विवादपछि हङकङकी कार्यकारी प्रमुख लामले मस्जिद भ्रमण गरिन्

विवादपछि हङकङकी कार्यकारी प्रमुख लामले मस्जिद भ्रमण गरिन्

मगेन्द्र राई
कात्तिक ४, २०७६ सोमबार १०:३५,

गत आईतवार अपरान्ह हङकङमा नागरिक मानवाधिकार मोर्चाको संयोजकत्वमा भएको हिंसात्मक प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन निलो रङको पानीको फोहोरा प्रयोग गरेको थियो।

चिम सा चुई नाथन रोडस्थित एक मस्जिदको प्रवेशद्वारमा निलो रङको पानीको फोहरा प्रयोग भएपछि मस्जिदमा रङ लागेको थियो। त्यसपश्चात मुसलमान समुदायले सरकारको अलोचना गरिरहेका छन्।

मस्जिद सम्बन्धी उत्पन्न अप्ठ्यारो परिस्थितिलाई साम्य पार्न हङकङकी सरकार प्रमुख क्यारी लाम तथा प्रहरी प्रमुख स्टेफन लो स्वयंले सोमबार बिहान मस्जिद भ्रमण गरेका हुन्।

सरकारी अधिकारी, सुरक्षा अधिकारीहरुको साथ मस्जिद पुगेका लाम र लोले मस्जिद प्रमुख ईमाम मोहम्मद आर्सद र मुस्लिम नेताहरु जोहेर तैयब खान र सयीद उद्दिन लाई भेट गरी घटना संयोगमात्र भएको बताउँदै माफी मागे।

मस्जिदका अधिकारीहरूका अनुसार लाम र लोले घटना बखत् उक्त स्थानमा प्रदर्शनकारीहरुको ठूलो जथ्था नभएकोले पानीको फोहरा प्रयोग गर्नु पर्ने कारण नभएको कुरा समेत स्विकारेको बताएका छन्।

तैयब खानका अनुसार सरकार प्रमुख र प्रहरी प्रमुख दुबैको माफी उनीहरुले स्वीकार गरेका छन्। दुई लाख मुस्लिम समुदायका प्रमुख ईमाम मुहम्मद आर्सदले प्रहरीको स्पष्टीकरण मान्य भएको र प्रहरीले गलत मनसायले पानीको फोहरा प्रयोग नगरेको कुरा सन्चार माध्यमलाई बताएका छन्।

उनले भने,‘मलाई लाग्दैन कि उनीहरूले मस्जिदलाई लक्षित गरेका थिए। तर प्रहरीले मस्जिदको अगाडि त्यस्तो गर्न हुँदैनथ्यो। तथापी म पुलिसलाई कुनै दोष दिन्न। उनीहरुले खासमा प्रदर्शनकारीहरुलाई लक्षित गरेका थिए।’

प्रहरीले भने घटनापश्चात तत्काल मस्जिदका अधिकारीहरु तथा मुस्लिम नेताहरुसङ्ग सम्पर्क गरेका थिए। घटनाको साँझ प्रहरी अधिकारीहरुले मस्जिद पुगेर घटनाबारे स्पष्टीकरणसहित माफी मागेका थिए।

प्रहरीहरु स्वयं सरसफाइमा जुटेको थिए। प्रहरीले घटनाका बारेमा एक विज्ञप्ती निकाल्दै भनेको छ,‘प्रदर्शनकारीहरुलाई हटाउने शिलशिलामा संयोगबश मस्जिदमाथि पर्न गएको घटना अत्यन्तै दुर्भाग्यपूर्ण छ, हङकङमा प्रहरीले धार्मिक स्वतन्त्रताको सम्मान र श्रद्धा गर्दछ र सबै प्रार्थना, पुजा स्थलहरूको रक्षा गर्न सदैब तत्पर रहनेछ।’

मस्जिदका अगाडि उभिएका बेला पानीको फोहराबाट पीडित भएका केही ब्यक्तिहरुले भने आफूहरु कुनै अप्रिय घटना वा तोडफोडबाट मस्जिदलाई सुरक्षा प्रदान गर्न खटिएको बेला अनाहकमा रसायन युक्त पानीको फोहरा खानु परेको कुरा सन्चार माध्यमहरुलाई बताएका छन्।

घटनापछि धेरै मानिसहरूले आइतवार अपरान्ह मस्जिदको प्रवेश द्वारमा फोहराको निलो रंग सफा गर्न मद्दत गरेका थिए।

घटना पश्चात मुस्लिम समुदायका नेता तथा धार्मिक गुरुहरुले सबै मुस्लिमहरुलाई घटनाको प्रतिशोध नलिन तथा सम्यमता अपनाउन आग्रह गरेका थिए।

गत बुधबार नागरिक मानव अधिकार मोर्चाका संयोजक जिम्मी शामलाई कुटपिट गरेको घटनामा दक्षिण एशियाली(पाकिस्तानी)को सङ्लग्नता रहेको हल्ला चले पछि आइतबार चिम शा चुईमा भएको विशाल प्रदर्शनमा प्रतिशोध साध्न मस्जिद निशानामा पर्ने व्यापक हल्ला चलेको थियो।

यद्यपी प्रदर्शनकारीहरूले त्यस्तो कुनै कारवाही नगर्ने सम्बन्धित मानिसहरुलाई बिश्वस्त तुल्याएका थिए भने कुनै पनि दक्षिण एशियालीहरुलाई निशानामा पारेनन्।

प्रहरीले बन्देज लगाएता पनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुको ठूलो जुलुस चिम शा चुई बाट शुरु भएर वेस्ट काउलुनको अस्टिन स्टेसन, जोर्डन, यौ मा तेइ, मङकोक, प्रीन्स एडवार्ड, साम सुइ पो सम्म फैलिएको थियो।

प्रदर्शनकारीहरुले सडक अबरुद्ध बनाएका थिए। उनीहरुले प्रहरी स्टेसनहरुमा आक्रमण, रेल स्टेसन, पसलहरु तोडफोड र आगजनी गरेका थिए। आन्दोलन पाँचौ महिनामा प्रबेश गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .