हङकङमा नेपालीहरूको घनाबस्ती रहेको जोर्डनमा नेपालीद्वारा सञ्चालित सैलुनमा आगलागी भएको छ।
५१ ब्याट्री स्ट्रिटको एकतला (एम फ्लोर) मा अवस्थित करुणा ब्युटी एन्ड हेयर सैलुनमा बुधबार राति करिब ११ बजे आगलागी भएको हो।
आगलागीबाट कम्तीमा ४ लाख हङकङ डलर बराबरको क्षति भएको सैलुन सञ्चालक करुणा श्रेष्ठले जानकारी दिइन्। मान्छेलाई भने केही भएन।
करुणाका अनुसार बिजुलीका तार मुसाले काटेका कारण विद्युत् सर्ट हुँदा नजिकै रहेको नेल पोलिस (अल्कोहल) सल्किएर आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट सैलुनमा रहेका सम्पूर्ण सामान जलेका छन्।
आगलागीपछि करुणाले आफ्नो सैलुनको बिमा नगरिएकामा पश्चाताप गरेकी छन्। भनिन्, ‘बिमा नगरेकै कारण आज यति धेरै क्षति हुँदा क्षतिपूर्ति पाउनबाट वञ्चित भएको छु।’
करुणाले फेसबुक लाइभमार्फत हङकङमा व्यवसाय ससञ्चालन गर्ने सबै नेपालीलाई समयमै बिमा गर्न अपिलसमेत गरेकी छन्।
हङकङमा धेरै नेपालीले सैलुन सञ्चालन गरिरहेका छन्।
गत वर्ष जोर्डनमै नेपालीद्वारा नै सञ्चालित रेस्टुरेन्टमा आगो लाग्दा ठूलो मात्रामा धनजन क्षति भएको थियो।
Shares
प्रतिक्रिया