विष्णु सोमलाई उनले सुनाएका थिए।

जन्ती ल्याउन हवाई मार्ग
खासमा भारत र नेपालका शाही परिवारका सदस्यहरूको बिहेको पूर्वतयारीस्वरुप त्यो जहाज काठमाडौँ आइपुगेको थियो। 

त्यो बेला नेपालको शासन सत्तामा श्री ३ मोहन शमशेर थिए। भलै, जम्मु–कास्मिर भारतमा विलय भइसकेको थियो। तर, त्यहाँ राजतन्त्र कायमै थियो। 

विलयको विरोध गरेका राजा हरि सिंहलाई अपदस्थ गरेर भारतले जम्मु–कास्मिरको गद्दीमा उनका छोरा कर्ण सिंहलाई राखेको थियो। 

कर्ण सिंह अहिले पनि जीवितै छन्। पूर्वमन्त्री समेत रहेका सिंह कांग्रेस (आई) का वरिष्ठ नेता हुन्। २०६२–०६३ को आन्दोलनका बेला दरबार र राजनीतिक दलहरूबीच मध्यस्थकर्ताको भूमिका खेल्न भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विशेष दूतका रुपमा काठमाडौँ पठाएका कर्ण सिंह जम्मु–कास्मिरका तिनै पूर्वराजा हुन्। 

जम्मु–कास्मिरका यिनै अन्तिम राजा कर्ण सिंहसँग श्री ३ मोहन शमशेरकी नातिनी यशोधरा (जनरल शारदा शमशेरकी छोरी) को बिहे हुँदै थियो।

नेपालमा सत्तारुढ राणा परिवारसँग वैवाहिक सम्बन्ध गाँस्न लागेको जम्मु–कास्मिरको राजघरानाको जन्ती नयाँदिल्लीबाट काठमाडौँ आउनुपर्ने थियो। तर, काठमाडौँलाई बाहिरी भागसँग जोड्ने कुनै मोटरबाटो त्यो बेला थिएन। नेपाल–भारत हवाईमार्ग पनि खुलेको थिएन।

यो स्थितिमा जन्तीलाई सहज रुपमा हवाई जहाजबाट काठमाडौँ उतार्ने विषयमा श्री ३ मोहनले नेपालका लागि भारतीय राजदूत सुरजित सिंह मजेठियासँग सल्लाह गरे।

यशोधरासँग बिहे गरेर फर्केका कास्मिरका १९ वर्षे राजा कर्ण सिंहलाई नयाँदिल्लीमा स्वागत गर्दै प्रधानमन्त्री जवाहरलाल नेहरू

श्री ३ मोहनसँगको कुराकानीपछि राजदूत मजेठियाले पाइलट दलिप सिंह मजेठियासँग यस विषयमा सल्लाह गरे। 

दलिप नेपालका लागि भारतीय राजदूत सुरजितका आफ्नै भतिज थिए।  

मजेठिया परिवारको आफ्नै हवाई जहाज थियो। दोस्रो विश्वयुद्धमा अमेरिका–बेलायतले प्रयोग गरेका केही जहाज विश्वयुद्धको अन्त्यसँगै मजेठिया परिवारले सस्तोमा खरिद गरी हवाई कम्पनी स्थापना गरेको थियो। 

काठमाडौँ आउने जन्तीका लागि जहाजको कुनै कमी थिएन। समस्या थियो त काठमाडौँमा अवतरण गर्ने स्थलको। काठमाडौँमा जहाज अवतरण गर्न मिल्ने हवाई मैदान थिएन।    

यस्तोमा सिनामंगलस्थित गौचर मैदानमा हवाई जहाज अवतरण गराउने निधो राजदूत मजेठियाले गरे। त्यो बेला गौचरलाई स्थानीयवासी आफ्ना घरपालुवा जनावरको चरनस्थलका रुपमा प्रयोग गर्थे। 

खसमा राजदूत मजेठिया पनि पूर्वपाइलट थिए। ब्रिटिसकालीन भारतीय हवाई सेनाबाट राजीनामा दिएर राजनीतिमा लागेका मजेठियालाई स्वतन्त्रतासँगै भारतीय प्रधानमन्त्री नेहरूले नेपालको राजदूत बनाएर पठाएका थिए। 

वायुसेनामा रहँदा राजदूत मजेठियाले प्राप्त गरेको अनुभव र ज्ञान काठमाडौँमा पहिलो पटक विमान अवतरणका लागि मैदान छनोटमा उपयोगी भयो।

विश्वयुद्धका योद्धा 
गौचरमा पहिलो पटक विमान अवतरण गर्दा दलिप सिर्फ ३० वर्षका थिए। काका राजदूत मजेठिया उनीभन्दा सिर्फ ८ वर्ष जेठा थिए।

रोचक चाहिँ के भने, आठ वर्ष जेठा–कान्छा काका सुरजित सिंह र भतिज दलिप सँगसँगै ब्रिटिस भारतीय सेनाको वायुसेनामा भर्ती (१ अगस्ट १९४०) भएका थिए। 

तर, सुरजित सिंह लामो समय सैनिक सेवामा रहेनन्। सेनाबाट सन् १९४३ मा राजीनामा दिए र राजनीतिमा लागे। 

सन् १९४७ मा भारत स्वतन्त्र भएसँगै भारत सरकारले उनलाई नेपालको राजदूत बनाएर काठमाडौँ पठायो। 

दलिप भने थप केही वर्ष वायुसेनामा रहे। सेनामा भर्ती हुँदा विश्वयुद्ध चलिरहेको थियो, युद्धमा सहभागी भए। खासगरी बर्माको मोर्चामा जापानी फौजविरुद्ध गोलाबारी गर्ने जहाजहरू उडाए। 

ब्रिटेनबाट स्वतन्त्रता पाएलगत्तै भारत–पाकिस्तानबीच युद्ध भयो। यो युद्धमा पनि उनको सहभागिता रह्यो। पाकिस्तानसँगको युद्धमा प्रदर्शित भूमिकाका कारण उनी ‘वीरचक्र’ पदकबाट सम्मानित समेत भए। 

हवाई सेना छाडेर राजनीतिमा लागेका सुरजित भने व्यापार–व्यवसायमा लागे। उनले उड्डयन व्यवसायमा हात हालेका थिए। ब्रिटिस सेनाले खरिद गरेका सयौँ जहाज विश्वयुद्धको समाप्तिसँगै प्रयोगविहीन भएका थिए। 

ब्रिटिस सेनाले ती जहाज कौडीको भाउमा बेच्न थाल्यो। यिनैमध्येका केही जहाज मजेठिया परिवारले किन्यो।   

तर, राजदूत बनेर काठमाडौँतर्फ लागेपछि परिवारको हवाई व्यवसाय सम्हाल्ने जिम्मेवारी दलिपले सम्हाल्नुपर्ने भयो। भारतीय वायुसेनाबाट राजीनामा दिएर उनी हवाई कम्पनी सञ्चालनमा थिए।

राजदूत सुरजित सिंह मजेठिया (बायाँ) र पाइलट दलिप सिंह मजेठिया भारतीय वायुसेनामा छँदा

भारतीय वायुसेनाका सिद्धहस्त पाइलट भएकाले पारिवारिक कम्पनीका जहाजहरू उनी आफैँ पनि उडाउँथे। 

यसैबीच यता श्री ३ मोहनकी नातिनी यशोधरा राणाको बिहे कास्मिरका युवक राजा कर्ण सिंहसँग हुने भयो। बिहे २२ फागुन २००६ (५ मार्च १९५०) मा हुने गरी एक वर्षअघि नै छिनिएको थियो। 

लगनगाँठो पक्का भएसँगै बिहेको तयारी हुन थाल्यो।  

बिहेमा काठमाडौँ आउने जन्तीका लागि यातायातको प्रबन्ध गर्नुपर्ने थियो। तर, बिहे भव्य बनाउन खाद्यान्न लगायत अन्य सामग्री पनि भारतबाट ल्याउनुपर्ने थियो। 

यसका लागि श्री ३ मोहन हवाईजहाज प्रयोग गर्न चाहन्थे। उनले राजदूत मजेठियासँग यस विषयमा कुराकानी गरे, सल्लाह मागे। राजदूत मजेठियाले सहयोगको वचन दिए।

त्यसपछि दलिप परीक्षण उडानका लागि जहाज लिएर ११ वैशाख (विसं २००६) मा काठमाडौँ आइपुगे। परीक्षण सफल भयो। यो सफल अवतरणको ११ महिनापछि कास्मिरका राजा कर्ण सिंह यही हवाई मार्गबाट दुलही यशोधरालाई लिएर दिल्ली गए।

त्यो ऐतिहासिक अवतरण
गौचरमा पहिलो पटक विमान अवतरण गर्दा त्यहाँको माहोल कस्तो थियो, पूर्वपरराष्ट्रसचिव डा. मदन भट्टराईले आफ्ना काका र तत्कालीन भारतीय राजदूत मजेठियाबाट यसबारे सुन्ने मौका पाए।  

‘नेपाली राजदूतावासमा पोस्टिङ हुँदा नयाँदिल्लीमा मजेठियालाई भेटिरहन्थेँ,’ डा. भट्टराईले भने, ‘उनले मलाई श्री ३ मोहन शमशेरकी नातिनी यशोधरा र कास्मिरका राजा कर्ण सिंहसँग बिहेको जन्ती ल्याउने सिलसिलामा काठमाडौँमा पहिलो पटक जहाज अवतरण गरिएको सुनाएका थिए।’  

जन्म शताब्दीका अवसरमा तीन वर्षअघि एनडीटिभीलाई दिएको अन्तर्वार्तामा दलिप सिंहले खाद्यान्न ओसारपसारको उद्देश्यका लागि जहाज अवतरण गरिएको बताएका थिए। 

कारण जे होस्, ११ वैशाख २००६ मा उनले उडाएको ‘बोनान्जा बिच’ नामको चार सिटे जहाज बिहान १०–११ बजेको बीचमा गौचर मैदानमा अवतरण गर्‍यो। 

केही दिन अघिदेखि नै काठमाडौँमा जहाज आउँदैछ भन्ने हल्ला थियो। जहाज साँच्चिकै आएपछि हजारौँ काठमाडौँवासी जहाज हेर्न गौचर पुगे। दिनभर जहाज हेर्ने भीड लागिरह्यो।

गोर्खापत्रले ७ वैशाख (२००६) कै अंकमा त्यसैदिन काठमाडौँमा जहाज अवतरण गर्दैछ भन्ने समाचार प्रकाशित गरेको थियो। तर, सायद मौसमको प्रतिकूलताले हुनुपर्छ, त्यसदिन जहाज आइपुगेन। 

त्यसको चार दिनपछि ११ वैशाखमा गौचरमा ओर्लेको जहाज हेर्न नजाने कमै मानिस काठमाडौँमा थिए होलान्।

‘जहाज हेर्न जानेमा मेरो काका पनि हुनुहुन्थ्यो, किनकि हाम्रो घर नजिकैको कोटेश्वरमा थियो, गाई–भैँसी चराउने ठाउँ भएकाले गौचर खुला पनि थियो,’ डा. भट्टराईले भने, ‘काकाले सुनाउनु भएअनुसार चिलगाडी आयो भनेर काठमाडौँबासीहरू कुदाकुद गर्दै जहाज हेर्न पुगेका रहेछन्।’

अवतरणको दुई दिनपछि अर्थात् १३ वैशाख (२००६) मा गोर्खापत्रले गौचरमा विमान अवतरणपछिको दृश्यलाई आफ्नो समाचारमा समेटेको थियो। 

‘जहाज हेर्ने क्रममा गएका मानिसहरूका कारण गौचर हजारौँ साइकल र मोटरहरूको जमघटस्थल बनेको थियो,’ समाचारमा भनिएको थियो, ‘पैदलै त्यहाँ पुग्नेहरूको त कुनै लेखाजोखा नै थिएन।’

‘त्यो भीडमा राजा त्रिभुवन र श्री ३ मोहन शमशेर पनि रहेछन्,’ डा. भट्टराईले भने, ‘राजदूत मजेठिया पनि गौचर पुगेका थिए। मजेठियाले पनि मलाई त्यहाँ थामिनसक्नुको भीड ओइरिएको कुरा सुनाएका थिए।’

एकातिर आफ्नै भतिजले उडाएको जहाज, अर्काेतिर राजा र प्रधानमन्त्री समेत जहाज हेर्न पुगेको स्थिति– यस्तोमा राजदूत मजेठिया विमानस्थल पुग्नु स्वाभाविक थियो। 

राजदूत मजेठिया त्यहाँ पुग्नुको अर्को कारण पनि थियो। उनको सहयोगविना दलिपले विमान अवतरण गर्नसक्ने स्थिति थिएन।

आकाशमा भतिज, जमिनमा काका
दलिपले पहिलो पटक जहाज अवतरण गराएको गौचर कालान्तरमा नेपालको पहिलो विमानस्थल बन्यो। ‘गौचर हवाई अड्डा’ हुँदै अहिले यो ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ कहलिन्छ।

त्यसबेला सिनामंगलको यो ठाउँ घाँसे मैदान थियो। गाई–भैँसी चराउन प्रयोग गर्ने भएका कारण स्थानीयवासीहरू यसलाई ‘ठूलो गौचरन’ भन्थे। ज्ञानेश्वर क्षेत्रको घाँसे मैदान ‘सानो गौचरन’ को नामले चिनिन्थ्यो।

ठूलो गौचरनमा बर्खाका बेला मैदानमा हिलो जम्थ्यो, हिउँदमा धुलो उड्थ्यो। 

जहाज अवतरण गर्ने योजना बनेपछि केही दिनअघि यसलाई सम्याउन थालिएको थियो। 

भारतीय वायुसेनाको बारेमा जानकार लेखक अंकित गुप्ताले दुई वर्षअघि लेखेको एक लेखमा उल्लेख भए अनुसार ६ दिन अघिदेखि नै अवतरणको तयारी गरिएको थियो। 

मैदानमा जहाज अवतरणमा सघाउ पुग्ने कुनै उपकरण थिएनन्, कहाँनेर अवतरण गर्ने भन्ने कुराको संकेत चिन्ह पनि थिएन।

सम्भवतः काठमाडौँमा जहाज ल्याउने विषयमा खबर पाएपछि दलिप पैदल मार्गबाटै काका सुरजितलाई भेट्न काठमाडौँ आए। कहिले आए, त्यसको विवरण भने उपलब्ध छैन। कताकति यसको चर्चा मात्र उनले गरेका छन्।

जमिनबाट गौचर मैदान त हेरे। तर जहाज आकाशमार्ग हुँदै आएर अवतरण गर्नुपथ्र्याे। हावाको गति र दिशा ख्याल नगरे जहाज दुर्घटनामा पर्नपनि सक्थ्यो। अवतरित जहाज कहाँनेर अड्याएर राख्ने, जमिनबाट कसैले संकेत दिनुपथ्र्याे।

पाइलट दलिप सिंह मजेठिया

संकेत सम्बन्धी यी सबै काम जमिनमा बसेर राजदूत मजेठिया आफैँले गरे। 

सम्भवतः त्यसदिन स्थानीयवासीलाई गौचरमा चौपाया छाड्न निषेध गरिएको थियो। त्यसैले, गौचर त्यसदिन खाली थियो, गाई–भैँसी कसैले चराउन ल्याएका थिएनन्। 

‘त्यो गाई चराउने मैदान थियो, जुन दिन मैले त्यहाँ जहाज अवतरण गराएँ, सौभाग्यवश त्यो दिन त्यहाँ गाईवस्तु थिएनन्,’ अन्तर्वार्तामा स्व. दलिप सिंह मजेठियाले भनेका थिए, ‘जब मैले जहाज अवतरण गरेँ, काका मलाई रिसिभ गर्न आइपुग्नु भयो।’ 

बिहारको मुजफ्फरपुरबाट उडाएको जहाजलाई उनले बागमती नदीमाथिको आकाश हुँदै काठमाडौँ प्रवेश गराएका थिए। तर, उपत्यकाभित्र प्रवेश गरेलगत्तै उनले जहाज अवतरण गराउन सकेनन्।

पहिलो प्रयास असफल भयो। तर, उनी निराश भएनन्। बरु जहाजलाई अलिक उचाइमा लगे, काठमाडौँलाई एक चक्कर मारे। गौचर मैदानलाई आकाशबाट राम्रोसँग अवलोकन गरे। 

त्यसपछि जहाजलाई विस्तारै गौचरतर्फ ल्याए, सहजै अवतरण गराए। 

यससँगै काठमाडौँमा पहिलो विमान अवतरण गर्ने पाइलटका रुपमा उनको नाम इतिहासमा लेखियो।

‘आईएफडटइन’ मा प्रकाशित गुप्ताको दुई वर्ष पुरानो लेखमा उल्लेख भए अनुसार जहाजको अवतरणस्थल सुरु हुने स्थानको संकेतका लागि राजदूत मजेठियाले गौचरको दक्षिणी कुनोमा आफ्नो गाडी राखेका थिए। 

यसैगरी हावाको गति र दिशाको जानकारीका लागि ‘टी’ आकारमा बलहरू राखिएको थियो। यी संकेतले उनलाई जहाज अवतरण गर्न सहज भयो। 

अवतरणपछि जहाजलाई कहाँ पार्किङ गर्ने भन्ने बताउन राजदूत मजेठिया आफै मैदानमा उपस्थित छँदै थिए।

राजाको इच्छा, श्री ३ को रोकावट   
गौचर मैदानमा भएको सफल विमान अवतरणले नेपालको यातायात प्रणालीमा त नयाँ मोड ल्याइदियो नै। यसले राजनीतिक र कूटनीतिक प्रणालीमा फेरबदल ल्याउनसमेत भूमिका खेल्यो। 

यो अवतरणसँगै नेपालमा व्यावसायिक हवाई सेवाको सुरुवात भयो। भारत जान चाहनेहरू अब विमानस्थलको प्रयोग गर्न थाले। नेपाल आउने विदेशी कूटनीतिज्ञहरू पनि हवाईमार्गबाटै आउन थाले। 

भारतबाट काठमाडौँ आउन पहिले वीरगञ्ज–अमलेखगञ्ज–भीमफेदी–थानकोट मार्ग प्रयोग गर्नुपथ्र्याे। थानकोट हुँदै काठमाडौँ आउने विदेशी पाहुनालाई राज्यको तर्फबाट थानकोटफेदी वा कालिमाटीस्थित बागमती पुलमा स्वागत गरिन्थ्यो। 

हवाई मार्गबाट आउने भएपछि अब गौचर हवाई अड्डामा स्वागत हुन थाल्यो। 

नेपालको राजनीतिक परिवर्तनमा पनि गौचर सहयोगी बन्यो। २००७ कार्तिकमा भारतीय दूतावासमा शरण लिएपछि राजा त्रिभुवनलाई भारतीय जहाजले यही विमानस्थलबाट नयाँदिल्ली लिएर गयो। 

दिल्ली सम्झौतासँगै फर्कंदा पनि राजा त्रिभुवनले यही विमानस्थल प्रयोग गरे। त्रिभुवनको फिर्तीसँगै राजनीतिले नयाँ मोड लियो। 

नातिनीको बिहेका लागि जहाज अवतरण गराउन श्री ३ मोहनले प्रयोग गरेको गौचर विमानस्थलमा रुपान्तरित भएपछि राणा शासनको जग उखेल्ने एक माध्यम बन्यो। 

भवितव्य कसैलाई थाहा हुने कुरा होइन। त्यसैले, गौचरमा पहिलो पटक अवतरित जहाज हेर्न श्री ३ मोहन साँझपख राजा त्रिभुवनलाई लिएर त्यहाँ पुगेका थिए। 

१३ वैशाख (२००६) को गोर्खापत्रले उल्लेख गरे अनुसार, जहाज हेर्न श्री ३ मोहन, राजा त्रिभुवन र बेलायती राजदूत फल्कोनर अपरान्ह साढे पाँच बजे गौचर पुगेका थिए।

राजा त्रिभुवन जहाजप्रति कति उत्सुक थिए, अवतरित जहाजमा देखिने उनको भावभंगिमाले प्रष्ट पार्छ। 

गौचर पुगेका अन्य अधिकारीहरू नजिकै बसेर जहाजको अवलोकन गरिरहेका छन्। तर राजा त्रिभुवन भने बाहिरी भागमा चढेर अगाडिको सिटबाट जहाजभित्रको भाग नियालिरहेका छन्।

गौचरमा पहिलो पटक अवतरित बोनाञ्जा बिच जहाज अवलोकन गर्दै राजा त्रिभुवन र मोहन शमशेर

‘खासमा त्यसदिन त्रिभुवनले जहाज चढ्ने रहर गरेका रहेछन्,’ डा. भट्टराईले भने, ‘राजदूत मजेठियालाई पनि राजालाई जहाज चढाउने रहर रहेछ। तर, प्रधानमन्त्री श्री ३ मोहनले त्रिभुवनलाई जहाज चढ्न दिएनछन्।’  

काठमाडौँमा पहिलो विमान अवतरणको कथा सुनाउने राजदूत सुरजित सिंह मजेठियाको निधन २९ वर्षअघि नै भएको थियो, ७ असोज २०५२ मा। जन्म शताब्दी मनाइसके पनि दलिप सिंह भने जीवितै थिए। 

यस वर्ष २३ अप्रिल (११ वैशाख) मा पनि उनले ७५ वर्षअघि काठमाडौँमा गरेको पहिलो विमान अवतरणको कथा सुनाउँथे होलान्, यदि उनी बाँचिरहेका भए। 

तर, त्यो ऐतिहासिक घटनाको ७५ वर्ष पूरा हुनुभन्दा ८ दिनअघि दलिप सिंह मजेठियाले यो धर्ती छाडे, मृत्युसँगै त्यो रोचक जहाज अवतरणका जीवन्त कथा आफूसँगै लिएर बिदावारी भए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .